
खजुरा, माघ २२ नेपाली काँग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर ५ धनौलीमा बुधबार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँके–३ बाट उम्मेदवार रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।
कार्यक्रममा उम्मेदवार पुनले स्थानीय मतदाताको समस्या, आवश्यकता र अपेक्षाबारे सुन्दै आफ्नो राजनीतिक एजेन्डा प्रस्तुत गरेका थिए । उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब आश्वासन होइन, काम गरेर देखाउने समय आएको छ,’ पुनले भने, ‘जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो ।’
नेपाली काँग्रेस खजुरा गाउँपालिका वडा नम्बर ५ का पार्टी सभापति बिष्णु कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका सांसद बादसाह कुर्मी, प्रतिनिधि सभाका निवर्तमान सांसद आशा विक, पार्टीका क्षेत्रीय सभापति मोहम्मद नक्की खाँ, काँग्रेसका महाधिवेशन प्रतिनिधि रामेश्वर कँडेल र खलिल खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले लोकतन्त्र, समावेशी विकास र संविधानको रक्षा गर्न नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको बताएका थिए । उनीहरूले क्षेत्र नम्बर ३ को समग्र विकासका लागि अनुभवी र जनतासँग नजिक उम्मेदवार आवश्यक रहेको भन्दै अमरसिंह पुन उपयुक्त उम्मेदवार भएको दाबी गरे ।
स्थानीय मतदाताले पनि सडक, खानेपानी, सिंचाइ, रोजगारी र युवाका समस्याबारे आफ्ना धारणा राखेका थिए । उनीहरूले चुनावी समयमा मात्र नभई निर्वाचित भएपछि पनि जनतासँग निरन्तर संवाद कायम गर्न उम्मेदवारसँग आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन वडा सचिव बलबहादुर बुढा क्षेत्रीले गरेका थिए । भेटघाट कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।नेपाली काँग्रेसले आगामी निर्वाचनमा बाँके–३ मा जित सुनिश्चित गर्न घरदैलो र मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ ।
राप्तीसोनारी -माघ २२, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले बाँके क्षेत्र नम्बर १ अन्तर्गत राप्तीसोनारीमा बिहीबार दुई वटा वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेको छ।
पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा वडा नं. ६ र ७ मा पार्टीको प्रचार–प्रसार कार्यालय स्थापना गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए। उनका अनुसार वडा नं.६ को गुलरी र वडा नं. ७ को झगडियामा प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याइएको हो।
वडा नं.६ मा काँग्रेस वडा सभापति मदन बुढाको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति तथा प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी लगायतका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा महासमिति सदस्यहरू चिन्तामणि धिताल, लुटबहादुर खत्री, महाधिवेशन प्रतिनिधि कृष्ण विक, प्रजातन्त्र सेनानी संघ बाँकेका सचिव डिल्ली रावत लगायतको उपस्थिति रहेको थियो।
यसैगरी वडा नं.७ मा वडा सभापति दशरथ कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा पनि पार्टी सभापति तथा प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका सभापति भीम राना, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए।
