२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

रोल्पा, मंसिर ०१ , पर्यटनको अथाह सम्भावना भएर पनि रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ तेबाङमा अवस्थित लिस्ने लेक ओझेलमा परेको छ । रोल्पा र प्यूठानको सीमामा पर्ने यो ठाउँ प्राकृतिक रुपमा सुन्दरताले भरिएको छ । प्राकृतिक पर्यटनको साथै लिस्ने लेक ऐतिहासिक, धार्मिक एवं युद्ध पर्यटनको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।
लिस्ने लेकबाट विभिन्न हिमश्रृंखलाको समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, सिस्ने जलजलालगायतका हिमाल अवलोकन गर्न सकिन्छ । उच्च भू–भागमा अवस्थित प्राकृतिक रुपमा सुन्दरताले भरिपूर्ण लिस्नेबाट रोल्पा र प्यूठानका विभिन्न फाँटको समेत दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको अनुपम उपहार लिस्ने लेक तत्कालीन समयमा २०५२ सालबाट माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको कारण चर्चामा छ ।
लिस्नेको बारेमा धार्मिक दृष्टिकोणले पनि विभिन्न कथन रहेका छन् । तत्कालीन समयमा यहाँ स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको भन्ने किंवदन्ती छ । लिस्ने लेकमा प्रशस्त जंगल भएकाले जंगलमा पाइने जडीबुटी खाएर स्वर्गद्वारी महाप्रभु निको भएको भनाइ छ । लिस्नेमा तपस्या गरेर बस्ने प्रभुको मनसाय हुँदा हुँदै पनि पानीको अभावको कारण यो ठाउँ छाडेर स्वर्गद्वारीमा गएको भन्ने भनाइ छ ।
यहाँ समय–समयमा मानिसहरुको ठूलो जमघटसमेत हुने गर्दछ । पहाडी होलीको समयमा त यहाँ ठूलो मेला लाग्ने गर्दछ । रोल्पा र प्यूठानका साथै छिमेकी जिल्लाबाट होली खेल्न लिस्नेमा आउने परम्परा रही आएको छ । यसका साथै नयाँ वर्षलगायत विभिन्न चाडपर्वमा पनि लिस्ने घुम्ने पर्यटकको घुइँचो लाग्छ । समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको कायो स्थानमा हिउँदमा हिउँ जम्मा हुने गर्दछ ।
हिउँदको समयमा हिँउ खेल्न आउने पर्यटकको पनि भीड हुने गर्दछ । घुम्न आउने पर्यटकको सहजताका लागि यहाँ रेलिङ, गोरेटो बाटो, मन्दिरलगायत केही संरचना बनेका छन् । सुनिलस्मृति गाउँपालिका–७ तेबाङका स्थानीय गंगाराम पुनले लिस्ने लेकमा पर्यटन व्यवसायको अथाह सम्भावना रहेको बताए ।
‘तत्कालिन समयमा माओवादीले सुरु गरेको जनयुद्धको कारणले पनि लिस्ने चर्चामा छ’, उनले भने, ‘त्यतिबेला जनमुक्ति सेना र नेपाली शाही सेनाबीच खुल्ला मर्चाबद्ध लडाइका कारणले पनि यो ठाउँ परिचित छ, युद्ध पर्यटनको दृष्टिले पनि यो ठाउँ महत्त्वपूर्ण मानिन्छ ।’ पर्यटकलाई सहजताका लागि लिस्नेमा होमस्टेको व्यवस्था र बाटोघाटो, खानेपानीको राम्रो व्यवस्था, प्रतीक्षालयलगायत संरचना बन्न सके पर्यटनको राम्रो सम्भावना रहेको उनले बताए ।
लिस्नेको जंगलमा विभिन्न खालका दुर्लभ जनावरसमेत पाइन्छ । राते, घोरल, मृग, डाँफेलगायतका जंगली जनावर यहाँ पाइन्छ । यसका साथै विभिन्न प्रजातीका जडीबुटी पनि पाइन्छ । लिस्नेसम्म पुग्न पूर्वी रोल्पाको सुलिचौर बजारबाट करिब १५ किलोमिटर कच्ची सडकको यात्रा पश्चात् तेबाङ गाउँ पुगिन्छ । त्यसपछि करिब २–३ घण्टाको पैदल यात्राबाट यहाँ पुग्न सकिन्छ । पछिल्लो समय पैदल यात्रीका लागि गोरेटो बाटो व्यवस्था भएकाले पर्यटकलाई केही सहज बनेको छ । यसका साथै रोल्पाको अरेश गाउँ, जुटंख्योला र प्यूठानका विभिन्न ठाउँबाट समेत सहजै रुपमा पैदलयात्रा पश्चात् लिस्नेमा पुग्न सकिन्छ ।
सुनिलस्मृति गाउँपालिका–७ तेबाङका वडाध्यक्ष रेशम शर्मा रिजालले लिस्नेमा पर्यटन विकासका लागि केही काम भइरहेको बताए । ‘लिस्नेमा पर्यटन पूर्वाधार निर्माणमा आव २०८१/०८२ मा लिस्ने जाने बाटोमा ४५ लाखको बजेटमा युद्ध संग्रालय, जनयुद्धको झल्को दिन खालको संरचना निर्माण, सहिदको सिलालेख र जनमुक्ति सेनाका आकृति राख्ने काम भएको छ’, उनले भने, ‘लिस्नेसम्म पुग्न मोटरबाटो बन्दै गरेको छ ।’ प्राकृतिक तथा धार्मिक पर्यटकको अथाह सम्भावना भएर पनि लिस्ने लेकमा उल्लेख्य रुपमा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । पर्यटक भित्र्याउन आवश्यक भौतिक संरचना तथा प्रचार प्रसारको अभावले लिस्ने लेक ओझेलमा परेको छ ।

