
राप्तीसोनारी, जेठ ९ राप्तीसोनारी गाउँपालिकाले वडा कार्यालयहरूलाई लक्षित गर्दै सूचना प्रवाहसम्बन्धी निर्देशन जारी गरेको छ । गाउँपालिकाले सबै वडा कार्यालयहरूलाई पत्राचार गर्दै आफ्नो क्षेत्रभित्र पर्ने मुख्य, सहायक, ग्रामीण तथा कृषि सडकको क्षेत्राधिकारभित्र अनधिकृत गतिविधि नगर्न/नगराउन स्पष्ट आग्रह गरेको हो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत हरिबहादुर वलीद्वारा जारी सूचनामा सडक क्षेत्रमा टहरा निर्माण गर्ने, निर्माण सामग्रीहरू थुपारेर राख्ने, पशु चौपाया बाँध्ने तथा ट्र्याक्टर, ट्रिपर लगायतका सवारी साधनहरू लामो समयसम्म पार्किङ गरी राख्ने जस्ता गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ । यस्ता क्रियाकलापले सार्वजनिक सडक आवागमनमा अवरोध सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको गाउँपालिकाको ठहर छ ।
सूचनामा सम्बन्धित वडा कार्यालयहरूलाई आफ्नो क्षेत्रभित्रका सबै स्थानमा यो निर्देशन व्यापक रूपमा प्रवाह गर्न भनिएको छ । साथै, सूचना जारी भएको मितिबाट ७ दिनभित्र त्यस्ता गतिविधिहरू रोक्न, हटाउन वा नगर्न/नगराउन आग्रह गरिएको छ । निर्धारित समयभित्र निर्देशनको पालना नभएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
गाउँपालिकाले सार्वजनिक सडक तथा ग्रामीण मार्गलाई व्यवस्थित, सुरक्षित र आवागमनमैत्री बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ । स्थानीय तहले सडक अतिक्रमण तथा अव्यवस्थित प्रयोग नियन्त्रण गर्न निरन्तर अनुगमन गर्ने र आवश्यक परे कडा कदम चाल्ने बताएको छ । यस सूचनाले ग्रामीण सडक क्षेत्रमा देखिँदै आएको अव्यवस्थित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले नागरिकहरूलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै नियमको पालना गर्न आग्रहसमेत गरेको छ ।
दाङ, जेठ ९ दाङको तुलसीपुरमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित अघि बढाइएको बबई नदी लिफ्टिङ आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा नगरवासीले अझै कम्तीमा छ महिना प्रतीक्षा गर्नुपर्ने भएको छ । तीन वर्षअघि सुरु गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहलगानी आयोजना अन्तिम चरणमा पुगे पनि विद्युत् जडान, होम कनेक्सन तथा केही प्राविधिक काम बाँकी रहेकाले पानी वितरणमा ढिलाइ हुने भएको हो ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारी का अनुसार निर्माणको पछिल्लो जिम्मा पाएको कम्पनीले निर्माण सामग्रीको मूल्य बढेको भन्दै केही समय काम रोकेपछि आयोजनामा ढिलाइ भएको हो । उनले निर्माण कम्पनीलाई काममा फर्काउन निरन्तर ताकेता भइरहेको र अब छिट्टै कामले गति लिने बताए । ५६ करोड ८० लाखभन्दा बढी लागतको उक्त आयोजनाअन्तर्गत बबई नदीबाट पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइनेछ । आयोजना सम्पन्न भएपछि प्रतिक्षण १०० लिटर पानी आपूर्ति गर्न सकिने संस्थाको दाबी छ । यसबाट नयाँ बसपार्क क्षेत्र, रानीजरुवा, तुलसीपुर उपमहानगरपालिका–६ का विभिन्न बस्ती लगायतका क्षेत्रमा खानेपानीको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
