हाइवे पोष्ट संवाददाता
राप्तीसोनारी, मंसिर ५
जलीय जैविक विविधताको प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षामा संवद्र्धन भन्ने मूल नाराका साथ बाँकेमा विश्व मत्स्य दिवस मनाइएको छ । मत्स्य विकास केन्द्र शम्शेरगन्जको आयोजनामा उक्त दिवस मनाइएको हो । राप्तीसोनारी–२, स्थित राप्ती नदीमा मनाइएको उक्त दिवसमा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुको प्रमुख आथित्यता थियो । वडा नम्बर २ का कावा वडा अध्यक्ष दीर्घबहादुर बुढाथोकी, वडा सदस्य गायत्रा डाँगी, रेडक्रस कचनापुर शाखाका अध्यक्ष तथा मत्स्य कृषक हिरालाल योगीलगायतको आतिथ्यता थियो ।
लेखापाल चन्द्रमणि अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा मत्स्य अधिकृत वीरेन्द्र चौधरीले स्वागत गरेको कार्यक्रममा ८५ जनाको सहभागिता थियो ।
राप्तीसोनारी–२, स्थित राप्ती नदीमा १० हजार माछाका भुरा छाडिएको छ । विश्व मत्स्य दिवसका अवसरमा ति माछामा भुराहर छाडिएको हो ।
नेपालगन्ज,मंसिर ५ जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै लागुऔषधसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ बस्ने टोपबहादुर रोकाया क्षेत्रीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । रोकायलाई बाँके जिल्ला अदालतले मिति २०८२ जेठ २७ गतेको फैसलामार्फत १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फैसला जारी भए पश्चात फरार रहेका रोकायालाई प्रहरीले पछिल्लो निगरानी र सुराकीका आधारमा नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेका रोकायालाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने विशेष अभियान जारी छ, र पछिल्ला दिनमा यस्ता धेरै फरार प्रतिवादीहरूलाई कानुनी प्रक्रियामा ल्याइँदै आएको छ ।
पाल्पा, मंसिर ५ यहाँका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती हराउँदै गएको छ । मुख्यतया नगदे बालीको लोकप्रियता, कोदोखेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएका कारणले धेरै किसानले कोदोखेती छाड्दै गएको पाइन्छ ।
जिल्लाका कृषकहरू अहिले अन्य नगदेबाली खुर्सानी, आलु, अदुवा, बेसार र तरकारीखेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् । जिल्लाको केही क्षेत्रमा कोदोखेती अझै केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा समेत उत्पादनमा कमी आएको देखिन्छ । यहाँका कोदो फल्ने अधिकांश बारीमा घाँस र पातपतिङ्गर जस्ता झारले भरिएको छ ।
एक दशकअघिसम्म यहाँको रिब्दीकोट बगनासकाली गाउँपालिका सिरुखर्काकी शर्मिला थापाको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेकी छन् । उनले कोदोखेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको थापाले बताइन् ।