सुर्खेत, मंसिर ०१, वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको वराहताल गाउँपालिका–२ को पाग्माको अधिकांश बस्ती भेरी नदीको किनारमा छ । ११ वर्षअघि २०७१ मा भेरी नदीमा आएको बाढीले बस्ती तथा जग्गा बगाएर बगर बनाएको १० वर्षपछि त्यही बगरमा बहुमूल्य प्रजातिका जडीबुटीका बिरुवा रोपेर हराभरा बनाइएको छ ।

कालिका सामुदायिक वन समूहको कालसैनी मन्दिर चौरको ०.५ हेक्टर बगरमा जडीबुटीका बिरुवा रोपेर हराभरा बनाइएको हो । त्यहाँ अमला, लम्सी, हर्रो, बर्रो, अम्रिसो लगाइएको छ । गत वर्ष एक हजार १३७ र यस वर्ष एक हजार छ सय बिरुवा बगरमा रोपिएको छ । बिरुवा हुर्किसकेका छन्‌ । आगामी वर्षदेखि अमलाले फलसमेत दिन सुरु गर्ने समूहका अध्यक्ष तुलाराम खत्रीले बताए ।

बालुवाको बगरमा जडीबुटीका बिरुवा हुर्केलान् भनेर आफूले नसोचेको बताउँदै उनले तर अहिले बिरुवा हुर्किएपछि निकै खुसी लागेको उल्लेख गरे । उनीहरूले बिरुवामा प्राङ्गारिक मल र सिँचाइसमेत गरेका छन् । बगरमा दुई वर्षको अवधिमा दुई हजार सात सयभन्दा बढी बिरुवा लगाएपछि बगर नै हराभर हुन थालेको उनले बताए । केही बिरुवा मरे पनि आगामी वर्षामा पुनः रोप्ने जनाइएको छ । १० वर्षसम्म बगर भएको ठाउँलाई हाराभरा बनाउनका लागि स्थानीयलाई सेभ द चिल्डे्रनले सुर्खेतस्थित समाज जागरण केन्द्र (स्याक) मार्फत माई फरेस्ट चाइल्ड परियोजनाले सहयोग गरिरहेको छ । तीनबर्से सो परियोजनाको दुईबर्से अवधि सकिएको छ । सहयोग पाएपछि बगरलाई नै हराभरा बनाउन स्थानीय अग्रसर भएका हुन्‌ । सो स्थानका अगुवा जयराज थापाले पहिलेको बगर अहिले जडीबुटीले हराभर बन्दै गएको बताए ।

