नेपालगन्ज, वैशाख १६ भेरी अस्पतालले उपचाररत एक ६२ वर्षीया बिरामीको मृत्यु प्रकरणबारे स्पष्टोक्ति दिँदै उपचार प्रक्रियामा कुनै लापरबाही नभएको दाबी गरेको छ । अस्पतालले दीर्घरोग, बहुजटिल स्वास्थ्य अवस्था र नियन्त्रण बाहिरका चिकित्सकीय कारणले मृत्यु भएको भन्दै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेको हो ।
अस्पतालका अनुसार बैजनाथ–६, बाँके निवासी ती महिला पेट तथा छातीसम्बन्धी समस्या लिएर २०८३ वैशाख ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई ग्यास्ट्राइटिस, हाइपोथाइराइडिज्म, उच्च रक्तचाप र टाइप–२ मधुमेहजस्ता दीर्घरोगसमेत रहेको थियो । उपचारका क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएपछि कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखिएको तथा इसिजी, इको र कार्डियाक इन्जाइम लगायतका परीक्षण पटक–पटक गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बहुविधागत उपचार प्रणाली अपनाउँदै ग्यास्ट्रोलोजिस्ट र मनोरोग विशेषज्ञको समेत परामर्श लिएको जनाएको छ । तर सबै स्थापित चिकित्सा विधि अपनाउँदा पनि स्पष्ट निदान कठिन भएको अवस्थामा २०८३ वैशाख ११ गते ‘क्रस ओपिनियन’ का लागि अन्यत्र रिफर गरिएको थियो ।
तर बिरामीको अवस्थामा केही सुधार देखिएपछि उपचार अस्पतालमै जारी राखिएको र सोही क्रममा २०८३ बैशाख १३ गते अचानक अवस्था बिग्रिँदा मृत्यु भएको अस्पतालको भनाइ छ । घटनापछि बिरामीका आफन्तसँग छलफल गरी उपचार प्रक्रियाबारे जानकारी दिइएको र वैशाख १४ गते सांसद खगेन्द्र सुनार, पूर्वराज्यमन्त्री दलबहादुर सुनार तथा अस्पताल प्रशासनबीच पुनः विस्तृत छलफल भएको उल्लेख गरिएको छ । सो छलफलमा चिकित्सकीय सीमितता र जटिल रोगका कारण यस्ता घटना हुनसक्ने प्रष्ट पारिएको अस्पतालले जनाएको छ । अस्पतालले यदि उपचारमा नियतवश त्रुटि भएको प्रमाणित भएमा कानुनी बाटो अपनाउन सकिने स्पष्ट पारेको छ । तर दबाबका आधारमा लापरवाही स्वीकार नगर्ने अडान पनि दोहोर्याएको छ । यसैबीच, २०८३ बैशाख १५ गते बिहान करिब १०ः३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, धम्की र आक्रमण प्रयास गरेको अस्पतालले जनाएको छ । त्यसैगरी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको भन्दै अस्पतालले गम्भीर आपत्ति जनाएको छ ।
अस्पताल प्रशासनले यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको बताउँदै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । साथै, सामाजिक सञ्जालमा फैलाइएका अनर्गल आरोप, धम्की र गलत प्रचारप्रति अस्पतालले आपत्ति जनाउँदै यसले चिकित्सक–बिरामी सम्बन्ध र सामाजिक सद्भावमा असर पार्ने चेतावनी दिएको छ । अस्पतालले यस्ता दबाब र असुरक्षाका कारण केही सेवा प्रभावित हुन सक्ने संकेत गर्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । अन्त्यमा, भेरी अस्पताल सधैं बिरामीको जीवनरक्षा र उपचारमा समर्पित संस्था भएको उल्लेख गर्दै चिकित्सकहरूको उद्देश्य बिरामीलाई निको पार्नु नै रहेको स्पष्ट पारेको छ ।
नेपालगन्ज, वैशाख १६ भेरी अस्पतालले उपचाररत एक ६२ वर्षीया बिरामीको मृत्यु प्रकरणबारे स्पष्टोक्ति दिँदै उपचार प्रक्रियामा कुनै लापरबाही नभएको दाबी गरेको छ । अस्पतालले दीर्घरोग, बहुजटिल स्वास्थ्य अवस्था र नियन्त्रण बाहिरका चिकित्सकीय कारणले मृत्यु भएको भन्दै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेको हो ।
अस्पतालका अनुसार बैजनाथ–६, बाँके निवासी ती महिला पेट तथा छातीसम्बन्धी समस्या लिएर २०८३ वैशाख ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई ग्यास्ट्राइटिस, हाइपोथाइराइडिज्म, उच्च रक्तचाप र टाइप–२ मधुमेहजस्ता दीर्घरोगसमेत रहेको थियो । उपचारका क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएपछि कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखिएको तथा इसिजी, इको र कार्डियाक इन्जाइम लगायतका परीक्षण पटक–पटक गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बहुविधागत उपचार प्रणाली अपनाउँदै ग्यास्ट्रोलोजिस्ट र मनोरोग विशेषज्ञको समेत परामर्श लिएको जनाएको छ । तर सबै स्थापित चिकित्सा विधि अपनाउँदा पनि स्पष्ट निदान कठिन भएको अवस्थामा २०८३ वैशाख ११ गते ‘क्रस ओपिनियन’ का लागि अन्यत्र रिफर गरिएको थियो ।