कार्यक्रममा जिल्ला सदस्य देव खाँड, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, प्रदेश ‘क’ का सभापति अमरबहादुर बुढाथोकी लगायतका नेताहरू उपस्थित भएका थिए। भोलि शुक्रबार वडा नं.३, ४ र ५ मा प्रचार–प्रसार कार्यालय स्थापना गरिने पार्टीका प्रवक्ता गिरीले जानकारी दिए । प्रचार कार्यालय स्थापनाका लागि पुगेका गौडेलले स्थानीयसँग पनि भेटघाट गर्ने र त्यसक्षेत्रका समस्या सुन्ने गरेका छन्।
हुम्ला, माघ २२ हिमाली जिल्ला हुम्लामा यस आर्थिक वर्ष ०८२/०८३ मा साढे २२ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्लाभर २२ हजार पाँच सय केजी मह उत्पादन भई अधिकांश मह बिक्रीसमेत भइसकेको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।
कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तका अनुसार यस वर्ष उत्पादित मह बिक्रीबाट किसानहरूले करिब चार करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन् । हुम्लामा महको प्रतिकेजी औसत मूल्य दुई हजार रुपैयाँ रहेको छ । यो मह जिल्लाभर रहेका दुई हजार ७७५ वटा मौरीका घारबाट उत्पादन गरिएको हो ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २० दशमलव ५ मेट्रिक टन मह उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढ्नुका साथै उत्पादित महको बजार समेत सुनिश्चित भएको पन्तले बताए ।
उत्पादन भएको महमध्ये अधिकांश सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौँजस्ता बाहिरी बजारमा बिक्री भएको छ । जिल्लाका सातै वटा गाउँपालिकामा मह उत्पादन हुने गरे पनि चंखेली, सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा तुलनात्मक रूपमा बढी र गुणस्तरीय मह उत्पादन हुने गरेको किसानहरूको भनाइ छ ।
स्थानीय मह व्यवसायीहरूले मात्रै तीन लाखदेखि दस लाख रुपैयाँसम्मको मह बिक्री गर्न सफल भएको बताइएको छ । परम्परागत रूपमा दुई–चार वटा घारबाट मात्र मह उत्पादन गर्दै आएका किसानहरू अहिले बिस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् ।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार हाल केही किसानहरूले ५० वटासम्म मौरीका घार राखेर व्यावसायिक उत्पादन सुरु गरेका छन् । किसानहरूमा मह उत्पादनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचको विकास हुँदै गएको कार्यालयले जनाएको छ ।
नेपालगन्ज, माघ २२ , बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बिहीबार(आज) डुडुवा गाउँपालिकाको वडा नम्बर ४ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा मतदातालाई प्रत्यक्ष रुपमा भेटेर उनले आर्शिवाद मागिरहेका छन् ।डुडुवा–४ को मोल्हुपुर्वामा आयोजित कार्यक्रममा उपस्थित स्थानीयले कोइरालालाई स्वागत गरेका थिए ।
नेपाली कांग्रेस डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडासभापति हरि रेउलेको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, कांग्रेसका पुर्वमहासमिति सदस्य एवम् अगुवा नेता मोहम्मद हलिम खाँ, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा नम्बर ४ का पार्टी सचिव बेलबहादुर बोहरा लगायत उपस्थित स्थानीयले कोइरालालाई यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसकै पक्षमा माहोल देखिएको भन्दै जितको अग्रिम शुभकामना दिएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले आफुले क्षेत्र नम्बर २ का जनताको शिर सधैंभरी ठाडो हुने गरी काम गरेर देखाउने प्रतिवद्धता जनाए ।
