
नगर प्रमुख, कोहलपुर
कोहलपुर, जेठ २२ कोहलपुर नगर अस्पतालबाट सञ्चालन हुँदै आएको स्वास्थ्य बीमाअन्तर्गतको औषधि वितरण तथा प्रयोगशाला सेवा अर्को निर्णय नआएसम्मका लागि स्थगित गरिएको छ । यस निर्णयपछि स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राहीहरू प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।
कोहलपुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय मातहत सञ्चालन हुँदै आएको कोहलपुर नगर अस्पतालले स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णय र परिपत्रअनुसार निर्धारण गरिएको सेवा थैलीको दररेट अत्यन्त न्यून भएको भन्दै उक्त दररेटमा सेवा दिन नसकिने जनाएको छ । स्वास्थ्य बीमा बोर्डको जेठ ११ गतेको निर्णय तथा जेठ १२ गतेको परिपत्रअनुसार जेठ १६ गतेदेखि लागू हुने गरी सेवा थैली परिमार्जन गरिएको थियो । तर परिमार्जित दररेटअनुसार औषधि तथा प्रयोगशाला परीक्षणको मूल्य अत्यन्त न्यून रहेको र सो दरमा सेवा सञ्चालन गर्दा आर्थिक रूपमा धान्न नसकिने अवस्था सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ ।
यही कारणले जेठ १९ गते (मंगलबार) बसेको नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले हाललाई स्वास्थ्य बीमाअन्तर्गत औषधि वितरण तथा प्रयोगशाला सेवा स्थगित गर्ने निर्णय गरेको हो । अर्को निर्णय नआएसम्मका लागि यो सेवा बन्द रहने सूचनामा उल्लेख गरिएको छ । अस्पताल प्रमुख डा. आनन्दकुमार चोरावारले नयाँ दररेटमा सेवा दिन असमर्थ रहेको स्पष्ट पारे । सेवा स्थगित भएपछि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौं सेवाग्राही प्रभावित भएका छन् । विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा तथा आर्थिकरूपमा कमजोर वर्गका बिरामीहरू बढी प्रभावित भएका छन् । अब उनीहरूले बीमा सुविधा प्रयोग गर्न नपाउँदा निजी फार्मेसी तथा निजी प्रयोगशालाबाट पूर्ण शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।
स्थानीय सेवाग्राहीहरूले स्वास्थ्य बीमा कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारणलाई सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु भए पनि सेवा नै स्थगित हुँदा विपरीत असर परेको बताएका छन् । अर्कोतर्फ, अस्पताल प्रशासनले भने स्वास्थ्य बीमा बोर्डले तोकेको दररेटमा सेवा सञ्चालन गर्न कठिनाइ भएको दोहोर्याएको छ । औषधि खरिद लागत, प्रयोगशाला सञ्चालन खर्च तथा सेवा प्रवाहसँग सम्बन्धित अन्य खर्च नधानेको कारण सेवा स्थगित गर्न बाध्य हुनुपरेको जनाएको छ । यस घटनाले स्वास्थ्य बीमा कार्यक्रमको नीति र स्थानीय तहमा यसको कार्यान्वयनबीच देखिएको असमञ्जस्यलाई उजागर गरेको छ । सरोकारवालाहरूबीच समन्वय गरी शीघ्र समाधान निकाल्नुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ । हालको अवस्थाका कारण सेवाग्राहीहरू अन्योलमा परेका छन् भने स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन कहिले हुन्छ भन्ने विषय अनिश्चित बनेको छ ।
गहिरो पीडाबोध भएको छ पूर्णप्रसाद आचार्य
नगर प्रमुख, कोहलपुर
