वीरेन्द्रनगर कात्तिक २३ , सुर्खेतमा थुनुवा मृत्युको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।समितिमा वडा नम्बर ११ का अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जालबाट पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघकी सदस्य एवं कर्णाली प्रदेश सचिव मालती विक र मृतक परिवारका तर्फबाट गीता सुनार सदस्य छन् ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा भएका लागूऔषध कारोबार मुद्दाका थुनुवाको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –११, पिपिराका २६ वर्षीय गंगे सुनार रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार मृतक शुक्रबार बिहान ५ः५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । उनीसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए । उनले भने, ’तत्कालै लागि प्रदेश अस्पताल पुर्याएका थियौँ । चिकित्सकले मृत घोषणा गर्नुभयो ।’
उनी ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताए । उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज (शुक्रबार) उनको मुद्दामा पेसी थियो । थुनुवाको मृत्युपछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको प्रहरीले जनाएको छ ।
सुर्खेत प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार मृतक अहिलेसम्मको लागूऔषध सेवनकर्ता हुन् । प्रहरीले कारोबार गर्दा फेला पारेको थियो । उनले भने, ’उनीहरू ३ जना थिए । बस्नेहोर्ने सबै सँगै थियो । तीन चार दिनअघि अदालतमा पेस गरेको हो । अदालतले निर्णय गरेको भए कारागारमा हुन सक्थ्यो । ’ मृतकको अवस्था सामान्य भएको र केही नभएको उनले बताए । सामान्य रुघा थियो ।
उनले भने ,’साथीहरुसँग घुलमिल गरेको हिरासतमा राम्रो बसेका थिए । दायाँ बायाँ सबैतिर सोध्यौं, सीसीटीभी फुटेज पनि छ । हिजो हाँसखेल गरेर सुतेको हो । बिहान उठ्दा सँगै सुतेको साथीले दाइ उठ्नु भनेर बोलाउँदा, चार पाँच वटा सेलमध्ये ५ नम्बरको रेखदेख गर्ने खालको पनि थियो । त्यसमा चलेन, त्यसपछि अर्को साथीलाई पनि उठायौँ । त्यसपछि शंका लागेर कराएको रहेछ । प्रहरीलाई बोलायौँ, तुरुन्त गएर हेर्दा अचेत छ । तुरुन्तै हस्पिटल लग्यौं, तर मृत्यु भइसकेको रहेछ । ’ राति केही घटना पो भयो कि भनेर सीसीटीभी फुटेज पनि हेरेको तर गफ पनि गरेका तर केही नभएको उनले बताए । सीसीटीभी फुटेज पनि क्लिएर छन् भएको र सबैसँग सोधपुछ गर्दा पनि केही नदेखिएको प्रहरी प्रमुख शाहीले बताए ।
यता मृतकका आफन्तले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाहिर घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । छानबिन समिति गठन पछि आन्दोलन तत्काललाई रोकिएको छ ।
जिल्ला प्रहरी प्रमुख शाहीले मृतकको पोस्टमर्टमको लागि नेपालगन्जबाट शनिबार डाक्टर बोलाइएको बताए । कर्णालीमा मृतको पोस्टमर्टमको लागि विशेषज्ञ डाक्टर नभएकोले फरेन्सिक विभागकै डाक्टरलाई पोस्टमर्टमको लागि बोलाइएको उनले बताए ।
महेन्द्रनगरकात्तिक २३ , कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ। बितेको नौ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ।
यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन्।
डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताए। हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ। “मृत्यु भएका प्रतिव्यक्ति रु १० लाखका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ”, अधिकृत भट्टराईले भने, “घाइतेहरुको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ।”
पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्याउँदै आएका छन्। जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धवाउन खटिन गरेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेले हात्तीको आक्रमणबाट यहाँ २०७५ सालयता नौ जनाको मृत्यु भइसकेको जानकारी दिए। “यो अवधिमा नौ जनाको मृत्यु, सात गम्भीर र चार जना सामान्य घाइते भएका छन्”, उनले भने, “तुलनात्मक रुपमा यो वर्ष विगतको भन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवातजावत बढी देखिएको छ।”
उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए।
नेपालगन्ज, कात्तिक २३ गते । बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित छन् ।
केही दिन अघिमात्रै ढकेरीमा घाँस काट्न गएका एक जनाको बाघले आक्रमण गर्दा मृत्यु भएपछि त्रसित बनेको सो क्षेत्रका बसिन्दा अहिले चितुवाको समेत आक्रमण बढ्न थालेपछि थप चिन्तित र आतङ्कित बनेका हुन् ।
सोही क्रममा कोहलपुर नगरपालिका–१२, सुन्दरबस्तीमा शुक्रबार राति स्थानीय रबि टमटाको खोरमा रहेको तीन वटा बाख्रा चितुवाले मारेर खाएको छ ।
खोरमा थुनेर राखिएका तीनवटै बाख्रालाई चितुवाले राति आएर खाएको जनाउँदै टमटाले गत केही दिनदेखि यो क्षेत्रमा पटक पटक चितुवा देखिने गरेको र उसको स्वर समेत सुनिने गरेको बताए ।
उनले निकुञ्ज नजिकै रहेको हुँदा चितुवा र बाघको डरले आफुहरू साँझैदेखि घरबाट बाहिर निस्कन नसकेको तथा हरेक समय डर र त्रासमा बस्नु परेको बताए ।
सोही ठाउँका अर्का स्थानीय मनविर सुनारले केही दिनको अन्तरालमा कोहलपुरको निबुवादेखि खड्कवारसम्मका चार स्थानमा चितुवाले बाख्रा खाएको बताए । उनले चितुवाले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेको जनाउँदै सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण तत्काल हुनुपर्ने माग गरे ।
पछिल्लो समयमा निकुञ्ज नजिकका गाउँबस्तीमा पटक पटक बाघ र चितुवा देखिने तथा आक्रमण समेत गर्ने गरेका घट्नाहरू बढ्दै गएकोप्रति अधिकांश स्थानीयले चिन्ता प्रकट गरेका छन् ।
कोहलपुर कात्तिक २३ , नेपालमा आगलागीका घटनाले फेरि चिन्ताजनक अवस्था देखाएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको हालैको विवरणले चालु आर्थिक वर्ष २०८२/०८३ को असोज महिनामै मात्र देशभर १८५ वटा आगलागीका घटना दर्ता भएको देखाएको छ। यी घटनाले जनधन दुबैमा ठूलो क्षति पुर्याएको छ। तथ्यांक अनुसार, लुम्बिनी प्रदेश तेस्रो सर्वाधिक जोखिम क्षेत्रको रूपमा देखिएको छ।
