वीरेन्द्रनगर,साउन १२ । । कर्णाली प्रदेशमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेकपा र नेकपा (एमाले) को संयुक्त समर्थनसहित दाबी पेस गरेपछि शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।
मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर शाहीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाका अनुसार शाहीले आवश्यक बहुमतसहितको समर्थनपत्र बुझाएका छन्।
शाहीको पक्षमा नेकपाका १४ र एमालेका १० गरी २४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २१ जना सदस्यको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। आवश्यकभन्दा बढी सांसदको समर्थन जुटाएका कारण उनको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चितजस्तै भएको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए। यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो।

कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १५, नेकपाका १४, सभामुखसहित एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक स्वतन्त्र सांसद रहेका छन्। नेकपा–एमालेबीच केन्द्रमा भएको सत्ता सहमतिअनुसार कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति बनेपछि शाहीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको हो।
मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित शाही यसअघि तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा विजयी भएका थिए। उनी कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
शाहीको नियुक्तिसँगै कर्णालीमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।















