२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

वीरेन्द्रनगर,साउन १२   कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा र नेकपा (एमाले) का २४ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका शाहीले सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।

यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए। सोही आह्वानअनुसार शाहीले नेकपाका १४ र एमालेका १० गरी २४ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

शाही कर्णाली प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्री बनेका छन्। केन्द्रमा नेकपा र एमालेबीच भएको सत्ता सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो।

मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनी तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै शाहीले अब मन्त्रिपरिषद् विस्तार र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।

लुम्बिनी प्रदेश सरकारमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस औपचारिक रूपमा सरकारबाट बाहिरिएको छ। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना पाँच मन्त्रीको सामूहिक राजीनामा मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष बुझाएपछि प्रदेश सरकार नयाँ राजनीतिक समीकरणअनुसार पुनर्गठन हुने निश्चित भएको छ।

कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई समर्थन फिर्ताको पत्र र पाँच मन्त्रीको राजीनामा बुझाएकी हुन्। संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र प्रमुख सचेतक जमुना ढकाल पार्टीको कामका सिलसिलामा काठमाडौंमा रहेकाले उनीहरूको अनुपस्थितिमा सचेतकमार्फत पत्र बुझाइएको बताइएको छ।

राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपाने तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार रहेका छन्। तीमध्ये आर्थिकमन्त्री कार्की र उद्योगमन्त्री न्यौपाने प्रत्यक्ष रूपमा उपस्थित भएर राजीनामा बुझाएका थिए।

कांग्रेस संसदीय दलका नेता चौधरीले केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिइएको र सबै मन्त्रीको सामूहिक राजीनामा दलमार्फत बुझाइएको जानकारी दिए।

कांग्रेसको समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। यद्यपि एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्यको सहमति बनेपछि नेकपाका १३ सांसदको समर्थनमा नयाँ समीकरणको सरकार गठन गर्ने तयारी अघि बढेको छ। ८३ सदस्य कायम रहेको प्रदेशसभामा सरकार गठनका लागि ४२ मत आवश्यक पर्ने भएकाले एमाले–नेकपा गठबन्धनले साना दल वा स्वतन्त्र सांसदको समर्थन पनि जुटाउनुपर्ने अवस्था रहेको छ। लोसपाले समेत एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको स्रोतले जनाएको छ।

मुख्यमन्त्री आचार्यले कांग्रेसको बहिर्गमनसँगै केन्द्रको पछिल्लो सहमतिअनुसार सरकार पुनर्गठनको प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार अब नेकपासँग औपचारिक छलफल गरी एक–दुई दिनभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको छ।

यसबीच एमालेभित्र मुख्यमन्त्रीको निरन्तरताबारे पनि आन्तरिक छलफल भइरहेको छ। एक पक्षले आचार्यलाई नै निरन्तरता दिनुपर्ने धारणा राखे पनि अर्को पक्षबाट नेतृत्व परिवर्तनको चर्चा चलिरहेको छ। पूर्वमुख्यमन्त्री लिला गिरी तथा पूर्वमन्त्री भूमीश्वर ढकालको नाम पनि सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा आएको छ। केन्द्रको निर्णयपछि लुम्बिनी प्रदेश सरकारको नयाँ नेतृत्व र मन्त्रिपरिषद्को स्वरूप टुंगिने अपेक्षा गरिएको छ।

वीरेन्द्रनगर,साउन १२ । कर्णाली प्रदेशमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेकपा र नेकपा (एमाले) को संयुक्त समर्थनसहित दाबी पेस गरेपछि शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।

मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर शाहीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाका अनुसार शाहीले आवश्यक बहुमतसहितको समर्थनपत्र बुझाएका छन्।

शाहीको पक्षमा नेकपाका १४ र एमालेका १० गरी २४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २१ जना सदस्यको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। आवश्यकभन्दा बढी सांसदको समर्थन जुटाएका कारण उनको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चितजस्तै भएको हो।

प्रदेश प्रमुख यज्ञराज जोशीले सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए। यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो।

कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १५, नेकपाका १४, सभामुखसहित एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक स्वतन्त्र सांसद रहेका छन्। नेकपा–एमालेबीच केन्द्रमा भएको सत्ता सहमतिअनुसार कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति बनेपछि शाहीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको हो।

मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित शाही यसअघि तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा विजयी भएका थिए। उनी कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

शाहीको नियुक्तिसँगै कर्णालीमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

सुनसरी,साउन १२।  सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनापछि उत्पन्न तनाव मंगलबार पनि कायमै रह्यो। निषेधाज्ञा (कर्फ्यु) जारी रहेकै अवस्थामा स्थानीयले सडकमा उत्रिएर प्रदर्शन गर्दै सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। प्रदर्शनकारीले गृहमन्त्री सुधन गुरुङविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रदर्शनकारीहरूले घटनापछि प्रभावित क्षेत्रमा शान्ति स्थापना र अवस्था सामान्य बनाउन सरकार प्रभावकारी रूपमा सक्रिय नभएको आरोप लगाएका छन्। उनीहरूले स्थानीय प्रशासनले समयमै आवश्यक पहल नगर्दा तनाव अझ बढेको दाबी गरेका छन्।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन मेहताले पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुनसरीले घटनालगत्तै देखाउनुपर्ने सक्रियता नदेखाएको आरोप लगाए। उनका अनुसार सरुवा भएका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले घटनापछि प्रभावकारी समन्वय गर्न नसकेको र नयाँ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पनि दुवै पक्षबीच संवाद गराएर समस्या समाधानतर्फ आवश्यक पहल नगरेको बताए।

अध्यक्ष मेहताले मंगलबार बिहान नयाँ प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत छलफल गरी अवस्था सहज बनाउन आग्रह गरेको जानकारी दिँदै त्यसपछि पनि अपेक्षित प्रतिक्रिया नआएको गुनासो गरे।

उनले गाउँपालिकाको पहलमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी सामाजिक सद्भाव कायम गर्ने र वार्तामार्फत समस्या समाधानको वातावरण बनाउन प्रयास भइरहेको बताए।

गत आइतबार राति दुई युवा समूहबीच भएको विवाद हिंसात्मक बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा कम्तीमा २१ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनापछि प्रशासनले क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि मंगलबार दिनभर प्रदर्शनकारीले कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। घटनास्थल र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइए पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन।

नेपालगञ्ज ,साउन १२ ।   खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गरी उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्‍याउने खाद्य पदार्थ उत्पादन तथा बिक्री गर्ने दुई व्यवसायीलाई बाँके जिल्ला अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ। अदालतको फैसलासँगै खाद्य मापदण्ड पालना नगर्ने व्यवसायीमाथि कानुनी कारबाही कडा हुने सन्देश गएको छ।

बाँके जिल्ला अदालतले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुई फरक मुद्दामा फैसला सुनाउँदै एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई रु. ५० हजार जरिवाना गरेको हो।

जिल्ला न्यायाधीश राजु ढुङ्गानाको इजलासले कोहलपुर–११ स्थित अस्मिता चाउमिन उद्योगका सञ्चालक पर्शुराम घिमिरेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत दोषी ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको छ।

यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगञ्ज–२ स्थित गौरी मिनी मार्टका सञ्चालक रामजी वैश्यलाई रु. ५० हजार जरिवाना गर्ने फैसला गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए।

उनका अनुसार गौरी मिनी मार्टबाट बिक्री भइरहेको मास दालको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा दालमा प्रतिबन्धित बाह्य रङ प्रयोग भएको पुष्टि भएको थियो। त्यसपछि कार्यालयले मुद्दा दायर गरेको थियो।

दुवै मुद्दामा अदालतले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको बजार अनुगमन, नमूना सङ्कलन, प्रयोगशाला परीक्षण तथा अनुसन्धानलाई प्रमाणका रूपमा स्वीकार गर्दै फैसला गरेको हो। फैसलामा खाद्य व्यवसायीले उत्पादन तथा बिक्री गर्ने खाद्य वस्तुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्नु कानुनी दायित्व भएको उल्लेख गरिएको छ।

यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बर्दियाको गुलरियास्थित आनन्द ड्रिङ्किङ वाटर उद्योगद्वारा उत्पादित प्रशोधित पिउने पानी तथा बाँसगढीस्थित सिजी फुड्स इन्टरप्राइजेज प्रालिले उत्पादन गरेको वाइवाइसहित चार ब्रान्डका तयारी चाउचाउ बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षभरि बाँके, बर्दिया र आसपासका क्षेत्रमा ५४० स्थानमा बजार अनुगमन गरिएको थियो। अनुगमनका क्रममा गुणस्तरहीन तथा कैफियतयुक्त ठहरिएका रु. ६ लाख ३८ हजार ८६४ बराबरका खाद्य तथा दाना पदार्थ नष्ट गरिएको छ।

कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने खाद्य वस्तुको उत्पादन, भण्डारण र बिक्रीमा कानुनी मापदण्ड कडाइका साथ पालना गर्न व्यवसायीलाई आग्रह गर्दै आगामी दिनमा पनि अनुगमन र कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

नेपालगञ्ज ,साउन १२ । पश्चिम नेपालकै प्रमुख प्रेषण अस्पताल भेरी अस्पतालले आफ्नो १३६औँ जन्मोत्सव मंगलबार विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको उपचारको प्रमुख केन्द्र भएकाले यसको स्तरवृद्धि सबैको साझा दायित्व भएको बताए। उनले अस्पतालका लागि आफ्नो पहलमा ३२५ करोड रुपैयाँ बजेट विनियोजन भए पनि सरकार परिवर्तनका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा अस्पतालको विकासका लागि पुनः संयुक्त पहल आवश्यक रहेको धारणा राखे।

अस्पतालमा पर्याप्त जनशक्ति र सघन उपचार कक्ष (आईसीयू) सेवाको आवश्यकता रहेको उल्लेख गर्दै उनले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। अस्पतालमा हुने अवाञ्छित गतिविधि रोक्न र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न पनि उनले प्रशासनसँग आग्रह गरे।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले प्रदेश सरकारले भेरी अस्पतालको पूर्वाधार विकासमा आवश्यक सहयोग जारी राख्ने बताए। उनले आगामी आर्थिक वर्षमा अस्पतालका लागि ५० शैयाको समता भवन निर्माण गरिने जानकारी दिँदै यसले आमा तथा शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रदेशसभा सदस्य माया पुनले भेरी अस्पताल यस क्षेत्रका नागरिकको भरोसाको केन्द्र बनेको उल्लेख गर्दै सेवा गुणस्तरलाई अझ प्रभावकारी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने बताइन्।

कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले अस्पतालको वर्तमान सेवा, उपलब्धि, चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए। उनले अस्पतालले बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्दै सेवा विस्तारका लागि विभिन्न योजना अघि बढाइरहेको बताए।

जन्मोत्सवको अवसरमा अस्पतालको स्मारिका विमोचन, उत्कृष्ट कर्मचारी सम्मान तथा नाटकसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, केपी खनाल, सुस्मा स्वर्णकार, प्रदेशसभा सदस्य बादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, संघीय स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा. निरज भट्टराईलगायतको उपस्थिति रहेको थियो।

अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्ट धितालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भेरी अस्पतालले १३६ वर्षको सेवा यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

काठमाडौँ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ४ मालिका टोलस्थित महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

मंगलबार बिहान करिब ९:१५ बजे दोधारा चाँदनी ४ निवासी ४५ वर्षीय रामबहादुर सिंह पौडी खेल्न महाकाली नदीमा गएका बेला नदीको बहाव एक्कासि बढेपछि झोलुंगे पुलबाट करिब दुई किलोमिटर दक्षिण नदीको बीचमा फसेका थिए । पानीको सतह बढेसँगै उनी किनारमा फर्किन नसकेपछि स्थानीयले तत्काल सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

झापा साउन १२ । पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट गत आर्थिक वर्ष २०८२/८३ मा भिसा दस्तुरवापत रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन भएको छ। सो अवधिमा नौ हजारभन्दा बढी विदेशी नागरिकले यही नाकाबाट नेपाल प्रवेश गरेसँगै अध्यागमन कार्यालयको राजस्व सङ्कलन उल्लेख्य बनेको हो।