आगलागीका घटनामा मानवीय क्षतिबाट एक जनाको ज्यान गएको र २२ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। मृत्यु हुने एक जना महिला रहेको जनाइएको छ भने घाइतेमध्ये १७ जना पुरुष, पाँच जना महिला, तीन जना बालक र तीन जना बालिका रहेका छन्। यस्ता घटनाले देशभर आगलागी नियन्त्रण र रोकथामका संयन्त्र अझ सुदृढ गर्नुपर्ने आवश्यकता देखाउँछ।
भौतिक क्षतिका हिसाबले हेर्दा असोज महिनामा मात्र ५३ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएका छन्। सरकारी कार्यालय भवनमा भने क्षति भएको छैन। आगलागीका कारण २० वटा चौपायाको समेत मृत्यु भएको छ, जसले ग्रामीण क्षेत्रका किसान र पशुपालकहरूलाई आर्थिक रूपमा ठूलो धक्का पुर्याएको छ।
प्रहरीले उल्लेख गरेको कुल क्षतिको रकम पाँच करोड १५ रुपैयाँ पुगेको छ। यो तथ्यांकले देखाउँछ आगलागी केवल जनजीवनमा मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा पनि गहिरो असर पार्ने चुनौतीको रूपमा उभिएको छ।
नेपाल प्रहरीका अनुसार, आगलागीका घटनामा १ हजार ३३० जना प्रहरी परिचालित भएका थिए। ती घटनामा उद्धार, नियन्त्रण र सहयोगका लागि प्रहरी, स्थानीयवासी र दमकलकर्मीहरू सक्रिय रूपमा खटिएका थिए। यद्यपि, देशभर पर्याप्त दमकल र प्राविधिक जनशक्ति अभावका कारण समयमै आगो नियन्त्रणमा समस्या देखिएको हो।
आगलागीका कारण विस्थापित हुनेको संख्या पनि कम छैन। तथ्यांक अनुसार, असोज महिनामा मात्र १० जना नागरिक विस्थापित भएका छन्। उनीहरूलाई अस्थायी आवास र राहत सहयोगका पहल स्थानीय प्रशासनले गरिरहेको बताइएको छ।
प्रदेशगत विवरण अनुसार, सबैभन्दा कम आगलागी घटना बागमती प्रदेशमा ९ वटा भएको छ। त्यसपछि मधेस प्रदेशमा सबैभन्दा बढी ४२, लुम्बिनी प्रदेशमा ३०, गण्डकीमा १८, कर्णालीमा १२, सुदूरपश्चिममा १८ र कोशी प्रदेशमा ४२ वटा घटना दर्ता भएका छन्। यो तथ्यांकले लुम्बिनी प्रदेशलाई आगलागी जोखिमका दृष्टिले देशको तेस्रो स्थानमा राखेको छ।
लुम्बिनी प्रदेशमा आगलागीका धेरै घटना बाँके, बर्दिया, रूपन्देही र कपिलवस्तु जिल्लामा भएको बताइन्छ। यी क्षेत्रमा सुख्खा हावा, विद्युत् सर्ट र मानव लापरबाहीका कारण आगलागीको सम्भावना बढेको सुरक्षा निकायको भनाइ छ। ग्रामीण बस्तीमा अझै पनि मट्टितेलको बत्ती, दाउरा र भुसको प्रयोग हुने भएकाले आगोको जोखिम अत्यधिक रहन्छ।
सुरक्षाकर्मीहरूका अनुसार, असोज महिनामा भएको आगलागीका घटना मध्ये धेरैजसो मानवीय कारणले भएका छन्। खाना पकाउने समयमा अनियन्त्रित आगो, बिजुलीको तार सर्ट हुने, बालबालिकाले खेल्ने क्रममा आगो सल्काउने जस्ता कारणहरू दोहोरिइरहेका छन्। केही स्थानमा भने वन क्षेत्रमा आगो लाग्दा नजिकका बस्तीमा फैलिएको थियो।
नेपाल प्रहरीका अधिकारीहरूले जनचेतना र सावधानी नै आगलागी नियन्त्रणको प्रमुख उपाय भएको बताएका छन्। “हामीले दमकल परिचालन, प्रहरी बल र स्थानीय तहका संयन्त्र सक्रिय राखेका छौं। तर नागरिक स्वयं सतर्क नभए आगलागी घट्न सक्दैन,” एक वरिष्ठ प्रहरी अधिकृतले भने।