‘म पहिलो पटक चुनाव लडेको छु, मलाई एक पटक काम गरेर देखाउने अवसर दिनुस्,’ दुई हात जोड्दै उनले भने, ‘म सन्त नेता स्वर्गिय सुशिल कोइरालाको परिवारभित्रको एउटा सदस्य हुँ, मैले उहाँले छाडेर गएका अधुरा सपना पुरा गर्नेछु ।’ आफुले भ्रष्टाचार विरुद्ध सधैं आवाज उठाउने कोइरालाले बताए । ‘मलाई पुर्वप्रधानमन्त्री एवम् पुर्व पार्टी सभापति, सादगी नेता स्वर्गिय सुशिल कोइरालाले पनि यही कुरा सिकाउनु भएको थियो, म जनताका अगाडी शिर ठाडो पारेर हिड्नेछु, भ्रष्टाचारका विरुद्ध बोलिरहनेछु,’ उनले अगाडी थपे ।
उम्मेदवार कोइरालाले बिहीबार(आज) नै डुडुवा गाउँपालिका वडा नम्बर ४ को भग्रहवा, साहपुर्वा, अग्रहवा लगायत गाउँमा पनि चुनावी भेटघाट तथा घरदैलो गरेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिएका छन् । भेटघाटका क्रममा मतदाताले उम्मेदवार शुधान्सुप्रति निकै सकारात्मक प्रतिक्रिया दिएको र मान-सम्मान गरेको उनले बताए ।
राठौरको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । प्रारम्भिक दिनदेखि नै संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जनतासँग प्रत्यक्ष संवादमा सक्रिय उनी क्रमशः पार्टीभित्र जिम्मेवारी पाउँदै गए । नेपाली कांग्रेसको सहमहामन्त्रीको भूमिकामा रहँदा उनले संगठन विस्तार, नीति निर्माण र समावेशी राजनीतिको अभ्यासमा योगदान दिए । यही पृष्ठभूमिले उनलाई केवल निर्वाचनमुखी नेता नभई दीर्घकालीन सोच बोकेको राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गर्यो ।
बाँके, माघ २२ किशोर सिंह राठौर नेपाली राजनीतिमा संघर्ष, निरन्तरता र परिणामलाई एउटै धारमा जोड्न सक्ने नेताका रूपमा चिनिँदै आएका छन् । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गरेका राठौरले राजनीतिक पदलाई केवल हैसियतको विषय बनाएका छैनन्, बरु विकास र जनसेवाको माध्यमका रूपमा उपयोग गरेका छन् । नेपाली कांग्रेसको सहमहामन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका उनी अहिले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–२ बाट उम्मेदवार बनेका छन् । बर्दियाको राजनीतिक भूगोलमा राठौरको नाम विकाससँग जोडिनु संयोग होइन, लामो समयको निरन्तर अभ्यासको परिणाम हो ।
राठौरको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । प्रारम्भिक दिनदेखि नै संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जनतासँग प्रत्यक्ष संवादमा सक्रिय उनी क्रमशः पार्टीभित्र जिम्मेवारी पाउँदै गए । नेपाली कांग्रेसको सहमहामन्त्रीको भूमिकामा रहँदा उनले संगठन विस्तार, नीति निर्माण र समावेशी राजनीतिको अभ्यासमा योगदान दिए । यही पृष्ठभूमिले उनलाई केवल निर्वाचनमुखी नेता नभई दीर्घकालीन सोच बोकेको राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गर्यो ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि पनि राठौरको बर्दियाप्रतिको प्रतिबद्धता कमजोर भएन । हारलाई विश्रामको बहाना बनाउने प्रवृत्तिभन्दा फरक बाटो रोज्दै उनले क्षेत्रमै बसेर विकासका कामलाई निरन्तरता दिए । स्थानीयहरूका अनुसार, चुनाव हारेपछि पनि गाउँ–बस्ती, नदी किनार र विकास आयोजनाका स्थलहरूमा राठौरको उपस्थिति कम भएन । यही कारण उनीमाथि ‘हारले नरोकिने नेता’ भन्ने छवि बनेको देखिन्छ ।
