
‘पूर्वाधार निर्माणदेखि सामाजिक सशक्तिकरण, शिक्षा, कृषि र स्वच्छतासम्मका कार्यक्रमले यस वडाको विकास यात्रालाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।’
राप्तीसोनारी गाउँपालिका–४ पछिल्ला वर्षमा विकासका काममा अग्रसर वडाका रूपमा पहिचान बनाउँदै आएको छ । चालु आर्थिक वर्षमा करिब ९५ लाख रुपैयाँको बजेट विनियोजनसँगै यस वडाले स्थानीय प्राथमिकता र जनजीवनका आवश्यकतालाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने तयारी गरेको छ । पूर्वाधार निर्माणदेखि सामाजिक सशक्तिकरण, शिक्षा, कृषि र स्वच्छतासम्मका कार्यक्रमले यस वडाको विकास यात्रालाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।
यस वर्ष वडाले पहिलेका अधुरा काम पूरा गर्न विशेष जोड दिएको छ । खयरभट्टीको बैठक भवन, रेडक्रसको अधुरो भवन र हुलाकी राजमार्गमा प्रतिक्षालय निर्माणजस्ता काम पूरा गर्न लागिएको छ । यी संरचनाले वडास्तरीय बैठक, सामुदायिक सभा र नागरिक सेवा सञ्चालनमा सहजता ल्याउनेछन् । स्थानीयले लामो समयदेखि प्रतीक्षा गरेका सार्वजनिक भवनहरू अब प्रयोगमा आउने सम्भावना देखिएको छ ।
कृषि क्षेत्र वडाको अर्को प्राथमिकता बनेको छ । धान र गहुँका बिउविजन खरिदमा ५० प्रतिशत अनुदान दिने निर्णयले किसानहरूमा उत्साह जगाएको छ । साना र मध्यम किसानका लागि यो राहत बनेको छ, जसले उत्पादन वृद्धिसँगै लागत घटाउने अपेक्षा गरिएको छ । साथै ‘वडा अध्यक्षसँग किसानहरू’ कार्यक्रममार्फत कृषकका समस्या प्रत्यक्ष सुनी समाधानका उपाय खोजिनेछ । यो संवादले कृषि नीति गाउँकै तहमा लागू गर्ने अवसर प्रदान गर्नेछ ।

सामाजिक क्षेत्रका कार्यक्रम पनि यस वर्षको बजेटको महत्वपूर्ण हिस्सा बनेका छन् । बालश्रममुक्त वडा अभियान निरन्तरता पाइरहेको छ । बालबालिकालाई विद्यालयमा पुनःभर्ना, अभिभावक सचेतना र जोखिमपूर्ण क्षेत्रमा बालश्रम नियन्त्रणका कार्यलाई वडाले प्राथमिकतामा राखेको छ । त्यससँगै ‘वडा अध्यक्षसँग विद्यार्थीहरू’ कार्यक्रम र प्राविधिक धारका विद्यार्थीका लागि छात्रवृत्ति सहयोगले शिक्षाको पहुँचलाई सुदृढ पार्नेछन् । विद्यालयहरूमा खानेपानीको व्यवस्थापन पनि यसै वर्ष पूरा गरिने योजना वडाले बनाएको छ ।
समावेशी विकासका लागि वडाले द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिका लागि तालिम तथा आय–आर्जन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसले तिनीहरूलाई आत्मनिर्भर बनाउन र समाजमा पुनःस्थापनाको वातावरण सिर्जना गर्नेछ । यस्तै मेलमिलापकर्ताहरूका लागि पोशाक र खाजाखर्च सहयोग कार्यक्रमले न्यायिक समितिको कामलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
स्वच्छता र स्वास्थ्यतर्फ पनि वडाको ध्यान केन्द्रित छ । पूर्ण सरसफाइ वडा कार्यक्रम निरन्तरता पाउँदैछ । फोहोर व्यवस्थापन, नाली निर्माण र सौन्दर्यीकरणका कार्यहरूबाट वातावरणीय सुधार हुने वडाको विश्वास छ । गाउँका मुख्य सडक र सार्वजनिक स्थानहरूमा हरियाली र सरसफाइको दृश्य विस्तारै देखिन थालेको छ । त्यससँगै खुल्ला व्यायमशाला निर्माणले नागरिकमा स्वास्थ्यप्रतिको चासो बढाउने लक्ष्य लिएको छ ।
सांस्कृतिक एकता र सामाजिक सद्भावका लागि वडाले जनतासँग वडाध्यक्ष कार्यक्रम, थारू समुदायको माघी तथा वडघर मिलन कार्यक्रम सञ्चालन गर्नेछ । यी कार्यक्रमहरूले समुदायबीच संवाद, मेलमिलाप र सहकार्यको संस्कृतिलाई सुदृढ पार्ने विश्वास लिइएको छ ।

युवाहरूमा सकारात्मक उर्जा जगाउन वडाले विद्यालयस्तरीय वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । यसबाट विद्यार्थीहरूमा खेलप्रतिको रुचि र स्वस्थ प्रतिस्पर्धाको भावना बढ्ने अपेक्षा गरिएको छ ।
