सुर्खेत । कर्णाली प्रदेशमा करिब तीनमध्ये एक बालबालिका एकैपटक तीन वा सोभन्दा बढी आधारभूत आवश्यकता तथा सेवाबाट वञ्चित रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र युनिसेफको सहकार्यमा सार्वजनिक गरिएको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल, २०२६’ अनुसार कर्णालीका २९.९ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा छन् ।
प्रतिवेदनअनुसार कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकांक (एमओ) ०.१४१ रहेको छ । यो राष्ट्रिय सूचकांक ०.१०० भन्दा माथि हो । राष्ट्रियस्तरमा ०–१७ वर्ष उमेर समूहका २१.४ प्रतिशत बालबालिका तीन वा सोभन्दा बढी आयाममा वञ्चित रहेको अध्ययनले देखाएको छ ।
अध्ययनमा बालबालिकाको अवस्था मापन गर्न शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, आवास तथा सूचना–सञ्चार गरी सात आयाम समेटिएका छन् । कर्णालीमा यीमध्ये सूचना तथा सञ्चारमा पहुँचको अभाव सबैभन्दा बढी देखिएको छ ।
प्रतिवेदनअनुसार कर्णालीका ५६.८ प्रतिशत बालबालिका सूचना तथा सञ्चारको पहुँचबाट वञ्चित छन् । त्यस्तै, ५३.६ प्रतिशत बालबालिका पोषणसम्बन्धी वञ्चितीकरणमा छन् । स्वास्थ्यतर्फ २५.४ प्रतिशत र सुरक्षित तथा पर्याप्त आवासको क्षेत्रमा २७.६ प्रतिशत बालबालिका वञ्चित रहेको अध्ययनले देखाएको छ ।

शिक्षाको क्षेत्रमा भने कर्णालीको अवस्था तुलनात्मक रूपमा फरक देखिएको छ । अध्ययनअनुसार शिक्षा क्षेत्रमा बालबालिकाको वञ्चितीकरण ०.३ प्रतिशत मात्र छ । यसले विद्यालय शिक्षा पहुँचसँग सम्बन्धित सूचकमा वञ्चितीकरणको दर अन्य आयामको तुलनामा निकै कम रहेको देखाउँछ ।
बहुआयामिक वञ्चितीकरणले बालबालिकाले कुनै एउटा क्षेत्रमा मात्र नभई एकैपटक विभिन्न आधारभूत आवश्यकता तथा सेवामा भोगिरहेको अभावलाई समेट्छ । त्यसैले अध्ययनले आय वा आर्थिक अवस्थालाई मात्र आधार नबनाई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, आवास र सूचना–सञ्चारमा पहुँचको अवस्थालाई एकीकृत रूपमा विश्लेषण गरेको हो ।
प्रतिवेदनका लागि नेपाल बहुसूचक सर्वेक्षणका सन् २०१४, २०१९ र २०२४–२५ का तथ्यांक प्रयोग गरिएको छ । विभिन्न वर्षका तथ्यांकको तुलनाले बालबालिकाको अवस्थामा केही क्षेत्रमा सुधार भएको देखाएको छ । विशेषगरी स्वास्थ्य र पोषणको संयुक्त वञ्चितीकरणमा समयक्रमसँगै उल्लेख्य सुधार आएको अध्ययनले जनाएको छ ।
तर कर्णालीमा सूचना तथा सञ्चार, पोषण र आवासजस्ता क्षेत्रमा देखिएको उच्च वञ्चितीकरणले बालबालिकाको समग्र विकासका लागि आधारभूत सेवामा पहुँच अझै असमान रहेको देखाएको छ । एउटै बालबालिका शिक्षा, स्वास्थ्य, पोषण, आवास वा सूचना–सञ्चारमध्ये एकभन्दा बढी क्षेत्रमा अभावमा रहँदा त्यसको प्रभाव उसको समग्र विकासमा पर्ने भएकाले बहुआयामिक अवस्थालाई छुट्टाछुट्टै सूचकभन्दा समग्र रूपमा हेर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।
राष्ट्रियस्तरमा तीन वा सोभन्दा बढी आयाममा वञ्चित बालबालिकाको हिस्सा २१.४ प्रतिशत रहेकामा कर्णालीमा यस्तो अवस्था २९.९ प्रतिशत छ । यसले प्रदेशमा बालबालिकाको आधारभूत सेवा तथा सुविधामा रहेको बहुआयामिक अभाव राष्ट्रिय अवस्थाभन्दा उच्च रहेको देखाएको छ ।
अध्ययनले विगतका सर्वेक्षणसँग तुलना गर्दै केही क्षेत्रमा सुधार भए पनि बालबालिकाको आवश्यकता पूरा गर्न स्वास्थ्य, पोषण, सुरक्षित आवास तथा सूचना–सञ्चारमा पहुँच विस्तारलाई निरन्तरता दिनुपर्ने अवस्था देखाएको छ । विशेषगरी कर्णालीजस्तो भौगोलिक रूपमा विकट प्रदेशमा आधारभूत सेवाको पहुँच, उपलब्धता र उपयोगको अवस्थालाई एकैसाथ सम्बोधन गर्नुपर्ने तथ्य प्रतिवेदनले उजागर गरेको छ ।