बगनासकाली गाउँपालिका खानेगाउँका दीपक पचाभैया पनि धेरै कोदो उत्पादन गर्ने किसान हुनुहुन्छ । तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन् । केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट माथागढी, निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायत जिल्लाका अन्य किसानहरुको मुख्य बाली कोदो थियो । युवाहरु विदेश र सहरतिर, गाउँमा बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ । यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ ।
यहाँ आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो । जुन आर्थिक वर्ष २०८१/८२ मा आएर दुई हजार ३४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए ।
उनका अनुसार कृषकहरु सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदोखेती हुने क्षेत्रफल घट्दै गएको हो । कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए ।
कोदो हराउँदै गए पनि माग भने बढ्दो रहेको छ । पछिल्लो केही वर्षयता यहाँका होटलहरुमा कोदोका परिकारको माग बढेको तानसेन कैलाशनगरका होटल व्यवसायी दीपक अधिकारीले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको कार्कीले बताए । बजारमा सहजरुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ छ ।
‘पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै व्यक्तिमा अर्ग्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,’ अधिकारीले भने, ‘कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँमै गएर ल्याउँछौँ । कहिले किसान आफैँ यही ल्याइदिएर आउँन्छ । स्थानीय उत्पादनको महत्व नागरिकले बुझ्दै गएका छन् ।’
बर्दिया, मंसिर ५ लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विकास परिषद्द्वारा सञ्चालित ७ दिने नेचर गाइड तालिम बर्दियामा सम्पन्न भएको छ । कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालन गरिएको तालिममा विभिन्न जिल्लाबाट आएका ४० जना सहभागीको उत्साहजनक उपस्थिति रहेको परिषद्ले जनाएको छ ।
प्रदेशभित्र वातावरणमैत्री पर्यटन प्रवद्र्धन, प्रशिक्षित जनशक्ति उत्पादन र स्थानीय तहमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले गरिएको तालिममा प्रकृति संरक्षण, जैविक विविधता, जिम्मेवार पर्यटन, पर्यटकलाई सुरक्षित तथा प्रभावकारी गाइडिङ गर्ने तरिका, पक्षी–वन्यजन्तु पहिचान, स्थानीय संस्कृति तथा प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइएको थियो ।
समापन समारोहमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशमा प्राकृतिक पर्यटनको अपार सम्भावना रहेको भन्दै प्रशिक्षित नेचर गाइडले पर्यटक संख्या वृद्धि र पर्यटन गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘यस्ता कार्यक्रमले स्थानीय तहमै रोजगारी बढाउने तथा प्रदेशको प्राकृतिक धरोहर संरक्षणमा टेवा पुर्याउनेछ,’ उनले भने । मन्त्री न्यौपानेले भविष्यमा अझ विस्तारित तथा उन्नत तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्य, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार राम, नेचर गाइड एशोसिएसन बर्दियाका अध्यक्ष कृष्ण बहादुर शाह र पक्षीविद तथा सिनियर नेचर गाइड राम बहादुर शाहीले प्राकृतिक पर्यटन प्रवद्र्धन र सक्षम जनशक्ति विकास सम्बन्धी आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम पर्यटन विकास परिषद्का अधिकृत जनक राज खनालको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमको सञ्चालन पर्यटन विकास परिषद्का अधिकृत शंकर पौडेलले गरेका थिए
