२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

दाङमा आफ्नो गढ जोगाउन कांग्रेसलाई सकस, क्षेत्र नम्बर २ मा एमाले महासचिव पोखरेललाई रास्वपा सहमहामन्त्री आचार्यको चुनौती ।

दाङ, फागुन १२  लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको दाङ विगतमा कांग्रेसको गढ मानिन्थ्यो । दिवंगत खुमबहादुर खड्काले दाङमा कांग्रेसको संगठनलाई माथि उठाएका थिए । पुरानो पुस्ताले खुमबहादुरलाई अहिले पनि सम्झिन्छन्‌ । तर, त्यो साख कांग्रेसले जोगाउन सकेको छैन । आफ्नो गढ जोगाउन नसक्दा कहिले एमाले त, कहिल्यै पूर्वमाओवादीले दाङ जिल्लामा आफ्नो वर्चस्व देखाउँदै आएको छ । ०४८, ०५१, ०५६ र ०७० मा दाङमा कांग्रेसले एकलौटी राज गरेको थियो । तर, ०६४ मा तत्कालीन माओवादीको एकलौटी राज भएको थियो । ०७४ मा एमाले–माओवादी गठबन्धनले कांग्रेसलाई ‘क्लिन स्विप’ गरेका थिए । ०७९ मा माओवादी–कांग्रेस गठबन्धनले एमालेलाई ‘क्लिन स्विप’ बनाएको थियो । जिल्लामा पटक–पटक आफ्नो वर्चस्व कायम गरेको कांग्रेसलाई भने यसपटक चुनौतीको चाङ रहेको खबर नयाँ पत्रिकाले प्रकाशन गरेको छ ।
दाङ १ मा सजिलो छैन मेटमणिलाई ‘ह्याट्रिक’ जित
नयाँ पत्रिकाका अनुसार दाङ १ बाट पछिल्लो दुईवटा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले जित्दै आएका छन्‌ । ०७४ मा तत्कालीन माओवादीसहितको गठबन्धनबाट उनले कांग्रेसकी सुशीला चौधरीलाई पराजित गरेका थिए । त्यतिवेला उनी एमलेमा थिए । ०७९ मा एमाले फुटेर एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनले कांग्रेस र माओवादी गठबन्धनमा जित हात पारेका थिए । यसपटक उनी ह्याट्रिक जितको खोजीमा छन्‌ । तर, उनलाई रोक्न लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी बागी उम्मेदवारका रूपमा छन्‌ । देउखुरीमा लुम्बिनीको स्थायी राजधानीका प्रशासनिक संरचना ल्याउन उनले भूमिका खेलेका थिए । पूर्वमाओवादी नेतासमेत भएकाले तत्कालीन पार्टीका केही मत उनले काट्न सक्ने अनुमान गरिएको छ ।

यो क्षेत्रमा कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, एमालेबाट रेवतीरमण शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठकसहित १४ उम्मेदवार चुनावी मैदानमा छन्‌ । कांग्रेसका चौधरी ०७० मा तत्कालीन मधेशी जनअधिकार फोरमबाट समानुपातिक सांसद थिए । एमालेका शर्मा ०७४ मा प्रदेश सभा सदस्य थिए । रास्वपाका पाठक ०७९ को निर्वाचनमा पनि उम्मेदवार थिए ।०७९ को निर्वाचनमा समानुपातिकतर्फ दाङ १ बाट एमालेले १७ हजार ९६९, कांग्रेसले १५ हजार ६७, नेकपा १४ हजार ६७० (तत्कालीन माओवादी र एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ४१० र नागरिक उन्मुक्ति पार्टीले सात हजार १७९ मत ल्याएका थिए ।