हालसम्म नयाँ पाइपलाइन विस्तार, विभिन्न स्थानमा एक दर्जनभन्दा बढी ट्यांकी निर्माण तथा पुराना पाइपलाइन मर्मतको काम सम्पन्न भइसकेको छ । तुलसीपुरमा निर्माणाधीन मुख्य भण्डारण ट्यांकीको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । यसैबीच, संस्थाले खानेपानीका मुहान संरक्षणमा पनि ध्यान केन्द्रित गरेको छ । उपाध्यक्ष नारायणप्रसाद शर्मा ले मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरे क्षेत्रमा भइरहेको अनधिकृत उत्खनन रोक्न पहल भइरहेको बताए । उनका अनुसार रक्षाचौरस्थित ट्रिटमेन्ट प्लान्टमा पुरानो बालुवा र गिट्टी प्रतिस्थापन गरी पानी शुद्धीकरण प्रणालीलाई थप प्रभावकारी बनाइएको छ ।
सेडिमेन्टेसन प्रविधिमार्फत पानी प्रशोधन गरिने भएकाले वर्षायाममा देखिने धमिलो पानीको समस्या अब कम हुने संस्थाको विश्वास छ । पानीलाई ठूलो ट्यांकीमा स्थिर राखेर फोहोर कण तल थिग्रिने व्यवस्था गरिएको छ भने त्यसपछि मात्र सफा पानी अर्को चरणमा पठाइने गरिएको छ । संस्थाले करिब १०० वितरण च्याम्बरलाई सुरक्षित बनाइसकेको छ भने जिआइएस प्रविधि र मोबाइल एपमार्फत सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने तयारी पनि अघि बढाएको छ । आगामी दिनमा स्मार्ट मिटर जडान गरी पारदर्शी बिलिङ प्रणाली लागू गर्ने लक्ष्य संस्थाले लिएको छ ।
हाल संस्थाले करिब १२ हजार धारामार्फत ७५ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिँदै आएको छ । तर अत्यधिक गर्मीका कारण खानेपानीका मुहान सुक्दै जाँदा तुलसीपुरका केही गाउँमा पानी वितरण प्रभावित भएको छ । कतिपय स्थानमा धारामा पानी आउन छाडेपछि संस्थाले ट्यांकरमार्फत निःशुल्क पानी वितरण गरिरहेको जनाएको छ । यसअघि चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गरी पानी वितरण सुरु गर्ने लक्ष्य राखिए पनि निर्माण ढिलाइले तुलसीपुरवासीको प्रतिक्षा अझै लम्बिएको छ ।
महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार नेपालगन्ज, धनगढी र दिपायलमा अधिकतम तापक्रम ३९ देखि ४४ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै, वीरेन्द्रनगरमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो । अत्यधिक गर्मीका कारण दिउँसो सडक तथा बजार क्षेत्रमा चहलपहल घट्न थालेको छ । नेपालगन्जका मुख्य सडकहरू दिउँसो सुनसानजस्तै देखिन थालेका छन् ।
कोहलपुर, जेठ ९ पश्चिम नेपालमा केही दिनदेखि तातो हावाको लहर चलेको छ । अत्यधिक गर्मीसँगैको तातो हावा अर्थात् ‘लु’ चल्दा यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि तातो हावा चल्न थालेपछि नेपालगन्ज, भैरहवा, धनगढी, बर्दिया, दाङ, कैलालीलगायतका तराई जिल्लामा सर्वसाधारण घरबाहिर निस्कनै मुस्किल हुन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो हावाको लहर चल्ने पूर्वसूचना जारी गरेको थियो । महाशाखाका अनुसार पश्चिम तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने र वर्षाको सम्भावना न्यून रहेकाले तापक्रम अझै बढ्न सक्ने देखिएको छ । महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार नेपालगन्ज, धनगढी र दिपायलमा अधिकतम तापक्रम ३९ देखि ४४ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै, वीरेन्द्रनगरमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो ।