नेपालमा हरेक वर्ष हिउँदे र वसन्त ऋतुमा सुख्खा हावासँगै आगलागीका घटना तीव्र हुने गर्छन्। असोज महिनामै यति ठूलो संख्यामा आगलागी हुनुले आगामी महिनाहरूमा अझ सतर्कता आवश्यक रहेको देखाएको छ। अहिलेको अवस्थाले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर द्रुत प्रतिक्रिया प्रणाली (च्बउष्म च्भकउयलकभ क्थकतझ) बलियो बनाउनु पर्ने आवश्यकता उजागर गरेको छ।
लुम्बिनी प्रदेशमा मात्रै ३० वटा आगलागीका घटनाबाट करोडौँ मूल्य बराबरको क्षति भएको छ। स्थानीय निकायहरूले राहत र क्षतिपूर्तिका कार्यक्रम थाले पनि दीर्घकालीन पूर्वतयारीका कार्यक्रम अझै सशक्त हुन सकेका छैनन्। धेरै स्थानीय तहमा दमकलको पहुँच छैन भने कतिपय ठाउँमा आवश्यक प्राविधिक तालिम प्राप्त जनशक्ति पनि अभावमा छन्।
नेपाल प्रहरीका अनुसार, आगलागी नियन्त्रणका लागि प्रहरी बलले आवश्यक सर्तकता, जनचेतना अभियान र उपकरणको प्रयोगमा सुधारका योजना अघि सारेको छ। यद्यपि, यो प्रयास सफल हुन स्थानीय समुदायको सक्रियता र सहकार्य अनिवार्य रहेको प्रहरीको भनाइ छ।
तथ्यांकले देखाउँछ— देशभर हरेक दिन सरासरी ६ वटा आगलागी घटना भइरहेका छन्। यो अवस्थाले नेपाल अझै पनि आगलागी जोखिमयुक्त देशको सूचीमा परेको स्पष्ट संकेत गर्छ। यी घटनाबाट मानवीय, आर्थिक र वातावरणीय असरहरू व्यापक भएका छन्।
सारांशमा भन्नुपर्दा, असोज महिनाको यो विवरणले केवल तथ्यांक मात्र होइन, आगलागीविरुद्धको सामूहिक जिम्मेवारीको स्मरण गराएको छ। लुम्बिनी प्रदेश तेस्रो जोखिम क्षेत्रको रूपमा उभिएको हुँदा त्यहाँका स्थानीय सरकार र सुरक्षासंस्थाहरूले थप सतर्कता अपनाउन जरुरी देखिन्छ। आगलागी नियन्त्रणका लागि पूर्वतयारी, सजगता र प्राविधिक सुदृढीकरण नै अबको आवश्यकता बनेको छ।
आगलागी हुने मुख्य कारणहरूः
१. विद्युत् सर्ट सर्किट (क्जयचत ऋष्चअगष्त)ः
पुराना वा कमजोर तार, ओभरलोड, तथा अव्यवस्थित बिजुली जडानका कारण आगलागी हुने प्रमुख कारण।
२. ग्यास र मट्टितेल प्रयोगमा लापरबाहीः
खाना पकाउने क्रममा ग्यास चुहावट वा मट्टितेल प्रयोग गर्दा सावधानी नअपनाउँदा आगो सल्कने।
३. धुम्रपान र आगोको दुरुपयोगः
सिगरेट, बिडीको टोकला फ्याँक्दा, वा दाउरा र भुस नजिक आगो बाल्दा दुर्घटना हुने।
४. बालबालिकाको खेलकुद र लापरबाहीः
बालबालिकाले म्याचस्टिक, पटका वा आगो खेल्दा बस्तीमा आगलागी हुने घटना दोहोरिने।
५. वन क्षेत्रमा मानव क्रियाकलापः
चरन, फोहर बाल्ने, सिकार वा खेती तयारीका क्रममा आगो बाल्दा वनमा आगो फैलिने।
६. सुख्खा हावा र उच्च तापक्रमः
हिउँदे र वसन्त ऋतुमा सुख्खा हावा चल्दा सानो आगो पनि छिट्टै फैलिने।
७. भुस, दाउरा र फोहोरको अव्यवस्थित भण्डारणः
घर नजिक वा गोठमा दाउरा, भुस र फोहोर जम्मा हुँदा आगो फैलन सजिलो हुने।
८. दमकल र नियन्त्रण उपकरणको अभावः
आगो लागेपछि तत्काल नियन्त्रण गर्न नपाउँदा सानो आगो ठूलो क्षतिमा परिणत हुने।
९. मानव लापरबाही र बेवास्ताः
बत्ती बालेर छोड्नु, मेणबत्ती वा दीयो निभाउन बिर्सनु, वा खाना पकाउने आगो अनियन्त्रित राख्नु।
१०. औद्योगिक र पसल क्षेत्रका जोखिमः
पेट्रोल, डिजेल, पेन्ट, ग्यासजस्ता ज्वलनशील पदार्थ सुरक्षित रूपमा नराख्दा आगलागी हुने सम्भावना।