दाङ २ मा एमाले महासचिव पोखरेललाई रास्वपाको चुनौती

दाङ २ यसपटक हटसिट चुनावी क्षेत्र मानिएको छ । एमाले महासचिव शंकर पोखरेल उठेकाले पनि यो क्षेत्र चर्चामा आएको हो । पोखरेलले सधैँ ‘लो प्रोफाइल’का नेतासँग हार व्यहोर्दै आएका छन्‌ । उनी प्रत्यक्ष जितेर संघीय संसद्मा गएको एकपटक मात्रै हो । ०५१ मा तत्कालीन दाङ ३ बाट कांग्रेसका दीपक गिरीलाई हराएर संघीय संसद्मा गएका थिए । त्यतिवेला एमालेबाट चुनाव जित्ने उनी मात्रै हुन्‌ । अन्य तीन क्षेत्रमा कांग्रेसले नै जितेको थियो । त्यसपछिका प्रायः निर्वाचनमा उनले हार व्यहोरेका छन्‌ । ०५६ को चुनावमा कांग्रेसका कृष्णकिशोर घिमिरेसँग हार व्यहोरे । ०६४ को निर्वाचनमा उनी समानुपातिकबाट सांसद बने ।

०७० को निर्वाचनमा दाङ ४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भए । उनी ०७४ मा प्रदेशमा चुनाव जितेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने । ०७९ को निर्वाचनमा पुनः उनले तत्कालीन माओवादी नेतृ रेखा शर्मासँग १९३ मतान्तरले हार व्यहोरे । अहिले रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य तगारो बनेका छन् । यो क्षेत्रमा कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यसहित २३ जना चुनावी मैदानमा छन्‌ । घिमिरे पहिलोपटक निर्वाचनमा होमिएका हुन्‌ । आचार्य ०७० को संविधानसभा सदस्य उम्मेदवार थिए । रास्वपाका विपिनकुमार पनि पहिलोपटक चुनाव लड्दै छन्‌ ।०७९ को समानुपातिक मततर्फ एमालेले २३ हजार ५६८, कांग्रेसले १९ हजार ५९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ३३ र नेकपा ११ हजार ६०२ (तत्कालीन माओवादी र एकीकृत समाजवादी) मत पाएका थिए ।

दाङ ३ मा नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै कांग्रेसका गिरी

दाङ ३ मा ६ पटक चुनाव लड्ने नेता हुन् कांग्रेसका दीपक गिरी । ६ पटक चुनाव लडे पनि उनले दुईपटक मात्रै जित निकालेका छन्‌ । ०७० र ०७९ मा मात्रै उनले जित निकालेका छन्‌ । उनले ०७० मा एमालेका उत्तरकुमार वली र ०७९ मा एमालेकै कोमल वलीलाई पराजित गरे । ०५१ मा तत्कालीन दाङ ३ बाट एमाले नेता शंकर पोखरेलसँग हार व्यहोरेका गिरीले ०५६ मा निर्वाचन लडेनन्‌ । उनको ठाउँमा गेहेन्द्र गिरी उम्मेदवार बने र जिते । ०६४ मा दीपक दाङ ५ बाट माओवादीको सुुष्मा शर्मा घिमिरेसँग पराजित भए । ०७४ मा एमालेका हिराचन्द्र केसीसँग पराजित भए ।

पटक–पटक हार व्यहोर्दै आएका गिरीले अहिले नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै छन्‌ । एमालेका घनश्याम पाण्डे र नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की पहिलोपटक संघीय संसद्मा चुनाव लड्दै छन्‌ । मास्की यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए । पाण्डे यसअघि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख थिए । कांग्रेसका खुमबहादुर खड्काले ०४८ र ०५१ तथा ०५६ मा कांग्रेसकै गेहेन्द्र गिरीले जित निकालेको क्षेत्र हो यो । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले भने यसअघिको निर्वाचनमा गिरीसँग प्रतिस्पर्धामा थिए ।

०७९ को समानुपातिक मतपरिणामअनुसार कांग्रेसले २६ हजार ५७५, एमालेले २६ हजार ११७, राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार ४१० र नेकपाले ११ हजार ६१७ (तत्कालीन माओवादी र एकीकृत समाजवादी) मत पाएका थिए ।

अर्जुन योगी, सचिव, कांग्रेस दाङ

विशेष महाधिवेशनले आमनेता तथा कार्यकर्तामा उत्साह ल्याएको छ, त्यसको प्रभाव दाङको निर्वाचनमा पर्छ । दाङ विगतदेखि नै कांग्रेसको बलियो क्षेत्र पनि हो । विगतजस्तो अन्तरविरोध पनि छैन । गुट–उपगुट पनि छैन । त्यसले गर्दा जिल्लामा सहजै निर्वाचन जित्न सक्छौँ ।

