२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

नेपालगञ्ज, मंसिर २६  नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रर्दशनी गरिएको छ । प्रदर्शनीको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । विद्यालय प्रांगणमा आज आयोजना गरिएको विज्ञान प्रविधि प्रदर्शनीमा विद्यार्थीहरुले विभिन्न सामग्री बनाएर प्रदर्शनीका लागि राखेका थिए । त्यस अवसरमा बोल्दै नगर प्रमुख विष्टले विद्यार्थीहरुलाई सिजर्नशील र जिज्ञासु बनाउन यस्ता प्रदर्शनी आवश्यक रहेको बताए । यसले विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यार्थीहरुमा खोज, अनुसन्धान र निर्माणको भावना जागृत गर्न विज्ञान प्रदर्शनी गरिएको विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताले बताइन् । उनले विज्ञान प्रदर्शनका लागि देशभरका ४२ विद्यालय छनौट भएकोमा बाँकेको मंगल मावि एक मात्र विद्यालय रहेको जानकारी दिइन् । गुप्ताले विद्यालय र विद्यार्थीको उज्यालो भविष्यको लागि आफ्नो टिम लागिपर्ने बताउँदै साथ, सहयोग र सहकार्यका लागि स्थानीय सरकार, समुदाय र अभिभावकलाई आग्रह गरिन् । प्रदर्शनीमा उत्कृष्टताका आधारमा विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न सरोकारवाला ब्यक्तिहरुको उपस्थिति थियो । यसैबीच गत आइतबारदेखि सुरु भएको खेलकुद सप्ताहको पनि आजै समापन गरिएको छ । त्यस अवसरमा विभिन्न विधाका विजेताहरुलाई शिल्ड र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दामोदर घिमिरेले गरेका थिए ।

सल्यान, मंसिर २६ सल्यानको कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चुनढुङ्गा बोक्ने टिप्परहरु बन्द गर्दै स्थानीयहरु आन्दोलित भएका छन् । वर्षौदेखि देखिएको अत्यधिक धुलो, सडकको जीर्ण अवस्था, खाल्डाखुल्डी र भारी टिप्पर आवतजावतका कारण स्थानीय जीवन, स्वास्थ्य र बालबालिकाको सुरक्षामा गम्भीर असर परेको भन्दै फेरि स्थानीयहरु निर्णायक कदमका लागि भन्दै आन्दोलित बनेका हुन् ।

बिहीबार बिहानैदेखि टिप्पर सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको र अटेर गरेमा सयौँको संख्यामा स्थानीयहरु सडकमै उत्रने मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बिकले बताए । सडक पूर्णरूपमा कालोपत्रे नहुञ्जेलसम्म अत्यधिक भारबाहक टिप्पर चल्न नदिने निर्णय गरिएको उनको भनाइ छ ।

बुधबार कपुरकोट गाउँपालिका वडा नम्बर ५ स्थित मिलन बजार व्यवस्थापन समिति र मिलनबजार युवा क्लवको संयुक्त नेतृत्वमा बसेको स्थानीय सरोकारवालाको भेलाले १२७भन्दा बढी स्थानीयको उपस्थितिमा टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गर्दै उक्त निर्णयको प्रतिलिपि सम्बन्धित निकायमा पनि पठाइएको बिकले जानकारी दिए । बैठकमा विभिन्न वडाका वडा अध्यक्षहरुसहितका जनप्रतिनिधि, सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

स्थानीयका अनुसार कपुरकोटदेखि कोइला सडकखण्डमा चल्ने सिमेन्ट उद्योगसम्बन्धी भारी टिप्परहरुले वर्षौँदेखि सडक भत्काउँदै आएका छन् । अत्यधिक धुलो, सडकको भत्किएको अवस्था, साना तथा मझौला सवारीको जोखिम, विद्यालय जाने बालबालिका र पैदल यात्रुका लागि दैनिक सास्ती, साथै वातावरणीय प्रदूषण र स्वास्थ्यमा परेको गम्भीर असरसम्बन्धी गुनासो स्थानीयहरुले लगातार उठाउँदै आएका छन् ।

