२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

मनाङ–वेशिसहर सडक खण्डमा मनाङ चिनोखोला जलविधुत आयोजनाको पाईप बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

शनिबार बिहान मनाङको नासो गाँउपालिका–३ स्थित खोत्रोमा पाईप बोकी ल्याएको लु २ ख १८८ नं.को ट्रक उकालो चड्ने क्रममा उकालो तान्न नसकी सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको इप्रका धारापानीका प्रह.मान बहादुर गुरुङले जानकारी दिए।

दुर्घटनामा घाइते भएका चालक सिन्धुपाल्चोक भोटेकोशी गापा–३ बस्ने ३२ वर्षीय  गंगा लाम्गाती र ट्रकमा सवार मनाङ नासो गापा–१ बस्ने ६८ वर्षीय सुर्य बहादुर गुरुङ घाइते भएका छन्। 

उनीहरुलाई उपचारको लागि लम्जुङ पठाइएको प्रह गुरुङले जानकारी दिए।

स्थानियहरुरुले बाटो सागुरोको कारण घटना घटेको निष्कर्ष निकालि उक्त बाटोमा फराकिलो नबनाउदा सम्म हाईड्रोपावरको मालबाहक गाडी चल्न नदिने निर्णय भएको उनले बताए। 

कञ्चनपुर, जेठ १६   शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्छिन् । तर उनी नगदमा तरकारी बेच्दिनन् । खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेला जस्ता तरकारी उनले गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिन्छिन् ।

‘आजभोलि गहुँको याम भएकाले गहुँसँग तरकारी साट्छौँ, धानको सिजनमा धानसँग पनि साट्छौँ’, उनले भनिन्, ‘दुई तौल गहुँबराबर एक तौल तरकारी दिन्छौँ, नगदभन्दा अन्नसँग साट्दा बढी फाइदा हुन्छ ।’ साँझ खेतबारीबाट तरकारी टिपेर सफा गरी टोकरीमा राख्ने र बिहानै गाउँगाउँ पुगेर अन्नसँग साट्ने काम दैनिकजसो हुने गरेको उनी बताउँछिन् । अहिले गाउँघरमा ताजा तरकारीको माग बढेकाले महिलाहरूले २० देखि ३५ किलोसम्म तरकारी टोकरीमा बोकेर बिक्रीका लागि लैजाने गर्छिन् । तरकारीसँग अन्न साटेपछि फर्किँदा भारी दोब्बर हुने भएकाले घरपरिवारका सदस्यलाई फोन गरेर अन्न बोक्न बोलाउनुपर्ने अवस्था आउने गरेको उनले सुनाइन् ।

कञ्चनपुरका ग्रामीण क्षेत्रमा तरकारीसँग अन्न साट्ने चलन नयाँ होइन । लालझाडी गाउँपालिका–४ का मङ्गलबहादुर चौधरीका अनुसार यो परम्परा धेरै पुरानो हो । ‘पहिले नगदको पहुँच कम हुँदा गाउँघरमा वस्तु साटासाटको चलन थियो’, उनले भने, ’अहिले बजार र प्रविधिको पहुँच बढे पनि गाउँमा त्यो चलन अझै बाँकी छ ।’ विशेषगरी ग्रामीण क्षेत्रमा अधिकांश परिवार कृषिमा निर्भर भएकाले सिजनअनुसार अन्नको उपलब्धता हुने गर्छ । त्यही कारण किसानहरू नगदभन्दा अन्न दिएर तरकारी लिन सहज मान्छन् । अन्नसँग तरकारी साट्दा किसानलाई दोहोरो फाइदा हुने गरेको छ । एकातिर तरकारीखेती गर्ने परिवारले वर्षभरिको अन्न जुटाउन सक्छन् भने अर्कातर्फ बजारमा बिक्री गर्दा नगद आम्दानी पनि हुन्छ । अहिले बजारमा तरकारी प्रतिकिलो रु २० देखि रु ५० सम्ममा बिक्री भइरहेको छ भने गहुँको मूल्य प्रतिकिलो रु ४० देखि रु ४२ सम्म रहेको छ ।