पूर्वाधारका क्षेत्रमा पनि वडाले उल्लेखनीय योजना अघि बढाएको छ । अन्धरपुर, गौरीगाउँ, देउपुरुवा, पसरामपुर, लामिडाँडा, वरगदहान टोल र धामपुर–शितभण्डार मार्गलगायतका स्थानहरूमा पीसीसी सडक निर्माण हुनेछन् । फुटलैया सडकदेखि उत्तर जाने बाटोमा कंक्रिट वाल निर्माण र स्तरोन्नति कार्य, गोजरह्ववा नालामा ह्युमपाइपसहित कल्भर्ट निर्माण, मलैयाखोलामा कजवे निर्माणजस्ता कार्यहरूले गाउँमा यातायात र व्यापारिक गतिविधि सहज बनाउनेछन् । विभिन्न सडकका खाल्डाखुल्डी मर्मत र सूर्यलालपुरमा नाली निर्माणले जनजीवनलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।
विपद् व्यवस्थापन पनि वडाको प्राथमिकतामा छ । भूकम्प, बाढी वा आगलागीजस्ता आकस्मिक अवस्थाको सामना गर्न विपद् व्यवस्थापन तथा भैपरी आउने खर्चका लागि छुट्टै बजेट राखिएको छ । यसले विपद् प्रभावित परिवारलाई तुरुन्त राहत र सहयोग पु¥याउने वातावरण तयार पार्नेछ ।
राप्तीसोनारी गाउँपालिका–४ का यी कार्यक्रमहरू केवल निर्माणका सूची होइनन्, यी गाउँको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणतर्फका ठूला कदम हुन् । वडाध्यक्ष मिनराज खड्काका शब्दमा, ‘हाम्रो लक्ष्य संरचना मात्र बनाउने होइन, मानिसको जीवनस्तर सुधार गर्ने हो ।’ स्थानीय प्राथमिकतामै आधारित यी योजनाहरूले वडाको स्वरूप र जनताको जीवनमा स्थायी परिवर्तन ल्याउने विश्वास गरिएको छ । ९५ लाखको यो बजेट केवल रकम होइन यो वडाको सम्भावना, प्रतिबद्धता र विकासको नयाँ अध्याय हो ।
| योजना तथा कार्यक्रम | |
| – खयरभट्टीको अधुरो बैठक भवन निर्माण | – विउविजन खरिद (धान गहु) मा ५० प्रतिशत अनुदान |
| – जनतासंग वडाध्यक्ष कार्यक्रम | – थारुहरुको माघी तथा वडघर मिलन कार्यक्रम |
| – द्बन्द्ब पिडित अपाङ्गताका लागि तालिम तथा आय आर्जन कार्यक्रम | – बालश्रममुक्त वडा कार्यक्रम |
| – भुमि (नापचाँच तथा व्यवस्थापन) सम्बन्धी कार्यक्रम | – मेलमिलापकर्ताहरुलाई खाजा खर्च तथा पोशाक |
| – वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता(विद्यालय स्तरिय) | – वडा अध्यक्षसंग किसानहरु |
| – वडा अध्यक्षसंग विद्यार्थिहरु | – वडा पुर्ण सरसफाई कार्यक्रम |
| – प्राविधिक धारतर्फका विद्यार्थीहरुलाई छात्रवृत्ति | – विपद व्यवस्थापन तथा भैपरी आउने चालु खर्च |
| – अन्धरपुरमा बाटो पि सि सि | – गोजरह्ववा नालामा ह्युमपाईप जडान सहित कल्भर्ट निर्माण |
| – गौरीगाउँ बाटो पिसिसी | – देउपुरुवा टोलमा बाटो पिसिसी |
| – धामपुरदेखि शितभण्डार जाने बाटो पिसिसी | – पसरामपुरमा पुर्व पश्चिम बाटो पिसिसी |
| – फुटलैया सडकदेखि उत्तर जाने बाटोमा कंक्रट वाल निर्माण तथा बाटो स्तरोन्नति | – फुटलैया सडकदेखि उत्तर जाने बाटोमा कंक्रट वाल निर्माण तथा बाटो स्तरोन्नति |
| – फुटलियाको कल्भर्टदेखि दंगपुरुवा जाने बाटो पिसिसी | – मलैयाखोलामा कजवेय निर्माण |
| – लामिडाँडा बाटो पिसिसी | – वरगदहान टोलमा बाटो पिसिसी |
| – विभिन्न बाटोको खाल्डाखुल्डी मर्मत | – सुर्यलालपुरको नाली निर्माण |
| – वडा नं. ४ का विभिन्न विद्यालयहरुमा खानेपानी व्यवस्थापन | – वडा नं. ४ का मुल सडकको दुवैतर्फ सौन्दर्यकीकरण कार्यक्रम |
| – खुल्ला व्यायमशाला व्यस्थापन तथा निर्माण | – रेडक्रसको अधुरो भवन (गत वर्षको बाँकी भुक्तानी) |
| – हुलाकी राजमार्गमा १ वटा प्रतिक्षालय निर्माण | |
