
थारु आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न काँग्रेसले ऐतिहासिक र महत्वपूर्ण भूमिका निर्वाह गरेको थारु अगुवाहरुले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल थारु संघ बाँकेले बुधवार कोहलपुरमा आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा थारु समुदायले उठाएका मुद्दाहरु काँग्रेस नेतृत्वकै सरकारले मात्र सम्बोधन गर्न सकेको दावी गरे । थारु समुदायका अगुवाहरुले आफ्नो राजनीतिक धार स्पष्ट पार्दै भने हाम्रो साथ काँग्रेसलाई छ ।
थारु समुदायको अधिकार, पहिचान, सम्मान र भविष्यका सवालमा काँग्रेस विकल्पविहीन पार्टी भएको नेपाल थारु संघका केन्द्रीय सचिव फुलाराम थारुको भनाइ थियो । थारुले भने–‘काँग्रेस नेतृत्वको सरकारले मात्रै थारु समुदायको अधिकारलाई संविधानमा सुनिश्चित गरेको हो ।’ उनले संविधान निर्माण प्रक्रियामा काँग्रेसको भूमिकालाई ऐतिहासिक भन्दै त्यसलाई संरक्षण र कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसकै काँधमा रहेको तर्क गरे । ‘अहिले मुलुक अत्यन्तै विषम परिस्थितिबाट गुज्रिरहेको छ उनले भने–‘आर्थिक संकट, बेरोजगारी, सामाजिक असन्तुलन र राजनीतिक अस्थिरताले जनजीवन प्रभावित छ ।
यस्तो अवस्थामा काँग्रेस बाहेकको कुनैपनि राजनीतिक दलले निकास दिन सक्दैन ।’ काँग्रेस बाँकेकी सचिव सञ्जु कुमारी थारुले आदिबासी समुदायको अधिकार संविधानमा सुनिश्चित भएपनि कार्यान्वयन गर्न पनि काँग्रेसकै नेतृत्व अपरिहार्य रहेको बताइन् । उनले नीति निर्माण तहमा थारु समुदायको प्रभावकारी उपस्थिति आवश्यक रहेको औंल्याउँदै मतदातालाई आग्रह गर्दै भनिन्–‘हाम्रो आवाजलाई संसदसम्म पुर्याउन काँग्रेस उम्मेदवारलाई जिताउनुपर्छ ।’ थारु अगुवा लाहुराम थारुले थारु समुदायका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नु काँग्रेसको जिम्मेवारी भएको बताए । ‘सुकुम्बासी तथा मुक्तकमयैयाहरुको समस्या अझै समाधान भएको छैन उनले भने–‘भूमिहीनता र व्यवस्थापनको विषय थारु समुदायका लागि संवेदनशील मुद्दा हो ।
यो काँग्रेसकै नेतृत्वमा मात्र सम्भव छ । त्यस्तै, अर्का अगुवा लक्ष्मण थारुले थारु समुदाय ऐतिहासिक रुपमा काँग्रेससँग निकट रहेको स्मरण गराउँदै भने–‘थारुहरु अहिले पनि काँग्रेसकै पक्षमा छन् ।’ उनले थारु समुदायलाई अवसर प्रदान गर्न र नेतृत्वमा पहुँच बढाउन आग्रह गरे । कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद गौडेलले आदिबासी थारु समुदायको हकअधिकारलाई कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए ।
उनले २६ वर्षपछि क्षेत्र नं. १ मा काँग्रेसको विरासत फर्काउने अवसर आएको उल्लेख गर्दै सबैलाई ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरे । ‘पहिला काँग्रेस जिताउनुहोस् उनले भने–‘विकास निर्माणका लागि के–के गर्नुपर्छ, त्यसका लागि म आफैँ खटिन्छु ।’ आफूलाई ‘भुइँमान्छे’का रुपमा प्रस्तुत गर्दै उनले चुनाव जितेपछि पनि गाउँमै बसेर नागरिकको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । गौडेलले अहिले काँग्रेस जिताउने अभियानमा सबै एकजुट हुन आग्रह गर्दै विकास, स्थायित्व र समावेशितालाई आफ्नो प्राथमिकता बनाउने बताए ।
नेपाल थारु संघ बाँकेका अध्यक्ष बजारु थारुको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अधिकांश थारु अगुवाहरुले गौडेललाई सादगी र जनप्रिय नेता भएको भन्दै जिताउने प्रतिबद्धता जनाए । नेतृत्वमा इमान्दार, सरल र समुदायसँग नजिक रहने व्यक्तित्व गौडेलबाहेक अरु नभएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, महासमिति सदस्य पूर्णप्रसाद आचार्य, काँग्रेसका जिल्ला सहसचिव बिनोद थारु, नेपाल थारु संघका केन्द्रीय सदस्य जागेश्वर चौधरीलगायतले पनि मन्तव्य राखेका थिए । सहभागिहरुले दशकौँदेखि उठ्दै आएका सुकुम्बासी, मुक्तकमैया, शिक्षा, रोजगारी, प्रतिनिधित्व र नीति निर्माणमा पहुँच, स्थानीय विकास निर्माण लगयातका सवालमा सहभागीहरुले खुलेर आफ्ना धारणा राखेका थिए ।