आगलागीबाट बच्ने प्रमुख उपायहरूः
१. विद्युत् सुरक्षामा ध्यान दिनुः
पुराना वा फाटेका तार तुरुन्त फेर्नु।
ओभरलोड नगर्नु र उपकरण बन्द गरेर मात्र प्लग निकाल्ने बानी बसाल्नु।
२. ग्यास प्रयोग गर्दा सावधानी अपनाउनुः
ग्यास सिलिन्डर चुहावट छ कि छैन, नियमित जाँच गर्नु।
ग्यास बाल्ने अघि भान्साको ढोका–झ्याल खोल्ने।
३. मट्टितेल, पेट्रोल र अन्य ज्वलनशील पदार्थ सुरक्षित राख्नुः
आगो वा बिजुलीको स्रोत नजिक नराख्ने।
बालबालिकाको पहुँच बाहिर राख्ने।
४. धुम्रपान गर्दा सावधानीः
सिगरेट वा बिडीको टोकला नजहिँतै फ्याँक्ने।
सुत्ने कोठा वा गोठ नजिक धुम्रपान नगर्ने।
५. बालबालिकालाई सचेत बनाउनेः
आगो खेल्न नहुने भनेर बुझाउने।
म्याचस्टिक, लाइटर र पटका बालबालिकाबाट टाढा राख्ने।
६. भुस, दाउरा र फोहोर व्यवस्थापनः
घर वा गोठ नजिक भुस, दाउरा, फोहोर जम्मा नगर्ने।
सुरक्षित दूरीमा राख्ने र नियमित सफा गर्ने।
७. दमकल र आगो नियन्त्रण उपकरणको तयारीः
घर, कार्यालय र पसलमा ाष्चभ भहतष्लनगष्कजभच राख्ने।
आगो लाग्दा तुरुन्त प्रयोग गर्न जान्ने तालिम लिने।
८. घर निर्माण र योजना चरणमै सावधानीः
घरमा पर्याप्त हावा आवतजावत हुने खालका झ्याल–ढोका बनाउने।
बिजुलीको वायरिङ्गमा दक्ष प्राविधिक प्रयोग गर्ने।
९. समुदाय स्तरमा सचेतना र तालिमः
स्थानीय तहले नियमित रूपमा आगलागी नियन्त्रण सम्बन्धी तालिम र अभ्यास सञ्चालन गर्ने।
‘आगो लाग्दा के गर्ने’ भन्ने अभ्यास विद्यालय र बस्तीमा गराउने।
१०. तत्काल प्रतिक्रिया र सूचना प्रणाली सुदृढ बनाउनेः
आगो देख्नेबित्तिकै १०० (प्रहरी) वा १०१ (दमकल) मा खबर गर्ने।
स्थानीय समुदायले स्वयंसेवी उद्धार समूह गठन गर्ने।
११. वन क्षेत्रमा विशेष सतर्कताः
सुख्खा मौसममा आगो बाल्ने काम प्रतिबन्धित गर्ने।
वन गस्ती र अनुगमन बलियो बनाउने।
१२. बीमा र आर्थिक सुरक्षाको प्रबन्धः
आगलागी जोखिम हुने घर, पसल वा उद्योगको बीमा गराउने।
क्षति हुँदा राहत भन्दा पहिले सुरक्षामा जोड दिने।
कैलाली, कार्तिक २३ तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ठक्करबाट ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका-२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका-६ कोटातुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको छ।
जिपको ठक्करबाट गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको कैलाली प्रहरीले जनाएको छ।
जिपले ठक्कर दिँदा पैदलयात्रीहरु घोडाघोडी नगरपालिका-२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका-६ कोटातुल्सिपुरका ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया-६ कै २५ वर्षीय कृष्ण डगौरा घाइते भएको प्रहरीले जानकारी दिएको छ।
ठक्करबाट घाइते भएका तीनै जनालाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिएको छ भने घाइतेहरुमध्य कृष्णको अवस्था गम्भीर रहेको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने जिप र रोल्पाको त्रिवेणी गाउँपालिका-४ का २३ वर्षीय चालक सन्तोष घर्तीमगरलाई पक्राउ गरेको छ।