अत्यधिक गर्मीका कारण दिउँसो सडक तथा बजार क्षेत्रमा चहलपहल घट्न थालेको छ । नेपालगन्जका मुख्य सडकहरू दिउँसो सुनसानजस्तै देखिन थालेका छन् । सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने गरेका छन् । नेपालगन्ज–१० का स्थानीय अर्जुन शर्मा भन्छन्, ‘बिहान ९–१० बजेदेखि नै घाम सहन नसक्ने हुन्छ । दिउँसो तातो हावा चल्दा सडकमा हिँड्नै गाह्रो हुन्छ ।’ गर्मीका कारण वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । अस्पतालहरूमा पनि गर्मीजन्य स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन् ।
भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, ज्वरो, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी हुने तथा ‘हीट स्ट्रोक’ का बिरामी बढ्न थालेका छन् । शरीरमा पानीको मात्रा घट्दा गम्भीर स्वास्थ्य समस्या हुन सक्ने भएकाले पर्याप्त पानी पिउन चिकित्सकहरूले सुझाव दिएका छन् । चिकित्सकहरूका अनुसार दिउँसोको समयमा लामो समय घाममा बस्दा शरीरको तापक्रम असन्तुलित हुन सक्छ । समयमै सावधानी नअपनाए बेहोस हुने, रक्तचाप घट्ने तथा ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन् । मौसमविद्हरूका अनुसार भारतको उत्तर प्रदेश तथा राजस्थान क्षेत्रबाट आएको तातो हावाको प्रभाव नेपालतर्फ फैलिएकाले पश्चिम तराईमा ‘हिट वेभ’ को अवस्था बनेको हो । वर्षा नहुँदा र आकाश खुला रहँदा तापक्रम झन् बढिरहेको उनीहरूको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाले दिउँसो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र लामो समय घाममा नबस्न सुझाव दिएको छ । स्वास्थ्यकर्मीहरूले बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिन आग्रह गरेका छन् । विद्यालय जाने बालबालिकालाई टोपी लगाउने, पानी बोकेर हिँड्ने तथा दिउँसो लामो समय बाहिर खेल्न नदिने सुझावसमेत दिइएको छ ।
मौसमविद्हरूका अनुसार आगामी केही दिन पश्चिम तराईमा गर्मी अझै बढ्न सक्ने सम्भावना रहेको छ । तत्काल वर्षाको सम्भावना कम रहेकाले तातो हावाको प्रभाव कायम रहने अनुमान गरिएको छ ।
चर्को गर्मीसँगै नेपालगन्ज र कोहलपुरमा विद्युत् संकट
बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेका बेला अनियमित विद्युत् आपूर्तिले सर्वसाधारण थप सास्तीमा परेका छन् । नेपालगन्जको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा दिनहुँजसो विद्युत् आउनेजाने समस्या बढेपछि नागरिकस्तरबाट दबाब सुरु भएको छ ।
नेपालगन्ज देशकै सबैभन्दा बढी गर्मी हुने क्षेत्रमध्ये पर्छ । यहाँ हरेक वर्ष जेठ सुरु भएसँगै तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथिसम्म पुग्ने गरेको छ । यस्तो अवस्थामा पंखा, कुलर, फ्रिज, पानी तान्ने मोटरलगायतका उपकरणको प्रयोग अत्यधिक बढ्ने भएकाले विद्युत् खपत पनि बढ्छ । तर, हरेक वर्ष दोहोरिने यही अवस्थालाई ध्यानमा राखेर समयमै पूर्वतयारी नगरिएको भन्दै स्थानीयले प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार केही दिनयता दिनभरि पटकपटक विद्युत् जाने समस्या बढेको छ । कतिपय स्थानमा रातिको समयमा लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा सुत्नसमेत समस्या भइरहेको उनीहरूको गुनासो छ । अत्यधिक गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।
