
बाँके, फागुन १ नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन् । शुक्रबार कोहलपुर नगरपालिका वडा नं. १ को कौशल्यानगर तथा वडा नं. २ का पुष्पनगर र विकासनगरमा घरदैलोसँगै स्थानीयसँग भेटघाट गरेका छन्।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले लामो समयदेखि लालपूर्जा नपाएको तथा बाटोघाटो लगायत आधारभूत पूर्वाधारको समस्या झेल्दै आएको गुनासो गरेका थिए । उनीहरुले भूमिहीन र असुरक्षित बसोबासको समस्या समाधानमा भूमिका खेल्दिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले स्थानीयले उठाएका समस्याबारे आफू पूर्णरुपमा जानकार रहेको बताउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले भूमिहीन समस्या समाधानतर्फ अघि बढिरहेको अवस्थामा जेन्जी आन्दोलनपछि बनेको सरकारले आयोग विघटन गर्दा प्रक्रिया अवरुद्ध भएको बताए। स्थानीय सरकारको समन्वयमा भूमिहीनहरुलाई लालपूर्जा दिने काम भइरहेकै थियो । सरकार फेरियो । आयोग विघटन भयो । काम रोकियो ।
उनले भने-‘अव काँग्रेस नेतृत्वको सरकार बन्छ, भूमिहीनलाई लालपूर्जा दिने सवालमा म निरन्तर पहल गर्नेछु ।’ घरदैलोका क्रममा स्थानीयले लामो समयदेखि जनस्तरमा रहेर सेवा गर्दै आएका कारण गौडेलप्रति आफ्नो विश्वास रहेको बताएका थिए । यसैबीच शुक्रबार बिहान नेपाल दलित संघ बाँके क्षेत्रीय कार्यसमितिले उम्मेदवारसँग कोहलपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गौडेल तथा समानुपातिक उम्मेदवार दीपनारायण वर्मा सहभागी भएका थिए ।
नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विकले दलित समुदायका मुद्दामा काँग्रेसले निरन्तर साथ दिँदै आएको बताए । उनले आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता पनि व्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा शिक्षा, रोजगारी, सामाजिक न्याय र भूमिहीनताको मुद्दा उठाइएको थियो। उम्मेदवार गौडेलले ती विषयमा नीतिगत पहल गर्ने प्रतिवद्धता जनाएका छन् थिए ।
बाँके(डुडुवा), फागुन १ नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँग डुडुवा गाउँपालिका क्षेत्रका सर्बसाधारण नागरिकले विभिन्न आशा र अपेक्षा राखेका छन् । बाँके, क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पूर्वबाढी गाउँमा शुक्रबार(आज) मतदाता भेटघाट गर्न पुगेका उम्मेदवार कोइरालासँग सर्बसाधारण नागरिकले बर्खायाममा हुने डुबान, कटान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।
यस्तै उनीहरुले किसानका लागि आवश्यक पर्ने सिंचाइँ, मल, बीउ समयमै उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध पनि गरेका छन् । मतदाता भेटघाटका क्रममा उक्त गाउँका स्थानीय बासिन्दाले उम्मेदवार कोइरालालाई घर–घरमा स्वागत गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।
मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले स्थानीय बासिन्दाले उठाएका मागलाई आफु निर्वाचित भएपछि सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । ‘मलाई अहिले निर्वाचित गराएर पठाउनुस्, म निर्वाचित भएर गएपछि तपाईले उठाएका मागहरु सम्बोधन गर्नका लागि आवश्यक पहल गर्नेछु,’ उनले भने, ‘म अहिले जस्तो छु, भोलि सांसद भएपछि पनि यस्तै तपाईहरुसँगै सर–सल्लाह गरेर अगाडी बढ्नेछु ।
मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।
विशेषज्ञहरूको अनुसार, दैलेखमा फेला परेको ग्यास ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको छ, जुन अमेरिकामा पनि उत्खनन गरिन्छ । यस्तो ग्यास चट्टानमा च्यापिएर रहन्छ र निकाल्न निकै चुनौतीपूर्ण हुन्छ । यसका लागि चट्टान फुटाएर ग्यास निकाल्नुपर्ने आवश्यक पर्छ ।
