२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघको ८औं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा दिपकराज भट्टसहित बाँकेका दुई जना केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन् ।

बुटवलमा बिहीबार सम्पन्न नेपाल स्वास्थ्यकर्मी संघको ८औं महाधिवेशनमा सबै निर्विरोध निर्वाचित भएको नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले जानकारी दिए् । अध्यक्ष बस्नेतका अनुसार बाँकेबाट उपमहासचिवमा एक,सचिवमा एक र केन्द्रीय सदस्यमा ४ जना निर्वाचित हुँदा बर्दियाबाट उपाध्यक्षमा एक जना निर्वाचित भएका हुन् ।

बाँकेबाट उपमहासचिवमा निर्वाचित हुनेमा अनिल सेन ठकुरी, सचिवमा गोरखनाथ योगी रहेका छन् भने केन्द्रीय सदस्यहरुमा होमनाथ सुवेदी ,सीताराम चौधरी, लोकप्रकाश रोकाय र गजेन्द्र शाही निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा निर्वाचित हुने बर्दियाका हरिहर तिवारी रहेका छन् ।

बर्दिया, पुस ११  बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटक बाघ गणना गर्न शुरू गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको संख्या उल्लेख्य वृद्धि भएको छ । त्यहाँ आठगुणाले बाघको संख्यामा वृद्धि भएको पाइएको हो ।

बाघको वृद्धिसँगै संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ । यद्यपि बाघ गणना शुरू भएकै दिन बुधबार बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वनमा पार्वती डाँगीलाई बाघले आक्रमण गर्दा ज्यान गएको छ । नेपालले एक दशकमा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा बढी बाघमा वृद्धि भएको सचिव शर्माको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारीअनुसार अहिले नेपालमा ३ सय ५५ बाघ छन्, जसमा बर्दियामा मात्रै झन्डै १ सय २५ रहेको छ । पछिल्लो समय २१ वटा पाटेबाघ मरेको छ । बाढीपहिरो, चोरी सिकारी, आपसमा लड्नु र प्रकृतिक कारणले निकुञ्ज र सामुदायिक वनमा रहेका पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए ।

बाघको संख्या विस्तारका लागि संरक्षण, सुरक्षा, आवास विस्तार र सिकार नियन्त्रणलाई प्रमुख कारण मानिएको छ । बाघको संख्या वृद्धि हुनासाथ मानव–वन्यजन्तु द्वन्द्व पनि बढेको छ । निकुञ्जको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा बर्दियामा ३ सय २२ वन्यजन्तु मरेको छ र ४ सय २३ वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तु मरेकामध्ये ठूलो हिस्सा गाडी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, प्राकृतिक कारण, रोग, विद्युत् र आपसी द्वन्द्वका कारण भएको पाइएको छ ।

बाघ मर्नुको मुख्य कारणमध्ये आपसी लडाईं पनि देखिएको छ । वयस्क बाघहरू क्षेत्राधिकारका लागि प्रतिस्पर्धा गर्दा धेरैजसो मर्ने गरेको निकुञ्जका कर्मचारीको भनाइ छ । मानवीय पक्षबाट हेर्दा बाघसँगको द्वन्द्व अत्यन्तै पीडादायी बन्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/२०८३ को दुई महिनामा चार जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । तीन वर्षको अवधिमध्ये नेपालभर ५३ जनाले ज्यान गुमाएका छन्, जसमा बर्दियामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं, पुस ११  काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफैँ पार्टी राजनीतिमा जोडिने गरी तयारीमा जुटेका छन् । बालेन २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र लौरो चिह्नबाट मेयरमा जितेका थिए । उनी मेयरको कार्यकाल पूरा गर्ने मानसिकतामा थिए । तर पछिल्लो समय उनी राजनीतिमा हाम फाल्ने तयारीमा जुटेका हुन् । केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संवाद गर्दासमेत बालेनले सक्रिय राजनीति गर्ने इच्छा नदेखाएको दाबी गरिएको थियो ।

तर रविसँग भएको भनिएको ६ घण्टा लामो वार्ताले कुनै निचोड निकाल्न नसकेको बताइन्छ । यसैले २१ फागुनको निर्वाचनको लागि समानुपातिक सूची फाइनल गर्नुअघि बालेन दल र विभिन्न पक्षसँग संवादमा जुटेका हुन् । पुस १३ र १४ समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने छ । यसैले बुधबार रातिदेखि नै बालेन आफैँ अग्रसरता लिँदै परम्परागत दलका नेता, जेन–जी अगुवा, उद्योगी व्यापारीसहितका नेतासँग ‘ब्याक टुक ब्याक’ भेटवार्ता गरिरहेका छन् ।

