काठमाडौं ,कात्तिक ३० । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै मंसिर १ गते (आज) देखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए । एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो । आयोजक क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताए ।
‘टिम ओनरबाट ९ करोड प्राप्त हुनेछ । यसपटक डिजिटल प्लाटफर्ट ओटीटी ल्याएका छौं’, उनले थप आयबारे जानकारी दिँदै भने, ‘डिसहोमको डिसहोम गोबाट ५ करोड ३० लाखमा बिड भएको छ ।संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम रहेनेछ ।’
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् । एनपीएलको उद्घाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
दाङ, कात्तिक ३० दाङको लमहीमा भएको १६ किलोमिटर पुरुष तथा ५ किलोमिटर महिला मिनि म्याराथन दौडमा पुरुषतर्फ नेपाली सेना ज्वाला दल गण अर्जुनखोलामा कार्यरत यमराज खत्रीले उपाधि हात पारेका छन् । महिलातर्फ निरमाया चौधरीले पहिलो स्थान हासिल गरिन् ।
मिनि म्याराथनमा ५२ जना पुरुष र १० जना महिलाले सहभागिता जनाएका थिए । पुरुषतर्फ प्रेम बस्नेत दोस्रो, विशाल कुमार महत तेस्रो र सन्तोष सुनार सान्त्वना भएकाले क्रमशः १२ हजार पाँच सय, ८ हजार पाँच सय, ५ हजार पाँच सय र ३ हजार २ सय ९२ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिलातर्फ जमुना क्षेत्री दोस्रो र प्रिया कँडेल तेस्रो भइन् । पहिलो, दोस्रो र तेस्रो हुने महिलाले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
मिनि म्याराथन रोट्र्याक लमहीले आयोजना गरेको हो । कार्यक्रम रोट्र्याक लमहीका अध्यक्ष रुपक खनालको अध्यक्षता तथा लमही नगरपालिकाकी कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
खेलकुद क्षेत्रले युवामा सकारात्मक ऊर्जा भरिदिने भएकाले यसलाई सबैले प्राथमिकतामा राख्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिए । प्रतियोगिताको संयोजन किरण खनालले गरेका थिए ।
बाँके, कात्तिक ३० बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा शनिबार बिहानबाट सञ्चालनमा आएको छ । कात्तिक १६ बाट आंशिक रुपमा सञ्चालनमा आएको यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार समस्या आएपछि उक्त सेवा दिनभर बन्द भएको थियो ।
त्यस्तै लाइसेन्सका लागि आवेदन दिन मिल्नेगरी विभागले तयार पारेको वेबसाइट बउउथिमलिभध।मयतm।नयख।लउ पनि सञ्चालन आएको छ । पावर सप्लाई नभएकाले समस्या भएको र शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकाले शनिबार बिहानबाट सेवा सुरु भएको विभागका निर्देशक केशव खतिवडाले बताए । ‘अब लाइन जाँदा पनि सिस्टम बन्द हुँदैन,’ उनले भने, ‘जेनेरेटर त थियो, तर लामो समय लाइन जाँदा धान्न सक्ने अवस्था नभएर समस्या आएको हो ।’
अब लाइन जाँदा ब्याट्री र जेनेरेटरले प्रणाली चल्ने उनको भनाइ छ । उनका अनुसार देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयमध्ये अहिले ३८ वटाबाट मात्र यो सेवा सञ्चालनमा छ । रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडाबाट भने उक्त सेवा सुरु भइसकेको छैन । यी कार्यालयहरुबाट सेवा सञ्चालनमा आउन अझै केही समय लाग्ने निर्देशक खतिवडाले बताए ।
