२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट


धनगढी, असोज २६।  राजनीतिक समीकरण परिवर्तनसँगै रोकिएको सुदूरपश्चिम प्रदेशको बजेट प्रक्रिया नयाँ सरकार गठन भएको दुई महिनापछि अघि बढेको छ । आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेश सभामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले प्रस्ताव गरेको बजेटकै आकारमा नयाँ बजेट प्रस्तुत गरेका हुन् । यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत १ असारमा ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन । त्यसपछि एमाले र नेकपाको गठबन्धनमा नयाँ सरकार गठन भएको थियो । एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि प्रदेश सरकारले बजेट ल्याएको हो ।

सरकारले बजेटका लागि आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड रुपैयाँ जुटाउने अनुमान गरेको छ । नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा वित्तीय हस्तान्तरणअन्तर्गत १० अर्ब २४ करोड रुपैयाँ, संघीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षबाट बचत हुने रकम नौ अर्ब ३५ करोड रुपैयाँ र संघीय ससर्त अनुदानबाट छ अर्ब तीन करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ ।

संघीय समपूरक अनुदानबाट ३८ करोड रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसक्दा प्रदेशमा नयाँ आर्थिक वर्षको बजेटसम्बन्धी प्रक्रिया लम्बिएको थियो । नयाँ राजनीतिक गठबन्धन बनेपछि आएको बजेटले प्रदेश सरकारका आगामी कार्यक्रम तथा योजनाको कार्यान्वयनका लागि वित्तीय आधार तय गर्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।