बर्दियामा आधारभूत पूर्वाधार विकासमा राठौरको योगदान स्पष्ट देखिन्छ । कर्णाली र गेरुवा नदीमा पुल निर्माण, हुलाकी सडकको विस्तार, महिला खोला र बुढी खोलामा पक्की पुल निर्माणले स्थानीय आवागमन सहज बनाएको छ । बबई नदीमा बारबर्दिया–ठाकुरबाबा जोड्ने पुल सम्पन्न भएपछि पूर्व–पश्चिम आवागमन मात्र होइन, कृषि उपज बजारसम्म पुर्याउन पनि सहज भएको छ । यी संरचनाले बर्दियाको आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पारेका छन् ।
राजापुर क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना हुनु नागरिक सेवाको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिन्छ । यसअघि सानो कामका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अब हटेको स्थानीयहरूको अनुभव छ । विद्युत् सब–स्टेसन स्थानान्तरणले ऊर्जा आपूर्तिमा सुधार ल्याएको छ । शहरी विकास कार्यक्रमअन्तर्गत राजापुर, मधुवन र ठाकुरबाबामा सडक, ढल, खानेपानी र सार्वजनिक संरचनामा तीव्र विकास देखिएको छ, जसले ती क्षेत्रलाई व्यवस्थित शहरी स्वरूपतर्फ लैजाँदैछ ।
शिक्षा क्षेत्रमा राठौरको दृष्टि दीर्घकालीन छ । अमर शहीद दशरथ चन्द बहुमुखी क्याम्पस स्थापना र परीक्षा केन्द्र सञ्चालनले बर्दियाका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न बाहिर जानुपर्ने बाध्यता घटाएको छ । विद्यालय भवन, प्रयोगशाला निर्माण र गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालनमार्फत उनले शैक्षिक पूर्वाधार सुदृढ गर्न योगदान पुर्याएका छन् । लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापनाका लागि गरिएको पहलले प्रदेशमै प्राविधिक जनशक्ति उत्पादनको सम्भावना खोलिदिएको छ ।
स्वास्थ्य क्षेत्रमा खजुरा क्यान्सर अस्पतालको स्तरोन्नति र सेवा विस्तार उल्लेखनीय मानिन्छ । यसले बाँके र बर्दिया आसपासका नागरिकलाई क्यान्सर उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता कम गरेको छ । स्वास्थ्य संरचना मजबुत बनाउने र सेवाको पहुँच ग्रामीण बस्तीसम्म पुर्याउने नीति राठौरको प्राथमिकतामा देखिन्छ ।
कर्णाली नदी नियन्त्रण, तटबन्ध निर्माण र सम्बन्धित कार्यालय स्थापना उनका दीर्घकालीन योगदानमध्ये पर्छन् । बाढीको उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउने यो पहलले हजारौँ नागरिकको जीवन र सम्पत्ति जोगाएको स्थानीयहरूको भनाइ छ । नेपालगन्ज–राधापुर सडक निर्माण, तटबन्ध र बाढी नियन्त्रणका कामले क्षेत्रीय यातायात र व्यापारलाई समेत मजबुत बनाएको छ ।
सांस्कृतिक पहिचान संरक्षणतर्फ थारु सांस्कृतिक संग्रहालय निर्माणका लागि बजेट सुनिश्चित गर्नु अर्को महत्वपूर्ण उपलब्धि हो । थारु
समुदायको इतिहास, संस्कृति र पहिचान जोगाउने यस प्रयासले पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । विकासलाई केवल भौतिक संरचनासँग सीमित नगरी सांस्कृतिक संरक्षणसँग जोड्नु राठौरको समग्र दृष्टिकोणको परिचायक हो ।
बाँके–३ बाट सांसद बनेपछि पनि उनले बर्दियाका विकास कार्यलाई निरन्तरता दिएका छन् । खजुरास्थित पेडारी नालामा चार लेनको पुल निर्माण, नेपालगन्ज–राधापुर सडकको स्तरोन्नति जस्ता योजनामा उनको भूमिका देखिन्छ । केन्द्र र प्रदेश सरकारबाट करिब ६ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन हुनुले संघीय संरचनाभित्र समन्वय गरेर काम गर्न सक्ने क्षमताको संकेत गर्छ ।
