
कोहलपुर। अत्यधिक चिसोका कारण मौसम प्रतिकूल बन्दै गएको भन्दै कोहलपुर नगरपालिकाभित्रका विद्यालयहरूको पठनपाठन अस्थायी रूपमा बन्द गरिने भएको छ।
मौसमको अवस्थालाई मध्यनजर गर्दै प्राप्त सुझावका आधारमा नगरपालिका भित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूमा २०८२ साल पौष ०९ र ११ गते पठनपाठन बन्द गर्न अनुरोध गरिएको हो।
नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाएको छ। मौसममा सुधार आएमा आइतबारदेखि नियमित रूपमा पठनपाठन सुचारु हुने जानकारी पनि गराइएको छ।
सम्बन्धित सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई यस निर्णयको पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ।
लोकतन्त्रमा निर्वाचन प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, आगामी ५ वर्षका लागि राष्ट्रको भविष्य र जीवनस्तर फैसला गर्ने कसी पनि हो । नेपालको राजनीतिक इतिहासमा धेरै परिवर्तन भए, तर आमनागरिकका आधारभूत समस्या ज्यूँका त्यूँ छन् । भोट हाल्नुअघि प्रत्येक मतदाताले गम्भीर भएर सोच्न आवश्यक छ कि ‘एक मतले देशलाई कता लैजाँदै छ ? निर्वाचन महŒवपूर्ण मोड साबित होला त ?’
जेनजी आन्दोलनले संसद् विघटन गरी अग्रिम निर्वाचन घोषणा गरिसकेको अवस्था छ । जेनजी आन्दोलन मुख्य रूपमा भ्रष्टाचार, सुशासन अभाव, बेरोजगारी र राजनीतिक अस्थिरताविरुद्ध थियो । यसले नेपालको लोकतान्त्रिक प्रणालीमा नयाँ ऊर्जा भरेको छ । मतदाताले आगामी निर्वाचनमा मतदान गर्दा भावनामा मात्र होइन, तथ्य र दीर्घकालीन राष्ट्रहितमा आधारित निर्णय लिनुपर्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दशकभन्दा बढी भइसकेको छ । तर विकास, सुशासन र समृद्धि सपना अझै अधुरा छन् । आगामी निर्वाचनमा मतदाताले गम्भीरतापूर्वक सोच्नुपर्ने मुख्य विषय के हुन् ? यस’दयगत वर्तमान अवस्था, विगतका अनुभव र भविष्या चुनौती मननयोग्य विषय हुन् ।
लोकतन्त्रको आत्मा मताधिकार हो । संविधानद्वारा प्रत्याभूत यो अधिकार मतदान केन्द्रमा गएर मत हाल्नुमै सीमित हुनु हुँदैन । यसमा चेतना, विवेक, जिम्मेवारी र भविष्यप्रतिको उत्तरदायिŒव गहिरोसँग गाँसिएको हुन्छ । नेपालजस्तो संक्रमणकालीन लोकतान्त्रिक मुलुकमा निर्वाचन केवल सत्ता हस्तान्तरण होइन, देशको दिशा निर्धारण गर्ने ऐतिहासिक अवसर पनि हो । विगतका निर्वाचनले देखाएको अस्थिरता, कमजोर सुशासन, बढ्दो भ्रष्टाचार, बेरोजगारी, युवा पलायन र जनअपेक्षा उपेक्षाले मतदातालाई अझ गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, नैतिक र राष्ट्रिय हितका विविध आयाम समेट्दै सचेत मतदान गर्नु बुद्धिमत्ता हो । गैरलोकतान्त्रिक अभ्यास २०७० सालको संविधानसभा, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कायमै रह्यो । पार्टीलाई आर्थिक सहायता गर्नसक्ने हैसियत भएका व्यवसायीको नाम दलको समानुपातिक सूचीमा मात्र अटाएन, कैयौं निर्वाचन क्षेत्रमा प्रमुख दलका तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिनसमेत पाए ।