नेपालगन्ज, पुस ८ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता २०८२’ मस्यौदा तयार गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा बुधवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि जिल्लाका सबै स्थानीय तहले नीतिगत रुपमा ऐन, कानून र कार्यविधि बनाउनुपर्नेमा जोड दिए । उनले कार्यस्थलमा समेत विभिन्न प्रकृतिका हिंसा हुने भएकाले यो आचारसंहिताले त्यस्ता घटनालाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले लैङ्गिक हिंसा न्यूनीकरणका लागि उपमहानगरपालिकाले कानूनी रुपमा विभिन्न नीति नियम बनाउँदै आएको भन्दै यस्ता घटनालाई नियन्त्रण गर्न तथा पीडितलाई न्याय दिलाउने बताए ।प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालयहरुमा विशेष गरी विभिन्न किसिमका सेवाग्राहीहरु आउने भएकाले यो आचारसंहिताले सबैलाई नियमन गर्न मद्दत पुग्ने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याएर प्रचारप्रसारको कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्ष राज कुमार साहु, कार्यपालिका सदस्य बसन्त कनोजिया, संगिता रेग्मी, महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा कुमारी पुरी, शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापा, प्रशासन शाखा प्रमुख इन्द्र बहादुर केसी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, महासचिव अधिबक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेश कुमार मिश्र, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, महिला कानुन र विकास मञ्चका लेखा प्रमुख सन्तोष पौडेल, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।त्यस अवसरमा ऐन निर्माण गरेको भन्दै दुबै संस्स्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण गर्ने लक्ष्य अझै टाढा देखिएको छ । पटक–पटक अभियान सञ्चालन हुँदासमेत अपेक्षित सहभागिता नआएपछि जिल्लाका चार वटा पालिकामा १६ औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिकाका सबै वडा तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा फेरि औषधि खुवाउने तयारी गरिएको हो । यो अभियान राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत सञ्चालन हुँदैछ । बुधवार नेपालगन्जमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत
इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले अभियान पुनः सञ्चालन गर्नुपर्ने बाध्यताको कारण स्पष्ट पारे । उनका अनुसार एकैपटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन । तर बाँकेका लक्षित पालिकामा त्यो मापदण्ड अझै पूरा हुन सकेको छैन । ‘एकैपटक ८० प्रतिशत मानिसले औषधि नखाएकै कारण हामीलाई १६ औँ पटक पनि अभियान सञ्चालन गर्नुपरेको हो महत्तोले भने–‘यसले हात्तीपाइले रोग निवारणलाई अझ चुनौतीपूर्ण बनाइरहेको छ ।’ स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा पछिल्लोपटक गरिएको सर्वेक्षणमा केवल ६२ प्रतिशत मानिसले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए । यो संख्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अपर्याप्त मानिन्छ । औसतमा प्रत्येक एक सय जनामध्ये ६ दशमलव ५ प्रतिशत मानिसको शरीरमा हात्तीपाइले रोगका वयस्क परजीवी रहेको पाइएको छ । अझ चिन्ताजनक कुरा के छ भने प्रत्येक एक सय जनामध्ये करिब दुई प्रतिशत मानिसमा अरुलाई रोग सार्ने क्षमता रहेको देखिएको छ । महत्तोका अनुसार रोग निवारण भएको मानिनका लागि यो दर एक प्रतिशतभन्दा तल झर्नुपर्ने हुन्छ ।
