
काठमाडौँ, चैत २३ गते नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवर्धनका लागि सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई उपयोग गर्दै व्यवसायीहरूले विशेष प्याकेजहरू ल्याउनुपर्ने बताउनुभएको छ।
जोशीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले विगतमा पर्यटन प्रवर्धनका लागि दुई दिने बिदा दिने प्रस्ताव भएको भए पनि लागू हुन सकेको जानकारी दिनुभयो। हालको निर्णयले पर्यटन र हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षित हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना बढ्नेछ, जसले दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने आधार तयार गर्नेछ।
उहाँले भन्नुभयो, “सरकारले दिएको दुई दिने बिदालाई सकारात्मक रूपमा लिनुपर्छ। यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा दिनेछ। हस्पिटालिटी उद्योगमा पहिले नै ठुलो लगानी भइसकेको छ, यसले थप सहयोग पुर्याउँछ। नयाँ गन्तव्यतर्फ आन्तरिक पर्यटक जानुले नयाँ लगानी ल्याउने र भविष्यमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने बाटो खोल्नेछ।”
जोशीका अनुसार, अहिलेको शिक्षित तथा बौद्धिक वर्गले समय पाएमा आफ्ना अनुभव र यात्रा आइडिया अरूसँग साझा गर्न सक्नेछन्, जसले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउनेछ। साथै, कर्मचारीले परिवारलाई समय दिन नपाउने र घरेलु कामसमेत गर्न नसक्दा कार्यक्षमतामा असर पर्ने अवस्था सुधारिनेछ। कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक प्रभाव पार्नेछ।
उहाँले पर्यटन व्यवसायीहरूलाई लक्षित गर्दै भने, “सरकारी बिदालाई केन्द्रमा राखेर व्यवसायीहरूले आकर्षक प्याकेजहरू ल्याउनुपर्छ। नेपाल पर्यटन बोर्डले ती प्याकेजहरू प्रवर्द्धन गर्नेछ। साथै, सेवा गुणस्तर, आतिथ्यता र सरसफाइमा ध्यान दिनुपर्छ। बोर्डले यसबारे जनचेतनामूलक भिडियोहरू पनि निर्माण गर्दैछ।”
जोशीले थप स्पष्ट पार्दै भन्नुभयो, “नेपालीहरु नेपालभित्र घुम्ने मुख्य अवसरहरूमा अब दुई दिने बिदा पनि समावेश भएको छ। नयाँ वर्ष, बालबालिकाको विदा र चाडपर्वमा पर्यटक घुम्ने गर्दछन्। व्यवसायीहरूले प्याकेज ल्याए बोर्डले त्यसको प्रवर्द्धन गर्नेछ। पर्यटकको संख्या बढ्दै गए पनि सेवा गुणस्तरीय नभए नकारात्मक असर पर्छ। बोर्डले आतिथ्यता र हाइजीनलाई प्रवर्द्धन गर्न भिडियोहरू बनाउँदैछ।”
जोशीले सरकारले निर्णय र कार्यान्वयन प्रक्रियामा देखिएको कमजोरीबारे पनि टिप्पणी गर्दै नयाँ सरकारले मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित गरी लागू गरेको उदाहरणीय भएको बताउनुभयो। यसले अन्य संस्थाहरूलाई छिटो र प्रभावकारी कार्यान्वयनमा प्रेरित गर्नेछ। उहाँले पर्यटक व्यवहार र वातावरण संरक्षणबारे पनि सुझाव दिनुभयो। “टेकिङ गर्दा चकलेट वा बिस्कुटका कागज फालिँदा वातावरण प्रदूषण हुन्छ, यसबारे जनचेतना फैलाउनेछौँ।”
भैरहवा, चैत २३ नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको नेतृत्वमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न आठौं प्रदेशसभा तथा अधिवेशनबाट उनले प्रतिस्पर्धी जमसेर अलि मियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्षमा बाजी मारेका हुन् ।
मतपरिणाम अनुसार एसोसिएटतर्फ खसेको १ सय २ मतमध्ये श्रेष्ठले ९६ मत प्राप्त गर्दा मियाँ ६ मतमै सीमित रहे । जिल्ला तथा नगरतर्फको ३३ मतमध्ये पनि श्रेष्ठले २१ मत ल्याउँदा मियाँले १२ मत पाए । वस्तुगततर्फको एक मात्र मतसमेत श्रेष्ठकै पक्षमा परेको थियो । नयाँ कार्यसमितिमा जिल्ला/नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी र एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने चयन भएका छन् भने सदस्यहरूमा बर्दियाका बद्रीनाथ बराल र प्युठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् । एसोसिएट सदस्यतर्फ रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल चयन भएका छन् ।
