झापा साउन १२ । पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट गत आर्थिक वर्ष २०८२/८३ मा भिसा दस्तुरवापत रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन भएको छ। सो अवधिमा नौ हजारभन्दा बढी विदेशी नागरिकले यही नाकाबाट नेपाल प्रवेश गरेसँगै अध्यागमन कार्यालयको राजस्व सङ्कलन उल्लेख्य बनेको हो।
काँकरभिट्टा अध्यागमन कार्यालयका निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार गत आर्थिक वर्षमा उक्त नाका हुँदै नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेका थिए।
कार्यालयले सो अवधिमा आठ हजार २९७ पर्यटक भिसा जारी गरेको छ। त्यस्तै १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा प्रदान गरिएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल भित्रिएका थिए। तीमध्ये सबैभन्दा बढी भुटानका चार हजार ९९४ जना अर्थात् कुल आगन्तुकको ५३ प्रतिशत रहेका छन्। त्यसपछि अमेरिकाका दुई हजार १५२ जना नागरिकले यो नाका प्रयोग गरी नेपाल प्रवेश गरेका छन्, जुन कुल आगन्तुकको २३ प्रतिशत हो।

कार्यालयका अनुसार पुस र माघ महिनामा सबैभन्दा धेरै विदेशी नागरिक नेपाल भित्रिने गरेका छन्। विशेषगरी भुटानमा जाडो बिदा पर्ने समय भएकाले त्यहाँका नागरिक झापा तथा आसपासका क्षेत्रमा रहेका आफन्तसँग भेटघाट गर्न नेपाल आउने गरेका छन्। साथै पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेवको दर्शनका लागि पनि यही अवधिमा भुटानी नागरिकको आगमन उल्लेख्य रहने गरेको कार्यालयको भनाइ छ।
काँकरभिट्टा नाका भारतसँग जोडिएको पूर्वी नेपालको प्रमुख स्थल नाका भएकाले पर्यटन, पारिवारिक भेटघाट तथा धार्मिक यात्राका लागि आउने विदेशी नागरिकको आवागमनमा यसको महत्वपूर्ण भूमिका रहेको छ।