शिवकुमार आचार्य, अध्यक्ष, एमाले दाङ

हाम्रो जित्ने आधार भनेको जनता हो । जनताले एमालेबारे बुझिसक्नुभएको छ । त्यसैले पनि एमालेले दाङका तीनवटै निर्वाचन क्षेत्रमा जित निकाल्न सक्छ । हामी जनताको निर्णयलाई नै अन्तिम मान्छौँ । देश बनाउने र जलाउनेको लडाइँ हो यो ।

हरिमान पुन, अध्यक्ष, नेकपा दाङ

दाङमा समावेशी र नयाँ उम्मेदवार बनाएका छौँ । दाङ थारूबाहुल्य भएको क्षेत्र भएकाले १ नम्बरमा चौधरी समुदायका मेटमणि चौधरीलाई उम्मेदवार बनाएका छौँ । २ र ३ मा नयाँ उम्मेदवार उठाएका छौँ । यसको प्रभाव चुनावमा सकारात्मक पर्छ भन्ने विश्वास छ ।

विनय घिमिरे, सभापति, रास्वपा दाङ

दाङमा रास्वपाको संगठन विगतमा राम्रै बनेको थियो । यसपटक सयवटै वडामा पुग्दा जनताले रास्वपा रुचाएका छन्‌ । जनताले मत परिवर्तन खोजिरहेका छन्‌ । त्यसले गर्दा पनि जित्न सक्ने आधार बनेको छ । अहिले हाम्रो पार्टीको लहर आएको छ ।
०४८ को निर्वाचनदेखि टरिगाउँ एयरपोर्ट चुनावी एजेन्डा

दाङका हरेक निर्वाचनमा लाग्ने एउटा चुनावी मुद्दा हो टरिगाउँ विमानस्थल । जुन विमानस्थलको स्तरोन्नतिका लागि २ र ३ नम्बर क्षेत्रका उम्मेदवारले हरेक निर्वाचनमा मुख्य एजेन्डा बनाउने गर्छन्‌ । ०४८ पछि भएका हरेक निर्वाचनमा टरिगाउँ विमानस्थल स्तरवृद्धि गर्ने प्रतिबद्धता दिने गरिन्छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन नै किन नहोस्, हरेक वर्ष एजेन्डा बने पनि स्तरवृद्धि भने हुन नसकेको नागरिक समाज दाङका पूर्वअध्यक्ष टीकाराम रेग्मी बताउँछन्‌ ।

‘०४८ देखि चुनावी मुद्दा बन्ने गरेको छ, तर न त त्यसको स्तरवृद्धि भएको छ, न त सार्थक पहलकदमी नै हुने गरेको छ,’ उनले भने, ‘जसले गर्दा यो एयरपोर्ट ओझेलमा पर्ने गरेको छ ।’ अहिले यो विमानस्थलमा नियमित उडान छैन । धावनमार्ग सानो छ । ०११ मा स्थापना भएको विमानस्थलको लम्बाइ ७५० मिटर मात्रै छ । त्यसलाई स्तरवृद्धि गरेर १५ सय मिटर बनाउन सके ७२ सिटे जहाज बस्न सक्छ । हाल १९ सिटे ट्विनेटर जहाज मात्रै अवतरण गर्ने गर्छन्‌ ।

एमाले महासचिव शंकर पोखरेलले अहिले यो नारालाई प्राथमिकता दिएका छन्‌ । उनी दाङ २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्‌ । कांग्रेसबाट दाङ ३ का उम्मेदवार दीपक गिरीले पनि यो मुद्दा उठाएका छन्‌ । एमालेबाटै दाङ ३ मा उम्मेदवार घनश्याम पाण्डेले पनि टरिगाउँ एयरपोर्टलाई व्यवस्थित बनाउने बताए । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार धनबहादुर मास्कीले टरिगाउँ एयरपोर्ट विस्तार गर्ने कुरालाई एजेन्डा बनाएका छन्‌ । रास्वपाका उम्मेदवार कमल सुवेदीसहित अन्य उम्मेदवारहरूले पनि एयरपोर्ट विस्तार गर्ने कुरालाई नै मुख्य एजेन्डा बनाएका छन्‌ । अहिले टरिगाउँ विमानस्थलमा हावा लाग्दा होस् वा हुस्सु लाग्दा जहाज अवतरण हुँदैन । यो खबर नयाँ पत्रिकामा प्रकाशित छ ।