दैलेख, फागुन ०१ भैरवी गाउँपालिका–१, जलजलेमा ठूलो परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदन अनुसार, उक्त क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको पाइएको छ ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार, चिनियाँ टोलीले विस्तृत अध्ययन पछि यो तथ्यांक सार्वजनिक गरेको हो । यसअघि गरिएको प्रारम्भिक अध्ययनले केवल एक अर्ब १२ करोड घनमिटर ग्यास हुने अनुमान गरेको थियो । तर थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको पुष्टि गरेको उनले बताए ।
तर प्रवक्ता खड्काले भण्डारण पुष्टि भए पनि यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न सकिने क्षमता तत्काल थाहा नहुने बताएका छन् । उनका अनुसार, ग्यासको वास्तविक उत्खनन क्षमता र उपयुक्त प्रविधि पत्ता लगाउन ‘वेल टेस्टिङ’ गर्नुपर्नेछ । ‘अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौँ । वेल टेस्टिङ नगरी कति ग्यास निकाल्न सकिन्छ भन्ने थाहा पाउनु असम्भव छ,’ उनले भने ।
विभागका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यास विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ । त्यसपछि निस्कने ग्यासको रासायनिक संरचना र गुणस्तरको प्रयोगशालामा परीक्षण गरी मात्र व्यावसायिक उत्खनन प्रक्रिया अघि बढाइनेछ ।
नेपाल सरकारले चीनको जियोलोजिकल सर्वेसँग रु दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता गरेको थियो । सोहीअनुसार चिनियाँ टोलीले सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको विभागले जनाएको छ । हाल प्राप्त अन्तिम प्रतिवेदनमाथि थप अध्ययन भइरहेको छ भने बाँकी कामका लागि नेपाल सरकारले चीन सरकारलाई थप अनुदान सहयोगको अनुरोध गरेको छ ।
विशेषज्ञहरूको अनुसार, दैलेखमा फेला परेको ग्यास ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको छ, जुन अमेरिकामा पनि उत्खनन गरिन्छ । यस्तो ग्यास चट्टानमा च्यापिएर रहन्छ र निकाल्न निकै चुनौतीपूर्ण हुन्छ । यसका लागि चट्टान फुटाएर ग्यास निकाल्नुपर्ने आवश्यक पर्छ ।दैलेखमा खानी अन्वेषणको इतिहास लामो छ । परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो । त्यसयता विभिन्न चरणमा ड्रिलिङ र परीक्षण कामहरू सञ्चालन भएका छन् ।
सामाजिक र राजनीतिक दृष्टिले पनि यो ग्यास क्षेत्रको महत्व उच्च छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दैलेखका राजनीतिक दलहरूले ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन् । यसले स्थानीय विकास र रोजगारी सिर्जना गर्ने सम्भावनालाई ध्यानमा राखेर मतदातामा आकर्षण बढाएको विश्लेषकहरूले बताएका छन् ।हालको अवस्थामा विभागले भण्डारणको आकार र गुणस्तरको सुनिश्चितता हासिल गरेपछि मात्र व्यावसायिक उत्खननको योजना सार्वजनिक गर्ने जनाएको छ । यसले नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
विशेषज्ञहरू भन्छन्, यदि उचित प्रविधि र वातावरणीय मापदण्ड अपनाएर ग्यास उत्खनन गर्न सकिन्छ भने दैलेखको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्नेछ । यद्यपि, शेल ग्यासको प्रविधि चुनौतीपूर्ण भएकाले यसको व्यावसायिक उपयोगमा समय, खर्च र प्रविधि परीक्षणको तयारी आवश्यक पर्ने विभागले जनाएको छ ।
यस खोजले नेपालमा आन्तरिक ऊर्जा स्रोतको पहिचान र स्वदेशी ऊर्जा उत्खननको सम्भावनालाई थप मजबुत बनाएको छ । आगामी वर्षमा वेल टेस्टिङ र ग्यास निकाल्ने प्रविधि परीक्षणपछि मात्र यस क्षेत्रको पूर्ण व्यावसायिक क्षमता स्पष्ट हुने अपेक्षा गरिएको छ ।