नेपालगन्ज–१० का स्थानीय व्यवसायी रमेश गुप्ताले गर्मीका बेला नियमित विद्युत् नहुँदा व्यवसाय नै प्रभावित भएको बताए । ‘पसलमा ग्राहक बस्नै सक्दैनन् । इन्टरनेट चल्दैन, कम्प्युटर बन्द हुन्छ । दिनहुँ काम प्रभावित भइरहेको छ,’ उनले भने । त्यस्तै, नेपालगन्ज–१८ की गृहिणी सुष्मा थापाले रातिको समयमा पटकपटक लाइन जाँदा परिवारका सदस्य सुत्न नसक्ने अवस्था रहेको बताइन् । ‘पानी तान्ने मोटर चल्दैन । गर्मीले बच्चाहरू रातभर छटपटाउँछन्,’ उनले भनिन् । नागरिक अगुवाहरूले समस्या हरेक वर्ष दोहोरिने भए पनि दीर्घकालीन समाधानतर्फ प्राधिकरण गम्भीर नदेखिएको आरोप लगाएका छन् । उनीहरूले ट्रान्सफर्मरको क्षमता विस्तार, पुराना लाइनको मर्मत, वैकल्पिक आपूर्ति व्यवस्था तथा व्यवस्थित लोड व्यवस्थापनको योजना समयमै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
बुधबार नागरिक सरोकार मञ्च बाँकेको नेतृत्वमा नागरिक अगुवाहरूले नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पुगेर विद्युत् सेवा नियमित गर्न मागसमेत गरिएको छ । मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले वितरण केन्द्र प्रमुख संजयकुमार मिश्र लाई भेटेर अत्यधिक गर्मीका बेला भइरहेका अनियमित कटौतीले नागरिकको दैनिक जीवन प्रभावित भएको गुनासो गरेको हो । नागरिक अगुवाहरूले गर्मीको समयमा नेपालगन्जमा विद्युत् आपूर्ति नियमित हुनु अत्यावश्यक भए पनि पटकपटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण रातभर जाग्राम बस्न बाध्य भएको बताएका छन् । उनीहरूले विद्युत् अवरोधका कारण खानेपानी, इन्टरनेट, व्यवसाय, अध्ययन–अध्यापन तथा स्वास्थ्य सेवासमेत प्रभावित भइरहेको उल्लेख गरेका छन् ।
वितरण केन्द्र प्रमुख मिश्रले भने अत्यधिक गर्मीका कारण विद्युत् माग ह्वात्तै बढेकाले आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘अहिले विद्युत् खपत अत्यधिक बढेको छ । त्यसैले केही स्थानमा लाइन ट्रिप हुने तथा विद्युत् आउने–जाने समस्या भइरहेको छ,’ उनले भने, ‘कार्यालयको जनतालाई दुःख दिने कुनै नियत छैन । समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिएको छ ।’ स्थानीयले यदि कुनै प्राविधिक समस्या वा मर्मतका कारण विद्युत् कटौती गर्नुपरे त्यसबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने मागसमेत गरेका छन् । ‘घण्टौँसम्म ‘प्राविधिक समस्या’ भनेर लाइन काट्ने तर कहिले आउने भन्ने जानकारी नदिने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ नागरिक सरोकार मञ्चका प्रतिनिधिहरूले बताएका छन् ।
स्थानीयका अनुसार अहिले विद्युत् बत्ती बाल्ने सुविधा मात्र नभई आधारभूत आवश्यकता बनिसकेको छ । अस्पतालका सेवा, अनलाइन कक्षा, बैंकिङ कारोबार, सञ्चार सेवा तथा खानेपानी आपूर्ति सबै विद्युत्मै निर्भर भएकाले अनियमित आपूर्तिले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । विशेषगरी नेपालगन्जजस्तो अत्यधिक गर्मी हुने क्षेत्रमा विद्युत् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ । उनीहरूले हरेक वर्ष नागरिकले उही समस्या भोगिरहनु र समाधानका लागि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । नागरिक अगुवाहरूले सम्बन्धित निकायलाई अब अस्थायी व्यवस्थापनभन्दा दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन् । ‘समस्या हरेक वर्ष दोहोरिन्छ भने त्यसको समाधानका लागि समयमै तयारी हुनुपर्छ । अत्यधिक गर्मीमा घण्टौँसम्म बिजुली काटिनु केवल व्यवस्थापन कमजोरी मात्र होइन, यो जनताको स्वास्थ्य, सुरक्षा र सम्मानसँग जोडिएको विषय हो,’ उनीहरूको भनाइ छ ।




