काठमाडौँ — दसैं–तिहारमा स्याउको खपत बढ्ने समयमा चीनबाट हुने आयात प्रभावित भएपछि नेपाली बजारमा मागअनुसार आपूर्ति कायम राख्ने चुनौती देखिएको छ। चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका बाढी तथा सडक पूर्वाधारका समस्याले प्रभावित हुँदा स्याउ आयातका लागि उपलब्ध नाकाको विकल्प सीमित बनेको छ। स्वदेशी उत्पादनले कुल मागको करिब ४० प्रतिशत मात्रै धान्ने अवस्थामा चाडपर्वको बजार आयातित स्याउमै निर्भर देखिएको छ।
काठमाडौंसहित देशका प्रमुख सहरमा यतिबेला जुम्ला, मुस्ताङ र मनाङका बगैंचाबाट टिपिएका स्वदेशी स्याउ बिक्रीका लागि आउन थालेका छन्। तर, चाडपर्वमा बढ्ने उपभोग र बजारको माग पूरा गर्न चीन तथा भारतबाट आयात हुने स्याउको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। दैनिक उपभोगसँगै पूजाआजा र कोसेलीका रूपमा समेत प्रयोग हुने भएकाले दसैं–तिहारमा स्याउको माग थप बढ्ने गर्छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै चीन, भारतलगायत मुलुकबाट एक अर्ब ९५ करोड रुपैयाँ बराबरको १४ हजार ९०२ टन स्याउ आयात भएको छ। चाडपर्वको माग बढिरहेका बेला प्रमुख आयात नाकामा देखिएको अवरोधले आपूर्ति व्यवस्थापनमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ।
चीनबाट हुने आयातका लागि प्रयोग हुँदै आएका रसुवागढी र तातोपानी नाका प्रभावित छन्। रसुवागढी नाका बाढीका कारण अवरुद्ध हुँदा र तातोपानी नाकामा सडक पूर्वाधारको समस्याले आवागमन प्रभावित हुँदा मुस्ताङस्थित कोरला नाका मात्रै सञ्चालनमा रहेको छ। चीनबाट ठूलो परिमाणमा स्याउ भित्रिने समयमा नाकामा देखिएको समस्याले आयातको नियमित प्रवाहमा असर पर्न सक्ने चिन्ता बढाएको छ।

नेपालको स्याउ बजारमा आयातमाथिको निर्भरता पछिल्लो तथ्यांकले पनि देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा नेपालमा स्याउको कुल आपूर्ति एक लाख ५० हजार २०२ टन पुगेको थियो। त्यसमध्ये ९० हजार २५३ टन आयातित स्याउ थियो भने स्वदेशी उत्पादन ५९ हजार ९४९ टन रहेको थियो।
कुल आपूर्तिमा आयातित स्याउको हिस्सा ६०.०९ प्रतिशत र स्वदेशी उत्पादनको हिस्सा ३९.९१ प्रतिशत थियो। यसले देशभित्र उत्पादन हुने स्याउले बजारको सम्पूर्ण माग धान्न नसकेको र उपभोक्ताको माग पूरा गर्न विदेशी बजारमा निर्भर रहनुपरेको देखाउँछ।
चाडपर्वको समयमा स्वदेशी स्याउ बजारमा आउन थाले पनि त्यसले मात्रै बढ्दो माग धान्न सक्ने अवस्था छैन। त्यसैले आयातका प्रमुख नाकामा देखिएको अवरोध कहिलेसम्म कायम रहन्छ र वैकल्पिक नाकाबाट कति स्याउ भित्र्याउन सकिन्छ भन्ने विषयले चाडपर्वको बजार आपूर्तिमा महत्त्व राख्ने देखिएको छ।

