थोरै जमिन भएका किसानका लागि तरकारीखेती आम्दानीको महत्त्वपूर्ण स्रोत बन्दै गएको पिपलाडीका गङ्गा चौधरी बताउँछन् । ‘उत्पादन भएको तरकारी अन्नसँग साटेर घरखर्च चलाउने र बाँकी बजारमा बिक्री गरेर नगद आम्दानी हुन्छ’, उनले भने, ‘सासूहरूले पनि यसैगरी पहिला तरकारी बेच्थे, अहिले पनि ग्रामीण क्षेत्रमा अझै यो प्रचलन जीवित रहेको छ ।’ तरकारी उत्पादनमा पुरुषको सहभागिता रहने भए पनि तरकारी स्याहार्ने, रोगकीरा नियन्त्रण गर्ने, टिप्ने र गाउँगाउँ पुगेर बिक्री गर्ने काममा महिलाको भूमिका बढी देखिन्छ । यसले ग्रामीण महिलाको आर्थिक सक्रियता र पारिवारिक जिम्मेवारी दुवैलाई उजागर गरेको छ ।

नेपालगन्ज, जेठ १६   बर्दियाको बाँसगढी नगरपालिका–४ का ४३ वर्षीय ज्ञानबहादुर थापामगर रोजगारीका क्रममा रुस पुगेको केही समयपछि सम्पर्कविहीन बने । श्रीमान्‌को अवस्था पत्ता लगाउने आशामा त्यही देश पुगेकी उनकी श्रीमती इन्दिरा थापामगरको पनि उपचारकै क्रममा निधन भएपछि तीन सन्तानसहित परिवार गहिरो शोक र अन्योलमा परेको छ । वैदेशिक रोजगारीको सपना एकै परिवारका दुई जीवन गुमाउने पीडादायी घटनामा परिणत भएको हो ।

गरिबी र बेरोजगारीबाट परिवारलाई उकास्ने उद्देश्यसहित ज्ञानबहादुर केही वर्षअघि वैदेशिक रोजगारीका लागि विदेशिएका थिए । सुरुमा दुबई जाने तयारीमा रहेका उनी एजेन्टको प्रलोभनमा परेर रुस पुगेको परिवारको भनाइ छ । त्यहाँ पुगेपछि उनी युक्रेन युद्धसँग सम्बन्धित जोखिमपूर्ण क्षेत्रमा पुगेको र त्यसपछि सम्पर्कविहीन भएको बताइन्छ । लामो समयसम्म श्रीमान्‌को कुनै अत्तोपत्तो नलागेपछि परिवार चिन्तित बनेको थियो । कास्की पोखराको बाटुलेचौरमा तीन सन्तानसहित मजदुरी गरेर जीवन चलाउँदै आएकी इन्दिरा थापामगर श्रीमान्‌को खोजीका लागि अन्ततः रुस जाने निर्णयमा पुगिन् । परिवारका अनुसार उनी श्रीमान्‌को अवस्थाबारे बुझ्ने र भविष्य सुरक्षित गर्ने आशामा कष्टपूर्ण यात्रा गरेर रुस पुगेकी थिइन् ।

तर त्यहाँ पुगेपछि इन्दिराले श्रीमान् बेपत्ता भएको र मृत्यु भइसकेको जानकारी पाएकी पारिवारिक स्रोतले जनाएको छ । सबै कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला उनी अचानक अस्वस्थ भइन् । मस्कोस्थित अस्पतालमा उपचारका क्रममा गत वैशाख ३१ गते उनको निधन भएको हो । इन्दिराका बुवा चिरन कार्कीका अनुसार छोरी फागुन ४ गते पोखराबाट काठमाडौँ हुँदै रुस गएकी थिइन् । ‘श्रीमान्‌को खोजी र परिवार बचाउने आशामा गएकी छोरी अब आफैं फर्किन सकिनन्,’ उनले पीडा व्यक्त गरे । हाल इन्दिराका तीन सन्तान पोखरा महानगरपालिका–१३ कसेरीस्थित मामाघरमा बसिरहेका छन् । कान्छा छोरा ८ वर्षीय सौरव थापामगर मुटु रोगबाट पीडित छन् । नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावका कारण उपचार रोकिएको परिवारले जनाएको छ ।

