२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

कोहलपुर । कोहलपुर नगरपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट हालसम्म २ हजार ४ सय २२ जना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य अवस्थाको पहिचान, समयमै उपचार तथा नसर्ने रोगहरूको व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ ।

नगरपालिकाले वैशाख १७ गतेदेखि विभिन्न वडामा सञ्चालन गरेको शिविर हालसम्म १२ वटा वडामा सम्पन्न भइसकेको जनाएको छ । विशेषगरी ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला परीक्षण तथा विभिन्न रोगहरूको पहिचान र उपचार सेवा प्रदान गरिएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीका अनुसार शिविरमा १ हजार ८ सय ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा २ सय २५ जनामा उच्च रक्तचाप र १ सय १० जनामा मधुमेहको समस्या पहिचान भएको छ । यस्तै १ हजार ५ सय ८६ जनाले मेडिकल ओपिडी सेवा लिएका छन् ।

स्वास्थ्य परीक्षणका क्रममा ३१ जनामा थाइराइड, १ सय २२ जनामा बाथरोग तथा ग्यास्ट्राइटिस, दम, श्वासप्रश्वासलगायत अन्य नसर्ने रोगहरू देखिएको ठकुरीले जानकारी दिए । जटिल अवस्था भएका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिएको उनले बताए ।

शिविरअन्तर्गत २ सय ७८ जनाले भिडियो एक्स–रे सेवा लिएका छन् । परीक्षणका क्रममा २७ जनामा मिर्गौलाको पत्थरी, १५ जनामा अन्य मिर्गौला सम्बन्धी समस्या, ५ जनामा पित्तथैलीको पत्थरी, २८ जनामा पाठेघर सुनिने तथा ४ जनामा अन्य पाठेघर सम्बन्धी समस्या पहिचान भएको छ ।

महिलाहरूलाई लक्षित विशेष स्वास्थ्य सेवाअन्तर्गत १ हजार १ सय २२ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । परीक्षणमा ३० जना शंकास्पद बिरामी फेला परेपछि उनीहरूलाई थप परीक्षणका लागि प्रेषण गरिएको छ ।

त्यस्तै, ८ सय महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा २४ जनामा पोजेटिभ र ८० जनामा शंकास्पद अवस्था देखिएको ल्याब टेक्निसियन दीपक शर्माले जानकारी दिए । उनीहरूलाई पनि थप परीक्षण तथा उपचारका लागि सिफारिस गरिएको छ ।

नगरपालिकाका अनुसार शिविरमार्फत ४ सय ४ जनालाई विभिन्न स्वास्थ्य समस्यासम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान गरिएको छ । कुल लाभग्राहीमध्ये २ हजार ४९ महिला र ३ सय ७३ पुरुष रहेका छन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बाँकी वडाहरूमा समेत शिविर सञ्चालन गरिने जानकारी दिएका छन् । उनका अनुसार जेठ २० गते वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्र, जेठ २३ गते वडा नं. १ स्थित कृष्ण माध्यमिक विद्यालय तथा जेठ ३० गते वडा नं. ११ मा रहेको नगर अस्पतालमा शिविर सञ्चालन हुनेछ ।

नगर प्रमुख आचार्यले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन नगरवासीलाई आग्रह गरेका छन् । उनले नसर्ने रोगको समयमै पहिचान र उपचारका लागि यस्ता शिविर प्रभावकारी बन्दै गएको बताए ।

 
 

सल्यान, जेठ १९   शारदा नदी तथा आसपासका खोलानालाबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन र ढुवानी गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले पछिल्लो दुई महिनामा ठूलो मात्रामा सवारीसाधन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार चैत र वैशाख महिनामा मात्रै अवैध रूपमा गिट्टी–बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न ६३ वटा ट्याक्टर, टिपर, जेसिबी, एक्साभेटर र ट्रक नियन्त्रणमा लिइएको छ । तीमध्ये अधिकांशलाई सम्बन्धित स्थानीय तहमा बुझाएर जरिवाना असुलीपछि छाडिएको छ । पछिल्लो घटनामा मंगलबार शारदा नदीबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गरेको आरोपमा एक जेसिबी र एक ट्याक्टर नियन्त्रणमा लिएर शारदा नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ । नगरपालिकाले सोही घटनामा ४ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।