स्थानीयवासी, विद्यालयका विद्यार्थी र प्रभावित बस्तीमा पुगेको असरको स्थलगत अनुगमन गरी निर्णय कार्यान्वयनमा आवश्यक सहकार्य गर्न सम्बन्धित सबै निकायलाई आग्रह पनि गरिएको मिलनबजार युवा क्ल्वका अध्यक्ष झलक वलीले जानकारी दिए । उनले बैठकको आधिकारिक माइनुट प्रतिलिपि जिल्ला प्रशासन कार्यालय सल्यान, जिल्ला प्रहरी कार्यालय, कपुरकोट गाउँपालिका, प्रहरी चौकी कपुरकोट, वडा नम्बर १, २, ३ र ५, तथा रोल्पा सिमेन्ट उद्योग प्रालिलगायत सबै सम्बन्धित निकायलाई जानकारीका लागि पठाइएको बताए ।

बर्दिया, मंसिर २६  नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली बुधबार बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो ।

छानबिन समितिको सहयोगमा मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता सम्पन्न भएको छ । समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण र घटनाका बारेमा छानबिन थालेको छ । ‘बाँकी समस्या बुझेर प्रतिवेदनमा उल्लेख गर्नेछौँ,’ उनले भने ।

घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । उनलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको छ । घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको छ । घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले मंसिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा, उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई पाँच दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ ।

बर्दियाको बढैयाताल–४ की २२ बर्सिया अन्जु थारुले गाउँकै अनिल थारुसँग बिहे गरेकी थिइन् । अञ्जुले श्रीमान विरुद्ध अंश मुद्दा दर्ता गरेकामा अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण अंश पाउन सकिनन् । नागरिकता नहुँदा उनकी छोरीको जन्मदर्ता हुन सकेन । अंश दिने न्यायिक प्रक्रिया समेत अवरुद्ध भयो ।

अदालतले अंश दिन आदेश गरे पनि वडा कार्यालयले नागरिकताको सिफारिस गरेन । आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि अञ्जुले सात वर्षकी छोरीको जन्म दर्ता गर्न सकिनन् । वडाले ‘बुबाको नागरिकता चाहिन्छ’ भन्दै जन्मदर्ता बनाइदिएन ।

माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो । स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अञ्जुले माइतीमै गत कात्तिक २२ आत्महत्या गरेकी थिइन् । अञ्जुले आत्महत्या गरेको चार दिनमै छोरीको मृत्युको शोकमा रहेका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरेका थिए ।

बुटवल, मंसिर २६  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि तोकिएको बिहीबारको पेशी हेर्न नमिल्नेमा परेको छ ।

मुद्दाको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा परेको थियो । तर, न्यायाधीश सागर बिष्ट र लामिछानेको तर्फबाट वकालतनामा लेखाएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएका कारण हेर्न नमिल्नेमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि मंसिर ११ गते तोकिएको पेशी लामिछानेको कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको बिहीबारको पेशी कात्तिक १३ गतेपछिको निरन्तर पाँचौं–छैटौं हो । बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

त्यसविरुद्ध उच्च अदालत गएका लामिछानेको मुद्दामा यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो । गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुल अभियोग मिसिल मगाउने आदेश गरेको थियो।

यसअघि कात्तिक २० गते पनि न्यायाधीशद्वय आचार्य–अर्यालकै इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको थियो । अदालतले लामिछानेको मुद्दाको सुनुवाइलाई प्राथमिकता दिएर अघि बढाएको छ ।
यसअघि कात्तिक १३ गते पनि पेशी तोकिएको थियो । तर उक्त पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छविलाल समेतका दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

सुर्खेत, मंसिर २६  कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् । कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता जनाइएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले बनाएको दोस्रो पञ्चवर्षीय योजनाले तोकेको लक्ष्यभन्दा माथि पुग्ने तयारीका साथ सरकार अगाडि बढेको र यसमा सबैको सहयोग आवश्यक रहेको बताए । उनका अनुसार विकास आयोजनामा हुने दोहोरोपन हटाउन विकास साझेदारबाट सम्पादन गरिने कार्यक्रमको विवरण सम्बन्धित मन्त्रालयमा प्रदेश सरकारको बजेट तर्जुमा गर्नुपूर्व नै जानकारी गराउने, विकास आयोजनामा सुशासन, इमान्दारिता, जवाफदेही र वातावरणमैत्री अभ्यासलाई उच्च प्राथमिकता दिने, प्राकृतिक स्रोत साधनको दिगो उपयोग, सामाजिक उत्तरदायित्व तथा समुदायको हितमा केन्द्रित गर्दै सहकार्यमूलक ढङ्गले कार्य गर्ने प्रतिबद्धता गरिएको छ।