बर्दियामा बन्यजन्तु–मानव द्वन्द एक जटिल समस्या हो । राठौरले यसलाई प्रमुख एजेन्डा बनाएर सुरक्षित बस्ती, क्षतिपूर्ति व्यवस्था, चेतनामूलक कार्यक्रम र दीर्घकालीन समाधानमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि सिंचाइ, रोजगारी सिर्जना र दलित हक–अधिकारसँग जोडिएको समावेशी र दिगो विकास उनको राजनीतिक एजेन्डाको केन्द्रमा छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–२ मा मुख्य प्रतिस्पर्धा भए पनि आम मतदाताको रोजाइ राठौरतर्फ झुक्दै गएको आकलन गरिन्छ । स्थानीयहरूका अनुसार, उनी भाषण र आश्वासनभन्दा काम र परिणाममा विश्वास गर्ने नेता हुन् । यही कारण धेरै मतदाताले उनलाई ‘हार–जितभन्दा काम गर्ने नेता’का रूपमा हेर्ने गरेका छन् ।
समग्रमा, किशोर सिंह राठौरको राजनीतिक यात्रा संघर्ष, निरन्तरता र परिणामको संयोजन हो । विद्यार्थी राजनीतिबाट सुरु भएको यो यात्रा आज बर्दियाको विकाससँग गहिरो रूपमा गाँसिएको छ । सडक, पुल, शिक्षा, स्वास्थ्य, नदी नियन्त्रण, सांस्कृतिक संरक्षण र सामाजिक न्यायका क्षेत्रमा देखिएका कामहरूले उनलाई बर्दियामा विकासका पर्यायवाची नेताका रूपमा स्थापित गरेको छ । यही निरन्तरता र विश्वास आगामी निर्वाचनमा पनि उनको सबैभन्दा ठूलो पूँजी बनेको देखिन्छ ।
कोहलपुर, माघ २२ आगामी निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी उच्च मनोबलका साथ पूर्ण तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित ढंगले सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भइसकेको दाबी गरे ।
प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनको सम्पूर्ण चरण—उम्मेदवारी दर्तादेखि मतदान, मतपेटिका ढुवानी र मतगणनासम्म—सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर योजना बनाइएको बताए । ‘चुनावको सुरक्षाका लागि नेपाल प्रहरी पूर्ण रूपमा सक्षम छ । आवश्यक जनशक्ति परिचालन, गस्ती तथा निगरानीका सबै व्यवस्था मिलाइसकिएको छ,’ उनले भने।
उनका अनुसार स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल र नेपाली सेनासँग समन्वय गर्दै संयुक्त सुरक्षा रणनीति कार्यान्वयन गरिनेछ । संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षा सतर्कता अपनाइने र आवश्यकताअनुसार अतिरिक्त जनशक्ति परिचालन गरिने उनले जानकारी दिए ।
प्रहरी महानिरीक्षक कार्कीले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिइने स्पष्ट पारे । उनले निर्वाचनका बेला अफवाह, हिंसा वा अव्यवस्था सिर्जना गर्ने प्रयासलाई कडाइका साथ नियन्त्रण गरिने चेतावनी पनि दिए ।निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै उनले सबै पक्षको सहकार्यले मात्र सुरक्षित र सफल निर्वाचन सम्भव हुने बताए ।
नेपालगन्ज, माघ २२ , नेपालगन्जको भेरी अस्पतालको नयाँ भवनको भुईतलामा अर्थोपेडिक वार्डको छेउमै रहेको ‘१ नम्बर क्याविन’ रहेको छ । यही क्याविनमा आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट कस्लाई जिताउने र कस्लाई हराउने भनेर केहीदिन देखी रणनीतिक योजना बनिरहेको छ । यस्तो योजना बनाउने शक्तिशाली ब्यक्ति को होला ?
