२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा नेतृत्वका लागि दाबी गरेकाले यहाँ ‘साइलेन्ट’ रूपमा उनी पक्षमा लबिङ भएको थियो । यद्यपि पोखरेलका पक्षमा खुलेर प्रतिनिधि निर्वाचनमा होमिएनन् ।

 

बुटवल, मंसिर १६  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटमा ‘साइलेन्ट’ रूपमा नेतृत्व परिवर्तनको संकेत देखा परेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा नेतृत्वका लागि दाबी गरेकाले यहाँ ‘साइलेन्ट’ रूपमा उनी पक्षमा लबिङ भएको थियो । यद्यपि पोखरेलका पक्षमा खुलेर प्रतिनिधि निर्वाचनमा होमिएनन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये केहीमा सर्वसम्मत र बाँकीमा चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट भएको नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा निर्विरोध प्रतिनिधि चयन भए भने रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तु, पाल्पा जिल्लामा निर्वाचनबाट प्रतिनिधि छनोट भए ।

निर्विरोध निर्वाचन भएको भनिएको दाङ र बाँकेमा विवाद कायमै छ । ‘केही प्रक्रियागत त्रुटि देखिएको छ, कतै विचारका हिसाबले गुट पनि भयो होला’, अध्यक्ष कँडेलले भने, ‘समग्रमा लुम्बिनीमा प्रतिनिधि चयन सफल रूपमा सकिएको छ ।’ उनका अनुसार लुम्बिनीबाट केन्द्रीय आयोजक समितिमा रहेकाबाहेक १ सय ९० जना प्रतिनिधि चयन भएका छन् ।

लुम्बिनीबाट खुलातर्फ ८० जना, महिलातर्फ ५३, युवातर्फ २६, दलिततर्फ १९, मजदुरतर्फ ७ र प्रदेश कमिटीतर्फ पाँचजना गरी १ सय ९० जना प्रतिनिधि चयन भएका हुन् । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारे बहस भएकाले एमालेभित्र वरिष्ठ उपाध्यक्ष पोखरेलले उम्मेदवारी घोषणा गरेर ओलीको विकल्प खोज्नुपर्ने बताइरहेका छन् ।

लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका बिचमा कित्ताकाट भएर निर्वाचन भएको हो । यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षबाट अर्थमन्त्री बनेका एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि ओली पक्षमै रहेको सन्देश गएपछि यहाँ महासचिव शंकर पोखरेल पक्षसँग प्रतिस्पर्धा भएको देखिएको हो ।

एमालेका एक नेताका अनुसार लुम्बिनी प्रदेशमा विष्णु र शंकर पक्षका करिब आधाआधा प्रतिनिधि छनोट भएका छन् । लुम्बिनीका नवलपरासी पश्चिम, अर्घाखाँची र कपिलवस्तु पोखरेल पक्ष बलियो रहेको छ भने रुपन्देही, पाल्पा र गुल्मीमा पौडेल पक्ष बलियो रहेको ती नेताले बताए ।

दाङ, बाँके बर्दिया, रुकुम, राल्पा, प्युठानमा दुवै पक्ष बराबर देखिन्छन् । उपाध्यक्ष पौडेल अन्तिममा वरिष्ठ उपाध्यक्ष पोखरेलका पक्षमा खुलेमा लुम्बिनीको मतले नेतृत्व परिवर्तनमा ठूलो धक्का लाग्न सक्नेछ । एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माको गृहजिल्ला रहेको रुपन्देहीमा अधिकांश विष्णु पौडेल पक्षका प्रतिनिधि छनोट भएका छन् । रुपन्देहीका ५ क्षेत्रमध्ये १, २ र ४ निर्वाचन क्षेत्रमा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको छ ।

रुपन्देही–३ र ५ मा निर्विरोध भएको हो । उपाध्यक्ष पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देही–२ बाट खुलातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र युवातर्फ बालकृष्ण पाण्डे निर्वाचित भएका छन् । निर्वाचित भएकामध्ये केसी, भट्टराई र गुरुङ शंकर पोखरेल निकट मानिन्छन् ।

