
नेपालगञ्ज बाँके, मंसिर १२, सिद्धार्थ विद्या सदनले विद्यार्थीहरुमा खेलकुदजन्य भावना जगाउन बार्षिक खेलकुद कार्यक्रम गर्दै आएको छ । यस बर्ष पनि नेपालगञ्ज ६ फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदनले बुधबारदेखि शुक्रबारसम्म तीन दिने बार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयका सहायक प्रिन्सिपल प्रबिण गिरीले बताए ।
कार्यक्रमको विद्यालयका संस्थापक प्रिन्सिपल धिरज सिंह थापाले रिबन काटेर उद्घाटन गरेका थिए । त्यसक्रममा बोल्दै उनले विद्यार्थी जीवनमा खेलकुद र अनुशासनको महत्वबारे प्रष्ट्याउँदै स्वस्थ जीवन र फुर्तिलो शरीरको लागि खेलकुदजन्य गतिविधि अति आवश्यक रहेको बताए । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थी सहभागी कार्यक्रममा लंग जम्प, दौड, कबड्डी, रोप वार, रिले दौड लगायतका खेलहरुमा प्रतिष्पर्धा गराइएको छ ।
नेपालगन्ज, मंसिर १२ ,दलित महिला संघ (फेडो) बाँकेको सामाजिक परीक्षण तथा साधारणसभा सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा तीन जना दलित समुदायका महिलालाई सम्मान समेत गरिएको छ । डुडुवा–५ की रोशनी परियार, खजुरा–२ की सुशिला सुनार र बैजनाथ–१ की पदमकला कामीलाई सम्मान गरिएको हो । संघका अध्यक्ष निर्मला सुनार र प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् । ब्यवसायिकरुपमा टेलरिङको काम गरिरहेकी परियार, गड्यौला मल, च्याउ र तरकारी खेतीमा जमिरहेकी सुनार तथा ब्यवसायिकरुपमा बाख्रापालन गरिरहेकी कामीलाई सम्मान गरिएको हो । तीनै जनालाई ब्यवसाय सञ्चालनका लागि फेडोले सुरुवाती दिनमा सहयोग गरेको थियो । आफैं पेशा, ब्यवसाय गरेर आयआर्जनमा बृद्धि गर्दै आत्मनिर्भरतातर्फ उन्मुख महिलाहरुलाई सम्मान गरिएको हो ।
सामाजिक परीक्षण कार्यक्रममा विभिन्न ब्यक्तिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रमुख अतिथि कार्की, दलित महिला संघकी केन्द्रीय सचिव हिमा सुनार, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाकी सामाजिक विकास समिति संयोजक कृष्णा विक, डुडुवा गाउँपालिकाकी लिलावती यादव, जिल्ला प्रहरी कार्यालय बाँके महिला सेलका प्रहरी सहायक निरीक्षक चन्द्रिका खनाल, गैरसरकारी संस्था महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले दलित समुदायका महिलाहरुको सफलताको कथा सुनेर खुसी लागेको उल्लेख गरे ।
सामाजिक परीक्षणले संस्थाको विश्वसनियता र स्वीकार्यतालाई बढाउने उनीहरुको भनाई छ । उनीहरुले फेडोले सामाजिक जागरण, सामाजिक न्याय र दलित समुदायका महिलाको सशक्तिकरणका लागि काम गरिरहेको बताए । संस्थाकी उपाध्यक्ष तुलसी सुनारले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक दिलिशा गौतमले गरेकी थिइन् । त्यसक्रममा सामाजिक परीक्षक हेमराज भट्टले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आजै आफ्नो साधारण सभा पनि सम्पन्न गरेको छ ।
बर्दिया, मंसिर १२, बर्दियाको गुलरियामा आयोजित राष्ट्रपति रनिङ्गशिल्ड तथा आठौँ मेयरकप खेलकुद प्रतियोगिताको मुख्य आकर्षण थारू जातिको लठवा नाच बनेको छ । गुलरिया नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा राजापुर नगरपालिकाको अक्सिडेन्टल एकेडेमिका बालबालिकाले नाचेको लठवा नाच मुख्य आकर्षण बनेको हो ।