यसरी हेर्दा मोहम्मद ईश्तियाक राईका लागि आगामी चुनाव एक निर्वाचन होइन, ‘प्रतिष्ठाको परीक्षा हो ।’ जितेमा उनी फेरि सत्ताको केन्द्रतिर उक्लन सक्छन्, हारेमा राजनीतिक यात्रा ओरालोतर्फ धकेलिन सक्छ । बाँके–२ को चुनावी मैदानमा यसपटक ‘फलामका चिउरा चपाउनु’ सरह चुनौती छ । परिणामले मात्र उनको राजनीतिक भविष्यको दिशा स्पष्ट पार्नेछ ।
नेपालगन्ज, फागुन ०१ बाँके क्षेत्र नम्बर २ का चर्चित नेता मोहम्मद ईश्तियाक राई यतिबेला आफ्नो राजनीतिक यात्राकै सबैभन्दा संवेदनशील मोडमा उभिएका छन् । २०६४ सालदेखि निरन्तर चुनावी मैदानमा रहँदै आएका राईका लागि आगामी निर्वाचन प्रतिनिधित्वको प्रतिस्पर्धा मात्र होइन, शक्ति सञ्चित र राजनीतिक भविष्यको निर्णायक परीक्षा बनेको छ । पाँचौंपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका राईले यसअघि दुई जित र दुई हारको अनुभव बटुलिसकेका छन् । यसपटकको परिणामले भने उनको राजनीतिक उकालो–ओरालोको दिशा तय गर्ने धेरैको विश्लेषण छ ।
२०३६ कात्तिकमा बाँकेमा जन्मिएका राई राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका नेता हुन् । २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति सुरु गरेका उनी २०६२/६३ को जनआन्दोलनपछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (मजफो)मा प्रवेश गरे । मधेस आन्दोलनको उभारसँगै उनले छोटो समयमै पार्टीभित्र प्रभाव बढाए । केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका राई आन्दोलनका क्रममा पटकपटक पक्राउ परे, हिरासत बसे । त्यसले उनलाई मधेस मुद्दाका ‘संघर्षशील’ नेताको छवि बनाइदियो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन बाँके क्षेत्र नम्बर २ बाट मजफोका उम्मेदवार बनेका राईले एमालेका दिनेशचन्द्र यादवलाई ठूलो मतान्तरले पराजित गर्दै जित हात पारे । मधेस आन्दोलनको लहर र नयाँ राजनीतिक शक्तिको उदयले उनलाई उचाइमा पुर्यायो । त्यसको दुई वर्षपछि उनी श्रम तथा यातायात व्यवस्थामन्त्री बने । मधेस केन्द्रित राजनीतिबाट संघीय सत्तासम्मको यात्रा उनको लागि ठूलो उपलब्धि थियो ।
तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनले पुरानै प्रतिस्पर्धी यादवसँग पराजय भोगे । मधेस आन्दोलनको ऊर्जा कमजोर बन्दै जाँदा र राष्ट्रिय राजनीतिक समीकरण फेरिँदा राईको आधार खस्किएको विश्लेषण गरियो । २०७४ सालमा भने उनी पुनः उभिए । संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उनले नेकपा एमालेका पशुपति दयाल मिश्रालाई पराजित गर्दै संघीय संसद्मा पुनरागमन गरे । त्यसपछि केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बने । संसद् विघटनपछि सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापना भई बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत उनी केही समय भौतिक पूर्वाधार विकास मन्त्री भए । यसरी फरकफरक राजनीतिक समीकरणमा मन्त्री बन्ने अवसर पाएका उनी लचकदार र सत्तासँग निकट रहने नेताका रूपमा चिनिए ।
२०७९ सालको निर्वाचन भने उनका लागि धक्का सावित भयो । जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका राई राप्रपाका धवलशम्शेर जंगबहादुर राणासँग पराजित भए । अंकगणितीय हिसाबले हार भए पनि त्यसबेला उनको व्यक्तिगत छवि पूर्णरूपमा धुमिल भएको थिएन । तर पराजयले शक्ति सन्तुलनमा असर पार्ने संकेत देखिन थालेका छन् ।
यतिबेला उनी नेकपा एमालेको सूर्य चिन्हबाट चुनावी मैदानमा छन् । उनी औपचारिकरुपमा एमालेको सदस्यता लिएको विषय सार्वजनिक भएको छैन । उनले पनि आफू नेकपा एमालेको सदस्य भएको घोषणा गरेका छैनन् । उनी आफ्नो पुरानै राजनीतिक आस्था भए पनि चुनावमा भने सूर्य चिन्हबाट मैदानमा छन् । बाँके–२ क्षेत्रमा मुस्लिम समुदायको उल्लेख्य जनसंख्या छ, जहाँ उनी प्रभावशाली मानिन्छन् । तर पछिल्ला चुनावहरूले देखाएको छ, ‘समुदायगत आधार पर्याप्त हुँदैन, राष्ट्रिय राजनीतिक लहर, दलगत संगठन र स्थानीय समीकरण निर्णायक बन्छन् ।’