नेपालगन्ज, मंसिर ५ नेपालगन्जको शैक्षिक माहोलमा युनाइटेड एजुकेसनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । विज्ञान, म्यानेजमेन्ट, शिक्षा तथा कानुन संकायका बिद्यार्थीहरुलाई बिहीबार एकै मञ्चमा राखेर कक्षा १२ का विद्यार्थीबाट स्वागत गरिएको हो ।
कक्षा १२ का क्याप्टेन रवीन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रमले नयाँ विद्यार्थीलाई स्वागत गर्दै भावी शैक्षिक जीवनको शुभकामना समेत प्रदान गर्यो । राष्ट्रिय परीक्षा बोर्डका प्रमुख लक्ष्मी प्रसाद अधिकारीले अनुशासनमा बसेर अघि बढे लक्ष्य हासिल गर्न सकिने बताए । उनले भने, ‘आजको आवश्यकता लगनशील र अनुशासित जीवनशैली हो ।’ उनले माध्यमिक तह १२ कक्षासम्म अनिवार्य उत्तीर्ण हुनुपर्ने वर्तमान संरचना औँल्याउँदै भने, ‘अब १२ कक्षा पास हुनु भविष्यको प्रारम्भिक चरण हो । त्यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ ।’
यस्तै नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत डिल्ली आचार्यले युवाको भविष्य परिश्रमले निर्माण हुने तरिकालाई सरल शैलीमा व्याख्या गरे । उनको भनाइ थियो, ‘मिहिनेत गर्ने संस्कृतिले मात्र सफलता बन्छ । पढाइलाई बोझ होइन, अवसरको रूपमा लिनुपर्छ ।’
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समय बिद्यार्थीमा पढ्ने बानी कम हुँदै गएको चिन्ता व्यक्त गरे । उनले भने, ‘सफलताको मार्ग सधैं मिहिनेतकै बाटो हुँदै जान्छ। मिहिनेत बिना लक्ष्य भेटिँदैन ।’ कलेजका प्रबन्ध निर्देशक विकास बज्राचार्यले कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
‘हाम्रो उद्देश्य गुणस्तरीय शिक्षासँगै जिम्मेवार नागरिक उत्पादन हो,’ उनको भनाइ छ । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सहसचिव राजेन्द्र आचार्य, प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापा, बाँकेका कोषाध्यक्ष प्रबीन गिरी, विद्यालयका अध्यक्ष तरुण बज्राचार्य, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगीलगायतका उपस्थिति थिए । कार्यक्रम कलेजका सञ्चालक गणेश पाठकको स्वागत मन्तव्यपछि सुरु भएको थियो ।
शिक्षक गीता सुवेदीदेखि कक्षा १२ की विद्यार्थी स्नेहा कौशलले प्रेरणादायी अभिव्यक्ति दिँदै विद्यार्थी जीवनलाई अनुशासन र जिम्मेवारीसँग बाँध्न आग्रह गरे । कार्यक्रममा बिद्यार्थीहरुले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
बाँके, मंसिर ५ कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका–७ का २४ वर्षीया रेविकासिंह ठकुरी रहेका छन् । ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।
एनपीएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई प्रायोजन गर्छौं भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्ट्राग्राममार्फत सम्पर्क गरी सट्टाबाजी गराउन खोज्ने उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनीहरुलाई हिजो सार्वजनिक गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौको जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
अहिले अधिकांश मधेसी बस्तीमा हेर्दा एउटा कुरा प्रस्ट बुझिन्छ, ‘सम्मान, सुरक्षा र स्वाभिमान बिस्तारै गाउँमा फर्कंदै छ ।’ महिलाहरू रातको अन्धेरो पर्खेर बस्नुपर्दैन । बालबच्चा घरमै सुरक्षित छन् । बुढाबुढीले जोखिमपूर्ण बाटो हिँड्नुपर्दैन । शौचालयले गाउँको स्वरूप मात्र बदलेको छैन, मानिसहरूको जीवन नै बदलेको छ ।
नेपालगन्ज, मंसिर ५ आजभन्दा दस वर्षअघि कार्यक्रमको क्रममा प्रवेज अलि राप्तीपारिको भगौडा गाउँ पुगेका थिए । बिहानैदेखि व्यस्त कार्यक्रममा दौडधुप भइरहेकै बेला एक दिन उनलाई शौच गर्नुपर्ने भयो । उनीले नजिकैका स्थानीयलाई सोधे, ‘शौचालय छ कि ?’ स्थानीयले जवाफ दिए, ‘लोठा पानी लिएर खेततिर जाऊ ।’ उनी खेततिर लागे, तर बसेनन् । शौच लागिरहे पनि खुला ठाउँमा बस्न नसक्ने असहजता थियो । गाउँमा गोपनीयता थिएन, संरचना थिएन, सहरमा जस्तो सहजता त झन् थिएन । केही दिनसम्म त्यही असहजता दोहोरिइरह्यो, शौच गर्नुपर्ने तर ठाउँ नपाइने विवशता ।
तर अहिले त्यही गाउँ पुग्दा उनी सहजै भन्छन्, ‘अब त शौचालय भेटिन्छ, खुसीसाथ शौच गर्न पाइन्छ । केही वर्षयता मधेसी समुदायका धेरै गाउँमा यस्ता परिवर्तन तीव्र देखिन थालेका छन् । खुलेआम शौच गर्नुपर्ने बाध्यता घट्दै गएको छ, संरचना बढेको छ, चेतना पलाएको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहाका सिताराम रैदासलाई पनि आफ्नो पुरानो जीवन अझै बेरुकीसँग सम्झना आउँछ । करिब १५ वर्षअघि उनले घरमा शौचालय बनाउँदा गाउँमा केही घरमै मात्रै शौचालय थियो । त्यसभन्दा पहिला उनी हजुरबा–हजुरआमाले गरेझैँ खुला ठाउँमै जान्थे । बिहानबेलुका खेततिर जानुपर्ने, बाटोमा मानिस देखिन्छ कि भन्ने त्रास, महिलाले झनै सास्ती भोग्नुपर्ने अवस्था सबै निकै पीडादायी थियो । तराई क्षेत्रमा खुलेआम शौच गर्दा सर्पको जोखिम पनि ठूलो हुन्थ्यो । कहिलेकाहिँ त सर्पको बिगबिगीका कारण रातभरै बस्न नसक्ने अवस्थासमेत थियो । यही डर र लाजले उनले अन्ततः घरमा शौचालय बनाउनुपर्यो ।
अर्का स्थानीयले सम्झिन्छन्, ‘पहिले गाउँको सडक र डिलडिलमा दिसाको ढिस्को देखिन्थ्यो, हिँड्नै गाह्रो हुन्थ्यो । अहिले गाउँभर ९० प्रतिशतभन्दा बढी घरमा शौचालय देखिन्छ, बस्ती सफा देखिन्छ, घर–घरमा मर्यादा पुगेको अनुभूति हुन्छ ।’ शौचालयले उनीहरूको जीवनमा सुरक्षा मात्रै होइन, सम्मान पनि थपिदिएको छ । महिलाहरू, गर्भवती, बालबच्चा सबैका लागि यो परिवर्तन राहत बन्यो ।
