दाङ, भदौ ९ दाङमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा ‘सानो खपटे किरा’ (स्मल हाइभ बिटल) देखिन थालेपछि मौरीपालक कृषकहरू चिन्तित बनेका छन् । किराका कारण मौरीको गोला कमजोर हुँदै गएको र मह उत्पादनमा समेत असर पर्न थालेको कृषकहरूको भनाइ छ । यद्यपि, जिल्लामा देखिएको किरा ‘स्मल हाइभ बिटल’ नै हो भन्ने आधिकारिक पुष्टि भने भइसकेको छैन ।
मौरीका घारमा देखिएको किरा कुन प्रजातिको हो भन्ने पहिचानका लागि कृषि ज्ञान केन्द्र दाङको समन्वयमा नमुना संकलन तथा परीक्षण सुरु गरिएको छ । किट विकास केन्द्र, मौरी विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काठमाडौंका विज्ञसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर मौरीका घारको अवस्था अध्ययन गर्दै किराको नमुना संकलन गरिरहेको छ । नेपाल मौरीपालक महासंघ दाङका अध्यक्ष दिनेश वलीका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालिएका मेलीफेरा र सेराना दुवै जातका मौरीमा किरा देखिएको छ । उनका अनुसार अधिकांश कृषकका घारमा थोरै–धेरै किराको समस्या देखिएको छ ।
‘सबै कृषकका मौरीमा थोरै धेरै किरा देखिएको छ,’ वलीले भने, ‘किरा देखिएपछि मौरीपालक कृषकहरू समस्यामा परेका छन् ।’ उनका अनुसार घारमा देखिएको किराले मौरीको परागकण (पोलन), लार्भा, मह र मैनसमेत खाने गरेको कृषकहरूले बताएका छन् । संक्रमण बढ्दै गए मौरीको गोला कमजोर हुने र मह उत्पादनमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ । दाङमा करिब तीन सयभन्दा बढी व्यावसायिक मौरीपालक कृषक रहेको र जिल्लाभर करिब ३० हजार मौरीका गोला रहेको महासंघको अनुमान छ । मौरीपालनमा निर्भर कृषकको संख्या ठूलो रहेकाले किराको समस्या समयमै पहिचान गरी नियन्त्रण गर्नुपर्ने वलीले बताए ।

‘किरा कुन प्रजातिको हो र यसको नियन्त्रणका लागि कुन उपाय प्रभावकारी हुन्छ भन्ने वैज्ञानिक रूपमा पहिचान हुन आवश्यक छ,’ उनले भने, ‘हामीले हाम्रो तर्फबाट पनि नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ, तर सरकारी निकायबाट प्रभावकारी पहल आवश्यक छ ।’
















