नेपालगन्ज । नेपालगन्जमा प्रहरीले ४ राउण्ड हवाई फायर गर्दै ठूलो परिमाणमा खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१४ मा ४ राउण्ड हवाई फायर गरी भारतको बहराइचस्थित रुपैडियाको चकिया रोडका २४ वर्षीय नदीम राईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम शुद्ध तौलको खैरो हेरोइन बरामद भएको छ । उनको साथबाट एउटा मोबाइल र भारतीय नम्बर प्लेट यूपी ४० जे ०६५७ को मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई बरामद लागुऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रहरीका अनुसार हवाई फायरका क्रममा कुनै पनि व्यक्ति घाइते भएका छैनन् ।