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत कोहलपुर नगर अस्पतालबाट प्रदान हुँदै आएको औषधि वितरण तथा ल्याब सेवा स्थगित भएको समाचारप्रति हामीलाई गहिरो पीडाबोध भएको छ । गरिब, विपन्न तथा आर्थिकरूपमा कमजोर नागरिकको स्वास्थ्य उपचारमा महŒवपूर्ण सहारा बनेको स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रवाहमा अवरोध सिर्जना हुनु अत्यन्त दुःखद् र चिन्ताजनक विषय हो । स्वास्थ्य बीमा बोर्डको मिति २०८३/०२/११ को निर्णय तथा २०८३/०२/१२ को परिपत्रअनुसार सेवा दररेटमा गरिएको परिमार्जनका कारण सेवा प्रदायक संस्थाहरूले सेवा सञ्चालन गर्न कठिनाइ व्यहोर्नुपरेको अवस्था देखिएको छ ।
नयाँ दररेटमा औषधि तथा प्रयोगशाला सेवा सञ्चालन गर्दा सञ्चालन खर्चसमेत धान्न कठिन हुने निष्कर्षका आधारमा कोहलपुर नगर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको औषधि वितरण तथा ल्याब सेवा हाललाई स्थगित गरेको छ । यस निर्णयबाट स्वास्थ्य बीमा कार्यक्रममार्फत नियमित रूपमा सेवा लिइरहेका हजारौं नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्, जसको असर विशेषगरी गरिब तथा विपन्न वर्गमा बढी पर्ने देखिन्छ ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, दिगो र सेवाग्राहीमैत्री बनाउन आवश्यक नीतिगत सुधार, यथार्थपरक सेवा दर निर्धारण तथा सेवा प्रदायक संस्थाहरूका जायज समस्याको शीघ्र सम्बोधन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं । साथै, स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास कायम राख्न, प्रभावित सेवाहरू यथाशीघ्र पुनः सञ्चालन गर्न तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र सम्बन्धित सरोकारवाला निकायहरूलाई आवश्यक पहल गर्न हार्दिक आग्रह गर्दछौं ।
उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक तथा दक्षिण भारतका विभिन्न राज्यबाट आउने तीर्थयात्रीहरूको संख्या उल्लेख्य रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । भारतका केही राज्य सरकारले तीर्थयात्राका लागि आर्थिक अनुदानसमेत उपलब्ध गराउने गरेका कारण यात्रुप्रति आकर्षण झन् बढेको छ । यद्यपि यात्रामा केही चुनौती पनि छन् । भिसा प्रक्रिया, मौसमको अनिश्चितता, उच्च हिमाली क्षेत्रका कारण हुने स्वास्थ्य समस्या, सीमित पूर्वाधार तथा सञ्चार सुविधाको अभावले यात्रुहरूलाई कहिलेकाहीँ कठिनाइ भोग्नुपरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ । तर धार्मिक आस्था र आध्यात्मिक अनुभूतिको खोजीमा आउने तीर्थयात्रीहरूका लागि यी चुनौती गौण बन्ने गरेका छन् ।
नेपालगन्ज, जेठ २२ कैलाश–मानसरोवर तीर्थयात्राको सिजन सुरु भएसँगै भारतीय तीर्थयात्रीको उल्लेख्य आगमनले नेपालगन्जदेखि हुम्लाको सिमकोट र चीन सीमास्थित हिल्सासम्मको क्षेत्र यतिबेला अत्यन्त व्यस्त बनेको छ । हजारौं भारतीय श्रद्धालु कैलाश पर्वत र मानसरोवर तालको दर्शनका लागि हुम्ला मार्ग रोज्न थालेपछि विमानस्थल, होटल, यातायात सेवा तथा स्थानीय बजारहरूमा चहलपहल बढेको छ ।