२०६४ सालको निर्वाचनपछि राजकीय पदलाई खुलमखुला पैसामा बेचिन थालियो । देशका दर्जनौं निर्वाचन क्षेत्रमा ठेकेदार, व्यापारी, बिचौलियाले पार्टीभित्रका नेता–कार्यकर्तालाई पाखा लगाउँदै निर्वाचनको टिकट हत्याए, पैसाकै बलमा । स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पनि यही अभ्यास झा“गियो । अनेक शंका र उपशंकाबीच आमनिर्वाचन २१ फागुन नजिकि“दै छ । दलहरू उम्मेदवार छनोटको गृहकार्यमा छन् । बैंकर, ऋणी र लगानीकर्ता एउटै हुने देशमा ठेकेदार, पेन्सनवाला र व्यापारीले निर्वाचनमा टिकट पाउनु कुनै नौलो विषय भने पक्कै होइन । अहिले झन्डै ९ लाख नयाँ मतदाता थपिएका छन् । यी विषयको ज्ञान नभए पनि पुराना मतदातालाई भने जगजाहेर छ । वर्षौंदेखि पद ओगटेर सभापति र अध्यक्ष बनिरहने नेतृत्वबाट सञ्चालित पार्टीले एउटै पात्र दोहोर्याउनु तेहर्याउनु निर्वाचनमा उठाउनु जायजै हो ।
मुलुकको राजनीतिमा भ्रष्टाचार सबैभन्दा ठूलो रोग हो । विगतका सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने वाचा गरे तर कार्यान्वयनमा असफल भए । जेनजी आन्दोलन पनि मुख्य रूपमा भ्रष्टाचार र राजनीतिक नेतृत्वको दुरुपयोगविरुद्ध थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार संघीयता कार्यान्वयनपछि भ्रष्टाचार स्थानीय तहसम्म विकेन्द्रीकृत भएको छ । खासगरी ठूला आयोजना, सहकारी ठगी, जग्गा काण्ड र विदेशी सहायता दुरुपयोगका घटनाका कारण जनविश्वास धर्मराएको छ ।
२०७२ सालको संविधानले नेपाललाई संघीय गणतन्त्र बनायो । ७ प्रदेश र ७ सय ५३ स्थानीय तहले अधिकार पाए तर कार्यान्वयनमा समस्या छन् । यसमा प्रदेशको अधिकार सीमित छ, केन्द्र र स्थानीय तहबीच द्वन्द्व छ । संघीयताले विकास विकेन्द्रीकृत गर्ने अपेक्षा थियो तर भ्रष्टाचार र अक्षमता बढेको आरोप छ । जबकी देशको अर्थतन्त्र अझै कृषि र रेमिट्यान्समा निर्भर छ । युवापुस्ता विदेश पलायन भइरहेको छ । विश्व बैंकका अनुसार नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छ तर आर्थिक वृद्धिदर अपेक्षित छैन । महँगी, बेरोजगारी र गरिबी मुख्य समस्या छन् ।
नेपालको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण छ । बढ्दो व्यापार घाटा, विदेशी मुद्रा सञ्चितिको दबाब र रेमिट्यान्समा आधारित अर्थतन्त्रले कति समयसम्म धान्ला ? मतदाताले उम्मेदवार वा दललाई प्रश्न गर्नुपर्छ । आगामी निर्वाचनमा सोच्नुपर्ने पहिलो र सबैभन्दा महŒवपूर्ण विषय उम्मेदवारको चरित्र र नैतिकता हो । जुन नेतृत्व पदमा पुग्ने व्यक्ति इमानदार, पारदर्शी र जनउत्तरदायी हुनुपर्छ । भ्रष्टाचारमा मुछिएका, अदालतमा मुद्दा खेपिरहेका वा सार्वजनिक सम्पत्ति दुरुपयोग गरेका व्यक्तिलाई पुनः अवसर दिनु आफ्नै भविष्य अन्धकारतर्फ धकेल्नु हो ।
मतदाताले उम्मेदवारको विगत, सार्वजनिक जीवन, सम्पत्ति विवरण, आचरण र जनतासँगको व्यवहार गहिराइमा अध्ययन गर्नुपर्छ । आकर्षक भाषण मात्र होइन, व्यवहारमा देखिएको नैतिकता नै निर्णायक आधार हुनुपर्छ । यसमा पनि व्यक्ति जति नै राम्रो भए पनि उसले प्रतिनिधित्व गर्ने दलको विचारधारा, नीति र संस्कार कमजोर भएमा अपेक्षित परिवर्तन सम्भव हुँदैन ।