यसपटक उनको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका सुधान्सु कोइरालासँग देखिन्छ । कांग्रेसको परम्परागत संगठन, स्थानीय सञ्जाल र गठबन्धन रणनीतिले चुनावी समीकरण जटिल बनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि क्षेत्रमा सक्रियरूपमा चुनावी गतिविधिमा जुटेको छ । वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाले युवा र असन्तुष्ट मतदाता तान्न सक्ने आकलन छ, जसले परम्परागत दलका उम्मेदवारहरूलाई दबाबमा पार्न सक्छ । मत विभाजनको सम्भावनाले राईको जितको बाटो झनै कठिन देखिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो चुनाव राईका लागि प्रतिष्ठाको प्रश्न बनेको छ । यदि उनले जित हात पारे भने उनले आफू अझै पनि बाँके २ मा प्रभावशाली र अपरिहार्य नेता रहेको सन्देश दिन सक्ने छन् । मन्त्री पद सम्हालेको अनुभव, विकास निर्माणमा योगदानको दाबी, धार्मिक–सांस्कृतिक सद्भावको अभियानजस्ता एजेन्डा लिएर उनी मतदातासमक्ष गएका छन् । नेपालगन्जको सहरी विकास र बाँके जिल्लाको भौतिक पूर्वाधारमा आफ्नो भूमिका उल्लेखनीय रहेको उनी दाबी गर्छन् । यदि मतदाताले त्यो दाबी स्वीकारे भने उनी राजनीतिक रूपमा पुनः सशक्त हुने सम्भावना रहन्छ ।
तर पराजयको अवस्था फरक हुनेछ । दुई जित र दुई हारपछि पाँचौं प्रतिस्पर्धामा फेरि हार बेहोर्नु उनको राजनीतिक यात्रामा ठूलो झट्का हुन सक्छ । पार्टीभित्रै उनको प्रभाव घट्ने, राष्ट्रिय राजनीतिमा भूमिका सीमित हुने र भविष्यका अवसरहरू संकूचित हुने जोखिम छ । मधेस केन्द्रित राजनीति राष्ट्रिय प्रतिस्पर्धामा कमजोर हुँदै गएको सन्दर्भमा उनको हारले त्यो प्रवृत्तिलाई झनै पुष्टि गर्नेछ ।
यसरी हेर्दा मोहम्मद ईश्तियाक राईका लागि आगामी चुनाव एक निर्वाचन होइन, ‘प्रतिष्ठाको परीक्षा हो ।’ जितेमा उनी फेरि सत्ताको केन्द्रतिर उक्लन सक्छन्, हारेमा राजनीतिक यात्रा ओरालोतर्फ धकेलिन सक्छ । बाँके–२ को चुनावी मैदानमा यसपटक ‘फलामका चिउरा चपाउनु’ सरह चुनौती छ । परिणामले मात्र उनको राजनीतिक भविष्यको दिशा स्पष्ट पार्नेछ ।
पाँच चुनावको यात्रा : हार–जितको चक्र
२०६४ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका मोहम्मद ईश्तियाक राईका लागि आगामी निर्वाचन पाँचौं अनुभव हुनेछ । पहिलो संविधानसभा निर्वाचन (२०६४) मा मधेसी जनअधिकार फोरमबाट बाँके–२ मा विजयी हुँदै राष्ट्रिय राजनीतिमा उदाएका राई २०७० मा पराजित भए ।
२०७४ मा पुनः संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जित हात पारेका उनले २०७९ मा भने राप्रपाका धवलशम्शेर राणासँग हार बेहोरे । दुई जित र दुई हारको अनुभव बोकेका राईका लागि यसपटकको चुनाव ‘निर्णायक चक्र’ का रूपमा हेरिएको छ । परिणामले उनको राजनीतिक उकालो वा ओरालोको दिशा तय गर्ने विश्लेषण भइरहेको छ ।
मन्त्री पददेखि मैदानसम्म : सत्ता अनुभवको पूँजी
राईले आफ्नो राजनीतिक यात्रामा पटकपटक मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । २०६४ पछि उनी श्रम तथा यातायात व्यवस्थामन्त्री बने । २०७४ को निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेका उनले संसद पुनर्स्थापनापछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा केही समय भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पनि सम्हाले ।
नेपालगन्जको सहरी विकास, सडक पूर्वाधार र धार्मिक–सांस्कृतिक सद्भावका क्षेत्रमा आफूले योगदान दिएको दाबी राईले गर्दै आएका छन् । यही अनुभव र विकास एजेन्डालाई उनले चुनावी पूँजीका रूपमा प्रयोग गर्ने संकेत देखिन्छ ।
