२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

शुक्लाफाँटामा सुक्दै तालतलैया, वन्यजन्तु प्यासले प्रभावित

कञ्चनपुर ,बैशाखा १५ गते   बढ्दो गर्मी र संरक्षण अभावका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रका अधिकांश तालतलैया सुक्न थालेपछि वन्यजन्तुका लागि पानी संकट गहिरिँदै गएको छ। निकुञ्ज प्रशासनका अनुसार गर्मीयामसँगै प्राकृतिक तथा कृत्रिम दुवै प्रकारका तालमा पानीको सतह तीव्र रूपमा घटिरहेको छ। सूचना अधिकारी पुरुषोत्तम वाग्लेले अधिकांश ताल सुक्ने अवस्थामा पुगेको जनाउँदै शिकारी तालबाहेक अन्य तालमा पानीको मात्रा उल्लेख्य रूपमा घटेको बताए।

उनका अनुसार बाबा ताल, रानी ताल र सालगौडी तालजस्ता महत्त्वपूर्ण जलस्रोतहरू क्रमशः सुक्दै गएका छन्। वन्यजन्तुलाई पानीको अभाव हुन नदिन विभिन्न स्थानमा सोलार प्रणालीमार्फत पानी भर्ने प्रयास भइरहे पनि त्यसमा पनि चुनौती थपिएको छ। “ताल आसपास जडान गरिएका सोलार प्यानल जङ्गली हात्तीले भत्काइदिँदा पानी व्यवस्थापनमा समस्या भएको छ,” वाग्लेले भने। निकुञ्जभित्र रहेका तालहरूको अवस्था संरक्षण अभावका कारण झन् जटिल बन्दै गएको छ। विशेषगरी रानी ताल, कालीकिच ताल र शिकारी तालमा जलकुम्भी फैलिँदा ती ताल पुरिँदै गएका छन्, जसले जलचर र स्थलचर दुवै प्रजातिको बासस्थानमा असर पारेको छ।

वाग्लेका अनुसार निकुञ्जभित्र रहेका एक दर्जनभन्दा बढी ताल संरक्षणको अभावमा संकटमा परेका छन्। बजेट अभावका कारण ती तालको सरसफाइ तथा पुनःस्थापना कार्य प्रभावकारी रूपमा गर्न नसकिएको उनले बताए। निकुञ्जभित्र हाल प्राकृतिक र कृत्रिम गरी करिब १२० वटा तालतलैया रहेका छन्। विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गाको प्रमुख बासस्थानका रूपमा चिनिने शुक्लाफाँटामा हाल २ हजार ४०० भन्दा बढी बाह्रसिङ्गा रहेको अनुमान छ। त्यस्तै, सानो भू–भागमै ४४ वटा पाटेबाघ र ४३० भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने निकुञ्ज जैविक विविधताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्र मानिन्छ। यस वर्षको बाघ गणना सम्पन्न भइसकेको छ भने हाल बाह्रसिङ्गाको गणना कार्य जारी रहेको निकुञ्ज कार्यालयले जनाएको छ। जलस्रोत सुक्दै जाँदा यी दुर्लभ वन्यजन्तुको दीर्घकालीन संरक्षणमा चुनौती थपिने देखिएको छ।

 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।