नेपालगन्ज । भारी वर्षासँगै डुबानको जोखिम बढेपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरिने भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले बिहीबार जरुरी सूचना जारी गर्दै नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द गर्न निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम पूर्वानुमानअनुसार तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने र त्यसबाट बाढी तथा डुबानको जोखिम बढ्ने सम्भावना रहेकाले विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार निर्णयअनुसार नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक, निजी तथा मदरसालगायत सबै प्रकारका विद्यालयमा पठनपाठन सञ्चालन हुने छैन।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खा बहादुर थापाद्वारा हस्ताक्षरित सूचनामार्फत विद्यालयहरूलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
नगरपालिकाले सम्भावित बाढी तथा डुबानबाट सुरक्षित रहन र बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अभिभावक, विद्यालय तथा सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ।
पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै राप्ती सोनारीमा नेपाली कांग्रेसको आगामी संगठनात्मक गतिविधिले नयाँ गति लिने अपेक्षा गरिएको छ । निर्वाचित पदाधिकारीहरूले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्त्य गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध सुदृढीकरणमा ध्यान दिने बताएका छन् ।
राप्तीसोनारी, असोज ८ नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिकाको सभापतिमा भिमबहादुर राणा निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका अधिवेशनमा राणाले १३७ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।
राणाले निवर्तमान सभापति शेरबहादुर देउवा–शेखर कोइराला समूहको समर्थनमा उम्मेदवारी दिएका थिए । उनका प्रतिस्पर्धी बालकिसन थारुले ९९ मत प्राप्त गरे । पालिका सभापतिका लागि भएको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा भएको थियो । राणाको नेतृत्वमा रहेको प्यानलले संस्थापन समूहका उम्मेदवारलाई पराजित गर्दै अधिकांश पदमा विजय हासिल गरेको हो ।
पालिका अधिवेशनमा कुल २५३ मत खसेको थियो । खसेका मतमध्ये ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सभापतिमा निर्वाचित राणाले आफ्नो जितलाई व्यक्तिगतभन्दा पनि पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र कार्यकर्ताको विश्वासको परिणामका रूपमा लिएको बताएका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै राणाले आफूलाई मतदान गर्ने तथा नगर्ने सबै कांग्रेस कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाभित्र कांग्रेसको संगठनलाई थप बलियो बनाउँदै आगामी दिनमा पार्टीका नेता तथा कार्यकर्ताबीचको सहकार्यलाई प्राथमिकता दिने बताए ।
राणाले पार्टीभित्र निर्वाचनका क्रममा देखिएको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएर अब सबै पक्षलाई मिलाएर संगठन निर्माणमा केन्द्रित हुने बताएका छन् । ‘निर्वाचनमा प्रतिस्पर्धा भयो, अब त्यो प्रतिस्पर्धा सकिएको छ । सबै साथीहरूलाई साथमा लिएर पार्टी संगठनलाई मजबुत बनाउने मेरो प्राथमिकता हो,’ उनले भने ।
उनले गाउँपालिकाका सबै वडा तहसम्म पार्टीको संगठनलाई सक्रिय बनाउने, कार्यकर्ताका समस्या र गुनासा सुन्ने तथा जनतासँग कांग्रेसको सम्बन्ध अझ बलियो बनाउने आफ्नो मुख्य जिम्मेवारी रहेको बताए । पार्टीलाई आगामी दिनमा थप प्रभावकारी बनाउन युवादेखि पुराना पुस्तासम्मका नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
अधिवेशनबाट उपसभापतिमा कान्छा थारु निर्वाचित भएका छन् । उनले १६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयबहादुर डाँगीले ६६ मत प्राप्त गरे । महिला उपसभापतिमा शुलिला थारु निर्विरोध निर्वाचित भएकी छन् ।
त्यस्तै सचिवमा चिरिञ्जीवी केसी निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा होमबहादुर रावत १५८ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रेमबहादुर खत्रीले ५१ मत प्राप्त गरे ।
महिला सदस्यतर्फ निरा थारु १४९ मतसहित निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी जीवनकला खनालले ५४ मत प्राप्त गरिन् ।
पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै राप्ती सोनारीमा नेपाली कांग्रेसको आगामी संगठनात्मक गतिविधिले नयाँ गति लिने अपेक्षा गरिएको छ । निर्वाचित पदाधिकारीहरूले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्त्य गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध सुदृढीकरणमा ध्यान दिने बताएका छन् ।
राणाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले स्थानीय तहमा कांग्रेसको संगठनलाई थप व्यवस्थित बनाउने चुनौती पाएको छ । अधिवेशनमा भएको प्रतिस्पर्धापछि अब सबै पक्षलाई समेटेर अघि बढ्नु नयाँ नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ ।
बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयको पठनपाठन दुई दिनका लागि स्थगित गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै असोज ८ गते सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो। यस्तै, असोज ९ गते भने बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने जनाइएको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र नगरका विभिन्न क्षेत्रमा डुबान तथा बाढीको जोखिम हुन सक्ने भएकाले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले जोखिमयुक्त समयमा विद्यार्थीलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा खोला, नदी किनार र अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन अभिभावकलाई आग्रह गरेको छ। विद्यालय परिवारलाई पनि विद्यार्थीको सुरक्षा र सम्भावित विपद्को अवस्थाप्रति उच्च सतर्कता अपनाउन भनिएको छ।
सम्भावित प्राकृतिक विपद्का कारण विद्यालय सञ्चालनमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत उपमहानगरपालिकाले आग्रह गरेको छ। वर्षाको अवस्था र जोखिमको मूल्यांकनका आधारमा आगामी निर्णय गरिने जनाइएको छ।
काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ ।
नेपालगञ्जबाट १३ जना यात्रु लिएर उडेको जहाज बिहीबार बिहान करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।
जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए । यात्रुमध्ये ११ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ । पांग्रामा समस्या आए पनि जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जहाजमा सामान्य प्राविधिक समस्या देखिएको हो । जहाज अहिले धावनमार्गमै रहेको छ भने प्राविधिक टोलीले आवश्यक जाँच गरिरहेको छ । विमानस्थल अहिले बन्द भएको छ।
बाँके । भोलि शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राप्ती सोनारी गाउँपालिकाले सम्बन्धित सबैमा आग्रह गरेको छ।
मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै दिएको चेतावनी अनुसार राप्ती सोनारीले स्थानीय गाउँपालिकाबासीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक टाढा तथा रातिको यात्रा नगर्न, आकस्मिक बाढी आउन सक्ने नदी, खोला तथा खहरे आसपासका बस्तीका बासिन्दा र पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकलाई थप चनाखो रहन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।
खरालका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न तथा विपद्को अवस्थामा नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
साथै आवश्यक सहयोग तथा समन्वयका लागि गाउँपालिकाले गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेललाई ९८५८०२३१२७, उपाध्यक्ष मनिषा सिंह थारुलाई ९८६७९५४४७४, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई ९८५८०५५५१६, प्रवक्ता मिनराज खड्काको ९८५८०३८०००, विपद् सम्पर्क व्यक्ति मोहन बुढाक्षेत्रीलाई ९८६६५५२१०२ तथा नगर प्रहरी इन्चार्जलाई ९८४८२३७१४० र नगर प्रहरी (एलईओसी) लाई ९८४४०१८८६६६ मा सम्पर्क गर्न आग्रह गरेको हो।




