२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

राना थारू समुदायका अगुवाहरूका अनुसार यो पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्दै आएको छ । सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको खखडेहरा पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।

कञ्चनपुर, फागुन २७  सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मंगलबार हर्षोल्लासका साथ मनाएका छन् । यो पर्वसँगै राना थारू समुदायमा झन्डै एक महिनासम्म मनाइने होली पर्व औपचारिक रूपमा समाप्त भएको छ । राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्व मात्र होइन, सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ । समुदायका लागि वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइने यो पर्वले सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थालाई बलियो बनाउने विश्वास गरिन्छ ।

राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्व सुरु हुन्छ । त्यस दिन गाउँमा ‘होरी’ राखेर पर्वको शुरुआत गरिन्छ । त्यसपछि करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ । जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरू गीतमार्फत प्रस्तुत गर्ने गर्छन् । यसले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई पनि सुदृढ बनाउने विश्वास गरिएको छ ।

फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ । होलिका दहनपछि अर्को दिनलाई ‘टीका’ भनिन्छ । यस दिन गाउँका सबैले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने चलन छ । समुदायमा रहेको विश्वासअनुसार होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता छ ।

टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ । यस अवधिमा दिन र रात दुवै समयमा होली खेलिन्छ । मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ जसलाई होलीको औपचारिक समापनका रूपमा लिइन्छ । खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्छन् । पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, माटोको घोडाको मूर्ति तथा शुद्ध पानी संकलन गरिन्छ । यी सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ ।
सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, घोडाको मूर्ति, दियोलगायत सामग्री फुटाउने चलन छ । यसलाई गाउँबाट नकारात्मक शक्ति हटाउने प्रतीकात्मक संस्कारका रूपमा लिइन्छ ।

खखडेहरा फुटाइसकेपछि सहभागीहरू गाउँ फर्किन्छन् । फर्किने क्रममा पछाडि फर्केर हेर्नु हुँदैन भन्ने विश्वास पनि समुदायमा प्रचलित छ । यदि कसैले पछाडि फर्केर हेरेमा अनिष्ट निम्तिन सक्ने मान्यता रहेको स्थानीय बूढापाकाहरू बताउँछन् । पर्वको अर्को महŒवपूर्ण पक्ष ‘फगुवा’ माग्ने चलन हो । पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्छन् । फगुवाका रूपमा घरधनीले नगद रकम, अन्न वा अन्य सामग्री दिने गर्छन् । यसरी सङ्कलित सामग्रीबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।

साँझपख गाउँमा उत्सवमय वातावरण देखिन्छ । महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृंगारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन् । समुदायमा रहेको विश्वासअनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिएको छ । राना थारू समुदायका अगुवाहरूका अनुसार यो पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्दै आएको छ । सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको खखडेहरा पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।
खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा पनि दिएको थियो ।

दाङ, फागुन २७  बिहानको पाँच बजेको समय । अझै घाम राम्रोसँग उदाएको छैन । तर लमही आसपासका सहकारी संस्थाहरूको अगाडि भने किसानहरूको लामो लाइन देखिन्छ । कसैले बोरा बोकेका छन्, कसैले कागजपत्र समातेका छन् । उनीहरू सबैको एउटै उद्देश्य छ, ‘अनुदानको रासायनिक मल पाउने ।’लमही नगरपालिका नजिकैको एक सहकारी संस्थाको अगाडि लाइनमा बसेकी छन् प्रिया चौधरी । उनले झण्डै एक विगाह जग्गामा मकै खेती गरेकी छन् । मकैलाई राम्रो उत्पादन दिन रासायनिक मल आवश्यक पर्छ । तर मल पाउन सहज छैन, त्यसैले उनी बिहानैदेखि लाइनमा बस्न बाध्य भएकी हुन् । ‘किसानलाई दुःख धेरै छ, लाइन नबसी मल पाइँदैन,’ उनले भनिन्, ‘बिहान पाँचबजेबाट लाइनमा बसियो । अब पालो कहिले आउने हो थाहा छैन ।’

सहकारीको कार्यालय बिहान १० बजे मात्रै खुल्छ । तर किसानहरू भने घण्टौँ अघिदेखि लाइनमा बस्न थाल्छन् । कारण स्पष्ट छ—लाइनमा नबसे मल नपाइने डर । प्रिया जस्तै धेरै किसानले आफ्नो समय र श्रम मलको लाइनमै खर्च गरिरहेका छन् । कतिपय किसान साना बालबालिका बोकेर लाइनमा बसेका दृश्य पनि सामान्यजस्तै देखिन्छन् । ‘रासायनिक मल धेरै चाहिन्छ, तर पाइन्छ थोरै,’ प्रिया भन्छिन्, ‘लाइन नबस्ने हो भने मल नै पाइँदैन ।’

लाइनमा बसेका अर्का किसान हुन् चित्रबहादुर चौधरी । उनी गहुँ र मकै खेती गर्छन् । दुवै बालीका लागि पर्याप्त मल आवश्यक पर्छ । तर सहकारीले सीमित मात्रामा मात्रै मल दिने गरेको उनको गुनासो छ । ‘गहुँ र मकै दुवैलाई धेरै मल चाहिन्छ,’ उनले भने, ‘तर आधा बोरा मात्रै दिन्छन् । कहिले होला लाइनमा नबस्नेगरी सजिलै मल पाइने दिन ?’
सरकारले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन अनुदानको व्यवस्था गरेको छ । यही अनुदानको मल किसानसम्म पुर्‍याउन कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न सहकारी संस्थामार्फत वितरण गर्दै आएको छ । वितरण प्रदेश सरकारले निर्धारण गरेको कोटाका आधारमा हुने गरेको छ ।