रुपन्देही–१ बाट खुलातर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिला तर्फ जगेश्वरी चौधरी र राधा शाही, युवातर्फ कृष्ण पौडेल चयन भएका छन् । यस्तै यो क्षेत्रबाट पूर्वराष्ट्रपति विद्या भण्डारीका पक्षमा खुलेका युवा नेता सुमन पुरी पराजित भएका छन् । संस्थापन पक्षका मदन भण्डारी स्पोर्टस् एकेडेमीका ध्रुव आचार्य पनि पराजित भएका छन् ।

रुपन्देही–३ बाट राजेन्द्र पन्थी, अयोध्या थारू, नरबहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल, चक्रबहादुर थापा निर्विरोध भएका छन् । रुपन्देही–४, बाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी निर्वाचित भएका छन् । रुपन्देही–५, बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल निर्वाचित भएका छन् । जिफन्ट लुम्बिनी प्रदेशबाट खुलातर्फ हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, सन्तोष केसी, हुमबहादुर क्षेत्री र महिलातर्फ रञ्जु भट्टराई, सरस्वती सुवेदी र मंगला जैसी निर्वाचित भएका छन् ।

यस्तै महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट २३ जना प्रतिनिधि चयन भएका छन् । जिल्ला सचिव सूर्यबहादुर डाँगीका अनुसार खुलातर्फ १३, महिलातर्फ ७ र दलिततर्फ ३ जना गरी २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । यद्यपि यहाँ विवाद छ । खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन् ।

महिलातर्फ भने सीता चौधरी, लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र सीता चौधरी तथा रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा चयन भएकी छन् । दलिततर्फ भने मानबहादुर विक, निर्मला विक र टंक बहादर विक रहेका छन् । यसैगरी नवलपरासी–१ बाट दीपेन्द्रकुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन् । नवलपरासी–२,बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुल्सीप्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन् ।

यता पाल्पा–१ बाट खेमबहादुर सारु, नारायण आचार्य, दमनसिंह पाटा मगर, बिष्णु आचार्य, दुर्गादेवी राना, तिरणकुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन् । पाल्पा–२ बाट रामजी पोखरेल, ओमबहादुर घर्ती, धनेन्द्रराज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जीसी, लालबहादुर दर्लामी, तुलबहादुर अधिकारी, श्रीकृष्ण पाण्डे, चिरञ्जीवी पोखरेल, शोभाखर भट्टराई, दीपक विश्वकर्मा (युवा), रञ्जिव कुँवर र श्रीकृष्ण पोखरेल निर्वाचित भएका छन् ।
कपिलवस्तु–१ बाट डम्मर शर्मा, विश्रामप्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पाण्डे, विमला चौधरी र टुकलाल गैरे (युवा), निर्वाचन क्षेत्र न. २ बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन् । त्यसैगरी कपिलवस्तु–३ बाट अर्जुनकुमार केसी, गोपालबहादुर थापामगर, गंगा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन् । दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए ।

यसैगरी एमाले अर्घाखाँचीका अनुसार ३ हजार ६५० मतमध्ये खुलातर्फ पीताम्बर भुसाल ३ हजार १८७ मत सहित विजयी भएका छन् । भुसालले लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेलाई महाधिवेशन प्रतिनिधिमा पराजित गराएका हुन् । घिमिरेले १ हजार ९८० मत ल्याए । यस्तै अर्घाखाँचीबाट वसन्तकुमार श्रेष्ठ, शम्भुप्रसाद पोख्रेल, तेजप्रसाद र कमलप्रसाद घिमिरे निर्वाचित भएका छन् । महिलातर्फ दीपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम र सुष्मा श्रेष्ठ निर्वाचित भएका छन् युवातर्फ तेजबहादुर रायमाझी र दलिततर्फ लिलबहादुर विक र आशा परियार निर्विरोध चयन भएका छन् ।