चार दिनसम्म चलेको अभियानमा विद्यालयमा अध्ययनरत कक्षा ६ का ४७५ जना छात्रा, कक्षा ७ देखि १० सम्म अध्ययनरत ४६ जना छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका १५ जना किशोरीले खोप लगाएका हुन् ।
राप्तीसोनारी, फागुन ०१ राप्तीसोनारी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाले माघ २६ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको उक्त अभियानमा लक्ष्यभन्दा नजिक पुग्दै ५३६ जना किशोरीलाई खोप लगाइएको छ ।
गाउँपालिकाले यस अभियानअन्तर्गत कुल ५७५ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरेको थियो । चार दिनसम्म चलेको अभियानमा विद्यालयमा अध्ययनरत कक्षा ६ का ४७५ जना छात्रा, कक्षा ७ देखि १० सम्म अध्ययनरत ४६ जना छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका १५ जना किशोरीले खोप लगाएका हुन् ।
पालिकाका ९ वटै वडामा रहेका ७० वटा विद्यालयमा प्रति विद्यालय एक/एक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको थियो । गाउँपालिकाभित्र ५४ वटा सामुदायिक र २० वटा संस्थागत विद्यालय रहेका छन् । सबै विद्यालयसँग समन्वय गरी विद्यार्थीहरूलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको जनाइएको छ ।
गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक देवेन्द्रकुमार केसीका अनुसार खोप अभियान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ । उनले अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहयोगका कारण लक्ष्य नजिक पुग्न सफल भएको बताए । ‘एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन महŒवपूर्ण भूमिका खेल्छ । त्यसैले लक्षित उमेर समूहका सबै किशोरीलाई खोप लगाउन आग्रह गरिएको थियो,’ उनले भने ।
खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिएको थियो भने विद्यालयमार्फत अभिभावक र छात्राहरूलाई पूर्वजानकारी प्रदान गरिएको थियो । कतिपय विद्यालय नजाने किशोरीलाई समेत वडा स्तरमा खोजी गरी खोप केन्द्रमा ल्याएर सेवा प्रदान गरिएको जनाइएको छ ।
गाउँपालिकाले यस प्रकारका जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि खोप तथा अन्य स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने जनाएको छ । एचपीभी खोप अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।
बाँके, फागुन ०१ बाँके क्षेत्र नं. १ मा करिब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा वडा रहेको यो क्षेत्रमा काँग्रेसले सबै वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिसकेको छ । घरदैलोदेखि टोलस्तरीय अन्तरक्रियासम्म सक्रिय रुपमा जुटिरहेको काँग्रेसभित्रको एकता र जनताको बढ्दो उत्साहबारे क्षेत्रीय सभापति पोषण केसी भन्छन्–‘यसपटक जनताको चाहना स्पष्ट छ, स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान गर्ने ।’ प्रस्तुत छ, क्षेत्रीय सभापति केसीसँग गरिएको कुराकानीका मुख्य अंश ।
बाँके क्षेत्र नं. १ मा काँग्रेसको चुनावी अभियान कस्तो चल्दै छ ?
बाँके क्षेत्र नं. १ मा नेपाली काँग्रेसको चुनावी अभियान अत्यन्त उत्साहजनक र प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । यो निर्वाचन क्षेत्रमा तीन वटा पालिका छन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका । ८१ व्टा वडा छन् । ती सबै वडामा प्रचारप्रसार कार्यालय स्थापना भइसकेका छन् । घरदैलो कार्यक्रम, टोलस्तरीय भेटघाट, युवा तथा महिला भेला, किसान अन्तरक्रिया लगायत कार्यक्रमहरु निरन्तर भइरहेका छन् । आम नागरिकमा लोकतान्त्रिक शक्तिप्रति विश्वास पुनः बढेको अनुभूति गरेका छौं । पार्टीका नेता–कार्यकर्ता एकजुट भएर लागेका छन्, जसले सकारात्मक सन्देश दिएको छ ।
तपाई नै टिकटको प्रतिस्पर्धी हुनुहुन्थ्यो नि ?
