२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

नेपालगञ्ज । ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक सम्बन्धी तीन दिने कार्यशाला नेपालगञ्जमा सुरु भएको छ । सामाजिक विकास मञ्च बाँकेको आयोजनामा मंगलबारदेखि सुरु भएको कार्यशालामा यसअघि सञ्चालित ‘पावर परियोजना’को सहयोगमा व्यवसाय सञ्चालन गरिरहेका २० जना युवाको सहभागिता रहेको छ ।

कार्यशालामा सहभागी युवालाई आफ्नो व्यवसायको अवस्था विश्लेषण गरी अद्यावधिक व्यवसायिक योजना निर्माण गर्न सहजीकरण गरिने परियोजना संयोजक राम श्रेष्ठले बताए । उनका अनुसार तीन दिने कार्यशालाको अवधिमा सहभागी युवाले आफ्ना व्यवसायका लागि अद्यावधिक योजना तयार गर्नेछन् ।

कार्यशालाका क्रममा युवालाई ‘अपलिफ्ट’ परियोजनाका उद्देश्य, कार्यक्रम तथा कार्य क्षेत्रका बारेमा समेत जानकारी गराइएको छ । कार्यशाला उद्घाटन कार्यक्रममा सामाजिक विकास मञ्चका संस्थापक अध्यक्ष घनश्याम उपाध्याय, सेभ द चिल्ड्रेनका दुर्गाप्रसाद तिवारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो ।

नेपालगञ्जमा किशोरकिशोरी तथा युवाको सीप, क्षमता विकास र भविष्यका लागि तयारीमा केन्द्रित ‘अपलिफ्ट’ परियोजना सञ्चालनमा आएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च बाँकेले परियोजना सञ्चालन गरेको हो ।

परियोजना संयोजक श्रेष्ठका अनुसार सिकाइ, नवप्रवर्तन, भविष्यका लागि तयारी तथा प्राविधिक रूपान्तरणमार्फत युवाको उत्थान गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो । परियोजना नेपालगञ्ज उपमहानगरपालिकाका ६ वटा वडामा सञ्चालन हुनेछ ।

श्रेष्ठका अनुसार परियोजनाका लागि नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर २, ८, १२, १३, २१ र २२ छनोट भएका छन् । साढे दुई वर्ष सञ्चालन हुने परियोजनाअन्तर्गत १६ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी तथा युवासँग विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।

परियोजनाले युवामा सिकाइ तथा सीप विकाससँगै नवप्रवर्तन, प्रविधिको प्रयोग र भविष्यका अवसरका लागि आवश्यक तयारीमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

नेपालगन्ज । बालबालिकाको आधारभूत सिकाइ बलियो बनाउने उद्देश्यले ‘ठूली दिदी’ (बिग सिस्टर) मोडेलमा आधारित परियोजना बाँकेसहित लुम्बिनी प्रदेशका चार जिल्लामा सञ्चालन भइरहेको छ । हेम्पेल फाउन्डेसनको आर्थिक सहयोग तथा भीएसओ नेपालको साझेदारीमा सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुले स्थानीय तहसँगको सहकार्यमा ‘आधारभूत सिकाइका लागि ठूली दिदी (बिग सिस्टर) मोडेलको परिष्कृत र विस्तार परियोजना’ सञ्चालन गरेको हो ।

परियोजना अन्तर्गत बाँके, बर्दिया, दाङ र कपिलवस्तुका विभिन्न स्थानीय तहमा विद्यालय तथा समुदायसँग सहकार्य गर्दै बालबालिकाको पढाइ, लेखाइ र गणितीय सीप सुधारमा जोड दिइएको छ । परियोजनाले विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, अभिभावक तथा शिक्षकको क्षमता विकाससँगै समावेशी र लैंगिक उत्तरदायी शिक्षालाई समेत प्राथमिकता दिएको छ । स्थानीय सरकारसँगको समन्वय, नीति निर्माणमा सहकार्य र बजेट समावेशीकरणमार्फत ‘ठूली दिदी’ मोडेललाई संस्थागत गर्ने लक्ष्य समेत परियोजनाले लिएको छ ।

परियोजनाबाट ४६२ विद्यालय, ४ हजार ६ सय २० शिक्षक, १ लाख १५ हजार विद्यार्थी, ८० हजार अभिभावक/हेरचाहकर्ता र ६ हजार ६ सय विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक समिति प्रत्यक्ष लाभाविन्त हुने बताइएको छ । साथै, ९५ जना ‘ठूली दिदी’ परिचालन गरी बालबालिकालाई सिकाइमा सहयोग गर्ने व्यवस्था गरिएको छ ।

परियोजनाको अनुभव, उपलब्धि, चुनौती र सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपालगञ्जमा जिल्लास्तरीय वार्षिक सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा ‘ठूली दिदी’हरूले परियोजनाका क्रममा प्राप्त गरेका प्रत्यक्ष अनुभव, सिकाइ, असल अभ्यास, चुनौती र समाधानका विषय प्रस्तुत गरेको सिकाई २ परियोजनाका जिल्ला शिक्षा अधिकृत गणेश बहादुर भुजेलले बताए । साथै, आगामी दिनमा परियोजनालाई अझ प्रभावकारी बनाउने रणनीति र योजनाबारे सरोकारवालाबीच छलफल पनि भएको भुजेलले जानकारी दिए ।

समापन कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न भएका थियो । त्यसक्रममा परियोजना सञ्चालित विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख एवम् अधिकृतहरु, शिक्षक, अभिभावक लगायतले पृष्ठपोषणसहित आवश्यक समन्वय र सहकार्यको प्रतिबद्धता ब्यक्त गरेका थिए । खजुराका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, जानकीका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारी, राप्तीसोनारीका शिक्षा शाखा प्रमुख मोहन वि.सी. लगायतले बोलेका थिए । परियोजनाका बारेमा परियोजना म्यानेजर फिरोज सिद्दिकीले जानकारी गराएका थिए ।

परियोजनाका जिल्ला शिक्षा अधिकृत भुजेलले सञ्चालन गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाकी ठूली दिदी तारा थापा क्षेत्रीले स्वागत मन्तब्य गरेकी थिइन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रविलाल मिजार, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जानकी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि शाखा प्रमुख विकास जि.सी. लगायतले उपस्थिति थियो । 

स्थानीय तहको सहकार्य र स्वामित्वले परियोजनालाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ । विद्यालय, शिक्षक, अभिभावक र समुदायलाई जोडेर बालबालिकाको आधारभूत सिकाइ सुधार गर्ने अभियानलाई थप विस्तार गर्ने लक्ष्य परियोजनाले लिएको छ । यो ४२ महिने परियोजना हो । मे २०२५ मा सुरु भएको परियोजना अक्टोबर २०२८ सम्म चल्नेछ ।  

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।