मतदाताले दलको घोषणापत्र, विगतको शासन अनुभव, नीति कार्यान्वयन क्षमता र जनताप्रतिको प्रतिबद्धता हेर्नुपर्छ । जसको घोषणापत्रमा लेखिएका कुरा व्यवहारमा कति लागू भए ? निर्वाचनअघि गरेका वाचा कति पूरा भए ? विगतमा सत्तामा रहँदा दलले सुशासन र विकासमा कस्तो भूमिका खेले ? यी प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।
राष्ट्रको प्रमुख समस्या सुशासन अभाव र संस्थागत भ्रष्टाचार हो । आगामी निर्वाचनमा मतदाताले भ्रष्टाचार नियन्त्रण मुख्य मुद्दा बनाउनु आवश्यक छ । जो उम्मेदवार र दलले पारदर्शी शासन, जवाफदेही प्रशासन, डिजिटल प्रणाली, कडा कानुनी कार्यान्वयन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिन्छ, त्यस्तालाई प्राथमिकता दिनुपर्छ । भ्रष्टाचारमुक्त शासनबिना आर्थिक विकास, सामाजिक न्याय र राष्ट्रिय समृद्धि सम्भव छैन । मताधिकार केवल अधिकार होइन, कर्तव्य पनि हो । एक मतले सरकार बनाउँछ, नीति निर्धारण गर्छ र नेतृत्व चयन गर्छ । गलत निर्णयले ५ वर्ष मात्र होइन, पुस्तौंसम्म असर पार्न सक्छ । मतदाता सचेत नभएमा लोकतन्त्र औपचारिकतामा सीमित हुन्छ । त्यसैले मत हाल्दा ‘मेरो मतले के परिवर्तन ल्याउँछ ?’ भन्ने प्रश्न आफैंसँग सोध्नुपर्छ । जात, धर्म, क्षेत्र, भावनात्मक नारा वा क्षणिक लोभभन्दा माथि उठेर दीर्घकालीन हित हेर्नु नै जिम्मेवार मतदाताको परिचय हो ।
निर्वाचनको दिनमा हालेको एक मतले आगामी १ हजार ८ सय २५ दिनको भविष्य तय गर्छ । जुन मतदाताले मासु, रक्सी वा क्षणिक लोभमा परेर दिने भोटले आफ्नै र आफ्ना सन्तानको भविष्य अन्धकार बनाउँछ । त्यसैले जाति, धर्म वा व्यक्तिगत नाताभन्दा माथि उठेर राष्ट्रहित, सुशासन र समृद्धि केन्द्रमा राख्दै मतदान गर्नु प्रत्येक सचेत नेपालीको कर्तव्य हो । यो निर्वाचन नेपालको भविष्य निर्धारण गर्ने निर्वाचन हो । अतः पुराना दलले सुधार गर्ने मौका पाएका थिए तर असफल भए । नयाँ दल र उम्मेदवारले आशा जगाएका छन् । यसरी अब सच्चा मतदाताले जात, धर्म, पैसा वा भावनामा होइन, उम्मेदवारको योग्यता, छवि र योजनामा मतदान गर्नुपर्छ ।
भनिन्छ कि ‘लोकतन्त्रमा मतदाता नै सार्वभौम’ हुन्छन् । यसमा पनि जिम्मेवार मतदानले मात्र नेपाललाई सुशासन, समृद्धि र स्थिरतातर्फ लैजान सक्छ । जबकि, आउँदो निर्वाचनमा सोचेर मतदान गरौं, नेपाललाई नयाँ दिशा दिऔं । मूलतः आगामी निर्वाचन नेपालका लागि केवल राजनीतिक प्रक्रिया नभएर भविष्य निर्माणको मोड पनि हो । यसमा सचेत, जिम्मेवार र विवेकशील मतदानले मात्र सुशासन, समृद्धि र सामाजिक न्याय सम्भव हुन्छ । मूलतः मतदाताले व्यक्ति, दल, नीति, नैतिकता र दीर्घकालीन दृष्टिकोण केन्द्रमा राखेर निर्णय गर्नुपर्छ । आजको एक मतले भोलिको पुस्ताको भाग्य लेखिन्छ भन्ने सत्य आत्मसात् गर्दै राष्ट्र र नागरिक दुवैका हितमा मतदान गर्नु नै लोकतन्त्रप्रतिको सम्मान हो ।
कोहलपुर, पुस ९ बैजनाथ गाउँपालिका–४ तिलकपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले सोमबार दिउँसो घरभित्र जुवातास खेलिरहेको सूचनाका आधारमा गरिएको नियन्त्रण अभियानमार्फत ५० वर्षीय चैतराम थारूसहित चारजनालाई पक्राउ गरिएको हो।