हो, म पनि टिकटको आकांक्षी थिए । पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक र स्वस्थ प्रक्रिया हो । तर नेपाली काँग्रेस विधि र प्रक्रियाबाट चल्ने लोकतान्त्रिक पार्टी हो । पार्टीले जसलाई उम्मेदवार बनायो, त्यो निर्णय सबैका लागि मान्य हुन्छ । व्यक्तिगत आकांक्षा भन्दा पार्टी र लोकतन्त्र ठूलो हो भन्ने हाम्रो मान्यता हो । उम्मेदवार भन्दा पनि पार्टी महत्वपूर्ण कुरा हो । अहिलेको विषम परिस्थितिमा नेपाली काँग्रेसलाई जिताउन सकिएन भने मुलुक ठूलो संकटमा पर्ने अवस्था आउन सक्ने खतरा छ । व्यवस्थानै रहदैन की भन्ने आंशका छ । त्यसैले पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन । हाम्रो लक्ष्य व्यक्तिगत पद होइन, काँग्रेसको विजय र जनताको सेवा हो । नारायण गौडेल जी लामो समय जनताको काममा सक्रिय भएको व्यक्ति हो । यो भुगोलमा उहाँ जनताको लोकप्रिय नेता भएकाले पनि काँग्रेस कार्यकर्ताहरु थप उत्साहित भएका छन् ।
करिब १० वर्षपछि यहाँका जनताले रुखमा भोट हाल्न पाउने भएका छन्, जनता के भन्छन् ?
साँच्चै भन्नुपर्दा करिब एक दशकपछि जनताले फेरि रुख चिन्हमा मतदान गर्न पाउने अवसर पाएका छन् । जनतामा यसलाई लिएर निकै उत्साह छ । यसअघि गठबन्धनका नाममा अन्य चुनाव चिन्हमा मतदान गर्न बाध्य भएको अवस्था थियो । अहिले धेरैले भन्नुहुन्छ–‘अब फेरि काँग्रेसलाई अवसर दिनुपर्छ ।’ यस अघि निर्वाचित प्रतिनिधिहरुले के कस्ता बाचा गरेका थिए ? त्यसलाई पूरा गरेकी गरेनन् ? आम नागरिकले गहिरोसंग अनुभव गरेका छन् । जनता सन्तुष्ट छैनन् । जनताले लोकतन्त्रको रक्षा र समृद्धिको आधार काँग्रेस नै हो भन्ने विश्वास व्यक्त गरिरहेका छन् । विकास निर्माणदेखि अफ्ठयारो पर्दा काँग्रेस नै चाहिन्छ भन्ने मनोभावना जनतामा देखिन्छ ।
जनताको माग के छ ?
जनताको मुख्य माग रोजगारी, कृषि विकास, सिँचाइ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको सुधार हो । युवा विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने आवाज बलियो छ । किसानहरु मल–बीउको सहज उपलब्धता र उत्पादनको उचित मूल्य चाहन्छन् । त्यस्तै, दलित, महिला, थारु समुदाय, भूमिहीन तथा सुकुम्बासीका सवालहरु पनि उठिरहेका छन् । सामाजिक न्याय, समान अवसर र पारदर्शी शासन जनताको प्रमुख चाहना हो । हामीले यी सबै मागलाई हाम्रो प्राथमिक एजेन्डामा राखेका छौं ।
काँग्रेसलाई किन जिताउने ?
नेपाली काँग्रेस लोकतन्त्रको रक्षक शक्ति हो । संविधान निर्माणदेखि लोकतन्त्र स्थापनासम्म काँग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । काँग्रेसले सधैं समावेशिता, विधिको शासन, मानव अधिकार र विकासको मार्ग अपनाएको छ । अहिले देशलाई स्थायित्व, जिम्मेवार नेतृत्व र अनुभव आवश्यक छ, जुन काँग्रेससँग छ । यदि बाँके क्षेत्र नं. १ लाई दिगो विकास, सुशासन र समृद्धिको बाटोमा लैजानु छ भने रुख चिन्हमा मतदान गरेर काँग्रेसलाई जिताउनु अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ ।