बाँके–१ बाट बलराम भट्टराई, कुस्माखर बस्याल, वसन्ती अधिकारी, खेमराज शर्मा र सुधा चौधरी निर्वाचित भएका छन् । क्षेत्र नम्बर–२ बाट निरक गुरुङ, हलिम शाह, मोहित शाह र हीरा खराल निर्वाचित भएका छन् । बाँके–३ बाट रत्न खत्री, मानबहादुर रुचाल, एकमाया विक, भूमिसरा धिताल, बिमल मल्ल र दलबहादुर सुनार निर्वाचित भएका छन् । गुल्मी–१ बाट बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पीताम्बर अर्याल, रामजी ढकाल, सुशीला पुन, राधिका अर्याल, अञ्जु कँडेल खत्री र अर्जुन कनौजे निर्वाचित भए ।

गुल्मी–२ बाट हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर बिष्ट, रितबहादुर थापा, ललित गौतम, कमला शर्मा, सरिता खड्का, माधव विष्ट निर्वाचित भएका छन् । दलिततर्फ रिता रम्तेल, सूर्य सोनी र कृष्ण सुनार निर्वाचित भएका छन् । त्यसैगरी रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर, भावना बुढाथोकी, ⁠गोपालप्रसाद सुनार र लीलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन् । बर्दिया–१ बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्णा गुरुङ, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी निर्वाचित भएका छन् ।

बर्दिया–२ बाट घननारायण श्रेष्ठ, दुर्गा वली, संगीता चौधरी, मेनका पोख्रेल र भरत धामी निर्वाचित भएका छन् । दलिततर्फ भूपेन्द्र सरला र विमला विक निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १३५ संगठित सदस्य छन् । मतदानमा ५० प्रतिशत मात्रै सहभागी भएका थिए ।

कैलाली ,मंसिर १६  सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुनका लागि गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सुरक्षा अधिकारी धनगढी आइपुगेका छन् । धनगढीमा भोलि प्रदेश सुरक्षा बैठक हुँदै छ ।

सशस्त्र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा सहसचिव आनन्द काफ्ले धनगढी आइपुगेका छन् । धनगढी पुगेलगत्तै गृहमन्त्री अर्यालले त्रिनगर भन्सार नाकाको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले नाकास्थित शान्ति पुनर्स्थापना गृहका कर्मचारीसँग कुराकानी गरेका थिए । नाकामा उनले नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा अधिकारीहरूसँग संयुक्त तस्बिर खिचाए ।

सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरू, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

विशेषगरी ग्रामीण भेग, आर्थिक रूपमा कमजोर परिवार, विपन्न समुदाय, विपद्ग्रस्त क्षेत्र र शिक्षाको स्तर कम भएका परिवारमा बालबालिका कुपोषणको उच्च जोखिममा हुन्छन् । तथापि, शहरमा बस्ने अभिभावकहरुको व्यस्तता, असन्तुलित र जंकफुडयुक्त जीवनशैलीका कारण पनि कुपोषणका समस्या बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।कुपोषित बालबालिकालाई निःशुल्क उपचार गरी पूर्णरुपमा स्वस्थ बनाउनु यसको उद्देश्य हो । परीक्षण, औषधि उपचार, खाना र बस्ने सबै सुविधा निःशुल्क हुन्छ ।

 

 

नेपालगन्ज, मंसिर १६  सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने सरकारको पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य छ । तर बाँकेको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन सहज छैन । बाँकेको पछिल्लो तीन वर्षको तथ्यांक केलाउने हो भने पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनाको समस्या विकराल देखिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ५४७ जनामा कुपोषण देखिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठ बताउँछन् । जबकि आर्थिक वर्ष २०७९/०८० मा ४२५ जना कुपोषित बालबालिका पहिचान भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा ४३७ जना कुपोषित बालबालिका पहिचान भएका छन् । कुपोषित बालबालिकाको अवस्था पहिचान भएपनि कुपोषणकै कारण मृत्यु भएको तथ्यांक भने कसैसँग छैन । कुपोषित पहिचान भएर मृत्यु भए तथ्यांक हुने हो नत्र कुपोषणकै कारण मृत्यु पुष्टि गर्न गाह्रो रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