यसका लागि कर्णाली प्रदेश सरकार र विकास साझेदारबीच समन्वयका लागि प्रादेशिक ढाँचा निर्माण गर्ने, बहुआयमिक आर्थिक विकासका लागि प्राविधिक प्राविधिक सीप, तालिम, उद्यमशीलता प्रवद्र्धन तथा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने र कर्णालीका युवालाई प्रदेशभित्र टिकाउन, रोजगारी र व्यवसायका अवसर विस्तार गर्न संयुक्त प्रयास गर्ने प्रतिबद्धता गरिएको उपाध्यक्ष योगीले बताए ।

यसैगरी, कर्णाली प्रदेशको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको विकासका लागि लगानी विस्तार गर्दै सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र विविध माध्यमबाट सूचना सम्पे्रषण गर्ने, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्ने र यसमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने पनि प्रतिबद्धता जनाइएको छ ।

नेपालगन्ज, मंसिर २६ नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँकेको जिल्लास्तरीय एकता सन्देशसभामा उल्लेखनीय शक्ति प्रदर्शन गरेको छ । नेपालगन्जको व्यस्त क्षेत्र मानिने त्रिभुवन चोकमा आयोजित सभामा हजारौं कार्यकर्ता सहभागी भएपछि केही घण्टासम्म त्यहाँको आवागमन नै प्रभावित बनेको थियो ।

पार्टी एकताको सन्देश दिने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा गाउँगाउँबाट कार्यकर्ता आएको दृश्यले बाँकेमा पार्टीको संगठन क्षमता र जनसमर्थन मजबुत रहेको संकेत दिएको सहभागीहरू बताउँछन् । दिउँसोदेखि नै कार्यकर्ताहरू समूहगतरूपमा त्रिभुवन चोकमा प्रवेश गर्न थालेका थिए । रातो झण्डा, पार्टीका नारासहितको जुलुस र विभिन्न ठाउँबाट आएको ऊर्जाशील सहभागिताले चोकको वातावरण उत्साहपूर्ण बनेको थियो । एकता सन्देशसभाका लागि नेपालगन्ज उपमहानगरपालिकाका भिन्नभिन्न वडाबाट मात्र नभई नरैनापुर, राप्तीसोनारी, बैजनाथ, डुडुवा, जानकी, खजुरा र कोहलपुर क्षेत्रका कार्यकर्तासमेत उल्लेख्य संख्यामा उपस्थित थिए । भीड बढ्दै जाँदा मुख्य सडकको दुवै दिशाको सवारी आवागमन केहीबेर अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षण नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन थियो । उनले पार्टी एकता राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै नवगठित नेकपाले देशको विकास, सुशासन र सामाजिक न्यायका एजेण्डालाई प्राथमिकता दिने बताए । उनले अबका दिनमा संगठन विस्तार, जनताका समस्यामा केन्द्रित कार्यक्रम र स्थानीय तहमा जनमुखी शासन व्यवस्थालाई बलियो बनाउने आफ्नो योजना प्रस्तुत गरे । पार्टी नेतृत्व एकीकृतरूपमा अघि बढ्न तयार रहेको बताउँदै उनले केही समयभित्रै मुलुकभरि सन्देशसभा र जनसंवाद कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

सभामा उनीसँगै अन्य केन्द्रीय र प्रदेशस्तरीय नेताहरूले पनि बोलेका थिए । वक्ताहरूले देशभर कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्ने अभियानमा बाँके महŒवपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे । उनीहरूको दाबी अनुसार, बाँकेका जनताले देखाएको सहभागिताले पार्टी एकताप्रति व्यापक आशा र विश्वास व्यक्त गरेको छ ।
एकता सन्देशसभामा स्थानीय जनताले ठूलो संख्यामा साथ दिएको नेकपा बाँकेका नेता नरेन्द्र न्यौपानेले बताए । उनका अनुसार, पार्टी एकताको अभियानले जिल्लामा नयाँ उत्साह र उर्जा सिर्जना गरेको छ । उनले बाँकेमा पार्टी थप संगठित र सबल बन्दै गएको बताउँदै आगामी दिनमा स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा राखेर जनतामाझ पुग्ने प्रतिबद्धता व्यक्त गरे ।