हुम्ला,कात्तिक ३० , सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।
सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिट्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन समस्या आएको भन्दै आपत्ति व्यक्त गर्दै आएका थिए । यही विषयलाई लिएर उनीहरुले तीन निजी एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णयपश्चात शनिबार नै ताला खोलिएको छ ।
जिल्लामा उपलब्ध राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसहित जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको प्रजिअ रेग्मीले बताए ।
सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । पन्ध्र सिट भएको जहाजमा यसअघि भनसुनका आधारमा टिकट वितरण हुँदै आएको थियो । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सम्पूर्ण उडानमा लागू हुने बताइएको छ ।
सिमकोटका युवाले हवाई टिकट वितरणमा अनियमितता भएको भन्दै शनिबार बिहान सबै एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । ताला लगाएको जानकारी पाए लगत्तै स्थानीय प्रशासनले तालाबन्दी गर्ने युवा, सुरक्षा निकाय, राजनीतिक दल र एयरलाइन्सका प्रतिनिधि राखेर बैठक राखेको थियो । बैठकको निर्णय भए लगत्तै ताला खोलिएको थियो । रासस
विकास एउटा निरन्तर यात्रा हो, हामीले अझ राम्रो बाटो खोल्ने प्रयास गरेका छौँ । बजेटले गाउँमा देखाएको प्रभावसँग मेल खान्छ ।
गाउँको यो परिवर्तन कुनै चमत्कार होइन, यो त योजनाबद्ध प्रयास, सामूहिक सहभागिता र प्रगतितर्फको दृढ इच्छाशक्तिको परिणाम हो । अर्को वर्ष, नयाँ कथाहरू, नयाँ उपलब्धिहरू र अझ नयाँ सम्भावनाहरू यसै आधारबाट अगाडि बढ्नेछन् ।
राप्तीसोनारी, कात्तिक ३० राप्ती सोनारी गाउँपालिका–६ को बिहान अब केही वर्षअघिको जस्तो रहँदैन । गाउँको मुख्य बाटोबाट उठेको धुलो, साँझ परेपछि बत्ती नआएको कारण बगैँचाबाट घर पुग्दा लाग्ने डर, कार्यालयमा पुगेर कागज–कलम खोज्दै अल्मलिनुपर्ने अनौपचारिक अवस्था—यी सबै धेरैका सम्झनामा मात्र बाँकी छन् । मानिसहरूका आँखामा अहिले गुनासोभन्दा बढी ‘परिवर्तन हुँदैछ’ भन्ने अनुभूति देखिन्छ । यो परिवर्तन एकाएक आएको होइन, तर ९५ लाख रुपैयाँको वडीय बजेट सुव्यवस्थित ढंगले सञ्चालन भएपछि बस्तीको स्वरूप बदलिन थालेको हो । वडा अध्यक्ष लवराज खरेलको नेतृत्वमा अघि बढेको यो आर्थिक वर्ष गाउँलेको जीवनसँग प्रत्यक्ष जोडिएका धेरै विषयहरूमा प्रभाव पार्दै गएको एउटा यात्राजस्तै देखिन्छ ।
गाउँमा परिवर्तन महसुस गर्ने पहिलो स्थान भनेकै वडा कार्यालय हो । केही वर्षअघि सेवा लिन जाँदा इन्टरनेट चल्दैन, प्रिन्टर बिग्रेको छ, वा फोटोकपी खोज्दै बाहिर धाउनुपर्ने अवस्था नियमितजस्तो थियो । अहिले कार्यालय छिर्नासाथ कामको गति नै फेरिएको अनुभव हुन्छ । आवश्यक पानी–बिजुलीदेखि इन्टरनेट सेवा, कर्मचारीका लागि मर्मतसुधार भएका कम्प्युटर, एसी र प्रिन्टर—यी सबैले कार्यालयलाई आधुनिकता नजिक पुर्याएका छन् । साना–साना खर्च देखिने प्रशासनिक शीर्षकहरू—जस्तै संचार खर्च, इन्धन, मसलन्द र अन्य सामग्री खरिद—पहिले सामान्य देखिन्थे, तर आज तिनै कुराले सेवा प्रवाह सहज र छरितो बनाइदिएका छन् ।
