२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौं, चैत २६  प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो।

मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।

सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिइन्।

रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ।

साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

यसैगरी, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसेका छन्।

काठमाडौँ ,चैत २६  चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी ‘लाइसेन्स’ छपाइ भइरहेको छ ।

उनले लाइसेन्स छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्सलाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको जानकारी दिए। यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई ‘लाइसेन्स’ छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी लाइसेन्स छाप्न निर्देशन दिए। मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ।मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो।

यसैबिच सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ । यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज रूपमा जानकारी लिन सहयोग पुर्‍याउनेछ। त्यस्तै, छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत जतिसक्दो चाँडो देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ । यसले वितरण प्रक्रियालाई समेत व्यवस्थित बनाएको छ । यही गतिमा काम अघि बढ्ने हो भने लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरणको समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आग्रहमा नै आफूहरूले उपसभामुख पदमा मनोनयन दर्ता गराएको दाबी गरेका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले प्रतिपक्षी दलहरूबीचको सहमति र लामिछानेको प्रत्यक्ष टेलिफोन संवादपछि राप्रपाले उम्मेदवारी दिएको बताएका हुन्।

‘रास्वपाका सभापतिज्यूले स्वयं फोन गरेर हामीलाई मनोनयन दर्ता गराउन भन्नुभएको हो,’ शाहीले भने, ‘सबै प्रतिपक्ष एक भएपछि हामीले दर्ता गराएका हौं।’

रास्वपाले अन्तिम समयमा आएर धोका दिएको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा शाहीले अहिल्यै त्यसरी टिप्पणी गर्न नमिल्ने बताए।

राजनीतिमा तलमाथि भइरहने बताउँदै उनले यदि रास्वपाले अर्कै निर्णय गरेको हो भने आफैं उम्मेदवारी दिन लगाउने लामिछानेलाई नै यस विषयमा प्रश्न गर्नुपर्ने बताए। अन्य दलहरूसँग पनि छलफल गरेरै राप्रपा अगाडि बढेको उनको भनाइ छ।

यता, राप्रपालाई उम्मेदवारी दिन लगाएको भनिएको रास्वपाले भने उपसभामुखमा अर्कै दललाई समर्थन गर्ने भएको छ। रास्वपाका प्रवक्ता मनिष झाले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

प्रवक्ता झाका अनुसार सांसद ठाकुरको उम्मेदवारीको समर्थकमा रास्वपाका सांसद अशोक कुमार चौधरी रहने तय भएको छ।

प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताएकी छन् । उम्मेदवारीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सधैँ देशलाई साथ दिने र देशको सेवा गर्ने बताइन।

सञ्चारकर्मीले यति सानो उमेरमा पदीय जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ भन्दै सोधेको प्रश्नमा उनले भनिन्, ‘म सक्छु। जिम्मेवारी सम्हाल्न सक्षम छु।’ ठाकुर २५ वर्षकी छन् ।

नीति नियमका कुरा, कानुन बनाउने कुरा, संवैधानिक पदको विषय जोड्दै प्रतिप्रश्न गर्दा उनले भनिन्, ‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु।’ 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।