२०७१ सालमा नेपालगन्ज उपमहानगरपालिका बनेपछि गाउँगाउँमा शौचालय निर्माणको अभियान चलेको थियो । स्थानीय अमृतलाल बर्मा भन्छन्, उपमहानगरको मापदण्डमा पर्नका लागि धेरै घरले त्यतिबेला शौचालय बनाउनैउबच्यो । सरकारबाट केही सामग्री सहयोग पनि आएको थियो । गाउँमा संरचना बन्न थालेपछि बस्तीको स्वरूप नै बदलिन थाल्यो । पहिले मान्छे हिँड्ने बाटोमा नै दिसा देखिन्थ्यो, अहिले त्यस्तो अवस्था छैन । सुन्दर बर्माले खुलेआम शौचको पीडा अझै ताजै छ । खुला ठाउँमा जाँदा कसैले देख्लान् कि भन्ने डर, मन खिन्न बनाउने बेइज्जतको अनुभव, भीडभाड भएका बेला बस्न नसक्ने समस्या यी सबै उनका वर्षौँका अनुभूति हुन् । कतिपय दिन त चहलपहलका कारण राम्रोसँग बस्नै नपाई फर्किनु परेको याद उनको मनमा अझै बाक्लै छ । उनी भन्छन्, पहिले घर–घरमा शौचालय नहुँदा बुढाबुढीदेखि साना बालकसम्म सबैले दुःख पाउँथे । कतिपयले त शौच गर्न जाँदै सर्पले टोक्दा ज्यानसमेत गुमाएका घटनाहरू गाउँलेहरूले देखेका छन् ।
यस्ता घटनाहरूले गाउँमा चेतना बिस्तारै बढ्दै गयो । अहिले धेरै घरमा पक्की शौचालय बन्न थालेका छन् । कच्ची घर बनाउनेले पनि नजिकै शौचालय बनाएका हुन्छन् । महिलाहरू सबैभन्दा बढी सहज भएको अनुभव गर्छन् । बिहानै उज्यालो हुन नपाउँदै खेततिर दौडनुपर्ने बाध्यता अब छैन । बालबालिकाले खुला ठाउँ खोज्दै हिँडनुपर्दैन । गाउँका बुढाबुढीले ‘लाज मर्नु’बाट मुक्ति पाएका छन् ।
फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्दीकी भन्छिन्, ‘पहिलेजस्तो अवस्था अब छैन । पहिले गाउँ–बस्ती सुनसान थिए, मानिसहरू खुलै बस्थे । अहिले बाटो–घाटो बनेपछि आवतजावत बढेको छ । बिहानै खेततिर मानिसहरू निस्कने भएकाले खुला शौच गर्न लाज लाग्न थाल्यो ।’ यही सामाजिक दबाबले पनि मानिसहरूलाई शौचालय बनाउन र प्रयोग गर्न प्रेरित गरेको उनले बताइन् । फातिमा फाउण्डेसनले गाउँका केही स्थानमा शौचालय बनाएर सहयोग गरेको अनुभव पनि उनी सुनाउँछिन् । पहिले मर्निङवाक जाँदा कयौँजनालाई ‘यस्तो गर्नु हुँदैन’ भन्दै सचेत बनाउनुपर्ने, तर अहिले बाटोमै खुलेआम शौच गर्ने दृश्य नदेखिने उनी बताउँछिन् ।
पत्रकार सिराज खानका अनुसार मधेसी समुदायले शौचालय प्रयोग नगर्नुको कारण मधेसको पहिचानसँग जोडिएको विषय होइन । यो शिक्षा, चेतना र आर्थिक अवस्था कमजोर भएका कारण हो । मधेसी समुदायभित्र हिन्दु र मुस्लिम दुवै छन्, र दुवै समुदायका केही ग्रामीण बस्तीमा समान समस्या देखिन्छ । तर सहरमा शिक्षित र आर्थिक रूपमा सक्षम परिवारमा शौचालय प्रयोग व्यापक छ । उनले बताउँन्, ‘विकासलाई सडक, पुल र भवनसँग मात्र जोड्ने सरकारी प्रवृत्तिले चेतना र व्यवहार परिवर्तनमा आवश्यक ध्यान दिन सकेन । यही कारण केही गाउँ शौचालयबिहीन छन् ।’
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि भन्छन्, ‘अहिले मधेसी समुदायमा शौचालय प्रयोग बिस्तारै बढ्दै गएको छ । चेतना र संरचना दुबै बढेका छन् । तर अझै करिब २० प्रतिशतजति परिवार खुला शौचमै निर्भर हुन सक्छन् । आर्थिक कमजोरी, शैक्षिक अभाव र पुरानो सोचका कारण केही घरसम्म सुविधा पुगेको छैन । ती घरका साना बालबच्चाले अझै सरसफाइमा जोखिम बोकिरहेका छन् ।’
