नेपालगन्ज, जेठ १६ बर्दियाको बाँसगढी नगरपालिका–४ का ४३ वर्षीय ज्ञानबहादुर थापामगर रोजगारीका क्रममा रुस पुगेको केही समयपछि सम्पर्कविहीन बने । श्रीमान्को अवस्था पत्ता लगाउने आशामा त्यही देश पुगेकी उनकी श्रीमती इन्दिरा थापामगरको पनि उपचारकै क्रममा निधन भएपछि तीन सन्तानसहित परिवार गहिरो शोक र अन्योलमा परेको छ । वैदेशिक रोजगारीको सपना एकै परिवारका दुई जीवन गुमाउने पीडादायी घटनामा परिणत भएको हो ।
गरिबी र बेरोजगारीबाट परिवारलाई उकास्ने उद्देश्यसहित ज्ञानबहादुर केही वर्षअघि वैदेशिक रोजगारीका लागि विदेशिएका थिए । सुरुमा दुबई जाने तयारीमा रहेका उनी एजेन्टको प्रलोभनमा परेर रुस पुगेको परिवारको भनाइ छ । त्यहाँ पुगेपछि उनी युक्रेन युद्धसँग सम्बन्धित जोखिमपूर्ण क्षेत्रमा पुगेको र त्यसपछि सम्पर्कविहीन भएको बताइन्छ । लामो समयसम्म श्रीमान्को कुनै अत्तोपत्तो नलागेपछि परिवार चिन्तित बनेको थियो । कास्की पोखराको बाटुलेचौरमा तीन सन्तानसहित मजदुरी गरेर जीवन चलाउँदै आएकी इन्दिरा थापामगर श्रीमान्को खोजीका लागि अन्ततः रुस जाने निर्णयमा पुगिन् । परिवारका अनुसार उनी श्रीमान्को अवस्थाबारे बुझ्ने र भविष्य सुरक्षित गर्ने आशामा कष्टपूर्ण यात्रा गरेर रुस पुगेकी थिइन् ।
तर त्यहाँ पुगेपछि इन्दिराले श्रीमान् बेपत्ता भएको र मृत्यु भइसकेको जानकारी पाएकी पारिवारिक स्रोतले जनाएको छ । सबै कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला उनी अचानक अस्वस्थ भइन् । मस्कोस्थित अस्पतालमा उपचारका क्रममा गत वैशाख ३१ गते उनको निधन भएको हो । इन्दिराका बुवा चिरन कार्कीका अनुसार छोरी फागुन ४ गते पोखराबाट काठमाडौँ हुँदै रुस गएकी थिइन् । ‘श्रीमान्को खोजी र परिवार बचाउने आशामा गएकी छोरी अब आफैं फर्किन सकिनन्,’ उनले पीडा व्यक्त गरे । हाल इन्दिराका तीन सन्तान पोखरा महानगरपालिका–१३ कसेरीस्थित मामाघरमा बसिरहेका छन् । कान्छा छोरा ८ वर्षीय सौरव थापामगर मुटु रोगबाट पीडित छन् । नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावका कारण उपचार रोकिएको परिवारले जनाएको छ ।
परिवारका अनुसार सौरवलाई आमाको निधनको खबर अझै दिइएको छैन । तर पछिल्ला दिनमा उनी चुपचाप बस्ने, टोलाउने र भावशून्य देखिन थालेको हजुरबुबा चिरन कार्की बताउँछन् । परिवारका जेठो छोरा २४ वर्षीय निरज थापामगरले बुबाको मृत्यु पुष्टि भएपछि हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको बताए । ‘बुबाको किरिया सकिन नपाउँदै आमाको पनि निधन भयो, अब हामी के गर्ने ?’ भन्दै उनले भावुक हुँदै प्रश्न गरे । यता, इन्दिराले रुसबाट अन्तिम सम्पर्क गर्दा आफूजस्तै समस्यामा परेका नेपाली महिलाहरू एउटै कोठामा कष्टपूर्ण अवस्थामा बसिरहेको बताएकी थिइन् । कामको दबाब, सहयोगको अभाव र अनिश्चित भविष्यबीच धेरै नेपाली श्रमिक कठिन परिस्थितिमा बाँचिरहेको उनको अनुभव रहेको आफन्तहरूले सम्झिएका छन् ।

रुस पुगेका सहयोगी आफन्तसमेत विभिन्न समस्यामा परेका थिए । मस्को विमानस्थलमा पुग्नेबित्तिकै कागजात र आर्थिक अभावका कारण उनी अलपत्र परेका र केहीलाई त्यतैबाट फर्काइएको विवरण परिवारले सार्वजनिक गरेको छ । यो घटनाले वैदेशिक रोजगारीको जोखिमपूर्ण यथार्थ फेरि उजागर गरेको छ । दलाल तथा एजेन्टको प्रलोभन, युद्धग्रस्त क्षेत्रतर्फ श्रम आपूर्ति र कानुनी सुरक्षाको अभावका कारण नेपाली श्रमिकहरू जीवन जोखिममा राखेर काम गर्न बाध्य भइरहेका छन् । हाल थापामगर परिवार दुवैको शव नेपाल ल्याउन कूटनीतिक पहल र सरकारी सहयोगको अपेक्षासहित सम्बन्धित निकायको पर्खाइमा छ । परिवारले दुवैको शव स्वदेश ल्याउन नेपाल सरकार र सम्बन्धित निकायको सक्रिय पहल आवश्यक रहेको माग गरेको छ ।