पछिल्लो समयमा आधुनिक, पप र हिपहप गानामा आकर्षित हुने बालबालिकाहरू थारू जातीको मौलिक बाजा सहित सांस्कृतिक पहिरनमा नाच्न थालेका पछि कार्यक्रमका अतिथि र सहभागीहरू मोहित भएका थिए । विभिन्न गीत मिक्स गरेर बनाइएको नाच भन्दा आफैँले बजाएको मादलको तालमा लट्ठी नचाईनचाई नाचेको हेर्दा निक्कै रोमाञ्चक देखिएको छ ।
लठवा नाचमा २० जना केटी र दुई जना केटा गरी २२ जनाको समूह थियो । नाचमा थारू समुदायका बालबालिकाहरू मात्र नभएर मुस्लिम समुदायसँगै अरु समुदायका बालबालिकाहरू पनि छन् । थारू समुदायको परम्परागत नाँच भएपनि नाच्न निक्कै रमाइलो लाग्ने बालिका सोराया खानले बता ए । मादलको तालमा लठ्ठी जुधाउँदै नाच्ने भएको हुनाले रमाइलोसँगै अनुशासनको पाठ सिकिने उनले बताए ।
अक्सिटेन्डल एकेडेमिमा वर्षैभरि सङ्गीत र नाच सिकाइने प्रधानाध्यापक बिन्द्रा केसीले बताइन् । उनले नाच र सङ्गीतका लागि अहिले विद्यालयमा ६० जना विद्यार्थीको टोली बनेको बताउँदै विद्यार्थीको रुचि र क्षमताको आधारमा विभिन्न नाच नाच्ने गरेको बताइन् । विद्यार्थीहरुले थारू, मगर, गुरुङ् संस्कृतिका नाच, डेउडा र टप्पा लगायतका विभिन्न नाच नाच्ने गरेका छन् ।
नाच शिक्षक रिखिराम चौधरीका अनुसार थारू समुदायका लठवा, सखिया, झुम्रा, अरु समुदायको कौडा, टप्पा, डेउडा, मारुनी जस्ता नाचहरूमा विद्यार्थीहरूको रुचि बढिरहेको छ । उनले भने, ‘आधुनिक, पप गीतभन्दा पनि सांस्कृतिक र परम्परागत नाचमा बढी जोड दिने गरेका छौँ ।’ नगरपालिकाले आयोजना गरेका कार्यक्रम, शैक्षिक कार्यक्रम, माघी मेला लगायतका कार्यक्रममा प्रस्तुतिका लागि विद्यार्थीहरू जाने गर्दछन् । राजापुर नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्गशिल्ड तथा मेयरकप खेलकुद प्रतियोगितामा लठवा नाच प्रस्तुत गरिएपछि गुलरिया नगरपालिकाको कार्यक्रममा प्रस्तुतिका लागि बालबालिकाहरूलाई निमन्त्रणा गरिएको थियो ।
विशेषगरि पशुचौपाया चराउन जाँदा सुरक्षाका लागि लट्ठी नचाइने र त्यही लट्ठी नचाउने कलालाई समेटेर लठवा नाच नाचिने परम्परा सुरु भएको थारू अगुवाहरू बताउँछन् ।
बाँके, मंसिर १२, नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित टोली सुदूरपश्चिम रोयल्सले लगातार चौथो खेलमा जित हासिल गरेको छ । सहज जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गर्यो । जारी प्रतियोगितामा लुम्बिनीको यो लगातार तेस्रो हार हो । लुम्बिनीले पहिलो खेलमा जित निकालेयता लगातार पराजय भोगिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ‘डेथ ओभर’ लगातार विकेट गुमाउन पुग्दा सामान्य स्कोरमा खुम्चिएको थियो । लुम्बिनी १९.४ ओभरमा १ सय ४३ रन जोड्दा अलआउट भएको थियो ।
जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्यो । सुदूरपश्चिमको प्रभावशाली जितमा ओपनर विनोद भण्डारीले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले आरिफ शेखसँग चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । शेख ३९ रनमा आउट भएका थिए । यी दुईबाहेक क्रिस लिनले १६ रन बनाउँदा जोश ब्राउनले ९ रन बनाएका थिए ।
लुम्बिनीका कुनै पनि बलरले टिमलाई उद्दार गर्न सकेनन् । उसका लागि रुवेन ट्रम्पलमेन र अभिशेष गौतमले १–१ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए । त्यस्तै, ड्’यार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा गुल्बदिन नाइबको ११ रन रह्यो ।