११ सदस्यीय समितिमा थप दुई जना, जसमा एक महिला अनिवार्य, मनोनयन गरिने व्यवस्था रहेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हकहितलाई प्राथमिकतामा राख्दै महासंघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
बाँके, चैत २३ राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अझै आधा पनि पूरा हुन सकेको छैन । आयोजना सुरु भएको करिब १० वर्ष पुग्दा पनि भौतिक निर्माणको प्रगति ५७ प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीले तेस्रो पटकको म्याद सकिएको शुक्रबार भए पनि अझै परियोजना पूरा गर्न साढे तीन वर्ष थप समय माग गरेका छन् ।
२०७६ साउनमा ठेक्का सम्झौता भएको भेरी–बबई आयोजनामा बाँध, विद्युत गृह र सुरुङमार्ग निर्माणको जिम्मेवारी नेपाली कम्पनी रमण कन्स्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन जेभीले पाएका थिए । सम्झौताअनुसार चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर विश्वव्यापी कोभिड–१९ महामारी, डिजाइन रिभ्युमा ढिलाइ, वर्षा र निर्माण क्षेत्रको कठिन भू–भाग जस्ता कारणले काम सुस्त गतिमा छ । आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार, हालसम्म वित्तिय प्रगति ४७ प्रतिशत मात्र छ । ‘ठेकेदारले साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने प्रतित्रद्धता जनाएका छन् । पछिल्लो समयमा काम नियमित रूपमा अघि बढिरहेको देखिन्छ,’ उनले बताए ।
ठेक्का सम्झौता अनुसार पहिलो चार वर्षमा सम्पन्न हुनुपर्ने आयोजना २०८० मंसिरमा कोभिडका कारण एक वर्ष थपिएको थियो । दोस्रो र तेस्रो म्याद थप गर्दा पनि काम अधुरो रहेको रमन कन्स्ट्रक्सनले औंल्याएको छ । कम्पनीका इन्जिनियर हिक्मत लम्सालले भने, ‘डिजाइनमा ढिलाइ र इन्सुरेन्स–बैंक ग्यारेण्टीको समस्याले काम ढिलो भएको हो, नयाँ समय पाउँदा निर्माण सम्पन्न गर्न सकिन्छ ।’ आयोजनामा ढिलाइ हुनुमा डिजाइन परिवर्तन, परामर्शदाता कम्पनीको बदलाब र कठिन भू–भागमा पावरहाउस निर्माण गर्नुपर्ने चुनौती पनि रहेका छन् । सुरुवाती दुई वर्ष इरानी परामर्शदाताले काम गरे पनि अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सम्झौता तोडिएको थियो । अहिले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको एनइए इन्जिनियरिङ कम्पनी परामर्शदाताको जिम्मेवारीमा छ ।
आयोजना १२ किलोमिटर लामो सुरुङमार्गमार्फत भेरी नदीको पानी बबई नदीमा फ्याँक्ने र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । साथै, ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि यसअन्तर्गत छ । हालसम्म सार्वजनिक गरिएको तथ्यांकअनुसार, फागुन महिनासम्म आयोजनाको कुल प्रगति ६९.७१ प्रतिशत रहेको छ । तर सिभिल, इलेक्ट्रिकल र हाइड्रो–इलेक्ट्रिकल कामहरू आपसमा निर्भर हुने भएकाले सिभिल वर्क ढिलाइ हुँदा बाँकी काम पनि प्रभावित हुन्छ ।
ठेक्का विवादास्पद कम्पनीले पाएको र काम ढिलो भएको कारण भेरी–बबई आयोजना पूरा हुनेमा चौथो म्यादपछि पनि शंका बढेको छ, र स्थानीय किसान तथा विकास विज्ञहरूले तत्काल समाधानको माग गर्दै आएका छन् ।
कोहलपुरमा गडौला मल उत्पादनको अभ्यास निरन्तर बढ्दै गएको र कृषकहरूको जीवनस्तर सुधारमा यसले महत्वपूर्ण भूमिका खेलिरहेको छ । जैविक मलको प्रयोग र उत्पादनले कोहलपुरलाई मात्र नभई वरिपरिका क्षेत्रलाई पनि जैविक खेतीतर्फ प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