यसअघि आइतबार ईलाका प्रहरी कार्यालय रागेचौरले कुमाख गाउँपालिका–१ टाटके क्षेत्रबाट रागेचौरतर्फ बालुवा बोकेर आउँदै गरेका दुई ट्याक्टर पनि नियन्त्रणमा लिएको थियो । ती सवारीसाधन र चालकलाई आवश्यक कारबाहीका लागि पालिकामा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नदीजन्य पदार्थ उत्खननमा मापदण्डविपरीत खोलामै जेसिबी प्रयोग गर्ने, रातको समयमा उत्खनन गर्ने र अनुमति क्षेत्रभन्दा बाहिरबाट सामग्री संकलन गर्ने गतिविधि बढेकाले नियन्त्रण कडा पारिएको हो ।

उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनबाट करिब २ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरीले अवैध उत्खननले जलचर प्राणीको विनाश, नदीको प्राकृतिक बहावमा असर, पानीका स्रोत घट्ने तथा बाढी–पहिरोको जोखिम बढाउने भएकाले यस्तो गतिविधि रोक्न स्थानीय तह र सरोकारवालासँग समन्वय आवश्यक रहेको जनाएको छ । साथै अमानत प्रणालीमार्फत उत्खनन गर्न पाउने–नपाउने विषयमा स्पष्ट नीति नहुँदा पनि समस्या देखिएको प्रहरीको भनाइ छ ।

कोहलपुर, जेठ १९   बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबीच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन्न कारागारमा सरुवा गरिएको छ । पश्चिम नवलपरासी, दाङ, रुपन्देही र कपिलवस्तुका कारागारमा सरुवा गरिएको हो ।

बर्दघाट कारागार, केहीलाई तुलसीपुर कारागार, घोराही कारागार, रुपन्देही र कपिलवस्तु कारागारमा चार/चारजना गरी २० जनाको सरुवा गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कारागार प्रशासनका अनुसार बी ब्लकमा रहेका कैदी ओमप्रकाश अवस्थीलाई आन्तरिक सरुवा गरी डी ब्लकमा स्थानान्तरण गरिएपछि अन्य कैदीबन्दीहरूबीच असन्तुष्टि देखिएको थियो । सोही विषयलाई लिएर कैदी समूहबीच विवाद चर्किँदै गएपछि सामान्य हातपातसमेत भएको बताइएको छ । स्थिति बिग्रिँदै गएपछि करिब ३५ देखि ४० जनाको समूहले कारागारको च्यानल गेटभित्रबाट ढोका बन्द गरी होहल्ला तथा विरोध प्रदर्शन गरेका थिए । अर्को समूह करिब २० देखि २५ जना बाहिर बसेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । घटनापछि कारागार क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले तत्कालस्थिति नियन्त्रणमा लिएको थियो । त्यसपछि थप सुरक्षाका लागि सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरूले कैदीबन्दीलाई सम्झाइबुझाइ गरी अवस्था नियन्त्रणमा ल्याएका थिए । तर घटनापछि कैदीबन्दीहरूको व्यवहार र सुरक्षा जोखिम मूल्यांकनका आधारमा कारागार प्रशासनले कारबाहीस्वरूप २० जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । कारागार व्यवस्थापन विभागबाट प्राप्त निर्देशनअनुसार उनीहरूलाई नौबस्ता कारागारबाट बाहिर पठाइएको बताइएको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय बाँके, सहायक प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीहरू पनि घटनास्थल पुगेका थिए । उनीहरूको समन्वयमा करिब ८० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरी कारागारको स्थिति सामान्य बनाइएको थियो । यसैबीच, कैदीहरूले अनुसन्धानको माग गर्दै कारागारभित्रै केही संरचना क्षति गर्ने प्रयाससमेत गरेका थिए । तर सुरक्षाकर्मीको समयमै हस्तक्षेपपछि ठूलो क्षति हुन पाएन । हाल नौबस्ता कारागारको अवस्था पूर्णरूपमा सामान्य रहेको र बाँकी कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यस्ता घटना दोहोरिन नदिन निगरानी थप कडा बनाइएको समेत स्पष्ट पारेको छ ।