बाँकेका मधेसी बस्तीले पछिल्ला वर्षमा अनुभव गरेको यो परिवर्तन एकसाथ धेरै कारणहरूको परिणाम हो, सरकारी अभियान, स्थानीय संस्थाहरूको सहयोग, चेतनाको विस्तार, महिलाहरूको सक्रियता, र सामाजिक दबाब । खुलेआम शौच अन्त्य भए पनि सबै घरभित्र सुविधा पुगेको छैन । अभावमा रहेका परिवारलाई संरचना निर्माणदेखि प्रयोगसम्म प्रेरणा र सहयोग पुर्याउन अझै धेरै गर्न बाँकी छ । तर आज फुटाहा, भगौडा र आसपासका धेरै गाउँहरू हेर्दा एउटा कुरा प्रस्ट बुझिन्छ, ‘सम्मान, सुरक्षा र स्वाभिमान बिस्तारै गाउँमा फर्कंदै छ ।’ महिलाहरू रातको अन्धेरो पर्खेर बस्नुपर्दैन । बालबच्चा घरमै सुरक्षित छन् । बुढाबुढीले जोखिमपूर्ण बाटो हिँड्नुपर्दैन । शौचालयले गाउँको स्वरूप मात्र बदलेको छैन, मानिसहरूको जीवन नै बदलेको छ ।
दस वर्षअघिको असहजता अहिले सुख र सहजतामा बदलिएको छ । र भविष्यमा शायद सिताराम रैदासजस्तै हजारौँ ग्रामीण भन्लान्, ‘पहिले कति दुःख थियो, अहिले त सहज र सम्मानपूर्ण जीवन पाइन्छ । खुलेआम शौचबाट सुरक्षातर्फ, र असहजताबाट सम्मानतर्फको यो यात्रा मधेसी समुदाय मात्र होइन, बाँकेको समग्र ग्रामीण जीवनका लागि मौन तर गहिरो सामाजिक क्रान्ति हो ।’
शौचालय प्रयोग गर्दासुरक्षित भइन्छ
शौचालय प्रयोग गर्दा मानिसहरू स्वास्थ्य, सुरक्षा र गोपनीयता—तीनै क्षेत्रमा सुरक्षित हुन्छन् । सरल भाषामा यसरी बुझ्न सकिन्छः
१. स्वास्थ्यका दृष्टिले सुरक्षित
– खुला ठाउँमा दिसापिसाब गर्दा फोहोर, मल–मूत्र, कीरा–किरानको सम्पर्कमा आएर रोग फैलिन्छ ।
– हैजा, झाडापखाला, टाइफाइड, आन्तरिक संक्रमणजस्ता रोग खुला दिसाबाट छिट्टै सर्छन् ।
– शौचालय प्रयोग गर्दा यस्ता रोगको जोखिम घट्छ र गाउँमा सरसफाइ राम्रो हुन्छ ।
– बच्चा र गर्भवती महिलाहरू रोगका जोखिमबाट जोगिन्छन् ।
२. सर्प, जनावर र दुर्घटनाबाट सुरक्षा
– तराई क्षेत्रमा खुला ठाउँमा जाँदा सर्प, बिच्छी वा जंगली जनावरको जोखिम उच्च हुन्छ ।
– रातमा खेतबारीतिर जाँदा खाल्डामा खस्ने, लड्ने, चोट लाग्ने घटना धेरै हुन्छ ।
– शौचालय भएकाले यी सबै प्राकृतिक जोखिमहरूबाट बच्न सकिन्छ ।
३. गोपनीयताको सुरक्षा
– खुला ठाउँमा बस्दा मानिसले देख्ला कि भन्ने डर, लाज र सामाजिक असहजता हुन्छ ।
– महिलाहरू, किशोरीहरू र वृद्धहरूले झन् ठूलो समस्या भोग्नुपर्छ ।
– घरमै शौचालय हुँदा लाज, तर्स, बेइज्जत हुनसक्ने डर सकिन्छ ।
४. वातावरणीय सुरक्षा
– खुला दिसाले बाटोघाटो, बस्ती, खोलानालामा प्रदूषण फैलाउँछ ।
– शौचालयले फोहोर नियन्त्रण गर्छ र गाउँ सफा, स्वस्थ र रमणीय देखिन थाल्छ ।
५. समय र ऊर्जा बचत
– रात–बिहान टाढासम्म खुला ठाउँ खोज्दै हिँड्नुपर्दैन ।
– वृद्ध, बालबालिका र महिलाले विशेष सहजता अनुभव गर्छन् ।
६. सामाजिक सुरक्षा तथा सम्मान
– घरमा शौचालय हुनु सामाजिक सम्मानसँग जोडिन्छ ।
– शौचालय प्रयोगले व्यक्तिगत स्वाभिमान र मर्यादा बढाउँछ ।