त्रिभुवन चोकमा देखिएको जनसमूह र पार्टी नेतृत्वको सक्रियताले नवगठित नेकपाको बाँकेमा भएको शक्ति प्रदर्शनलाई राजनीतिक रूपमा चर्चाको विषय बनाएको छ । सहभागी कार्यकर्ताहरूले एकता अभियानले देशभरि नयाँ राजनीतिक माहोल निर्माण गर्ने विश्वास व्यक्त गरेका थिए । बिहीबार देखिएको जनसहभागिताले फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपाले आफूलाई चित्रित गरेको छ ।

यसभन्दा धेरैपटक नेपालगन्ज आएको स्मरण गरे । रामलिला मैदानमा २०६२ सालमा भएको भव्य कार्यक्रमलाई उनले स्मरण गर्दै उनले भने, ‘त्यतिबेला राजाको शाषण थियो नेपालगन्ज पुग्दा पक्राउ परिन्छ भन्ने डरत्रास थियो । त्यतिबेला नेता बामदेव गौतमको ठूलो सहयोगमा म आएको थिएँ ।’ उनले नेता गौतमलाई स्मरण गर्दै जोसिलो योद्धा भनेर सम्बोधन गरेका थिए । उनले यहाँका मधेसी समुदायलाई लक्षित गर्दै हिन्दी भाषासमेत प्रयोग गरेका थिए ।

नेपालगन्जले राजनीतिकरुपमा ठूलो योगदान गरेको भन्दै उनले भने, ‘जसको जगबाट नेपाली राजनीतिको भाग्य ‘कोर्स’ परिवर्तन भएको थियो । त्यो परिवर्तनका लागि एकरात नेपालगन्ज बास बसेका थियौँ ।’ नेपालगन्ज हुँदै लखनउ पुगेर नयाँ इतिहास रचिएको उनी बताउँछन् ।

बाँके, मंसिर २६  नेकपा एमालेको पार्टी स्कूल विभागले नेपालगन्जमा स्कूल सञ्चालन गर्ने भएको छ । नेता कार्यकर्तामा वैचारिक विचलन, आफूले आदर्श मानेको मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेताहरुमै आधारभूत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई विचारले प्रभावित पार्ने विषय कमजोर भएको भन्दै स्कूल सञ्चालन गर्ने भएको हो ।

यसका लागि मिति भने तय भइसकेको छैन । विभागका अनुसार देशका सातै प्रदेशमा स्थायी स्कूल सञ्चालन गर्ने तयारी गरेको छ । जस अनुसार केन्द्रको स्कूल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा,कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा, मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा, गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा, लुम्बिनीको नेपालगञ्ज, देउखुरी र बुटवलमा र सुदूरपश्चिमको कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा स्थायी स्कूलको संरचना तयारी थालेको छ । विभागले आधारभूत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ ।

१० औँ महाधिवेशन सकिएको ३ महिनापछि १९ माघ २०७८ मा उपमहासचिव प्रदीप ज्ञवालीलाई यस विभागको प्रमुख बनाउने निर्णय एमालेले गरेको थियो । ज्ञवालीका अनुसार चार वर्षको अवधिमा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरिएको छ ।

स्कूल विभागले तयार गरेको प्रतिवेदन अनुसार प्रशिक्षणमा जनसंगठनदेखि प्रवाससम्म जनप्रतिनिधिदेखि नवप्रवेशीसम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ । प्रतिवेदन अनुसार चार वर्षको अवधिमा जनसंगठनतर्फ ६ सय २५, प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण ४ सय ८, स्थानीय तहका जनप्रतिनिधि ६ सय ५६ जनालाई प्रशिक्षण दिइएको छ । यस्तै नवप्रवेशी २ सय ५०, जिल्ला तहका नेता कार्यकर्ता ५ हजार ४ सय २६, वित्त तथा कोष व्यवस्थापन ५६, भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ ।

विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ । विभागले उत्पादन गरेका प्रशिक्षकहरु प्रदेश,जिल्ला र स्थानीय तहहरुले आयोजना गर्ने प्रशिक्षणका काम गरिरहेका छन् । ‘हामीले बृह्त्तर रुपमा प्रशिक्षणको काम अघि बढाएका हौँ । केन्द्रले प्रशिक्षक उत्पादन गर्ने,प्रदेश र जिल्ला र स्थानीय तहले उनीहरु मार्फत सम्बन्धित तहका कार्यकर्तालाई पार्टी,समाज,देश र विदेशका बारेमा थाहा पाउन मद्धत गरिरहेका छन्,’ कोइरालाले भने।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।