वडा कार्यालयमा भौतिक सुधारका साथै सूचना प्रविधिमा गरिएको लगानीले ठूलो परिवर्तन ल्याएको छ । फ्री वाइफाइ जडान भएपछि कार्यालयमा आउने आम नागरिकदेखि विद्यार्थी र स्थानीय समूहले समेत सहज पहुँच पाएका छन् । सूचना प्रकाशन र छापाहरू नियमित हुन थालेका छन्, जसले वडाको काम पारदर्शी बन्दै गएको छ । यति मात्र होइन, ीभ्म् जडानपछि सूचना तथा कार्यक्रमको प्रसार अझै प्रभावकारी बनेको छ ।
शिक्षा क्षेत्रमा वडाले यस वर्ष विशेष ध्यान दिएको देखिन्छ । गाउँकै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लागि सञ्चालन गरिएको कम्प्युटर तालिमले उनीहरूको सीपस्तरमा उल्लेख्य प्रभाव पारेको छ । कम्प्युटरको आधारभूत ज्ञान अब विकल्प होइन, आवश्यकता बनेको छ । यही आवश्यकता बुझेर वडाले छात्रवृत्ति कार्यक्रम पनि अघि सारेको छ, जसले आर्थिक कठिनाइ भएकालाई राहत र प्रेरणा दिएको छ । विद्यालय तहमा भएका गतिविधिहरू—रनिङ शिल्ड प्रतियोगितादेखि सिद्धेश्वर माध्यमिक विद्यालयमा रहेको अधुरो मन्दिर निर्माण—सबैले शिक्षा वातावरणलाई समग्र रूपमा समृद्ध बनाएको छ ।
गाउँका वृद्धहरू कहिलेकाहीँ भन्छन्, ‘वडा कार्यालय त युवाको मात्रै ठाउँ जस्तो लाग्थ्यो, अहिले भने हामीलाई पनि विचार गरियो ।’ उनको यो भनाइ जेष्ठ नागरिकलाई प्रदान गरिने न्यानो कपडा वितरणसँग प्रत्यक्ष जोडिएको छ । मौसम बदलिँदै गर्दा न्यानो पोसाक पाउनु केहीका लागि सामान्य लागे पनि कतिपयलाई यो ठुलो राहत हो । यस्तै स्वास्थ्य सेवा क्षेत्रमा गरिएका कार्यहरूले पनि धेरैलाई राहत दिएको छ । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र स्वयंसेविकालाई आवश्यक सामग्री सहयोग पुर्याइएको छ । एम्बुलेन्स मर्मत र व्यवस्थापनमा देखिएको ध्यानले आकस्मिक अवस्थाहरूमा ठूलो काम गरिरहेको छ ।
गाउँको अर्थतन्त्रको मेरुदण्ड कृषि हो । राप्ती सोनारी–६ मा बजेटको महŒवपूर्ण हिस्सा कृषि क्षेत्रमा लगानी भएको छ । धान र गहुँको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । किसानहरूले यसलाई ठूलो राहतको रूपमा लिएका छन् । खेतीपातीमा निरन्तर महँगो हुँदै गएको लागतले किसानलाई थिचिरहेको बेला बीउ, औजार र किटनाशक औषधिमा गरिएको सहुलियतले उनीहरूका दैनिक समस्यामध्ये धेरैलाई हल्का बनाइदिएको छ । किसानले मिनी टेलर, कृषि मोटरजस्ता उपकरण ५० प्रतिशत अनुदानमा पाउन थालेसँगै खेत जोत्ने, सिंचाइ गर्ने र उत्पादन बढाउने काम द्रुत गतिमा हुन थालेको छ ।
कृषिमा आत्मनिर्भरता बढाउने लक्ष्यसहित सञ्चालन गरिएको ‘एक घर एक करेसाबारी अभियान’ अहिले गाउँभरि फैलिँदै छ । घरछेउ–छाउमा तरकारी र फलफूल उत्पादन हुन थालेपछि धेरै घरमा त हप्ता दिनसम्म बजार नजाने अवस्था आएको छ । विगतमा बजारबाट ल्याएको तरकारीमा खर्चिने पैसाले अब पशुपालन, साना व्यवसाय र बालबालिकाको पढाइमा सहयोग पुगेको अनुभव स्थानीयले सुनाएका छन् ।