बाँके, फागुन १२   हरेक वर्ष स्रोतभन्दा ठूलो आकारको बजेट ल्याउँदै आएको लुम्बिनी प्रदेश सरकार ले आगामी आर्थिक वर्षदेखि बजेटलाई यथार्थपरक ‘साइज’मा सीमित गर्ने नीति अघि सारेको छ । करिब ३० अर्ब रुपैयाँको वास्तविक स्रोत हुँदाहुँदै ४० अर्ब नाघ्ने बजेट ल्याउने अभ्यासले कार्यान्वयनमा समस्या आएको निष्कर्ष निकाल्दै सरकारले अब स्रोतभित्रै रहेर योजना छनोट र कार्यान्वयन गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्य ले आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहत निकायलाई बजेट विनियोजनलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । चालु आव २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले आगामी बजेट ३० अर्बभित्र सीमित गरी कार्यान्वयनयोग्य कार्यक्रम मात्रै समेट्न आग्रह गरे । चालु आवमा ३९ अर्ब रुपैयाँको बजेट रहेकाले त्यसलाई घटाएर स्रोतअनुसारको सीमा निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले योजना तर्जुमा निर्देशिका निर्माण गरी टुक्रे योजनाहरू कटौती गर्ने र प्रत्येक योजना प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गरेर मात्रै कार्यान्वयनमा लैजाने व्यवस्था लागू गर्ने तयारी गरेको छ । आयोजना छनोटका लागि प्रदेश योजना आयोगले तयार पारेको आयोजना बैंकबाट मात्र परियोजना छनोट गरिने बताइएको छ ।

मुख्यमन्त्री आचार्यले परिणाममुखी कार्यसम्पादनमा जोड दिँदै सम्पन्न भइसकेका तर भुक्तानी हुन बाँकी आयोजनाको रकम फागुनभित्रै निकासा गर्न निर्देशन दिएका छन् । आन्तरिक आम्दानी वृद्धि, राजस्व दायरा विस्तार र निर्माण सम्पन्न भएर पनि प्रयोगमा नआएका संरचनाको सदुपयोग सुनिश्चित गर्नसमेत उनले सम्बन्धित मन्त्रालयलाई सचेत गराएका छन् ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा विपक्षी दलका नेता जोखबहादुर महरा लगायतले योजना छनोट र कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद वास्तोलाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार प्रदेशले कार्यसम्पादन मूल्यांकनमा ३४ दशमलव ७१ अंकसहित पाँचौं स्थान प्राप्त गरेको छ । राजस्व परिचालन वृद्धि, वन क्षेत्रको दायरा विस्तार र बेरुजु घटाउनेतर्फ ध्यान केन्द्रित गर्दै मूल्यांकन सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गुटबन्दीको मनोविज्ञान नेतास्तरमा सीमित हुँदैन । त्यो कार्यकर्ता र मतदातासम्म सर्छ । जब पार्टीभित्र स्पष्ट सन्देश नपुग्दा मतदाता पनि दुविधामा पर्न सक्छन् । त्यसैले कांग्रेसका लागि यसपालिको चुनाव बाह्य दलसँगको प्रतिस्पर्धा मात्र होइन, आन्तरिक एकताको परीक्षा पनि हो ।

नेपालगन्ज, फागुन १२  नेपाली कांग्रेसभित्र एउटा कथन छ, ‘बाहिर अरु दलसँग प्रतिस्पर्धा छ तर, आफ्नै पार्टीभित्र धेरै कठिन छ ।’ यो कथनको अर्थ हो, ‘पार्टीभित्र चरम गुटबन्दी छ । एकले अर्कोलाई नस्वीकार्दा हराउने रणनीति बन्छ र, नतिजा आफू अनुकुल आउँदैन ।’ यो अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि झन पार्टीभित्र गुटगत मनोविज्ञान जबरजस्त हाबी छ । विशेष महाधिवेशनले पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको सम्मानजनभन्दा लज्जास्पद बिदाइ गरेपछि पूर्व संस्थापन (शेरबहादुर देउवा) पक्ष र हालको संस्थापनपक्ष (गगन थापा) पक्ष स्पष्ट गुट देखिएको छ ।

