२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

अत्तरिया चोकमा आकाशे पुल निर्माण सुरु

कैलाली, जेठ ३  कैलालीको व्यस्त अत्तरिया चोकमा पैदलयात्रीको सुरक्षालाई लक्षित गर्दै आकाशे पुल निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढिरहेकाबेला गोदावरी नगरपालिकाले दीर्घकालीन समाधानका रूपमा आकाशे पुल निर्माण अघि बढाएको हो ।

शनिबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट ले पूजाआजासहित पुल निर्माण आयोजनाको शिलान्यास गरेका हुन् । शिलान्यासपछि बोल्दै उनले अत्तरिया चोक सुदूरपश्चिमकै अत्यधिक व्यस्त सडक क्षेत्रमध्ये एक बन्दै गएकाले पैदलयात्री सुरक्षित रूपमा सडक पार गर्न सक्ने वातावरण आवश्यक रहेको बताए ।

उनले आकाशे पुल निर्माण भएपछि ट्राफिक व्यवस्थापनमा सहजता आउने, सडक दुर्घटनाको जोखिम कम हुने तथा बजार क्षेत्र थप व्यवस्थित बन्ने विश्वास व्यक्त गरे । नगर प्रमुख भट्टका अनुसार नगरपालिकाले नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै आफ्नै स्रोतबाट योजना कार्यान्वयनमा ल्याएको हो । नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार पुल निर्माणका लागि एक करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माणको जिम्मा ‘क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी’ धनगढीले पाएको छ ।
निर्माण कम्पनी र नगरपालिकाबीच २०८२ फागुन १० गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार पुल निर्माणको काम २०८३ पुस ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । अत्तरिया चोक पूर्व–पश्चिम राजमार्गअन्तर्गत अत्यधिक भीडभाड हुने क्षेत्रका रूपमा परिचित छ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने यस क्षेत्रमा पैदलयात्रीलाई सडक पार गर्न कठिन हुने गरेको गुनासो लामो समयदेखि उठ्दै आएको थियो । नगरपालिकाले आकाशे पुल निर्माणपछि सर्वसाधारणलाई सुरक्षित आवतजावतमा राहत पुग्ने अपेक्षा गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।