पछिल्ला तीन आर्थिक वर्षमा कुपोषण दर बढेको देखिन्छ । पछिल्लो समयमा स्वास्थ्य सचेतनाका गतिविधि बढ्नु र परीक्षण दर पनि बढेकाले कुपोषित बालबालिकाहरुको संख्या बढेको श्रेष्ठ बताउँछन् । ‘स्वास्थ्यकर्मीहरु समुदायस्तरमा पुगेर बच्चाहरुको तौल लिने, हातको मापन गर्नेदेखि समग्र बालबालिकाको अवस्था पहिचान गर्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘जसका कारण समुदायमा लुकेर रहेका कुपोषित बालबालिकाहरुको पहिचान हुँदा संख्या बढेको हो ।’ विशेषगरी ग्रामीण भेग, आर्थिक रूपमा कमजोर परिवार, विपन्न समुदाय, विपद्ग्रस्त क्षेत्र र शिक्षाको स्तर कम भएका परिवारमा बालबालिका कुपोषणको उच्च जोखिममा हुन्छन् । तथापि, शहरमा बस्ने अभिभावकहरुको व्यस्तता, असन्तुलित र जंकफुडयुक्त जीवनशैलीका कारण पनि कुपोषणका समस्या बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

बाँकेको सवालमा नरैनापुर, डुडुवा, नेपालगन्ज, जानकी र खजुराको भारतीय सीमासँग जोडिएका वस्तीका सुकुम्बासी, दलित, मधेशी तथा मुस्लिम समुदायमा कुपोषणको अवस्था भयावह देखिन्छ । ‘उनीहरूको बानीव्यवहारमा परिवर्तन नै ल्याउन सकिएन,’ उनी भन्छन्, ‘जसका कारण कुपोषणको चुनौतीसँग जुध्न स्वास्थ्यकर्मीलाई गाह्रो भएको छ ।’ खानपान, सरसफाइ र स्वास्थ्य चेकजाँचमा ती समुदायको पटक्कै चासो नभएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । कुपोषणले जरा गाड्नुको प्रमुख कारण बालबालिकाहरुले पर्याप्त मात्रामा पोषिलो खाना खान नपाउनु नै भएको चिकित्सकहरु बताउँछन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. अनुप रनहोत्राका अनुसार बालबालिकाहरुले खानामा पर्याप्त प्रोटिन नपाउँदा कुपोषित हुने जोखिम बढी हुन्छ । उनी भन्छन्, ‘उपचारका लागि आउने अधिकांश बालबालिकामा खानामा पर्याप्त प्रोटिन नहुँदा तिनीहरू कुपोषित भएको देखिन्छ ।’ पोषिलो हुने स्थानीय खाद्यान्नको उत्पादन घट्नु, भएका खाना पनि सन्तुलित रुपमा उपभोग गर्न नजान्नुले कुपोषणको दर बढेको बालरोग विशेषज्ञ डा. रनहोत्रा बताउँछन् ।

जंकफुडलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको उपभोग बढाउन सके कुपोषणदर घटाउन मद्दत पुग्ने उनको भनाइ छ । ‘गाउँमा ढिँडो, फर्सी, हरियो साग, अन्डा, माछा, मासु बालबालिकालाई खुवाउन सकेमात्रै कुपोषणमा सुधार आउँछ । तर हामीले त्यही गर्न सकेका छैनौँ,’ उनले भने । गर्भवती महिलाले उचित र सन्तुलित आहार लिनु आफ्नै स्वास्थ्य र शिशुको विकासका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । सही पोषणले गर्भमा समेत कुपोषण रोक्न सकिने भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् । त्यसका लागि गर्भवती महिलालाई धूम्रपान, मध्यपान र जंकफुडबाट टाढा रहन उनका सुझाव छन् । उनले गर्भवती महिलाले नियमित फोलिक–आइरन चक्की खाने, प्रोटिनयुक्त खाना खाने र नियमित स्वास्थ्य चेकजाँच गर्ने हो भने कुपोषित बालबालिका जन्मने जोखिम कम हुने बताउँछन् ।

