नेपालगञ्ज ,बैशाख १८ गते नेपालगञ्ज उपमहानगरपालिकाले ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान गरेको छ । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले ल्याण्डफिल साइटका सरसफाईकर्मीहरूलाई सम्मान गरेको हो ।
रोजगार सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रम श्रमिकप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले गरिएको हो । कार्यक्रम ल्याण्डफिल साइटका इन्चार्ज शिव लामिछानेको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस्तै अतिथिहरूमा उपसचिव गोर्ख बहादुर थापा, वडा नं. २३ का अध्यक्ष जबर अलि बेहना लगायतको उपस्थिति रहेको रोजगार सहायक अनुप बर्माले जानकारी दिए ।
नगर प्रमुख बिष्टले सरसफाईकर्मीहरूका लागि निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको यो घोषणालाई श्रमिकहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । कार्यक्रम सञ्चालन गर्दै रोजगार संयोजक मञ्जु ज्ञवालीले श्रमिक सम्मान कार्यक्रमको महत्वबारे प्रकाश पारिन् । सरसफाईकर्मीहरूको तर्फबाट बोल्दै भागीराम खटिकले सम्मान पाउँदा आफूहरू निकै उत्साहित र गौरवान्वित भएको प्रतिक्रिया दिए ।
वडा अध्यक्ष बेहनाले सरसफाईकर्मीहरू जस्ता उच्च जोखिमयुक्त काम गर्ने श्रमिकप्रति सधैं सम्मान हुनुपर्नेमा जोड दिए । उपसचिव थापाले “हामी सबै श्रमिक एक हौं” भन्ने सन्देश दिँदै श्रमको गरिमा जोगाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रमले श्रमिकहरूको सम्मान, सुरक्षा तथा सामाजिक सुरक्षाको आवश्यकता पुनः उजागर गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको रोजगार सहायक अनुप बर्माले बताए ।