काँकरभिट्टा अध्यागमन कार्यालयका निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार गत आर्थिक वर्षमा उक्त नाका हुँदै नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेका थिए।

कार्यालयले सो अवधिमा आठ हजार २९७ पर्यटक भिसा जारी गरेको छ। त्यस्तै १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा प्रदान गरिएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल भित्रिएका थिए। तीमध्ये सबैभन्दा बढी भुटानका चार हजार ९९४ जना अर्थात् कुल आगन्तुकको ५३ प्रतिशत रहेका छन्। त्यसपछि अमेरिकाका दुई हजार १५२ जना नागरिकले यो नाका प्रयोग गरी नेपाल प्रवेश गरेका छन्, जुन कुल आगन्तुकको २३ प्रतिशत हो।

कार्यालयका अनुसार पुस र माघ महिनामा सबैभन्दा धेरै विदेशी नागरिक नेपाल भित्रिने गरेका छन्। विशेषगरी भुटानमा जाडो बिदा पर्ने समय भएकाले त्यहाँका नागरिक झापा तथा आसपासका क्षेत्रमा रहेका आफन्तसँग भेटघाट गर्न नेपाल आउने गरेका छन्। साथै पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेवको दर्शनका लागि पनि यही अवधिमा भुटानी नागरिकको आगमन उल्लेख्य रहने गरेको कार्यालयको भनाइ छ।

काँकरभिट्टा नाका भारतसँग जोडिएको पूर्वी नेपालको प्रमुख स्थल नाका भएकाले पर्यटन, पारिवारिक भेटघाट तथा धार्मिक यात्राका लागि आउने विदेशी नागरिकको आवागमनमा यसको महत्वपूर्ण भूमिका रहेको छ।

नेपालगञ्ज ,साउन १२ । लुम्बिनी प्रदेश सरकारले भेरी अस्पतालमा मातृ तथा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी बनाउन आगामी आर्थिक वर्षभित्र ५० शैयाको ‘समता भवन’ निर्माण गर्ने घोषणा गरेको छ।

भेरी अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले समता भवन निर्माणले आमा तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय, सुरक्षित र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माणको योजना अघि सारिएको बताए।

मन्त्री खत्रीले कोभिड–१९ महामारीपछि भेरी अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर र क्षमता दुवैमा उल्लेखनीय सुधार गरेको भन्दै अस्पतालको थप स्तरवृद्धिका लागि प्रदेश सरकार निरन्तर सहयोगी रहेको बताए।

उनले अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक करिब दुईदेखि साढे दुई करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए। आगामी दिनमा पनि सेवा विस्तार, भौतिक पूर्वाधार विकास तथा दक्ष जनशक्ति व्यवस्थापनका क्षेत्रमा प्रदेश सरकारको सहयोग निरन्तर रहने उनको भनाइ थियो।

भेरी अस्पताल पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित भएको उल्लेख गर्दै मन्त्री खत्रीले अस्पताललाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

काठमाडौं ,साउन १२  देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनाले ६ जनाको ज्यान लिएको छ भने १४३ जना घाइते भएका छन्। दुर्घटनाबाट सबैभन्दा धेरै प्रभावित लुम्बिनी प्रदेश बनेको छ, जहाँ एक जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा भएका दुर्घटनामध्ये घाइतेको संख्या लुम्बिनीमा सबैभन्दा बढी रहेको हो। मधेश प्रदेशमा ३१ जना घाइते भए पनि मृत्यु हुने संख्या एक जना रहेको छ। कोशी प्रदेशमा पनि एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

काठमाडौं उपत्यकामा दुई जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु हुँदा ११ जना घाइते भएका छन्।

यस्तै, कर्णाली प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा ९ जना र बागमती प्रदेशमा ८ जना घाइते भएका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेहरू धनकुटा, बारा, ललितपुर, काठमाडौं, पाल्पा र अछाम जिल्लाका एक–एक जना रहेका छन्।

प्रहरीले सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउनु, ट्राफिक नियमको उल्लंघन तथा वर्षायामका कारण सडक चिप्लो हुनु रहेको जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई गति नियन्त्रणमा राख्न, सवारीको प्राविधिक अवस्था नियमित परीक्षण गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।