निःशुल्क उपचार
भेरी अस्पतालमा पोषण पुनःस्थापना केन्द्र स्थापनाको दुई दशक पूरा भइसकेको छ । २०६१ सालमा स्थापना भएको यो केन्द्र नेपालकै पहिलो हो । कुपोषित बालबालिकालाई निःशुल्क उपचार गरी पूर्ण रुपमा स्वस्थ बनाउनु यसको उद्देश्य हो । केन्द्रका प्रमुख दामोदर खनालका अनुसार केन्द्रमा कुपोषित बालबालिकाको सम्पूर्ण उपचार निःशुल्क हुन्छ । उनी भन्छन्, ‘परीक्षण, औषधि उपचार, खाना र बस्ने सबै सुविधा निःशुल्क हुन्छ ।’ केन्द्रमा १७ वटा बेड छन् । कुपोषण पुष्टि भएर आएका नेपालका जुनसुकै बालबालिकाहरुलाई केन्द्रमा निःशुल्क उपचार प्रदान गर्ने गरिएको उनको भनाइ छ । तर धेरैलाई केन्द्रले प्रवाह गर्ने सेवाबारे जानकारी नहुँदा निःशुल्क रुपमा पाउने सेवा पनि लिन नसकीरहेका छन् ।

कैलाली लम्कीचुहा–२ की कमला गौतमलाई पनि केन्द्रबारे थाहा थिएन । १७ महिना पुगेको आफ्नो छोराको तौल नबढेपछि उनले कैलालीमै उपचार गराइन् । तर सुधार भएन । थप उपचारका लागि भेरी अस्पतालको ओपीडीमा ल्याइन् । आवश्यक परीक्षणपछि बच्चा कुपोषित पुष्टि भयो । चिकित्सकले केन्द्रमा रिफर गरिदिए । उनले पोषण पुनःस्थापना केन्द्रमा छोरालाई भर्ना गरिन् । २५ दिनदेखि उपचाररत बच्चाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ । तौल बढ्दै गएको छ । केन्द्रमा आफ्नो बच्चाको उपचार गराइरहेकी बाँके राप्तीसोनारी–५, विनौनाकी खिमा खत्रीलाई पनि केन्द्रबारे थाहा थिएन ।

उपचारका लागि जब उनले आफ्नो छोरीलाई भेरी अस्पतालको ओपीडीमा ल्याइन्, तबमात्रै केन्द्रले निःशुल्क सेवा प्रवाह गर्दै आएको रहेछ भन्ने कुरा थाहा पाइन् । ९ महिनाकी छोरीको तौल नबढेपछि कार्तिक २८ गते केन्द्रमा भर्ना गरेर उपचार सुरु गरेकी उनी अहिले छोरीको तौल बढ्दै गएपछि खुसी छिन् । भेरी अस्पतालका कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. सुभाष पन्थीका अनुसार कडा खालका कुपोषित बालबालिकालाई भर्ना गरेर केन्द्रले उपचार सेवा प्रवाह गर्दै आएको छ । उनका अनुसार कुपोषण दुई प्रकारका हुन्छन् एउटा मध्यम कुपोषण र अर्को कडा कुपोषण । मध्यम कुपोषित बालबालिकालाई आवश्यक परामर्श र मल्टिभिटामिन दिएर पठाउने गरिएको छ भने कडा कुपोषित बालबालिकालाई चिकित्सककै निगरानीमा निःशुल्क उपचार गरिने गरिएको छ ।
लगानी न्यून

