२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कोहलपुर, जेठ ४  नेपालगन्ज म्याराथनले विश्व दौड जगत्‌को प्रतिष्ठित ‘एम्स सामाजिक पुरस्कार’ प्राप्त गर्ने भएको छ । विश्वभरका म्याराथन तथा दूरी दौड आयोजकहरूको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एआईएमएस) ले सन् २०२६ का लागि उक्त पुरस्कार नेपालगन्ज म्याराथनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

नर्वेको ट्रम्सो मा आगामी जुन १८ देखि २० तारिखसम्म हुने एम्सको २५औँ विश्व सम्मेलनमा पुरस्कार प्रदान गरिने तय भएको छ । छनोट समिति संयोजक तथा एम्सकी उपाध्यक्ष मार्था मोरालेस ले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी लाई पत्रमार्फत पुरस्कारबारे जानकारी दिँदै बधाई दिएकी हुन् । उनले पठाएको पत्रमा नेपालगन्ज म्याराथनलाई खेलकुदमार्फत सामाजिक रूपान्तरण, दिगो विकास र समुदायमा सकारात्मक प्रभाव पुर्‍याएको आधारमा सम्मान गरिएको उल्लेख छ । प्रत्येक वर्ष समाजमा उदाहरणीय कार्य गर्ने उत्कृष्ट म्याराथन आयोजकलाई मात्र यो सम्मान प्रदान गरिने उनले बताएकी छन् ।

यसअघि ग्रेट इथियोपियन रन, टोकियो म्याराथन र म्युनिख म्याराथन लगायत विश्वप्रसिद्ध दौड प्रतियोगिताले यो पुरस्कार प्राप्त गरिसकेका छन् । केही वर्ष रोकिएको यो पुरस्कार यस वर्षदेखि पुनः निरन्तर प्रदान गर्न लागिएको एम्सले जनाएको छ । नेपालगन्ज म्याराथनले २०७२ सालदेखि शान्ति, सद्भाव र एकताको सन्देशसहित आफ्नो यात्रा सुरु गरेको थियो । विस्तृत शान्ति सम्झौताको स्मरणमा सुरु गरिएको यो म्याराथन अहिले पश्चिम नेपालको प्रमुख दौड प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ ।

मुख्य म्याराथनसँगै संस्थाले विभिन्न सामाजिक अवधारणामा आधारित भगिनी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तनबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले ‘गौघाट हरित दौड’ र ‘राप्तीसोनारी प्रकृति दौड’ सञ्चालन भइरहेका छन् भने रातिको समयमा सुरक्षित वातावरणको सन्देश दिन ‘नेपालगन्ज १० किलोमिटर रात्रि दौड’ आयोजना गरिएको छ । त्यसैगरी नेपाली कला, संस्कृति र सम्पदाको अन्तर्राष्ट्रिय प्रचारका लागि ‘काठमाडौं २५ किलोमिटर सम्पदा दौड’ सुरु गरिएको छ भने कर्णाली क्षेत्रमा ‘कर्णाली अर्ध म्याराथन’ समेत सञ्चालनमा ल्याइएको छ ।

कोभिड महामारीका बेला पनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट प्रतियोगिता सञ्चालन गरेको नेपालगन्ज म्याराथनले गत वर्ष एम्स बोर्ड बैठक तथा नेपाल अन्तर्राष्ट्रिय दौड सम्मेलनसमेत आयोजना गरेको थियो । उक्त सम्मेलनमा १८ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । यस वर्षदेखि ‘एक विश्व एक माइल’ अभियानअन्तर्गत कोहलपुर माइल पनि सुरु गरिँदै छ । साथै ‘नेपाल रनिङ म्यागजिन’ समेत निरन्तर प्रकाशन हुँदै आएको छ ।
संस्थापक टीएस ठकुरीले नेपालगन्ज म्याराथनले खेलकुदलाई सामाजिक अभियानसँग जोडेर निरन्तर काम गर्दै आएको विषयको मूल्यांकनस्वरूप यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको बताए ।

कैलाली, जेठ ३  कैलालीको व्यस्त अत्तरिया चोकमा पैदलयात्रीको सुरक्षालाई लक्षित गर्दै आकाशे पुल निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढिरहेकाबेला गोदावरी नगरपालिकाले दीर्घकालीन समाधानका रूपमा आकाशे पुल निर्माण अघि बढाएको हो ।

शनिबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट ले पूजाआजासहित पुल निर्माण आयोजनाको शिलान्यास गरेका हुन् । शिलान्यासपछि बोल्दै उनले अत्तरिया चोक सुदूरपश्चिमकै अत्यधिक व्यस्त सडक क्षेत्रमध्ये एक बन्दै गएकाले पैदलयात्री सुरक्षित रूपमा सडक पार गर्न सक्ने वातावरण आवश्यक रहेको बताए ।

उनले आकाशे पुल निर्माण भएपछि ट्राफिक व्यवस्थापनमा सहजता आउने, सडक दुर्घटनाको जोखिम कम हुने तथा बजार क्षेत्र थप व्यवस्थित बन्ने विश्वास व्यक्त गरे । नगर प्रमुख भट्टका अनुसार नगरपालिकाले नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै आफ्नै स्रोतबाट योजना कार्यान्वयनमा ल्याएको हो । नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार पुल निर्माणका लागि एक करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माणको जिम्मा ‘क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी’ धनगढीले पाएको छ ।
निर्माण कम्पनी र नगरपालिकाबीच २०८२ फागुन १० गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार पुल निर्माणको काम २०८३ पुस ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । अत्तरिया चोक पूर्व–पश्चिम राजमार्गअन्तर्गत अत्यधिक भीडभाड हुने क्षेत्रका रूपमा परिचित छ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने यस क्षेत्रमा पैदलयात्रीलाई सडक पार गर्न कठिन हुने गरेको गुनासो लामो समयदेखि उठ्दै आएको थियो । नगरपालिकाले आकाशे पुल निर्माणपछि सर्वसाधारणलाई सुरक्षित आवतजावतमा राहत पुग्ने अपेक्षा गरेको छ ।

कञ्चनपुर, जेठ ३  कञ्चनपुरमा बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेपछि दुई स्थानीय तहले विद्यालयको समय परिवर्तन गरेका छन् । अत्यधिक तापक्रमका बीच दिउँसो कक्षा सञ्चालन गर्न कठिन हुन थालेपछि कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका ले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

स्थानीय तहहरूले गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने, ध्यान केन्द्रित गर्न कठिनाइ हुनेलगायत समस्या देखिन थालेपछि नयाँ समय तालिका लागू गरेका बताएका छन् । निर्णयअनुसार अब विद्यालय बिहानैदेखि सञ्चालन हुनेछन् भने पाठ्यक्रमले तोकेको पाठ्यघण्टा भने यथावत् कायम गरिने जनाइएको छ । कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूल बन्दै गएको र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख हेमराज ओझा ले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ तथा लेटर ग्रेडिङ निर्देशिका, २०८३ अनुसार ‘क्रेडिट आवर’ पूरा हुने गरी समय व्यवस्थापन गरिएको जानकारी दिए ।

उनका अनुसार बिहानी सत्र लागू भएपछि शैक्षिक गतिविधिमा असर नपरोस् भन्ने उद्देश्यले नगरपालिकाभित्रका विद्यालय आइतबारसमेत सञ्चालन गरिनेछ । पठनपाठन, परियोजना कार्य र प्रयोगात्मक गतिविधिलाई निरन्तरता दिन अतिरिक्त दिनमा समेत नियमित कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए । यता शुक्लाफाँटा नगरपालिका ले पनि यही जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहान सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अभिभावक, शिक्षक र विद्यार्थीबाट आएको सुझावका आधारमा समय परिवर्तन गरेको जनाएको छ ।

यसअघि बिहान १० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७ बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् । शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्ट का अनुसार चर्को गर्मीका कारण विद्यार्थीको नियमित उपस्थितिमा समेत असर पर्न थालेपछि यस्तो निर्णय गरिएको हो । नगरपालिकाका शिक्षा अधिकृत सुरेश भट्ट ले समय परिवर्तन भए पनि पठनपाठनको गुणस्तर र पाठ्यघण्टामा कुनै कमी नआउने बताए । उनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिकाअनुसार नियमित शैक्षिक गतिविधि सञ्चालन गरिनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।