सामाजिक परिवेश परिवर्तन गर्न वडाले अघि सारेका कार्यक्रमहरू पनि उल्लेखनीय छन् । बाल विवाह न्यूनीकरण सञ्जाल, महिला तथा बालबालिकामुखी कार्यक्रम, मुक्त कमलरी अभियान—यी कार्यहरूले सामाजिक रूपान्तरणको आधार तयार गरेको छ । कला–संस्कृति संरक्षण कार्यक्रमले गाउँमा रहेका पुराना परम्परा, नृत्य, गीत र स्थानीय पहिचानलाई समेटेर निरन्तरता दिएको छ । वडा परिसरमा सिर्जनात्मक हस्तलेख र चित्र निर्माण कार्यक्रमले विद्यालयका विद्यार्थीदेखि स्थानीय कलाकारसम्मलाई सामाजिक सन्देशसँग जोड्ने अवसर दिएको छ ।
युवापुस्ता गाउँको भविष्य मात्र होइन, त्यो भविष्यको जीवन्त उर्जा पनि हुन् । खेल मैदान मर्मत, क्रिकेट प्रतियोगिता सञ्चालन र खेलाडी सम्मान—यी गतिविधिले गाउँका युवाहरूमा उत्साह र अनुशासन दुवै बढाएको छ । पहिले बिहान–बेलुका सुनसान रहने मैदान अहिले युवाहरूको आवाज र उत्साहले भरिन थालेको छ । बिस्तारै प्रतिभा पहिचान हुँदैछ, र वडाले खेललाई समुदाय बलियो बनाउने माध्यमका रूपमा हेरेको छ ।
पूर्वाधार निर्माणमा भएको लगानी वडाको अर्को महत्वपूर्ण उपलब्धि हो । गाउँका विभिन्न स्थानमा नयाँ बाटो बनेका छन्, कतै मर्मत भएका छन्, कतै ह्युमपाइप जडान गरिएको छ । पहिले थोपा पानीको बाढी आउँदा पनि सडक बग्थ्यो, अहिले संरचनाले त्यो समस्या कम भएको छ । विद्युत पोल खरिदले बस्तीमा उज्यालो थपिएको छ, जसले सुरक्षा र सामाजिक गतिविधिमा ठूलो प्रभाव पारेको छ । नाइग्राफलमा गरिएको मेशजाली निर्माणदेखि सिद्धेश्वर मावि परिसरमा संरचना निर्माणसम्म—यी सबैले सांस्कृतिक तथा सामुदायिक दुवै आवश्यकतामा सहयोग पुगेको छ ।
यता, विपद् व्यवस्थापनतर्फ पनि वडाले समयमै ध्यान दिएको छ । आकस्मिक विपद् व्यवस्थापन कार्यक्रमले बाढी, आगलागीदेखि महामारीसम्मका अवस्थाहरूमा राहत र सुरक्षाका उपायहरू तयार राख्ने काम गरिरहेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूको नमुना गाउँ अवलोकन कार्यक्रमले अर्को ठाउँको राम्रो अभ्यास सिकेर आफ्नै गाउँमा लागू गर्न मद्दत गरेको छ ।
बजेटको वितरण कहिले काहीँ आलोचना र प्रश्नहरूका बीच पनि अघि बढ्नुपर्ने हुन्छ । ‘विविध खर्च’, ‘भ्रमण खर्च’ जस्ता शीर्षकहरू धेरैलाई अस्पष्ट लाग्न सक्छन्, तर वडाले ती खर्चहरू योजनाबद्ध अध्ययन, समन्वय र कार्यान्वयनका लागि आवश्यक रहेको स्पष्ट पारेको छ ।
अहिले गाउँका मानिसहरूको अनुभव एउटै छ—वडा कार्यालयमा पुगेपछि अब काम ‘गाह्रो’ होइन, ‘सम्भव’ छ । अझै पनि गर्नुपर्ने धेरै काम बाँकी छन् । तर बाटो निर्माण, स्वास्थ्य सेवा, कृषि सहयोग, सामाजिक अभियान र सूचना प्रविधिमा गरिएको लगानीले गाउँलाई दिगो विकासतर्फ अघि बढाएको छ ।
वडा अध्यक्ष लवराज खरेल भन्छन्, ‘विकास एउटा निरन्तर यात्रा हो, हामीले अझ राम्रो बाटो खोल्ने प्रयास गरेका छौँ ।’ उनको यो भनाइ बजेटले गाउँमा देखाएको प्रभावसँग मेल खान्छ । ९५ लाखको यो बजेट विशाल रकम होइन, तर यसको प्रभाव सुव्यवस्थित, सन्तुलित र समुदायमुखी ढंगले परिचालन गर्दा कति ठूलो परिवर्तन आउँछ भन्ने उदाहरण बनेको छ । राप्ती सोनारी गाउँपालिका–६ अहिले विस्तारै उज्यालो, सुरक्षित, सीपयुक्त, आत्मनिर्भर र सामाजिक रूपमा जिम्मेवार बस्तीमा रूपान्तरण हुँदैछ ।
गाउँको यो परिवर्तन कुनै चमत्कार होइन, यो त योजनाबद्ध प्रयास, सामूहिक सहभागिता र प्रगतितर्फको दृढ इच्छाशक्तिको परिणाम हो । अर्को वर्ष, नयाँ कथाहरू, नयाँ उपलब्धिहरू र अझ नयाँ सम्भावनाहरू यसै आधारबाट अगाडि बढ्नेछन् ।