बालबालिकाले पोषिलो खाना नपाएर कुपोषणबाट ग्रसित भइरहेका बेला पोषण सुधारका लागि भने सरकारको लगानी न्यून छ । पोषण सुधारमा गरिएको सरकारी प्रयास व्यवस्थापकीय कमजोरीले उपलब्धिमूलक हुन सकेका छैनन् । पछिल्लो तीन आर्थिक वर्षमा स्वास्थ्य कार्यालय बाँकेसँग कुपोषणका लागि केवल १४ लाखको बजेट मात्रै प्राप्त हुने गरेको छ । त्यो बजेट केवल कुपोषित बालबालिकाको पहिचान, स्वास्थ्य सचेतना लगायतमै खर्च हुने गरेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । स्थानीय तहले पनि पोषणका क्षेत्रमा पर्याप्त मात्रामा लगानी गर्न सकिरहेका छैनन् । स्थानीय तहहरुले एक प्रतिशतभन्दा पनि कम बजेट पोषण कार्यक्रमका लागि छुट्याउने गरेका छन् । पोषण सुधारमा हाल गरिएको लगानी पर्याप्त नभएको श्रेष्ठ बताउँछन् । ‘प्रदेश र स्थानीय तहले पोषणमा सुधार गरेको लगानी पर्याप्त छैन, लगानी बढाउन आवश्यक देखिन्छ,’ उनी भन्छन, ‘पोषण सुधारमा लगानी नगर्दा दिगो विकासका लक्ष्य हासिल गर्न समेत कठिन हुने स्थिति देखिन्छ ।’

कोहलपुर, मंसिर १६   लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्ज, बाँकेको आयोजनामा डुडुवा गाउँपालिका–१, पिप्रहवामा अवस्थित श्री जनता माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । ‘प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखियो ।

कार्यक्रमको उद्देश्य विद्यार्थीलाई लैंगिक हिंसाका रूप, कारण र असरबारे बुझाउने मात्र नभई आधुनिक प्रविधिको सुरक्षित र जिम्मेवार उपयोगमार्फत हिंसा रोकथाममा उनीहरूको सक्रिय भूमिका सुनिश्चित गराउनु थियो । डिजिटल प्लेटफर्ममार्फत हुने दुरुपयोग, अनलाइन दुर्व्यवहार, साइबर धम्की, निजता हननजस्ता संवेदनशील विषयमा विशेषज्ञहरूले विस्तृतरूपमा जानकारी दिए । उनीहरूले सामाजिक सञ्जालमा सुरक्षित व्यवहार अपनाउने, अनलाइनमा उत्पीडन भएमा कसरी प्रतिक्रिया दिने, कसलाई जानकारी गराउने र कानुनी प्रक्रिया के–कस्ता छन् भन्नेबारे उदाहरणसहित स्पष्ट पारे ।

शान्ति पुनर्स्थापना गृहका प्रतिनिधिहरूले विद्यालय उमेरकै विद्यार्थीहरू धेरैजसो साइबर दुर्व्यवहारका जोखिममा पर्ने भएकाले सचेतना अत्यावश्यक रहेको उल्लेख गरे । उनीहरूले प्रविधिले सुविधा मात्र होइन, चुनौती पनि ल्याउने भएकाले सही प्रयोगका लागि परिवार, विद्यालय र समुदायको समन्वय हुनुपर्नेमा जोड दिए । साथै, विद्यालयका शिक्षकहरूले पनि विद्यार्थीहरूलाई अनुशासित, सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लैंगिक हिंसाबारे खुलेर छलफल गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफूले सिकेका कुराहरू विद्यालय र समुदायमा पनि प्रवाह गर्ने प्रतिबद्धता जनाए । विशेषगरी किशोर–किशोरीको मनोविज्ञान, सामाजिक दबाब र अनलाइन सम्पर्कका जोखिमबारे प्रस्तुत गरिएको जानकारी प्रभावकारी भएको उनीहरूको प्रतिक्रिया थियो ।

१६ दिने अभियानलाई विद्यालयमै लैजाँदै स्थानीय तहसम्म सचेतना विस्तार गर्ने प्रयासका रूपमा आयोजित यस कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीच लैंगिक समानता, सुरक्षित डिजिटल वातावरण र हिंसा रोकथामबारे साझा सोच निर्माण गर्न मद्दत पुर्‍याएको आयोजक संस्था शान्ति पुनर्स्थापना गृहले जनाएको छ ।

