नेपालगन्ज, जेठ १० राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अब बिस्तारै अन्त्यतर्फ उन्मुख हुँदै गएको छ । सरकारले सुरु गरेको ‘सेवाग्राहीको घरमै राहदानी पुर्याउने’ नयाँ अभ्यासअन्तर्गत बाँकेमा पहिलो चरणमै पाँच जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
जिल्ला हुलाक कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाका सेवाग्राहीलाई राहदानी तयार भएपछि हुलाकमार्फत सिधै घरमै पुगेर वितरण गरिएको हो । हालसम्म तीन स्थानीय तहका पाँच जना सेवाग्राहीले यो सेवा पाएका छन् । यससँगै सेवाग्राहीले राहदानी लिन कार्यालय–कार्यालय धाउनुपर्ने बाध्यता हट्दै गएको अनुभव गरेका छन् । डुडुवा गाउँपालिकाका कमलकुमार वर्माले पहिले राहदानी बनाउन लामो समय लाग्ने र पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था रहेको बताउँदै अहिले घरमै प्राप्त भएपछि समय र खर्च दुवै बचत भएको प्रतिक्रिया दिए ।
उनका अनुसार पहिले राहदानी बनाउन करिब एक महिना लाग्ने गरेकामा अहिले करिब १५ दिनभित्रै घरमै प्राप्त भएको छ । विदेश जाने तयारी सहज बनेको उनले बताए । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख एवं हुलाक अधिकृत गजेन्द्रप्रकाश थारुले केही सातायता यो सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार राहदानी तयार भएपछि सम्बन्धित व्यक्तिको चाहना अनुसार घर वा नजिकको वितरण केन्द्रमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
थारुले राहदानी वितरण प्रक्रिया व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको उल्लेख गर्दै राहदानी हुलाक कार्यालयमा आएपछि अधिकतम दुई दिनभित्र सम्बन्धित सेवाग्राहीसम्म पुर्याइने व्यवस्था गरिएको बताए । यो सेवा हाल प्रभावकारी बन्दै गएको उनको भनाइ छ । सेवाग्राहीलाई यो सेवा निःशुल्क भए पनि हुलाक शुल्कका रूपमा रु ६५ लाग्ने व्यवस्था गरिएको छ । प्रारम्भिक चरणमा व्यक्तिगत विवरण संकलन गरी सेवाग्राहीले राहदानी कहाँबाट बुझ्ने भन्ने विकल्पसमेत रोज्न पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

गत वैशाख ३ गतेदेखि बाँकेमा यो अभ्यास सुरु गरिएको हो । संघीय सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत समावेश गरिएको यो कार्यक्रम स्थानीय तह र वडा कार्यालयको समन्वयमा कार्यान्वयन भइरहेको छ । यस सेवाले ग्रामीण क्षेत्रका नागरिकलाई सरकारी सेवा अझ सहज, छिटो र कम खर्चिलो बनाउने अपेक्षा गरिएको छ ।