डुडुवा बाँके २९, बाँके निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तीब्र बनाएका छन् । उनले निर्वाचन क्षेत्र अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरिरहेका छन् । उम्मेदवार कोइरालाले आज डुडुवा गाउँपलिकाको वडा नम्बर २ को बेतहनी, नौरीगौढी र बाणी गाउँका मतदाताहरुसंग भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा स्थानीयले गाउँघरका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । उनीहरुले गाउँघरमा नाला निर्माण, सांगुरो बाटो निर्माण, खानेपानी धारा, माटो पटान, कृषि सिंचाईको व्यवस्था, मलखादको सहज आपूर्ति, घरमै सामाजिक सुरक्षा भत्ताको वितरण लगायतका सवाल उठाएका थिए । नागरिकका समस्या सुन्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरे । उनले समुदायका समस्यालाई राम्रोसंग बुझेकाले ती समस्या समाधानका लागि नीतिगत रुपमा व्यवस्थापन गर्ने बताए ।
मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारको बजेटले पशु, कृषि, स्वास्थ्य शिक्षाको विकास र विकास निमार्णको कार्यलाई प्राथमिकतामा राखेको र ठूलो आकारको बजेटबाट हुने कामका लागि प्रतिनिधि सभामा कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता गरे । उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगपालिका र डुडुवाका मतदाताहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई नियमित गर्दै आएको कांग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।
नेपालगञ्ज माघ २९, नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत रहेको छ । चालू आर्थिक बर्षको ६ महिनाको पूँजीगत खर्च भने १०.४३ प्रतिशत रहेको छ । यस्तै वडागत बजेट खर्चतर्फ सबैभन्दा बढी खर्च वडा नम्बर ५ को छ । वडा नम्बर ५ को खर्च प्रतिशत ३१.११ छ । सबैभन्दा कम ५.०५ प्रतिशत वडागत खर्च वडा नम्बर ६ ले गरेको छ । योजना शाखा प्रमुख तेजेन्द्र रोकायले प्रस्तुत गरेको खर्च विवरणमा सहकारी विकास शाखाले सबैभन्दा बढी ३८.२६ प्रतिशत खर्च गरेको उल्लेख छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले २२ करोड आन्तरिक राजश्व संकलन गर्ने प्रक्षेपण गरेकोमा यो अवधिभित्र १४ करोड अर्थात ६६.५५ प्रतिशत आन्तरिक आम्दानी गरेको छ । नेपालगञ्जमा आज आयोजित ‘आर्थिक बर्ष २०८२.८३ को अर्धबार्षिक समिक्षा तथा तथ्यांक साक्षरता कार्यक्रम’ मा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आफ्नो शाखाको कार्यप्रगति प्रस्तुत गरेका थिए । चन्दले स्वास्थ्य उपचारको लागि स्पाइनलका ८, मृगौला ३३ र क्यान्सरका १७८ गरी २१९ जना विरामीलाई स्वास्थ्य उपचार रकम भुक्तानी गरिएको जानकारी दिए । कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय दाङका तथ्याङ्क समन्वय अधिकारी उपसचिव पोम नारायण पौडेलले तथ्याङ्क साक्षरताका बारेमा सहजीकरण गरेको नेपालगञ्ज उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत सुरेन्द्र पन्तले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले लक्षित उपलब्धि हासिल गर्न तदारुकताका साथ लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले ‘जिरो मिस्टेक’ का साथ चितुवा गतिमा अघि बढ्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा अहिलेसम्मको प्रगतिको समिक्षा र अब बाँकी अवधिमा कसरी अघि बढ्ने भन्ने विषयमा गहन छलफल गरिएको छ ।