कोहलपुर, मंसिर १६ ,कोहलपुर नगरपालिकाले न्यूरोड क्षेत्रमा सार्वजनिक सुरक्षा र सडक व्यवस्थापनका लागि चालेको कदमलाई संघीय सांसद सूर्य ढकालले रोक्न खोजेको भन्दै स्थानीय तह र जनप्रतिनिधिबीच मतभेद सार्वजनिकरूपमा देखिएको छ । अत्यन्तै भीडभाड हुने न्यूरोडको डिभाइडर (सडकबीचको भाग) मा अनुमतिबिना फोटो खिचाउने व्यवसाय फस्टाएको गुनासो बढेपछि नगरपालिका सक्रिय बनेको थियो ।

न्यूरोड कोहलपुरको सबैभन्दा व्यस्त सडक हो । दिनभर ट्राफिकको चाप, पैदलयात्रीको भीड र असुरक्षित बाटो यहीबीच डिभाइडरवरिपरि फोटो खिचाउने युवाहरूको लामो लाइन देखिन्थ्यो । उनीहरूले २० रुपैयाँ शुल्क लिएर टिकटक तथा अन्य डिजिटल सामग्रीका लागि फोटो र भिडियो खिचिदिने गरेका थिए । यसले सडकमा भीड थपिनुका साथै दुर्घटना जोखिम बढाएको नगरपालिकाको तर्क छ । सार्वजनिक स्थानको फोहोर व्यवस्थापनसमेत चुनौती बनेको भन्दै स्थानीयले दर्ता गर्ने गुनासोपछि नगरपालिका हटाउने अभियानमा उत्रिएको थियो ।

यसअघि पनि नगरपालिका र व्यवसायी युवाबीच बढ्दो अव्यवस्थाका कारण विवाद भएको थियो । फोहोर, भीडभाड र शुल्क अत्यधिक रहेको उजुरी आएपछि नगरले फोटो खिच्नेलाई हटाएको थियो । तर केही समयपछि दुवै पक्षबीच सहमति भएपछि उनीहरू पुनः काममा फर्किएका थिए । पछिल्लो केही सातायता उजुरी दोहोरिएपछि नगरपालिका फेरि सक्रिय बनेको बताएको छ ।

यही क्रममा नेकपा एमालेबाट निर्वाचित संघीय सांसद सूर्य ढकाल युवाहरूको पक्षमा खुलेर उभिएका छन् । नगरले सञ्चालनमा रोक लगाउन खोजेको भन्दै सांसद ढकालले आपत्ति जनाएका छन् । उनका अनुसार यस कार्यमा संलग्न युवाहरूले रोजगारी सिर्जना गरिरहेका छन्, त्यसैले रोक्नु अनुचित छ ।
सांसद ढकालले सार्वजनिक रूपमा भनेका छन्, ‘कोहलपुर न्यूरोडमा नवयुवाहरू डेढ–दुई लाखको क्यामेरा लिएर दिनभरि जसो त्यही वरिपरि फोटो खिचिरहेका हुन्छन् । २० रुपैयाँ लिएर फोटो खिचिदिने र टिकटक बनाउन चाहनेलाई सहयोग गरिरहेका छन् । एक दिनमा १५०० देखि ४००० रुपैयाँसम्म कमाउँछन् । महिनामा ६०–७० हजारसम्म कमाउन सक्ने युवाहरूलाई हेर्दा रोजगारी आफैँ सिर्जना गर्ने हो भन्ने ठहरिन्छ । ती युवाहरूलाई सबैले साथ र सहयोग गरौँ ।’

तर नगरपालिकाका अधिकारीहरूको भनाइ फरक छ । सुरक्षा जोखिम बढेको, ट्राफिक सहजता हराएको र सार्वजनिक स्थानको दुरुपयोग भएको भन्दै यस्तो गतिविधि रोक्नु आवश्यक भएको नगरको तर्क छ । ‘अनुमति नलिएर भीडभाडमा व्यवसाय गर्दा समस्या झन् बढेको छ । गुनासो आएपछि हटाउने प्रक्रिया थालेका हौँ,’” नगरका एक अधिकारीले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।