तर हालको अवस्थाले त्यो लक्ष्य हासिल गर्न अझ धेरै मिहिनत आवश्यक रहेको देखाउँछ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार अभियानको सबैभन्दा ठूलो समस्या औषधि सेवनप्रतिको अनिच्छा हो । विशेषगरी मुस्लिम समुदाय, मधेशी समुदाय, थारु महिला तथा केही सीमावर्ती बस्तीमा औषधि नखाने प्रवृत्ति बढी देखिएको छ । ‘औषधि खाँदा साइड इफेक्ट हुन्छ, बाँझोपन आउँछ, कमजोरी हुन्छ भन्ने भ्रम अझै पनि धेरै समुदायमा छ उनले भने–‘यसले गर्दा लक्ष्य भेट्न निकै गाह्रो भइरहेको छ ।’ खुला सीमा नाका पनि अर्को चुनौतीका रुपमा देखिएको छ । भारतसँग खुला सीमा जोडिएका कारण आवतजावत धेरै हुने र बाहिरबाट आएका मानिस अभियानको दायरामा नपर्ने समस्या रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । बाँकेमा हात्तीपाइले रोग विरुद्ध विगत १५ पटकभन्दा बढी औषधि खुवाउने अभियान सञ्चालन भइसकेको छ । तर परिणाम भने अझै सन्तोषजनक छैन । अभियानहरु केवल ‘औपचारिकता पूरा गर्ने कार्यक्रम’ जस्ता बनेका छन् ।
घर–घरमा औषधि पुर्याउने, समुदायसँग गहिरो संवाद गर्ने र स्थानीय अगुवालाई प्रभावकारी रुपमा परिचालन गर्ने काम पर्याप्त हुन सकेको छैन । स्थानीयस्तरका केही स्वास्थ्यकर्मी भन्छन्–‘औषधि खुवाउने दिन आउँछ, खुवाइन्छ, रिपोर्ट बन्छ, तर मानिसको मन परिवर्तन गर्ने काम प्रभावकारी गराउन सकिएको छैन । जबसम्म समुदायले आफैं यो रोगको जोखिम बुझ्दैन, तबसम्म अभियान प्रभावकारी हुँदैन ।’ हात्तीपाइले रोग केवल स्वास्थ्य समस्या मात्रै नभई सामाजिक र आर्थिक समस्या पनि हो । यो रोगका कारण हात, खुट्टा वा जननेन्द्रिय अस्वाभाविक रुपमा सुन्निने हुँदा पीडित व्यक्ति मानसिक तनाव, सामाजिक लज्जा र आर्थिक कठिनाइमा पर्छन् । विशेषगरी मजदुरी गर्ने, कृषिमा आश्रित तथा गरिब परिवारका सदस्यमा यो रोग लाग्दा परिवारको सम्पूर्ण आर्थिक चक्र प्रभावित हुन्छ । त्यसैले समयमै निवारण गर्नु अत्यन्त आवश्यक मानिन्छ । हात्तीपाइले रोग निवारण अभियानका लागि बाँकेका ४४ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटको प्रभावकारी सदुपयोग समेत हुन नसकेको देखिएको छ । समुदायस्तरमा सकारात्मक प्रभाव नै नदेखिएपछि बजेटको उपयोगिता नदेखिएको हो ।
प्रारम्भिक लक्षण
लामखुट्टेको टोकाइपछि शरीरमा परजीवी प्रवेश गरे पनि सुरुमा लक्षण नदेखिन सक्छ
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने, थकान महसुस हुने
लिम्फ नली (ग्रन्थी) सुन्निने वा दुख्ने
हात, खुट्टा वा काखी वरिपरि हल्का सुन्निनु
विकसित लक्षण
खुट्टा असामान्य रूपमा सुन्निने
हात सुन्निने र कडा हुँदै जानु
पुरुषमा अण्डकोष अत्यधिक सुन्निनु
महिलामा स्तन वा जननेन्द्रिय वरिपरि सुन्निनु
छाला बाक्लो, कडा र खस्रो देखिनु
छालामा घाउ, संक्रमण र दुर्गन्ध आउनु
जटिल अवस्था भए
पटक–पटक ज्वरो र संक्रमण
लिम्फ तरल चुहिने (खुट्टा वा छालाबाट सेतो पानीजस्तो निस्कनु
दुखाइका कारण हिँडडुल गर्न गाह्रो हुनु
औषधि कस्ताले खाने ?
२ वर्षभन्दा माथिका सबै नागरिकले
स्वस्थ देखिने, कुनै लक्षण नदेखिएका व्यक्तिले पनि
हात्तीपाइलेको जोखिम भएको क्षेत्रमा बसोबास गर्ने सबै पुरुष र महिला
एकै घरका सबै सदस्यले एकैपटक औषधि खानुपर्छ
लक्षण नदेखिए पनि रोग सार्न सकिने भएकाले औषधि अनिवार्य हो
कस्तोले नखाने ?
२ वर्षभन्दा कम उमेरका बालबालिका
गर्भवती महिला
गम्भीर बिरामी (उच्च ज्वरो, गम्भीर संक्रमण भएका)
डाक्टरले औषधि खान नहुने भनेका व्यक्ति
हात्तीपाइलेबाट जोगिने उपाय के हुन् ?
औषधि अनिवार्य रुपमा खानु
सरकारले निःशुल्क उपलब्ध गराएको औषधि स्वास्थ्यकर्मीको उपस्थितिमा खानु
डर, भ्रम वा हल्लाको पछि नलाग्नु