दाङ जिल्लाका चार स्थानीय तहमा अहिले ४८ वटा सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल वितरण भइरहेको छ । लमही नगरपालिकामा मात्रै १९ वटा सहकारी संस्थाले मल वितरण गरिरहेका छन् । त्यसैगरी गढवा गाउँपालिकामा ११ वटा तथा राप्ती र राजपुर गाउँपालिकामा ९/९ वटा सहकारी संस्थाले मल वितरण गर्दै आएका छन् ।
यति धेरै सहकारी संस्थामार्फत वितरण भइरहे पनि किसानले सहज रूपमा मल पाउन सकेका छैनन् । किसानहरूका अनुसार समस्या मलको अभावभन्दा पनि वितरण प्रक्रियामा देखिएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार अहिले मलको स्टक अभावमा छैन । कम्पनीको लमही डिपोमा हाल यूरिया २१७.२५ मेट्रिक टन, डिएपी ४३.५ मेट्रिक टन, पोटास ३६.१ मेट्रिक टन र चुन ११.६७ मेट्रिक टन मौज्दात रहेको छ ।

तर स्टक पर्याप्त भए पनि वितरण प्रक्रिया सहज नहुँदा किसानले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । कतिपय किसानले सहकारी संस्थाहरूले समयमै सूचना नदिने, सीमित मात्रामा मल दिने र व्यवस्थापन कमजोर हुने समस्या औँल्याएका छन् । किसानहरूका लागि खेतीको मौसम अत्यन्त महत्वपूर्ण हुन्छ । समयमा मल नपाए बाली उत्पादनमै असर पर्छ । त्यसैले उनीहरू बिहानैदेखि लाइनमा बस्न बाध्य हुन्छन् ।

किसानहरूको अपेक्षा भने सरल छ, ‘मलका लागि लाइनमा बस्न नपर्ने व्यवस्था होस् ।’ पर्याप्त मौज्दात भएको अवस्थामा वितरण प्रणाली व्यवस्थित भए मात्रै किसानले राहत पाउनेछन् । अहिले भने दाङका धेरै किसानका लागि खेतीभन्दा पहिलेको काम नै मलको लाइनमा बस्नु जस्तै बनेको छ ।

हुम्ला, फागुन २७  हिमाली जिल्ला हुम्लामा सोमबारदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन् । नियमित तालिकाअनुसार उडान भर्ने समिट एयर र नेपाल एयरलाइन्सका जहाज सञ्चालनमा समस्या आएपछि लगातार दुई दिनदेखि उडान हुन नसकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमिकोटका प्रमुख महेन्द्र सिंहका अनुसार सोमबार र मंगलबार दुवै दिन हवाई सेवा अवरुद्ध भएको छ । उनका अनुसार समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएको तथा नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट नेपालगन्ज नआएकाले हुम्लाका लागि तय गरिएको उडान सञ्चालन हुन सकेन । हुम्ला सडक सञ्जालले नजोडिएको जिल्ला भएकाले यहाँका नागरिक र यात्रुहरू मुख्य रूपमा हवाई सेवामै निर्भर छन् । हवाई सेवा अवरुद्ध हुँदा दैनिक आवतजावत, बिरामीको उपचार र अत्यावश्यक काम प्रभावित हुने गरेको छ ।

हाल हुम्लाका लागि निजी एयरलाइन्सहरूले पालो प्रणालीमा हप्तामा दुई–दुई दिन उडान गर्दै आएका छन् । नेपाल एयरलाइन्सले पनि हप्ताको सोमबार र मंगलबार उडान भर्ने तालिका राखेको भए पनि पछिल्लो समय नियमित उडान हुन सकेको छैन । यसपटक पनि जहाज उपलब्ध नभएकाले निर्धारित उडान हुन नसकेको प्राधिकरणले जनाएको छ ।

हवाई सेवा बन्द हुँदा निर्वाचनमा मतदान गर्न जिल्ला बाहिरबाट आएका यात्रुहरू सबैभन्दा बढी मर्कामा परेका छन् । निर्वाचनका लागि हवाई मार्ग हुँदै करिब सात सयभन्दा बढी यात्रु हुम्ला पुगेका थिए । उडान अवरुद्ध भएपछि उनीहरू अहिले जिल्ला बाहिर फर्किन नपाएर सिमिकोटमै अलपत्र परेका छन् । यस्तै, जिल्लाका अस्पतालहरूले उपचार सम्भव नभएका बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा ‘रिफर’ गर्दै आएका छन् । तर उडान बन्द भएपछि त्यस्ता बिरामीहरूलाई बाहिर पठाउन नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । आकस्मिक उपचार आवश्यक पर्ने बिरामीका लागि हवाई सेवा नै मुख्य माध्यम भएकाले सेवा अवरुद्ध हुँदा समस्या झनै बढेको छ ।

स्थानीय व्यवसायी र यात्रुहरूले नियमित उडानको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । मौसम अनुकूल हुँदाहुँदै पनि जहाज अभाव र प्राविधिक समस्याका कारण उडान रोकिनु दुर्गम जिल्लाका लागि ठूलो समस्या भएको उनीहरूको भनाइ छ ।प्राधिकरणका अनुसार जहाज उपलब्ध हुनेबित्तिकै उडान सञ्चालन गर्ने तयारी भइरहेको छ । तर कहिलेबाट नियमित सेवा सुरु हुन्छ भन्नेबारे भने अझै निश्चित जानकारी प्राप्त नभएको जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।