तर बिरामीको अवस्थामा केही सुधार देखिएपछि उपचार अस्पतालमै जारी राखिएको र सोही क्रममा २०८३ बैशाख १३ गते अचानक अवस्था बिग्रिँदा मृत्यु भएको अस्पतालको भनाइ छ । घटनापछि बिरामीका आफन्तसँग छलफल गरी उपचार प्रक्रियाबारे जानकारी दिइएको र वैशाख १४ गते सांसद खगेन्द्र सुनार, पूर्वराज्यमन्त्री दलबहादुर सुनार तथा अस्पताल प्रशासनबीच पुनः विस्तृत छलफल भएको उल्लेख गरिएको छ । सो छलफलमा चिकित्सकीय सीमितता र जटिल रोगका कारण यस्ता घटना हुनसक्ने प्रष्ट पारिएको अस्पतालले जनाएको छ । अस्पतालले यदि उपचारमा नियतवश त्रुटि भएको प्रमाणित भएमा कानुनी बाटो अपनाउन सकिने स्पष्ट पारेको छ । तर दबाबका आधारमा लापरवाही स्वीकार नगर्ने अडान पनि दोहोर्याएको छ । यसैबीच, २०८३ बैशाख १५ गते बिहान करिब १०ः३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, धम्की र आक्रमण प्रयास गरेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको भन्दै अस्पतालले गम्भीर आपत्ति जनाएको छ ।
अस्पताल प्रशासनले यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको बताउँदै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । साथै, सामाजिक सञ्जालमा फैलाइएका अनर्गल आरोप, धम्की र गलत प्रचारप्रति अस्पतालले आपत्ति जनाउँदै यसले चिकित्सक–बिरामी सम्बन्ध र सामाजिक सद्भावमा असर पार्ने चेतावनी दिएको छ । अस्पतालले यस्ता दबाब र असुरक्षाका कारण केही सेवा प्रभावित हुन सक्ने संकेत गर्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । अन्त्यमा, भेरी अस्पताल सधैं बिरामीको जीवनरक्षा र उपचारमा समर्पित संस्था भएको उल्लेख गर्दै चिकित्सकहरूको उद्देश्य बिरामीलाई निको पार्नु नै रहेको स्पष्ट पारेको छ ।
राप्तीसोनारी, वैशाख १६ राप्तीसोनारी गाउँपालिकामा कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको मकै बाली पकेट कार्यक्रमअन्तर्गत कृषि मेसिनरी तथा औजार वितरण गरिएको छ । भुवर भवानी बहुउद्देश्यीय कृषक सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उक्त कार्यक्रम गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कार्यान्वयन गरिएको हो ।
कार्यक्रमअन्तर्गत कृषकहरूलाई उत्पादन वृद्धि र श्रम घटाउने उद्देश्यले विभिन्न कृषि उपकरण वितरण गरिएको सहकारीले जनाएको छ । वितरण गरिएका सामग्रीमा १० थान मिनिटिलर, ९ हर्ष पावरका मोटर, ३९ थान २ हर्ष पावरका मकै दाउने मेसिन, १८ थान स्प्रे ट्यांकी र ५ थान मकै रोप्ने मेसिन (सिड ड्रम) रहेका छन् । यी उपकरणले खेतीपातीमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रमसँगै सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । सहकारीका अध्यक्ष तुलसीराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मनिषा सिंह थारुको उपस्थिति रहेको थियो भने वडा नं. ३ का अध्यक्ष मिनकुमार चौधरी, वडा नं. ८ का अध्यक्ष सालिकराम डाँगी, केशव परियार, पवन शाह लगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी, गाउँपालिकाको कृषि शाखाका प्रमुख महेन्द्रप्रसाद खड्काले कृषिमा आधुनिकीकरणको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ पुर्याउने बताए । उनले मकै खेतीलाई व्यावसायिक बनाउन आधुनिक उपकरणको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गाउँपालिकाले कृषकको आय वृद्धि र आत्मनिर्भरता हासिल गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले कृषिमा प्रविधि भित्र्याएर उत्पादन वृद्धि गर्ने र युवालाई कृषिमा आकर्षित गर्ने योजना रहेको स्पष्ट पारे । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले सहकारीको कामप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । कृषकहरूले उपकरण वितरणले खेतीपातीमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रम सहकारीका मुख्य व्यवस्थापक शिवप्रसाद थारुले सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय कृषक, सहकारीका सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यस प्रकारका कार्यक्रमले राप्तीसोनारी क्षेत्रमा कृषि उत्पादनमा सुधार ल्याउनुका साथै कृषकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
रोल्पा, वैशाख १६ रोल्पा जिल्लामा महिलाहरूमा देखिने पाठेघरसम्बन्धी समस्या अझै पनि लाज, डर र जानकारीको अभावका कारण गम्भीर बन्दै गएको छ । जिल्लाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने अधिकांश महिलाले आफ्नो वास्तविक समस्या खुलेर भन्न नसक्दा रोग जटिल अवस्थामा पुगेर मात्र अस्पताल पुग्ने प्रवृत्ति देखिएको चिकित्सकहरूले बताएका छन् ।
रोल्पा अस्पतालका चिकित्सक डा. निरज घर्तीमगरका अनुसार महिनावारीसम्बन्धी समस्या, आङ (पाठेघर) खस्ने समस्या तथा यौन स्वास्थ्यसँग सम्बन्धित रोगबारे महिलाहरू खुलेर कुरा गर्न नसक्दा उपचारमा ढिलाइ भइरहेको छ । उनका अनुसार धेरैजसो महिलाले अत्यधिक पीडा भएपछि मात्रै अस्पताल आउने र त्यतिबेला रोग संक्रमणको चरणसम्म पुगिसकेको हुने गरेको छ । ‘सानो समस्या हुँदा पनि लाज मान्ने र घरमै सहेर बस्ने प्रवृत्तिले समस्या जटिल बनिरहेको छ,’ डा. घर्तीमगरले भने, ‘समयमै जाँच र उपचार गर्न सके पाठेघरको मुखको क्यान्सरजस्ता गम्भीर रोगबाट समेत बचाउन सकिन्छ ।’ उनका अनुसार पाठेघरमा देखिने प्रारम्भिक घाउ वा संक्रमणको समयमा उपचार नगरे क्यान्सरको जोखिम उच्च रहने गर्छ ।
चिकित्सकहरूले जिल्लामा आउने बिरामीमध्ये सानै उमेरमा विवाह गरेका, कम उमेरमै सन्तान जन्माएका तथा बारम्बार गर्भपतन गराएका महिलामा समस्या बढी देखिएको बताएका छन् । यस प्रकारका जोखिमयुक्त अवस्थाका महिलामा पाठेघर संक्रमण र आङ खस्ने समस्या बढी देखिएको छ । स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी अरुण भिटु उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा मात्रै पाठेघरसम्बन्धी विभिन्न परीक्षण र स्क्रिनिङ कार्यक्रममार्फत ठूलो संख्यामा महिलाको जाँच गरिएको छ । ३० देखि ४९ वर्ष उमेर समूहका ३ सय ६९ जना र ५० वर्षभन्दा माथिका १ सय १३ जना महिलामा क्यान्सर सम्भावनाको परीक्षण गरिएको थियो, जसमा ६ जनामा संक्रमण देखिएको छ ।
यस्तै स्तन क्यान्सरको शंका लागेका ४ सयभन्दा बढी महिलामा परीक्षण गरिएको छ भने सुत्केरी जटिलता (अब्सट्रेटिक फिस्टुला) का ४ सय ८० जना महिलामा जाँच गर्दा ३ जनाको शल्यक्रिया गरिएको छ । सबैभन्दा बढी समस्या भने आङ खस्ने (पाठेघर झर्ने) समस्या रहेको देखिएको छ । यससम्बन्धी ५ सय ७४ महिलामा जाँच गर्दा १ सय ३ जना चौथो चरणसम्मको गम्भीर अवस्थामा पुगेको पाइएको छ । तीमध्ये अधिकांशलाई रिङ राखेर उपचार गरिएको छ भने एक जनाको शल्यक्रिया नै गर्नुपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ग्रामीण क्षेत्रमा पनि समस्या बढ्दै गएपछि नुवागाउँ स्वास्थ्य चौकीमा हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा १ सय ५५ महिलाको परीक्षण गर्दा धेरैमा पाठेघर संक्रमण देखिएको थियो । शिविरमा सहभागी स्त्री रोग विशेषज्ञ डा. प्रवीण योगीले कम उमेरमै विवाह, अस्वस्थ जीवनशैली र स्वास्थ्य सचेतनाको कमीका कारण समस्या बढिरहेको बताए । स्वास्थ्यकर्मीहरूका अनुसार नियमित जाँच, समयमै उपचार र सचेतना अभिवृद्धि गर्न सके पाठेघरसम्बन्धी धेरै रोग नियन्त्रण गर्न सकिनेछ । तर ग्रामीण भेगमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर छलफल नहुनु नै ठूलो चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ ।