कोहलपुर, चैत २३ पछिल्लो समय कोहलपुरका कृषकहरू रासायनिक मलको अत्याधिक प्रयोगबाट उत्पन्न समस्या कम गर्न र माटोको उर्वराशक्ति बढाउन गडौला मल उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । कम लागत, उच्च उत्पादन र वातावरणमैत्री खेती प्रवद्र्धन गर्ने भएकाले गडौला मल कृषकहरूको आम्दानीको नयाँ श्रोत बन्न पुगेको छ ।
अत्याधिक रासायनिक मलको प्रयोगले माटोको जैविक गुणस्तर घटाउन थालेपछि स्थानीय कृषकहरूले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्दै उत्पादन वृद्धि गर्दै आएका छन् । कोहलपुरस्थित प्रज्वल कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक बिना खड्काका अनुसार, ‘हाम्रो फर्मबाट दैनिक एक क्विन्टलसम्म गडौला मल बिक्री हुँदै आएको छ । कृषकहरूले जैविक मल प्रयोग गर्न थालेपछि उत्पादन मात्र बढेको छैन, आम्दानी पनि राम्रै भएको छ ।’ स्थानीय गडौला मल उत्पादक थल बहादुर खड्काले बताए अनुसार, गडौला मल उत्पादनका लागि गोबर, पातपतिंगर, र जैविक फोहोर प्रयोग गरिन्छ । ‘यसले माटोको संरचना सुधार्न मद्दत गर्छ र दीर्घकालीन रूपमा उत्पादन टिकाउ बनाउन सहयोग पुर्याउँछ,’ उनले भने । खड्काका अनुसार, २६ वटा वेडबाट ६० क्विन्टल गडौला मल उत्पादन गर्न सकिन्छ र यसबाट कृषकले करिब दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन् ।
गडौला मल उत्पादन प्रक्रिया पनि सरल छ । सही रूपमा व्यवस्थापन गर्दा यो दुईदेखि तीन महिनाभित्र तयार हुन्छ । यसको प्रयोगले माटोमा जैविक तत्वको मात्र बढाउँदैन, माटोको संरचनालाई मजबुत बनाउँछ र रासायनिक मलमा हुने नकारात्मक प्रभाव पनि कम गर्छ । कृषकहरूले गडौला मलको प्रयोग गर्दा माटोको स्वास्थ्य कायम रहन्छ र लामो समयसम्म उत्पादन टिकाउ रहन्छ । प्रज्वल कृषि फर्मले कृषकलाई आवश्यक सामग्री र प्रशिक्षण उपलब्ध गराउँदै आएको छ । विना खड्काका अनुसार, ‘हामी कृषकलाई जैविक मल उत्पादनका तरिका देखाउँछौँ र उनीहरूलाई बजारसम्म जोड्ने काम पनि गर्छौँ । यसले कृषकलाई थप उत्प्रेरणा दिएको छ ।’
स्थानीय कृषक थलबहादुर खड्काका अनुसार, गडौला मलले केवल उत्पादन वृद्धि मात्र होइन, लागत घटाउने र वातावरण संरक्षणमा समेत टेवा पुर्याएको छ । ‘हामीले प्रयोग गर्ने सामग्री पूर्णतया जैविक र वातावरणमैत्री भएकाले यो खेती दीगो र लाभदायी छ,’ उनले भने । गडौला मल उत्पादनले कोहलपुरका कृषकहरूमा नयाँ सोच र अभ्यासको विकास गरेको छ । कृषकहरू अब रासायनिक मलको अत्याधिक प्रयोगमा निर्भर नहुँदै जैविक मल प्रयोगमा जोड दिइरहेका छन् । यसले स्वास्थ्य र पर्यावरण दुवैमा सकारात्मक प्रभाव पार्दै आएको छ ।
कृषकहरूका अनुसार, गडौला मलको प्रयोग गर्दा माटोमा क्षारीयता कम हुन्छ र जल व्यवस्थापनमा समेत सुधार आउँछ । यसले दीर्घकालीन रूपमा खेतीलाई टिकाउ बनाउँछ । साथै, जैविक मलको माग बढेसँगै कृषकहरूले आम्दानीमा पनि वृद्धि अनुभव गरेका छन् । कोहलपुरका कृषकहरूको यो नयाँ अभ्यासले अन्य क्षेत्रका कृषकलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ । जैविक मल उत्पादनमार्फत उनीहरूले न केवल आफ्नो उत्पादन र आम्दानी बढाएका छन्, तर दीगो खेती, वातावरण संरक्षण र स्वास्थ्यप्रति पनि ध्यान दिएका छन् ।
विगत केही वर्षयता रासायनिक मलको प्रयोगले माटो ह्रास भइसकेको अवस्थामा, गडौला मलले कोहलपुरका कृषकहरूलाई स्वस्थ, लाभदायी र टिकाउ खेतीतर्फ उन्मुख गराएको छ । कृषकहरूका अनुसार, जैविक मल प्रयोगले माटो र वातावरण दुवैको संरक्षण हुन्छ र भविष्यमा कृषकको आम्दानी सुनिश्चित गर्छ । कोहलपुरमा गडौला मल उत्पादनको अभ्यास निरन्तर बढ्दै गएको र कृषकहरूको जीवनस्तर सुधारमा यसले महत्वपूर्ण भूमिका खेलिरहेको छ । जैविक मलको प्रयोग र उत्पादनले कोहलपुरलाई मात्र नभई वरिपरिका क्षेत्रलाई पनि जैविक खेतीतर्फ प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।