नेता शेखर कोइरालाको गुट पनि उत्तिकै सक्रिय छ ।जसले गर्दा शीर्ष नेताहरूबीचको दूरीले विशेषगरी बाँकेका तीनै निर्वाचन क्षेत्रमा मत विभाजनको त्रास बढाएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा उभिएको नेपाली कांग्रेस यतिबेला बाह्य प्रतिस्पर्धाभन्दा आन्तरिक समीकरणका कारण बढी चुनौतीमा देखिएको छ । विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिएको छ । पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवाको सम्मानजनक बिदाइ हुन नसकेको भन्दै उनका समर्थकहरू असन्तुष्ट देखिएका छन् । नेतृत्वमा देखिएको नयाँ संरचनाले गगन थापा पक्षलाई संस्थापनको रूपमा उभ्याएको छ भने शेखर कोइराला समूह समानान्तररूपमा सक्रिय छ । शीर्ष तहमा औपचारिक एकता देखिए पनि तल्लो तहमा गुटगत मनोविज्ञान अझै बलियो रहेको स्थानीय नेताहरू स्वीकार गर्छन् ।

यतिबेला कांग्रेस चुनावी अभियानमा व्यस्त छ, तर देउवाको सार्वजनिक मौनता राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा व्याख्या भइरहेको छ । उनी खुलारूपमा सक्रिय नदेखिँदा उनका निकटस्थ नेताहरू र कार्यकर्तामा पनि उत्साह कम देखिएको गुनासो छ । बाँकेका एक नेता भन्छन्, ‘नेतृत्व तहमा देखिने दूरी तलसम्म सन्देशका रूपमा जान्छ । कार्यकर्ता कति मनदेखि लाग्ने भन्नेमा त्यसको प्रभाव पर्छ ।’ उनका अनुसार मौन असन्तुष्टि चुनावी परिणाममा सानो तर निर्णायक असर पार्न सक्छ ।बाँके क्षेत्र नम्बर १ मा टिकट वितरणको विषयले केही असन्तोष जन्माएको थियो । विभिन्न नाम सिफारिस भए पनि अन्ततः जिल्ला सभापति नारायणप्रसाद गौडेल उम्मेदवार बने । शक्ति सन्तुलन परिवर्तनपछि निर्णय भएको भन्दै केही आकांक्षी समूह असन्तुष्ट भएको चर्चा छ । यद्यपि औपचारिकरूपमा सबैले पार्टी निर्णय स्वीकार गरेको जनाइएको छ, तर भित्रीरूपमा मत कता मोडिन्छ भन्ने अन्योल कायम छ ।

क्षेत्र नम्बर २ मा भने तुलनात्मकरूपमा एकता देखिएको छ । अन्तिममा सुधांशु कोइरालाले टिकट पाएपछि ठूलो विरोध देखिएन । कार्यकर्ता तहमा समन्वय र सक्रियता तुलनात्मकरूपमा राम्रो देखिएकाले यो क्षेत्र कांग्रेसका लागि सहज मानिएको छ ।तर क्षेत्र नम्बर ३ मा विवाद चर्किएको थियो । सिफारिस भएका स्थानीय आकांक्षीलाई पन्छाएर बाहिर जिल्लाका उम्मेदवारलाई टिकट दिइएको भन्दै केही कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमै तालाबन्दी गरेका थिए । लुम्बिनी प्रदेश सभापति अमर पुन उम्मेदवार बनेपछि देखिएको विरोध अहिले शान्त देखिए पनि पूर्णरूपमा साम्य भइसकेको छैन । स्थानीय तहमा असन्तुष्टि मौनरूपमा बाँकी रहेको नेताहरू बताउँछन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसको परम्परागत मत आधार बलियो भए पनि मत विभाजनको जोखिमले परिणाम उल्टाउन सक्छ । बहुकोणीय प्रतिस्पर्धामा केही हजार मतको हेरफेरले सिट गुम्ने सम्भावना रहन्छ । विगतका निर्वाचनमा पनि आन्तरिक असन्तुष्टिका कारण आधिकारिक उम्मेदवार कमजोर बनेका उदाहरण कांग्रेसभित्रै छन् ।