यस्तै सोही वडाको विजयश्वरी माविमा कक्षा ८ का विद्यार्थीलाई जलवायु परिवर्तनका असर, चुनौतीलगायत सचेतना कार्यक्रम गरिएको छ । विद्यालयमा जलवायु कक्षा र सिफ्ट अभियानमार्फत विद्यार्थीलाई जलवायु परिवर्तनप्रति सचेत बनाइएको छ । कक्षा ८ मा अध्ययरत छात्र अभिषेक योगीले यसबाट आफूले सिकेर वातावरण सफा बनाउनुका साथै जलवायु परिवर्तनका बारेमा जान्ने र बुझ्ने मौका पाएको बताए ।

वराहताल गाउँपालिका–५ का वडाध्यक्ष धिमराज जोल्मीमगरले पालिकाका आफ्ना वडाका सामुदायिक वन र विद्यार्थीलाई वनजङ्गल संरक्षण गरी जलवायु परिवर्तनप्रति सचेत बनाउने काम भइरहेको बताए ।

बाँके, मंसिर ०१, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम भएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ । समीक्षा वर्षमा दूध, मासु, अण्डा र माछाको उत्पादन गत वर्षको तुलनामा क्रमशः दुई दशमलव ८८ प्रतिशत, तीन दशमलव शून्य तीन प्रतिशत, तीन दशमलव ११ प्रतिशत र १३ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वनजन्य उत्पादनतर्फ काठ उत्पादन गत वर्षको तुलनामा दुई दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार कृषि क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव ४६ प्रतिशतले घटेको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३ दशमलव ८० प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ४० प्रतिशत मात्र रहेको छ ।

लुम्बिनी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ५० दशमलव ६० प्रतिशत रहेको छ । नमुना छनोटमा परेका उद्योगमध्ये रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ८८ दशमलव ६९ प्रतिशत र सबैभन्दा कम ड्राइ सिरप उत्पादन गर्ने उद्योगले आठ दशमलव ६४ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

त्यस्तै, समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्फ सबैभन्दा बढी सिन्थेटिक कपडाको उत्पादन एक सय ७० दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगहरूमा ४३ दशमलव ६३ प्रतिशत र सबैभन्दा कम विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा एक प्रतिशत मात्र रहेको छ ।

सेवा क्षेत्रअन्तर्गत नमुना छनोटमा परेका पर्यटकस्तरीय होटलमध्ये १० वटाबाट प्राप्त तथ्याङ्कबमोजिम होटल शय्या संख्या ३४ दशमलव २० प्रतिशत, शय्या बिक्री संख्या ४५ दशमलव ७४ प्रतिशत र पर्यटक आगमन संख्यामा ६१ दशमलव ७८ प्रतिशतले घटेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन संख्यामा ४२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व रकम गत वर्षको तुलनामा पाँच दशमलव ४५ प्रतिशतले ह्रास भएको छ ।

केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्ममा सो प्रदेशका बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप परिचालन २०८१ असार मसान्तको तुलनामा १५ दशमलव ४३ प्रतिशत र कुल कर्जा प्रवाह दुई दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा छनोटमा परेका बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी दुई दशमलव ४४ प्रतिशतले ह्रास भएको छ भने बचत परिचालन ६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । उक्त संस्थाबाट गरिएको कर्जा प्रवाह दुई दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।

बाँके, मंसिर ०१, बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ ।
हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई प्राथमिकता दिन थालेका छन् ।

नेपालगञ्जबाट कोहलपुर हुँदै पूर्वपश्चिम राजमार्गमा अगैया पुग्ने भन्दा हुलाकी सडकको दूरी छोटो पर्ने भएकाले यात्रुले यो सडक प्रयोग गर्ने क्रम बढेको भेरी बस व्यवसायी सङ्घका नेपालगञ्जका अध्यक्ष जुनबहादुर थापाले बताए । उनका अनुसार कोहलपुरबाट अगैया पुग्न बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि हुलाकी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको हो । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारिका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ ।

हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आवतजावत सहज भएको राप्तीसोनारी–५ बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताए । यो सडक निर्माण भएपछि राप्तीसोनारी–१, २, ३, ४, ५ र ६ का बासिन्दालाई नेपालगञ्ज पुग्न सहज भएको उनको भनाइ छ । फत्तेपुर, बिनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि सहज भएको छ ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणसमेत भएको छ । सडक निर्माण भएपछि गाउँपालिका कार्यालय आवातजावत गर्न धेरै सहज भएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए । हुलाकी सडक बनेसँगै अहिले पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ ।

हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माण हुँदैछ । पुल निर्माणसँगै नदीले कटान तथा डुबान गरेको सडकलाई व्यवस्थित गरेपछि सवारी आवागमनमा थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहजै वारपार गर्न सकिने छ ।

सिधनियाघाटमा पक्की पुल निर्माण कार्य धमाधम भइरहेको छ । पुल निर्माणमा ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने उनको भनाइ छ । रासस

कोहलपुर, मंसिर ०१ , विशिष्ट व्यक्तिको नाममा दुरुपयोग हुँदै आएको सुरक्षा व्यवस्थामा कडाइ गर्दै सरकारले बाँकेका दुई पूर्वमन्त्रीलाई उपलब्ध गराइएका प्रहरी फिर्ता गरेको छ । बाँकेको राजनीतिक वृत्तमा सक्रिय रहेका पूर्वमन्त्री ईश्तियाक राई र पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) को व्यक्तिगत सुरक्षाका लागि खटाइएका दुई प्रहरी एकैसाथ फिर्ता गएसँगै सुरक्षा पुनःव्यवस्थापनको प्रभाव स्थानीय तहमै प्रत्यक्ष देखिन थालेको हो ।

जिल्लाबाट फिर्ता गरिएका सुरक्षा संयोजनबारे जिल्ला प्रहरीका स्रोतहरू भन्छन्, ‘सरकारको निर्णयविपरीत जाँदैनौं । सरकारले गरेको निर्णय कार्यान्वयन गर्छौं ।’ राई र गहतराज दुवैजना पूर्वमन्त्री हुन । उनीहरूका लागि खटाइएका एक/एक सुरक्षाकर्मी हटाइएपछि ‘विशेष’ शीर्षकमा प्रहरी माग गर्ने अन्य व्यक्तिहरूसमेत प्रभावित हुने स्थानीय विश्लेषकहरूको भनाइ छ ।

गृह मन्त्रालयले विशिष्ट व्यक्तिका नाममा खटाइएका कुल ५०६ सुरक्षाकर्मीको सूची तयार गरी एकैपटक फिर्ता प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरीका ३७४ र सशस्त्र प्रहरीका १३२ गरी कुल ५०६ सुरक्षाकर्मी सुरक्षा दुरुपयोगकै कारण तानिएका छन् ।

गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार वर्षौंदेखि पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि कार्यकर्ता र सन्न्यासीसम्मकै नाममा सुरक्षा दुरुपयोग हुँदै आएको छ । ‘कार्यविधिभन्दा धेरै सुरक्षा खटाइएको भेटिएपछि ती सबै फिर्ता गरिएका हुन्,’ उनले बताएका छन् ।
विशिष्ट व्यक्तिका लागि तोकिएको कार्यविधि अनुसार सुरक्षा परिचालन गर्नुपर्ने व्यवस्था भए पनि विगतमा राजनीतिक पहुँच, पदको दाबी वा ‘विशेष परिस्थिति’ को नाममा अत्यधिक प्रहरी माग गर्ने चलन बढ्दै गइरहेको मन्त्रालयको मूल्यांकन छ । त्यसैले सुरक्षा व्यवस्थापनलाई व्यवस्थित, किफायती र पारदर्शी बनाउन मन्त्रालयले कडाइका साथ फिर्ता प्रक्रिया शुरू गरेको हो ।

सुरक्षा फिर्ता अभियान देशभर लागू भएसँगै स्थानीय तहदेखि संघीय तहसम्म अनावश्यक रूपमा परिचालित प्रहरी घट्दै गएको देखिन्छ । बाँकेमा पूर्वमन्त्रीहरूको सुरक्षा कटौती भएको खबरले अब अन्य प्रभावशाली व्यक्तिहरूका लागि पनि यही नीति लागू हुने संकेत गरेको छ । गृह मन्त्रालयले आगामी दिनमा कार्यविधि अनुसार सुरक्षा उपलब्ध गराइने र दुरुपयोग पाएमा निरन्तर फिर्ता गर्ने चेतावनी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।