भेरी अस्पतालको रेडर्क अनुसार उक्त क्याविनमा एक हप्ताभन्दा बढी समयदेखी डेरा जमाएर बसेका एमाले नेता एवम् चर्चित कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र नै हुन् । एमालेका पुर्वकेन्द्रिय सदस्य मिश्रकै निर्देशनबाट बाँके क्षेत्र नम्बर २ मा चुनावी रणनीति बनिरहेको छ । बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मिश्रलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो । तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालहरुमा बस्दै आएका छन् । पछिल्लो समय यही माघ १४ गते उनी ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्र्तगतको १ नम्बर क्याविनमा बस्न थालेका हुन् ।
सामान्यतया कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केहीदिन भित्र उसको स्वास्थ्य अवस्था अनुसार औषधी चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ । त्यसपछि बिरामीलाई डिस्चार्ज गरिन्छ । तर, अस्पताल स्रोत भन्छ, ‘एक हप्ताभन्दा बढी समयसम्म अस्पतालमा भर्ना गर्नकै लागि मिश्रको स्वास्थ्यमा कुनै ठुलो समस्या छैन ।’
सरकारी अस्पतालको क्याविन प्रयोग गरेर आरामदायी रुपले मिश्रले समय मात्र गुजारिराखेका छैनन्, आउँदो चुनावमा आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउने र प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हराउने भन्ने सम्मको रणनीति बनाउन ब्यस्त देखिन्छन् । अभियुक्त मिश्र बुधबार पनि अन्य दिन जसरी नै पार्टीका नेता तथा कार्यकर्तासँग क्याविनमै बैठक राखेर छलफलमा ब्यस्त भए ।
पत्रकार टोली बुधबार अपरान्ह ४ः४० बजेतिर रिपोर्टिङ गर्न अस्पतालमा पुग्दा अभियुक्त मिश्र सोही क्याविनभित्र चुनावी छलफलमा ब्यस्त देखिन्थ्ये । मिश्र र उनका कार्यकर्ताहरु बोलिरहेको कुरा बाहिरैसम्म प्रष्ट सुनिन्थ्यो र कसैलाई मिश्र भन्दै थिए, ‘क्षेत्र नम्बर २ मा हाम्रो उम्मेदवारलाई जिताउन सबै परिचालित भएर लागौं, वडाहरुमा टिम राम्ररी परिचालित हुनुपर्यो ।’
पछिल्लो समयमा अस्पतालमा बस्न थालेको दिनदेखी नै अर्थोपेडिक विभागको १ नम्बर क्याविनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड बढिरहेको छ ।स्वास्थ्यकर्मीका अनुसार उक्त क्याविनभित्र मिश्रको उपचार गर्ने कामभन्दा चुनावी छलफल गर्ने गोप्य स्थान बनेको छ । नेपालगन्ज कारागार प्रशासनले उनको साथमा सादा पोशाकका एक जना सुरक्षाकर्मी बाहेक अन्य कुनैपनि कुरामा प्रतिबन्ध लगाएको छैन । ‘अस्पतालको क्याविनबाटै आफ्ना मोबाईल फोनहरु प्रयोग गरेर मिश्रले नेता तथा कार्यकर्तालाई यहाँ बोलाउँछन् र चुनावी रणनीति अनुसार परिचालन गरिरहेका छन्,’ स्वास्थ्यकर्मी भन्छन् ।
चुनावको मुखमा बैंकिङ कसुर मुद्दाका मुख्य अभियुक्त मिश्रलाई यस्तो सुविधा दिलाउनमा राजनीतिक शक्ति केन्द्र, प्रहरी, प्रशासनदेखी चिकित्सक समेतको मिलेमतो रहेको ति स्वास्थ्यकर्मीले बताएका छन् । ‘अस्पतालको क्याविन अहिले चुनावी रणनीति बनाउने ठाउँ बनेको कुरालाई स्वीकार गर्दै गर्दा हामीलाई पनि यो कुरा अप्ठ्यारो लागिरहेको छ, माथीदेखी तलसम्म मिलेपछि हाम्रो के नै लाग्छ र ?,’ अस्पताल स्रोतले भन्यो । मिश्रका बारेमा अस्पतालका स्वास्थ्यकर्मी तथा नर्सहरुले समेत मुख खोल्न चाहदैनन् । स्वास्थ्यकर्मीका अनुसार डाक्टरको अनुमतिबाट क्याविनमा बसिरहेका अभियुक्त मिश्रमा भने बिरामीको कुनै लक्षण छैन । उनको स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मी तथा नर्सहरु नै अलमलमा देखिन्छन् ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदी नेता मिश्रको स्वास्थ्यमा केही समस्या देखिएको भन्दै कारागारबाट ल्याएर भर्ना गरिएको र अब छिट्टै डिस्चार्ज हुने बताए । ‘उहाँ उपचारका लागि आउनु भएको हो भन्ने मलाई जानकारी मात्रै छ, क्याविनमा बसेर के के गर्दै हुनुहुन्छ, त्यो कुरा मलाई थाहा भएन,’ उनले भने ।