बाँके–२ बाहेक १ र ३ मा मत विभाजनको जोखिम बढी देखिएको स्थानीय नेताहरूको आँकलन छ । क्षेत्र नम्बर १ का एक नेता भन्छन्, ‘यदि हामीले आफ्नै मत जोगायौँ भने तीनै क्षेत्रमा जित सम्भव छ । तर आफ्नै मत खण्डित भयो भने परिणाम भन्न सकिँदैन ।’ यतिबेला कांग्रेसले घरदैलो, टोलसभा र संयुक्त कार्यक्रममार्फत मतदातासम्म पुग्ने प्रयास गरिरहेको छ । शीर्ष नेताहरू पनि क्षेत्रीय कार्यक्रममा सहभागी भइरहेका छन् । तर संगठन सुदृढीकरणसँगै आन्तरिक मनोविज्ञान मिलाउन नसके बाह्य प्रतिस्पर्धामा बलियो देखिन कठिन हुने बुझाइ छ ।

गुटबन्दीको मनोविज्ञान नेतास्तरमा सीमित हुँदैन । त्यो कार्यकर्ता र मतदातासम्म सर्छ । जब पार्टीभित्र स्पष्ट सन्देश नपुग्दा मतदाता पनि दुविधामा पर्न सक्छन् । त्यसैले कांग्रेसका लागि यसपालिको चुनाव बाह्य दलसँगको प्रतिस्पर्धा मात्र होइन, आन्तरिक एकताको परीक्षा पनि हो । यदि शीर्ष नेतृत्वले अन्तिम समयमा स्पष्ट सन्देशसहित साझा अभियान सञ्चालन गर्न सके मत विभाजनको त्रास कम हुन सक्छ । तर मौन असन्तुष्टि र गुटगत दूरी कायम रह्यो भने ‘बाहिरभन्दा भित्रै कठिन’ भन्ने पुरानो कथन फेरि प्रमाणित हुन सक्ने संकेत देखिन्छ ।

नरैनापुर फागुन १२  नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले आजदेखि नरैनापुर गाउँपालिकामा घरदैलो सुरु गरेका छन् । राप्तीसोनारी गाउँपालिकाको घरदैलो सकिए लगत्तै गौडेल आजदेखि नरैनापुरको घरदैलोमा निस्किएका हुन् । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा सुईया, विर्ता, मझेरेटी, कटकुइया, बनियागाउँ र मतनिया लगायतका वस्तीमा घरदैलो गरिने प्रचार-प्रसार समितिका संयोजक जयश्वर पौडेलले बताए ।पूर्वाधारका हिसावले क्रमशः बघौडा क्षेत्रमा विकास हुँदै गएपनि शिक्षा र स्वास्थ्यमा भने पछाडि छ ।

घरदैलोका क्रममा अधिकांश मतदाताहरुले पनि शिक्षा र स्वास्थ्यको विषय उठान गर्ने गरेका छन् । यसअघि भोट दिएर मन्त्री र सांसद बनाएका नेताहरुले नरैनापुर क्षेत्रको विकास नगरेको काँग्रेस वडा सभापति नियाज अहमदले बताए । भोट दिएर जिताउने तर जितेर गएपछि फर्कि नआउने गरेका कारण यो पटक नरैनापुरबासीले त्यस्ता नेताहरुलाई मत नदिने निष्कर्षमा पुगेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेल नरैनापुरबासीको सुख दुःखमा सधैं साथमा रहने भएकाले यो पटक गौडेललाई जिताउनुपर्ने मत बढ्दै गएको छ ।

नरैनापुरका स्थानीयले गौडेललाई आफ्नै स्थानीय जस्तै मान्ने गरेको काँग्रेस लुम्विनी प्रदेश सदस्य समेत रहेका स्थानीय नेता ईसाक जोलाहले बताए । इमान्दार, सादगी र भुँइमान्छेको पहिचान बनाएका गौडेल स्थानीय तहमा भिजेका नेता हुन् । घरदैलो अभियानमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, क्षेत्रिय सभापति पोषण केसी, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, चन्द्र बहादुर ओलि,पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल लगायतका नेताहरु सहभागी रहेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।