सुरुवाती ५ नम्बरसम्मका ब्याटरले मात्र दोहोरो रनको स्कोर बनाउँदा पछिल्लो क्रम भने लगातार विकेट गुमाउन पुगेको थियो । उसले अन्तिम ३९ रन जोड्दा आफ्ना ८ ब्याटर गुमाउन पुगेको थियो । अर्थात अन्तिम ५ ओभरमा टिम ‘कोल्याप्स’ भएको थियो ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा अभिनाश बोहरा र हर्मित सिंहले समान ३–३ विकेट लिँदा हेमन्त धामीले २ तथा स्कट कुग्लिङ्गले १ विकेट लिए । अपराजित सुदूरपश्चिम ४ खेलबाट ८ अङ्क बनाएर शीर्ष स्थानमा कायम रहँदा पराजित लुम्बिनीको समान खेलबाट २ अंक मात्र रहेको छ ।
वीपी चोकदेखि धम्बाजीसम्मको फुटपाथ हटाएर अपांगमैत्री फुटपाथ र वृक्षारोपण गरिँदै ,सडकको दुवैतर्फको नाली बाहिरको सात फिटभित्रको अतिक्रमित हटाइँदै ।
नेपालगन्ज, मंसिर १२ , सुर्खेत रोडमा ओहोरदोहोर गर्ने जो–कसैले एउटै पीडा साझारूपमा भोगेका थिए, ‘फुटपाथ नहुने सहर ।’ सडकको दुवै किनारामा पसलहरू फैलिएका, टेबल–कुर्सी, ब्यानर, काठका पिरा, बिजुलीका तारदेखि लिएर निजी संरचना सबैले अतिक्रमण गरेर बसेको अवस्था यति सामान्य बनेको थियो कि मानिसहरूले त्यो गलत हो कि होइन भनेर सोच्ने समेत छाडिसकेका थिए । पैदलयात्रीका लागि बनेका स्थानहरू बक्स र सामाग्रीले भरिएको देखिन्थ्यो, र उनीहरू बाध्यतावश सडकमा हिँड्न थालेका थिए ।
नेपालगन्जजस्तो व्यस्त सहरमा सडकमा हिँड्नु भनेको जोखिम मोलेर हिँड्नुजस्तै हो । मोटरसाइकल, कार, बस, ट्रक सबैले भरेको सडकमा पैदलयात्रीको उपस्थिति मात्रले पनि दुर्घटनाको सम्भावना बढाउँदै ल्याइरहेको थियो । सहरका अभिभावकहरू आफ्नो बच्चालाई बाटो काटेर विद्यालय पठाउँदा चिन्तित हुन्थे । वृद्धवृद्धालाई त झन् फुटपाथ नभएको सहरले कति क्षति पुर्याइरहेको थियो भन्ने कुरा एकपटक सुर्खेत रोड घुम्दा नै थाहा पाइन्थ्यो ।
यही समस्या समाधान गर्न नेपालगन्ज उपमहानगरपालिकाले अन्ततः कडा निर्णय गर्यो । महानगरले फुटपाथ अतिक्रमण हटाउनका लागि व्यापारीलाई १५ दिनको समय दिएको थियो । यो समय सीमा नगरको चेतावनी मात्र नभई ‘अब सहर बदलिन्छ’ भन्ने संकेत बन्यो । नगरका सूचना बोर्डहरू, माइकिङ, व्यक्तिगत सूचना सबैबाट एकै कुरा भनियो, ‘फुटपाथ पैदलयात्रीको लागि हो, कृपया अतिक्रमण हटाउनुहोस् ।’ तर चेतावनीपछि पनि धेरै व्यापारीले वास्ता गरेनन् । कसैले यसलाई राजनीति ठाने, कसैले काम सुरुआत नहोला भन्ने मनोविज्ञान बनाउँदै समय कटाइदियो । तर नगर नेतृत्व यसपटक अडिग देखियो ।
अन्ततः नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट आफैँ मैदानमा उत्रिए । नगर पुलिस, प्राविधिक टोली, सफाइ व्यवस्थापन इकाइ र उपकरणसहितका मेसिनहरू फुटपाथ हटाउन खटिए । केही व्यापारीले आक्रोश प्रकट गरे, तर बजारको अधिकांश भागबाट नगरका कामदारहरूलाई सहयोग गर्दै संरचना हटाइयो । सडकका दुवै छेउमा फैलिएका पसलहरू हटेपछि सुर्खेत रोडले नयाँ अनुहार पाउने अपेक्षा गरिएको छ ।
यही कामबारे मेयर प्रशान्त बिष्ट भन्छन्, ‘सहरलाई व्यवस्थित र सुन्दर बनाउने हाम्रो संकल्प छ । फुटपाथ पैदलयात्रीका लागि बनाइएका हुन्, तर वर्षौंदेखि व्यापारीको दबाब र राजनीतिक चलखेलले त्यसमा अतिक्रमण निरन्तर भइरहेको थियो । अब त्यो संस्कार अन्त्य गर्नुपर्छ । यस विषयमा नगर कुनै पनि हालतमा सम्झौता गर्दैन ।’ मेयरको स्वर दृढ थियो, किनकि उनी भन्छन्, ‘नेपालगन्जले अब आफ्नै पहिचान बनाउनु पर्ने समय आएको छ ।’