राप्तीसोनारी, जेठ १८  राप्तीसोनारी गाउँपालिकामा कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले माटो परीक्षण सिविर औपचारिक रूपमा सुरु गरिएको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिक, वैज्ञानिक र उत्पादनमुखी बनाउने रणनीति अन्तर्गत वडा नम्बर ८ बाट उक्त सिविरको सुरुवात गरेको हो ।

सोमबारदेखि सुरु भएको माटो परीक्षण सिविर आगामी दिनमा गाउँपालिकाका सबै वडामा विस्तार गरिने कृषि शाखाले जनाएको छ । किसानहरूको खेतबारीमै पुगेर माटोको अवस्था, उर्वराशक्ति तथा आवश्यक पोषक तत्वहरूको परीक्षण गरी उपयुक्त मल व्यवस्थापन र खेती प्रणालीबारे सुझाव दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि शाखा प्रमुख महेन्द्र खड्काका अनुसार पहिलो दिन मात्र १२६ जना किसानहरूको माटो परीक्षण गरिएको छ । परीक्षणका क्रममा माटोमा रहेका प्रमुख पोषक तत्वहरू जस्तै नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पहिचान गरिएको उनले जानकारी दिए । माटोमा यी तत्वहरूको सन्तुलनको आधारमा कुन बालीका लागि उपयुक्त हुन्छ र कस्तो प्रकारको मल प्रयोग गर्नुपर्छ भन्ने विषयमा प्राविधिक सुझाव समेत दिइएको छ ।

उनका अनुसार पछिल्लो समय परम्परागत खेती प्रणालीका कारण माटोको उर्वराशक्ति घट्दै गएको देखिएकाले वैज्ञानिक परीक्षण आवश्यक भएको हो । ‘किसानहरूले आफ्नो खेतको माटो कस्तो छ भन्ने थाहा नपाई अनावश्यक मल प्रयोग गर्ने प्रवृत्ति बढेको छ । यसले लागत बढाउने मात्र होइन, उत्पादनमा समेत नकारात्मक असर पार्छ,’ उनले बताए । सिविरको उद्घाटन तथा प्रारम्भिक अनुगमन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुको उपस्थिति रहेको थियो । उनले कृषिलाई आत्मनिर्भर बनाउने प्रमुख आधार नै माटोको सही परीक्षण र व्यवस्थापन भएको उल्लेख गरिन् । किसानहरूलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले उत्पादन वृद्धि र लागत न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

त्यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम चौधरी र वडा नम्बर ९ की वडा सदस्य रिता बस्नेतको पनि कार्यक्रममा सहभागिता रहेको थियो । उनीहरूले माटो परीक्षण सिविरले किसानलाई वैज्ञानिक खेतीतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । स्थानीय तहबाट यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सके कृषि क्षेत्रमा सकारात्मक परिवर्तन आउने उनीहरूको धारणा थियो । माटो परीक्षणका क्रममा किसानहरूको खेतबारीबाट नमूना संकलन गरी तत्कालै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । परीक्षणपछि किसानलाई आवश्यक मल, बाली छनोट तथा माटो सुधारका उपायबारे परामर्श दिइने कृषि शाखाले जनाएको छ ।

गाउँपालिकाका अनुसार आगामी दिनमा सबै वडामा क्रमशः सिविर सञ्चालन गर्दै अधिकतम किसानलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । यसले कृषि उत्पादनमा वृद्धि, लागतमा कमी र दिगो खेती प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषकहरूले पनि यस्ता सिविरले आफ्नो खेती प्रणाली सुधार गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । माटोको अवस्था थाहा पाएपछि अब सही बाली छनोट र मल प्रयोग गर्न सहज हुने उनीहरूको भनाइ छ ।
यसरी राप्तीसोनारी गाउँपालिकाले सुरु गरेको माटो परीक्षण सिविरले कृषकहरूलाई वैज्ञानिक कृषि प्रणालीतर्फ उन्मुख गराउँदै स्थानीय कृषि उत्पादनलाई दिगो र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।