कञ्चनपुर, जेठ ३ कञ्चनपुरमा बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेपछि दुई स्थानीय तहले विद्यालयको समय परिवर्तन गरेका छन् । अत्यधिक तापक्रमका बीच दिउँसो कक्षा सञ्चालन गर्न कठिन हुन थालेपछि कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका ले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
स्थानीय तहहरूले गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने, ध्यान केन्द्रित गर्न कठिनाइ हुनेलगायत समस्या देखिन थालेपछि नयाँ समय तालिका लागू गरेका बताएका छन् । निर्णयअनुसार अब विद्यालय बिहानैदेखि सञ्चालन हुनेछन् भने पाठ्यक्रमले तोकेको पाठ्यघण्टा भने यथावत् कायम गरिने जनाइएको छ । कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूल बन्दै गएको र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख हेमराज ओझा ले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ तथा लेटर ग्रेडिङ निर्देशिका, २०८३ अनुसार ‘क्रेडिट आवर’ पूरा हुने गरी समय व्यवस्थापन गरिएको जानकारी दिए ।
उनका अनुसार बिहानी सत्र लागू भएपछि शैक्षिक गतिविधिमा असर नपरोस् भन्ने उद्देश्यले नगरपालिकाभित्रका विद्यालय आइतबारसमेत सञ्चालन गरिनेछ । पठनपाठन, परियोजना कार्य र प्रयोगात्मक गतिविधिलाई निरन्तरता दिन अतिरिक्त दिनमा समेत नियमित कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए । यता शुक्लाफाँटा नगरपालिका ले पनि यही जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहान सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अभिभावक, शिक्षक र विद्यार्थीबाट आएको सुझावका आधारमा समय परिवर्तन गरेको जनाएको छ ।
यसअघि बिहान १० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७ बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् । शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्ट का अनुसार चर्को गर्मीका कारण विद्यार्थीको नियमित उपस्थितिमा समेत असर पर्न थालेपछि यस्तो निर्णय गरिएको हो । नगरपालिकाका शिक्षा अधिकृत सुरेश भट्ट ले समय परिवर्तन भए पनि पठनपाठनको गुणस्तर र पाठ्यघण्टामा कुनै कमी नआउने बताए । उनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिकाअनुसार नियमित शैक्षिक गतिविधि सञ्चालन गरिनेछ ।
