बाँके, वैशाख १६ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई लक्षित गर्दै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाको आठौँ (वर्षे) अधिवेशन आह्वान गरिएको छ । दुवै प्रदेशमा सरकारले सिफारिस गरेअनुसार प्रदेश प्रमुखहरूले अधिवेशन आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकारको सिफारिसमा आगामी वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार संविधानको धारा १६६ को उपधारा (२) तथा धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो ।
यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १० गते अन्त्य गरिएको थियो । उक्त अधिवेशनमा चार वटा विधेयक पारित भएका थिए भने कुल १६ वटा बैठक सम्पन्न भएका थिए । अब सुरु हुने वर्षे अधिवेशनलाई मुख्य रूपमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमा तथा त्यसको छलफल र पारित गर्ने प्रमुख कार्यभार रहनेछ । यता सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश प्रमुख नजिर मियाँले वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उक्त अधिवेशन वैशाख १७ गते अपराह्न ४ बजे बस्ने गरी तोकिएको हो । प्रदेश प्रमुखको धनगढीस्थित निवासमा मुख्यमन्त्री शाहले सिफारिस पत्र बुझाएका थिए । सो क्रममा प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल समेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको पनि यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ । आगामी आर्थिक वर्षका लागि नीति निर्माण, कार्यक्रम तय तथा बजेट प्रस्तुत र पारित गर्ने प्रक्रिया यही अधिवेशनमार्फत अघि बढाइनेछ । दुवै प्रदेशमा एउटै मितिमा अधिवेशन आह्वान हुनु आगामी बजेट तयारीलाई प्रदेश सरकारहरूले उच्च प्राथमिकतामा राखेको संकेतका रूपमा हेरिएको छ । अब प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल, सांसदहरूको सुझाव तथा बजेटमाथिको विस्तृत बहस हुने अपेक्षा गरिएको छ । यससँगै दुवै प्रदेशमा राजनीतिक गतिविधि समेत थप सक्रिय हुने देखिएको छ भने बजेट केन्द्रित छलफलले प्रदेशको विकास प्राथमिकता र योजनाको दिशा निर्धारण गर्नेछ ।
नेपालगन्ज ,बैशाख १६ गते ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान थालिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छदेखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषण तथा मध्यम कुपोषण जोखिमको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।
अभियानमार्फत स्थानीय तह, जिल्ला तथा प्रदेशस्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधार तयार गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। यही वैशाख १५ देखि प्रारम्भ भएको अभियान ७५३ वटै स्थानीय तहमा चल्नेछ। लेखाजोखा कार्य स्वास्थ्य संस्था तथा खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवनहरू तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन हुनेछन्।
त्यस क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको सङ्ख्या, आवश्यक स्वास्थ्यकर्मी टोली तथा सामग्रीको व्यवस्थापनसहित सुक्ष्म योजना तयार गर्नेछन्। अभियानसम्बन्धी जानकारी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, रेडियो तथा स्थानीय सञ्चारमाध्यममार्फत समुदायसम्म पुर्याइनेछ। लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाइ मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ। यस अभियानबाट प्राप्त हुने तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग पुर्याउने मन्त्रालयको विश्वास छ।
सबैको साझा प्रयासबाट मात्र कुपोषणमुक्त स्वस्थ पुस्ता निर्माण सम्भव हुने जनाउँदै मन्त्रालयले अभियानका क्रममा ६–५९ महिनाका आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराई यस अभियानलाई सफल बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। अभियान यही वैशाख ३० गतेसम्मे चल्नेछ।