नागरिक उड्डयन कार्यालयका अनुसार बुधबार मात्रै सिमकोट विमानस्थलमा दुईतर्फी गरी १ सय ७० उडान सञ्चालन भएका छन् । नेपालगन्जबाट सिमकोटका लागि जहाज र सिमकोटबाट हिल्सासम्म हेलिकोप्टरमार्फत तीर्थयात्री ओसार्ने कार्य तीव्र रूपमा भइरहेको छ । कार्यालयका अनुसार नेपालगन्ज–सिमकोट खण्डमा २९ वटा जहाज उडेका छन् भने सिमकोट–हिल्सा मार्गमा ५६ वटा हेलिकोप्टर उडान भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार तीर्थयात्रा सुरु भएको तीन सातामै २ हजार १ सय २४ भारतीय तीर्थयात्रीले कैलाश–मानसरोवर दर्शन गरिसकेका छन् । तीमध्ये करिब १ हजार २ सय पुरुष र ९ सय महिला रहेका छन् । आगामी सेप्टेम्बरसम्मका लागि झण्डै १५ हजारभन्दा बढी भारतीय तीर्थयात्रीले यात्रा बुकिङ गरिसकेको कैलाश यात्रा सञ्चालक संघ नेपालले जनाएको छ ।
भारतीय तीर्थयात्रीहरू प्रायः भारतको लखनउ हुँदै स्थलमार्गबाट नेपालगन्ज आइपुग्छन् । त्यसपछि नेपालगन्जबाट जहाजमार्फत हुम्लाको सिमकोट पुगेर हेलिकोप्टरबाट हिल्सा नाका हुँदै चीन प्रवेश गर्छन् । त्यहाँबाट मानसरोवर र कैलाश पर्वततर्फको यात्रा सुरु हुन्छ । यात्रा सञ्चालकहरूका अनुसार अन्य मार्गको तुलनामा समय कम लाग्ने र व्यवस्थापन सहज हुने भएकाले हुम्ला मार्ग भारतीय तीर्थयात्रीको पहिलो रोजाइ बन्दै गएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले तीर्थयात्रीको चाप अत्यधिक बढेको बताए । उनका अनुसार बिहान साढे ६ बजेदेखि नै उडान सञ्चालन गर्नुपर्ने अवस्था छ । तीर्थयात्रीहरूको सुरक्षाका लागि प्रशासन, प्रहरी र सम्बन्धित निकायले आवश्यक व्यवस्था मिलाएको उनले जानकारी दिए ।
सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार तीर्थयात्रीको चाप व्यवस्थापन गर्न विभिन्न वायुसेवा कम्पनीका जहाज नेपालगन्जमा केन्द्रित गरिएका छन् भने सिमकोटमा हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएका छन् । मौसम अनुकूल हुँदा दैनिक दर्जनौं उडान भइरहेका छन् । यद्यपि एकै समयमा धेरै उडान हुँदा हवाई ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । तीर्थयात्रीको आगमनले नेपालगन्ज र सिमकोटका होटल व्यवसायीलाई पनि राम्रो व्यवसाय मिलेको छ । नेपालगन्जका ठूला होटलहरू अधिकांश भरिभराउ भएका छन् भने सिमकोटका होटलहरूमा पनि कोठा अभाव हुन थालेको व्यवसायीहरूले बताएका छन् । स्थानीय भरिया, गाइड, होटल कर्मचारी तथा यातायात क्षेत्रमा संलग्न व्यक्तिहरूले समेत राम्रो आम्दानी गरिरहेका छन् ।
हुम्ला उद्योग वाणिज्य संघका अनुसार तीर्थयात्रीको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । स्याउ, ओखर, सिमी, फापर, उवा लगायतका स्थानीय उत्पादनले राम्रो बजार पाएका छन् । स्थानीय किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् भने पर्यटनसँग जोडिएका अन्य सेवा क्षेत्रहरू पनि चलायमान भएका छन् । भारतीय तीर्थयात्रीहरूका लागि कैलाश–मानसरोवर केवल एउटा भ्रमण गन्तव्य मात्र नभई गहिरो धार्मिक आस्थाको केन्द्र हो । हिन्दू धर्मावलम्बीहरू भगवान शिवको वासस्थानका रूपमा कैलाश पर्वतलाई मान्छन् । मानसरोवरमा स्नान गर्दा पाप नष्ट हुने र मोक्ष प्राप्त हुने विश्वासका कारण प्रत्येक वर्ष हजारौं श्रद्धालु यहाँ पुग्ने गरेका छन् । बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि पनि यो क्षेत्र अत्यन्त पवित्र मानिन्छ ।
उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक तथा दक्षिण भारतका विभिन्न राज्यबाट आउने तीर्थयात्रीहरूको संख्या उल्लेख्य रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । भारतका केही राज्य सरकारले तीर्थयात्राका लागि आर्थिक अनुदानसमेत उपलब्ध गराउने गरेका कारण यात्रुप्रति आकर्षण झन् बढेको छ । यद्यपि यात्रामा केही चुनौती पनि छन् । भिसा प्रक्रिया, मौसमको अनिश्चितता, उच्च हिमाली क्षेत्रका कारण हुने स्वास्थ्य समस्या, सीमित पूर्वाधार तथा सञ्चार सुविधाको अभावले यात्रुहरूलाई कहिलेकाहीँ कठिनाइ भोग्नुपरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ । तर धार्मिक आस्था र आध्यात्मिक अनुभूतिको खोजीमा आउने तीर्थयात्रीहरूका लागि यी चुनौती गौण बन्ने गरेका छन् ।
यस वर्ष पनि हुम्लाको हिल्सा नाका हुँदै हजारौं भारतीय तीर्थयात्री कैलाश–मानसरोवर पुग्ने अनुमान गरिएको छ । तीर्थयात्रीको निरन्तर बढ्दो आगमनले नेपालगन्ज, सिमकोट र समग्र हुम्ला क्षेत्रको पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई नयाँ ऊर्जा दिएको सरोकारवालाहरू बताउँछन् ।
मानसरोवर यात्रुलाई बाँके राष्ट्रिय निकुञ्जसँग जोड्न सकिए पर्यटनमा नयाँ अवसर

कैलाश–मानसरोवर दर्शनका लागि भारतबाट नेपालगन्ज हुँदै हुम्ला जाने तीर्थयात्रीको संख्या प्रत्येक वर्ष बढिरहेको छ । यस वर्ष मात्र हजारौं भारतीय श्रद्धालुले हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर यात्राको बुकिङ गरिसकेका छन् । तर तीर्थयात्रीको यो ठूलो प्रवाहलाई बाँकेको पर्यटनसँग जोड्ने पहल भने अझै प्रभावकारी रूपमा हुन सकेको छैन ।
पर्यटन व्यवसायीहरूका अनुसार नेपालगन्जमा एक वा दुई दिन बस्ने तीर्थयात्रीलाई बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सकिए स्थानीय पर्यटन क्षेत्रले उल्लेखनीय लाभ लिन सक्छ । नेपालगन्जबाट करिब आधा घण्टाको दूरीमा रहेको निकुञ्ज जैविक विविधता, वन्यजन्तु र प्राकृतिक सौन्दर्यका हिसाबले महŒवपूर्ण गन्तव्य मानिन्छ । बाँके राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती, चितुवा, जरायो, नीलगाई, घडियाललगायत विभिन्न वन्यजन्तु पाइन्छन् । जंगल सफारी, प्रकृति अवलोकन तथा चराचुरुङ्गी अध्ययनका लागि यो क्षेत्र उपयुक्त मानिन्छ । धार्मिक यात्रामा निस्किएका भारतीय पर्यटकलाई नेपालको तराई क्षेत्रको प्राकृतिक सम्पदासँग परिचित गराउने अवसर पनि यसबाट प्राप्त हुन सक्छ ।
पर्यटन व्यवसायीहरू भन्छन्, मानसरोवर यात्राको प्याकेजमै ‘हाफ डे’ वा ‘वन डे सफारी’ कार्यक्रम समावेश गर्न सकिए यात्रुको बसाइँ अवधि बढ्नेछ । यसले होटल, यातायात, गाइड सेवा र स्थानीय व्यापारमा प्रत्यक्ष आर्थिक लाभ पुर्याउनेछ । हाल अधिकांश तीर्थयात्री नेपालगन्जमा आइपुगेपछि अर्को दिन सिमकोटतर्फ उड्ने गर्छन् । मौसम प्रतिकूल हुँदा वा उडान रोकिने अवस्थामा पनि उनीहरू प्रायः होटलमै सीमित रहने गरेका छन् । यस्तो समयमा निकुञ्ज भ्रमणलाई वैकल्पिक गतिविधिका रूपमा विकास गर्न सकिन्छ । पर्यटन विज्ञहरूका अनुसार धार्मिक पर्यटन र प्राकृतिक पर्यटनलाई एकै प्याकेजमा जोड्न सकिए नेपालगन्ज केवल ट्रान्जिट केन्द्रमा सीमित रहने छैन । मानसरोवर यात्रुको बढ्दो आगमनलाई अवसरका रूपमा उपयोग गर्दै बाँके राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय पर्यटकमाझ चिनाउने उपयुक्त समय आएको उनीहरूको भनाइ छ ।
भारतीय तिर्थयात्रुलाई बागेश्वरी मन्दिर पुर्याउन सकिए..