राप्तीसोनारी गाउँपालिका–७ का ४५ वर्षीय लोकबहादुर घर्ति क्षेत्री, बैजनाथ गाउँपालिका–५ का ३० वर्षीय नविन हुसेन अली र जाजरकोट भेरी नगरपालिका–१ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका–१ बसोबास गर्दै आएका २९ वर्षीय गणेश शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी अंगुर जिसीले जानकारी दिए । उनीहरुले चैतरामको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीहरूबाट जुवातासमा प्रयोग भएको ८ बुक तास र नगद २ लाख ७९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । सो क्रममा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको र उनीहरूविरुद्ध जुवाताससम्बन्धी कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ । स्थानीय स्तरमा यस्ता गतिविधिले सामाजिक अनुशासन र सुरक्षा व्यवस्थामा असर पार्ने भएकाले नियन्त्रण अभियानलाई निरन्तर कडाइका साथ अघि बढाइने पनि प्रहरीले जनाएको छ ।
यसअघि पनि जिल्लाका विभिन्न स्थानमा जुवातास र अवैध क्रियाकलापविरुद्ध प्रहरीले अपरेसन सञ्चालन गर्दै आएको छ । पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान भइरहेको र सबै कानुनी प्रक्रिया अनुसरण गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिएका छन् ।
कोहलुर, पुस ९
‘कोहलपुर महोत्सवः दिगो विकासको उत्सव’ भन्ने मूल नारासहित कोहलपुरमा आजदेखि महोत्सव सुरु हुँदैछ । आजदेखि सुरु हुने कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२ १८ गतेसम्म कोहलपुर न्युरोडस्थित खुला मैदानमा आयोजना हुनेछ ।
महोत्सवलाई यस क्षेत्रकै ठूलो व्यापारिक, सांस्कृतिक र पर्यटन आकर्षणका रूपमा लिइएको छ । २०६५ सालदेखि निरन्तर रुपमा हुँदै आएको यो महोत्सवले कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा महत्त्वपूर्ण योगदान दिँदै आएको आयोजक संघले जनाएको छ । यस वर्षको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष तथा उद्योगी व्यवसायी चन्द्र प्रसाद ढकालले गर्ने तय गरिएको छ ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका उद्योग–व्यवसाय, हस्तकला, कृषि तथा पशुपालनसम्बन्धी उत्पादन, शैक्षिक तथा वैज्ञानिक प्रदर्शनी, सूचना–सञ्चार प्रविधिका नवीन सामग्रीहरू प्रस्तुत गरिने छन् । साथै लोक–साँस्कृतिक कार्यक्रम, नयाँ प्रतिभा खोजी प्रतियोगिता तथा महिला लक्षित विशेष कार्यक्रम समेत समावेश गरिएका छन् । कार्यक्रमलाई अझ आकर्षक र सहभागीमूलक बनाउन यस वर्षका गतिविधि विविध र अनुभवमूलक बनाइएको आयोजकहरूले बताएका छन् ।
महोत्सव सुरक्षित र प्रभावकारी बनाउन स्थानीय सरकार, प्रहरी तथा सुरक्षा निकाय, स्वास्थ्य संस्था लगायत सरोकारवालासँग सघन समन्वय भइरहेको प्रेस संयोजक निर्मल आचार्यले जानकारी दिए । उनका अनुसार सबै प्रशासनिक तथा प्राविधिक तयारी तीव्र गतिमा अघि बढाइएको छ ।
आयोजक संघको विश्वास छ, महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, नयाँ प्रविधिको प्रचार–प्रसार, कला–संस्कृति संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनेछ । साथै कोहलपुरलाई प्रदेशस्तरमै प्रमुख व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो संस्करणलाई व्यवस्थित, समावेशी र व्यवसायमैत्री बनाइएको छ ।



