२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

रेडियो नेपालको लोकतन्त्रमा ठुलो योगदान : मन्त्री तिमिल्सिना

काठमाडौं, चैत २० गते    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले रेडियो नेपाल ले मुलुकमा लोकतन्त्र स्थापना र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ।

रेडियो नेपालको ७६औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले विगत र वर्तमानको तुलना गर्दै रेडियोको दायरा फराकिलो र प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले रेडियो नेपालको संरक्षण, सुदृढीकरण र विश्वसनीयता कायम राख्ने जिम्मेवारी त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीकै काँधमा रहेको स्पष्ट पार्नुभयो।

मन्त्री तिमिल्सिनाले लोकतन्त्रलाई संस्थागत गर्न सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताउँदै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सबैलाई आग्रह गर्नुभयो। “देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको हो,” उहाँले भन्नुभयो, “त्यसैले जिम्मेवार र इमान्दार पत्रकारिता आजको आवश्यकता हो।”

उहाँले आफूले पनि विगतमा रेडियो नेपालमार्फत रचनाहरू पठाउने गरेको स्मरण गर्दै रेडियोले धेरै स्रष्टा जन्माएको बताउनुभयो। देश अहिले नयाँ ऊर्जा र गतिसहित अघि बढिरहेको उल्लेख गर्दै उहाँले नकारात्मक सोचलाई चिर्दै रूपान्तरणको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री तिमिल्सिनाले संस्था सुदृढ हुन कर्मचारी र पत्रकारको इमान्दारिता अनिवार्य हुने धारणा राख्नुभयो। “संस्था राम्रो भए देश राम्रो हुन्छ,” उहाँले भन्नुभयो, “अरूबाट जवाफदेहिता खोज्नुभन्दा पहिले आफू जिम्मेवार बन्नुपर्छ।”

उहाँले कुनै पनि प्रकारको ‘सेटिङ’ वा अनियमितता सह्य नहुने स्पष्ट पार्दै त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो। जनताले दिएको म्यान्डेटअनुसार इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उहाँले कर्मचारी र पत्रकारलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत ले बदलिँदो समयअनुसार रेडियो नेपाललाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार रेडियो नेपालको पहुँच हाल देशका करिब ९४ प्रतिशत नागरिकसम्म पुगेको छ।

सरकारी सञ्चार माध्यमको रूपमा रेडियो नेपालको आफ्नै पहिचान र जिम्मेवारी रहेको उल्लेख गर्दै सचिव बस्नेतले सत्य, तथ्य र विश्वसनीय समाचारमार्फत श्रोताको विश्वास कायम राख्नुपर्ने बताउनुभयो।

यसैगरी सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट ले विभिन्न उतारचढाव पार गर्दै रेडियो नेपाल हालको अवस्थामा आइपुगेको बताउनुभयो। उहाँले सार्वजनिक सेवा प्रसारण प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयसँगको समन्वयमा काम गरिने उल्लेख गर्नुभयो।

उहाँका अनुसार सार्वजनिक सेवा प्रसारणको अभ्यास अन्य देशमा पनि भए तापनि यसको प्रभावकारी व्यवस्थापन चुनौतीपूर्ण रहने गरेको छ। आगामी दिनमा संक्रमणकालीन जटिलतालाई न्यूनीकरण गर्दै संस्थालाई सुदृढ बनाइने उहाँले बताउनुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा कार्यकारी अध्यक्ष विष्टले मन्त्री तिमिल्सिना र सचिव बस्नेतलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। सो अवसरमा वरिष्ठ स्रष्टा यादव खरेलमुकुल भट्टचार्य लाई सम्मान गरिएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।