भारतबाट कैलाश–मानसरोवर यात्रामा निस्कने अधिकांश श्रद्धालु नेपालगन्ज हुँदै हुम्ला पुग्छन् । धार्मिक आस्थासँग जोडिएका यस्ता यात्रुहरू नेपालगन्जमा पुगेर पनि यहाँको प्रमुख धार्मिकस्थल बागेश्वरी मन्दिरको दर्शन नगरी फर्किने अवस्था छ । सरोकारवालाहरूका अनुसार तीर्थयात्रीलाई व्यवस्थितरूपमा बागेश्वरी मन्दिरसम्म पुर्याउन सके नेपालगन्जको धार्मिक पर्यटनले नयाँ गति लिन सक्छ ।
नेपालगन्जको मुटुमा रहेको बागेश्वरी मन्दिर पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ । यहाँ दैनिक सयौं भक्तजन पुग्ने गर्छन् भने दशैं, चैते दशैं र विभिन्न धार्मिक पर्वमा ठूलो मेला लाग्ने गर्दछ । भारतका विभिन्न राज्यबाट आउने श्रद्धालुका लागि पनि यो मन्दिर आकर्षक धार्मिक गन्तव्य बन्न सक्ने सम्भावना रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । मानसरोवर जाने यात्रुहरूको मुख्य उद्देश्य धार्मिक यात्रासँग जोडिएको हुने भएकाले उनीहरूलाई बागेश्वरी मन्दिर, स्थानीय धार्मिक सम्पदा तथा सांस्कृतिक गतिविधिसँग जोड्न सकिए नेपालगन्जको पहिचान अझ फराकिलो बन्ने अपेक्षा गरिएको छ ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार ट्राभल एजेन्सीहरूले नेपालगन्ज आगमनपछि ‘बागेश्वरी दर्शन कार्यक्रम’ सञ्चालन गर्न सक्छन् । विमान उडानको समय, मौसम प्रतिकूलता वा अतिरिक्त बसाइका बेला मन्दिर दर्शन, आरती अवलोकन तथा धार्मिक कार्यक्रम समावेश गर्न सकिन्छ । यसबाट तीर्थयात्रीलाई नयाँ धार्मिक अनुभव प्राप्त हुने मात्र होइन, स्थानीय होटल, रेष्टुरेन्ट, यातायात तथा धार्मिक सामग्री बिक्री गर्ने व्यवसायीले समेत प्रत्यक्ष लाभ पाउनेछन् । मन्दिर वरपरको क्षेत्रलाई अझ व्यवस्थित बनाउने, बहुभाषिक सूचना सामग्री राख्ने तथा भारतका पर्यटकलाई लक्षित प्रचारप्रसार गर्ने हो भने आकर्षण अझ बढ्न सक्छ ।
पर्यटन व्यवसायीहरूको भनाइमा, कैलाश–मानसरोवर जाने यात्रुलाई नेपालगन्जमा एक दिन थप रोक्न सक्ने सबैभन्दा सहज माध्यम धार्मिक पर्यटन नै हो । त्यसका लागि बागेश्वरी मन्दिरलाई मानसरोवर यात्राको ‘आध्यात्मिक प्रवेशद्वार’का रूपमा स्थापित गर्न आवश्यक देखिन्छ ।