नेपालगन्ज कारागार कार्यालयका प्रमुख(जेलर) प्रकाश ढुंगानाले ‘कैदी’ मिश्रको शंकास्पद गतिविधि आफुले चेतावनी दिइसकेको बताए । ‘चुनावको मुखमा अस्पतालमा भर्ना हुनु भएको छ, तर तपाईको गतिविधि अर्कै सुनिन्छ, यसमा विचार पुर्याउनुस् है भनेर मैले चेतावनी दिइसकेको छु,’ उनले भने, ‘उहाँले अस्पतालमा बसेर राजनीतिक गतिविधि गर्नु भएको रहेछ भने कारागार प्रशासनले कारबाही गर्नेछ ।’ अभियुक्त मिश्र उपचारका लागि अस्पतालमा भर्ना भएको र डाक्टरको सल्लाह अनुसार यतिदिन सम्म क्याविनमा बसेको ढुंगानाले बताए ।
कानुनी क्षेत्रका अगुवाका अनुसार अदालतबाट पुर्पक्षका लागि थुनामा रहेको प्रतिवादी यसरी उपचारको निहुँमा पटक–पटक अस्पतालमा सुविधा लिएर बस्न पाइदैन । नेपाल बार एशोसियशनका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बिरामीको निहुँमा अस्पतालमा बसेर कैदी, बन्दीले राजनीतिक लगायतका कुनैपनि गतिविधि गर्न नपाउने बताए । कारागार प्रशासन नै प्रभावमा परेर यस्ता गतिविधि गर्ने ब्यक्तिलाई छुट दिने गरेको उनी बताउँछन् । ‘विचार अरु कैदी बन्दीको अवस्था कारागारभित्र कस्तो दयनीय छ, उनीहरुले भनेको बेला उपचार गराउन पाउँदैनन्, तर शक्तिशाली र पहुँचवालालाई सधैं छुट हुन्छ,’ श्रेष्ठले भने ।
अस्पतालका अनुसार प्रतिवादी मिश्र अदालतबाट आदेश भएर पुर्पक्षका लागि कारागार चलान भएयता करिव १०/१२ पटक यसरी नै भेरी अस्पतालमा आएर महिनौं सम्म क्याविन लिएर बस्छन् । यस्तै गरेर उनी नेपालगन्जको नर्सिङ होम(संजिवनी अस्पताल)मा पनि क्याविन लिएर औषधी उपचारको बहानामा बस्ने गर्छन् ।
मिश्र लामो समयसम्म कर्णाली विकास बैंकको अध्यक्ष भएर नेतृत्व गरेका थिए । बैंकको अध्यक्ष भएयता उनले विभिन्न उद्योग, कलकारखाना तथा होटल ब्यवसायमा लगानी गरेका थिए । बैंकको अध्यक्ष चलाएर निजी क्षेत्रमा धमाधम एकपछि अर्को काममा हात हाल्न थालेपछि उनी कुनै समयमा चर्चामा आएका थिए ।
२०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ मा एमालेले उनलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको थियो । त्यतिबेला तत्कालिन संघिय समाजवादी पार्टीका नेता रहेका मोहम्मद इश्तियाक राईसँग पराजित भएका थिए । राईले २१ हजार ५ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका १५ हजार ९ सय ५१ मत ल्याएका थिए ।
त्यसपछि २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी कांग्रेसका प्रशान्त विष्टसँग पराजित भएका थिए । बिष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए ।
मिश्रविरुद्ध हाल बैंकको रकम अपचलन मुद्दा चलिरहेकाले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि यसपटक भने एमालेको उम्मेदवार बन्न पाएनन् । तरपनि, पार्टीको उम्मेदवारलाई जिताउन रणनीतिक रुपले आफ्ना कार्यकर्ता परिचालन गर्न पार्टीले अनौपचारिक रुपमा जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।