परिवारका अनुसार सौरवलाई आमाको निधनको खबर अझै दिइएको छैन । तर पछिल्ला दिनमा उनी चुपचाप बस्ने, टोलाउने र भावशून्य देखिन थालेको हजुरबुबा चिरन कार्की बताउँछन् । परिवारका जेठो छोरा २४ वर्षीय निरज थापामगरले बुबाको मृत्यु पुष्टि भएपछि हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको बताए । ‘बुबाको किरिया सकिन नपाउँदै आमाको पनि निधन भयो, अब हामी के गर्ने ?’ भन्दै उनले भावुक हुँदै प्रश्न गरे । यता, इन्दिराले रुसबाट अन्तिम सम्पर्क गर्दा आफूजस्तै समस्यामा परेका नेपाली महिलाहरू एउटै कोठामा कष्टपूर्ण अवस्थामा बसिरहेको बताएकी थिइन् । कामको दबाब, सहयोगको अभाव र अनिश्चित भविष्यबीच धेरै नेपाली श्रमिक कठिन परिस्थितिमा बाँचिरहेको उनको अनुभव रहेको आफन्तहरूले सम्झिएका छन् ।

रुस पुगेका सहयोगी आफन्तसमेत विभिन्न समस्यामा परेका थिए । मस्को विमानस्थलमा पुग्नेबित्तिकै कागजात र आर्थिक अभावका कारण उनी अलपत्र परेका र केहीलाई त्यतैबाट फर्काइएको विवरण परिवारले सार्वजनिक गरेको छ । यो घटनाले वैदेशिक रोजगारीको जोखिमपूर्ण यथार्थ फेरि उजागर गरेको छ । दलाल तथा एजेन्टको प्रलोभन, युद्धग्रस्त क्षेत्रतर्फ श्रम आपूर्ति र कानुनी सुरक्षाको अभावका कारण नेपाली श्रमिकहरू जीवन जोखिममा राखेर काम गर्न बाध्य भइरहेका छन् । हाल थापामगर परिवार दुवैको शव नेपाल ल्याउन कूटनीतिक पहल र सरकारी सहयोगको अपेक्षासहित सम्बन्धित निकायको पर्खाइमा छ । परिवारले दुवैको शव स्वदेश ल्याउन नेपाल सरकार र सम्बन्धित निकायको सक्रिय पहल आवश्यक रहेको माग गरेको छ ।

राप्तीसोनारी, जेठ १५  राप्तीसोनारी गाउँपालिकाको कार्यालय, अगैयामा कार्यरत कर्मचारीहरूले कार्यालय परिसरभित्र प्रवेश गरी कर्मचारीमाथि दुर्व्यवहार तथा कामकाजमा अवरोध गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । गाउँपालिका कर्मचारीहरूको तर्फबाट गाउँपालिकाका अध्यक्षसमक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा बुधबार दिउँसो करिब ३ बजेको समयमा केही व्यक्ति हुलहुज्जतसहित कार्यालय हाताभित्र प्रवेश गरी कार्यालयको नियमित सेवा प्रवाहमा बाधा पुर्‍याएको उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, ‘सार्वजनिक सेवा प्रवाहलाई असर पर्ने गरी कर्मचारीहरूमाथि गरिएको अभद्र व्यवहार, धम्की तथा अस्वाभाविक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य हुने छैन ।’ राष्ट्रसेवक कर्मचारीहरूले कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा कार्यस्थलमै पुगेर गरिएको यस्तो व्यवहारले समग्र सार्वजनिक प्रशासनप्रति नकारात्मक असर पार्ने कर्मचारीहरूको भनाइ छ । कर्मचारीहरूले कार्यालयमा शान्ति, सुरक्षा तथा मर्यादित वातावरण कायम गर्न सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । साथै, घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी तथा प्रशासनिक कारबाहीको माग पनि गरिएको छ ।

ध्यानाकर्षण पत्रमा यदि आवश्यक वातावरण निर्माण नभएमा कर्मचारीहरू काममा फर्कन नसक्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । घटनाबारे गाउँपालिकाको तर्फबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ । स्थानीय तहको सेवा प्रवाह प्रभावित हुन सक्ने विषयलाई लिएर सरोकारवालाहरूबीच चासो बढेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।