फुटपाथ हटाउने कामसँगै नगरले अर्को महŒवाकांक्षी योजना अगाडि सारेको छ । अपांगमैत्री फुटपाथ निर्माण । विगतमा फुटपाथ भएको ठाउँ पनि सीढीनुमा, थुप्रै ठाउँमा उचाइ–निचाइ, साँघुरोपन र अवरोधले यस्तो संरचना सामान्य मानिसका लागि पनि असजिलो हुन्थ्यो । अपांगता भएका व्यक्तिहरूका लागि त झन् यो ठाउँ हिँड्नै नहुने थियो । तर अब नगरले निर्माण गर्न लागेको नयाँ फुटपाथमा दृष्टिविहीनका लागि मार्गदर्शक ब्रेल–टाइल, रेलिङ, सुरक्षित ढलान, आणि हरेक नागरिकका लागि सहज संरचना समावेश गरिनेछ । यस्तो अपांगमैत्री सुविधायुक्त फुटपाथ नेपालगन्जमा पहिलोपटक बन्ने भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा भन्छन्, ‘हामीले योजना कागजमै सीमित राख्ने छैनौँ । पहिलो चरणमा वीपी चौकदेखि धम्बोजीसम्मको फुटपाथ निर्माण हुनेछ, र यसका लागि ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । अब एक हप्ताभित्र काम सुरु हुन्छ । दोस्रो चरणमा वीपी चौकदेखि गणेशमान चौक र धम्बोजीदेखि पुष्पलाल चौकसम्म विस्तार गर्नेछौँ ।’ उनी थप्छन्, ‘यो केवल फुटपाथ हटाउने अभियान होइन, नेपालगन्जलाई दीर्घकालीन रुपमा व्यवस्थित र आकर्षक बनाउने लक्ष्य हो ।’
फुटपाथ खाली भएपछि सडकले साँस फेरेको अनुभूति दिलाउन थालेको छ । जहाँ वर्षौंदेखि फोहोर, सामान, फालिएको कवाडी, प्लास्टिकका कुर्सी र व्यापारीको भण्डारण मात्र देखिन्थ्यो, अहिले त्यही स्थानमा वृक्षारोपण गरिनेछ । सहरमा गर्मी बढ्दै गएको छ, धुलो र प्रदूषण वर्षैभरि समस्या बनेको छ, र यस्तो अवस्थामा वृक्षारोपणले वातावरणमैत्री शहर निर्माणमा महŒवपूर्ण योगदान पुर्याउनेछ । फुटपाथ हटाउने अभियानमा सबैले समान प्रतिक्रिया दिएनन् । व्यापारीहरू मध्ये धेरैले नगरको निर्णयलाई सकारात्मक रूपमा लिए पनि केहीले असन्तुष्टि प्रकट गरे ।
नेपालगन्जजस्तो व्यापारिक सहरमा फुटपाथ व्यवस्थित हुनु भनेको केवल पैदलयात्रामात्र सहज हुनु होइन, बजारको अनुशासन पनि कसिने हो । जहाँ व्यापार र पैदलयात्रा दुबैले आफ्नो ठाउँ पाउँछन्, त्यस्ता शहरहरू सभ्य नागरिकता र व्यवस्थित व्यवस्थापनको उदाहरण मानिन्छन् । सुर्खेत रोडको बदलिँदो स्वरूपले यही दिशातर्फ संकेत गर्न थालेको छ ।
यस अभियानको सबैभन्दा महŒवपूर्ण पक्ष के हो भने—यसपटक नगरले सुरु गरेको काम राजनीतिक चासो, जनआन्दोलन, व्यापारीको दबाब वा अन्य कुनै बाह्य प्रभावले रोकिएको छैन । मेयर बिष्ट र प्रमुख प्रशासकीय अधिकृत शर्मा दुवैको स्पष्ट भनाइ छ—नेपालगन्ज परिवर्तनको यात्रामा अघि बढिसकेको छ, यो यात्रा बीचमै रोकिन्न । नेपालगन्जले धेरै समयदेखि एक सुन्दर, सुरक्षित र सबैका लागि समान अवसर दिने शहर बन्ने सपना देखिरहेको थियो । तर सडकमा पसल, फुटपाथमा अवरोध र अव्यवस्थित संरचनाले त्यो सपना बारम्बार अवरुद्ध बनाउँदै आएका थिए ।
समग्रमा, सुर्खेत रोड अहिले परिवर्तनको बिन्दुमा उभिएको छ । फुटपाथ हटाउने काम न केवल अतिक्रमण नियन्त्रण अभियान हो, यो नेपालगन्जको सुन्दरता, पहिचान र सम्भावनालाई पुनर्जीवित गर्ने अभियान हो । यो यात्रा अझै जारी छ—पहिलो चरण सुरु हुँदैछ, दोस्रो चरण तयारीमा छ, र नगरले आज मात्रै होइन, भोलिको नेपालगन्ज पनि सोचेर अघि बढिरहेको छ ।
नगरले अहिले सडक दुवैतर्फको नालीभन्दा बाहिर सात फिटको अतिक्रमण हटाउन थालेको छ । यसले सहरको सुन्दरता थप्नेछ ।


