२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

संघीय निर्णयविपरीत कोहलपुरमा भर्ना सुरु

केहलपुर नगरपालिकामा ३ गतेदेखि भर्ना अभियान सुरु, १५ गतेदेखि पठनपाठन सुरु हुने

कोहलपुर, वैशाख ४   संघीय सरकारले देशभरका विद्यालयमा वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरे पनि बाँकेको कोहलपुर नगरपालिकाले सोभन्दा अघि नै भर्ना अभियान सुरु गर्ने र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत (गुठी) विद्यालयका लागि शैक्षिक सत्र २०८३ को कार्यतालिका सार्वजनिक गर्दै वैशाख ३ गतेदेखि नियमित भर्ना कार्यक्रम सञ्चालन गरेको र वैशाख १४ गतेदेखि पठनपाठन सुचारु गर्ने जनाएको हो ।

वैशाख २ गते नगर प्रमुख पूर्णप्रसाद आचार्यको उपस्थितिमा बसेको प्रधानाध्यापक, शिक्षक महासंघ, निजी विद्यालय संगठन (क्रिसा) लगायत शैक्षिक सरोकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । बैठकले तत्कालका लागि नगरपालिकाले तयार पारेको शैक्षिक क्यालेण्डरअनुसार कार्यक्रम कार्यान्वयन गर्ने र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सघन कार्यतालिका प्राप्त भएमा त्यसअनुसार समायोजन गर्ने सहमति गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी सूचनाअनुसार वैशाख १५ गतेअघि नै विद्यालयहरूले शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन गरिसक्ने, निःशुल्क पाठ्यपुस्तक खरिद तथा वितरण गर्ने, साथै विद्यालयको वार्षिक कार्यतालिका र शैक्षणिक योजना तयार पार्ने व्यवस्था गरिएको छ । यसैगरी शिक्षकको पेशागत क्षमता अभिवृद्धिका कार्यक्रम शिक्षा शाखासँग समन्वय गरेर सञ्चालन गरिने उल्लेख छ । शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले शुक्रबार र प्रत्येक महिनाको अन्तिम दिन पूर्ण समय पठनपाठन सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

सूचनामा शैक्षिक सत्र २०८२ का शिक्षकहरूको बिदा अभिलेख अद्यावधिक गरी प्रमाणित गर्न निर्देशन दिइएको छ भने विद्यालय व्यवस्थापन समितिको म्याद सकिएका विद्यालयहरूले वैशाख मसान्तभित्र नयाँ समिति गठन गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्धारित समयभित्र समिति गठन हुन नसकेमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाइने जनाइएको छ । संघीय सरकारको निर्णयभन्दा अघि नै स्थानीय तहले भर्ना र पठनपाठन सुरु गर्ने निर्णय गरेको विषयमा नगरपालिकाले भने विद्यार्थीको पठनपाठन सहज बनाउन यस्तो कदम चालिएको स्पष्ट पारेको छ ।

नगरपालिकाका अनुसार स्थानीय आवश्यकता, अभिभावकको चासो र विद्यालय सञ्चालनको व्यावहारिक पक्षलाई ध्यानमा राख्दै समय अगावै शैक्षिक गतिविधि सुरु गर्न लागिएको हो । संघीय र स्थानीय तहबीचको यस्तो फरक निर्णयले शिक्षा क्षेत्रमा समन्वयको प्रश्न उठेको भए पनि कोहलपुर नगरपालिकाले भने आफ्ना निर्णयहरू विद्यार्थीको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।