यी भेटवार्तामार्फत बालेनले आफू नयाँ दलमा आबद्ध भएर अगाडि बढ्न खोजेको सन्देश सुनाउँदै टिमको फर्मेसन गर्न खोजको जानकारी गराएका हुन् । ‘देश विकास पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा हामफाल्ने तयारीमा छौँ भन्दै उहाँले भेट गर्नुभएको छ,’ जेन–जी अगुवा रक्षा बमले भनिन्, ‘निर्वाचन आयोगमा सन्ध्या खनालको अध्यक्षतामा दर्ता भएको पार्टीमा आबद्ध भएर अगाडि बढ्ने तयारीमा हामी छौँ ।’ बालेनले जेन–जी अगुवासँग जोड्ने जिम्मा आफूलाई दिएको समेत उनले बताएकी छिन् ।

देश विकास पार्टीको चुनाव चिह्न लौरो छ । गएराति देखि बालेनले जनमतका सीके राउत, नाउपाका रेशम चौधरी, राप्रपाका ज्ञानेन्द्र शाही, कांग्रेस नेता सुनिल शर्मा, पूर्व प्रशासक भीम उपाध्याय, पत्रकार ऋषि धमला, सागर ढकाल, निश्चल बस्नेत, असीम साहसहितका नेता उद्योगी व्यापारीसहितका नेता भेटेका थिए । बिहीबार बिहान उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग भेटेपछि अहिले बालेन र रविबीच ललितलपुरका ज्वागलमा भेट भएको थियो । २१ फागुनका निर्वाचनको लागि समानुपातिक सूची बुझाउने दिन नजिकिँदा बालेन अग्रसर हुँदै छलफलमा जुटेका हुन् ।

केही दिन अघि कमलपोखरीस्थित रास्वपाका नेता असिम साहको घरमा बालेन र रविबीच मध्यरातसम्म लामो कुराकानी भएको थियो । सो कुराकानीमा रविले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउन खोजेको दाबी गरिएका समाचार आएका थिए । तर बालेनले पार्टी खोल्न नहुने लामिछानेको सर्त थियो । वैकल्पिक धारको राजनीतिले आफूलाई जनताबाट अनुमोदित गरेको बुझाइमा रवि छन् । यसैले आफ्नो नेतृत्वमा आउन उनले बालेनमाथि दबाब बढाएका थिए । बालेनको क्रेजलाई पार्टी हितमा लगाउने सोच र तयारीमा रवि थिए ।

तर रविको सोचलाई बालेनले मन पराएनन् । त्यसैले बालेन रविभन्दा पृथक भएर अगाडि बढ्न खोजेका हुन् । गएराति देखि नै बालेन निरन्तर वार्ता र संवादमा छन् । यही संवादको शिलिशलामा बालेन र रवि बिहीबार ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा संवादमा पनि जुटेका हुन् । पुराना दल, जेन–जी अगुवा, नागरिक समाजदेखि उद्योगी व्यापारीसम्म बालेनले संवाद गरेका छन् । तर पछिल्लो घटनाक्रम अनुसार रविले चिढ्याएका कुलमानलाई बालेनले सँगै लान खोजेका छन् । उज्यालो नेपाल पार्टी र देश विकास पार्टी मिलेर अगाडि बढ्ने गरी बालेनले संवाद अगाडि बढाएका हुन् । यसै दबाबपछि रवि अन्तिम प्रयासस्वरुप बालेनलाई भेट्न ललितपुर पुगेका हुन् । यो खबर शिलापत्र अनलाइनमा प्रकाशित छ ।

बाँके, पुस ११  नेपालगन्जका ६७ वर्षीय मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा सूचीकृत हुने बढी उमेरका एकमात्र नेपाली धावक बनेका छन् । गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनको भेट्रान्टर्फ ४२.१९५ किलामिटर दुरी ४ घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि उनको नाम औपचारिक रूपमा विश्व सूचीमा दर्ता भएको हो । संसारका प्रतिष्ठित म्याराथनलाई एउटै प्लेटफर्ममा जोड्दै विश्वभरका धावकको प्रदर्शनको मूल्यांकन गर्ने अबोट वर्ल्ड म्याराथन मेजर्सले उमेर समूहका आधारमा विश्व वरीयताक्रम निर्धारण गर्छ ।

यसअनुसार ६५–६९ वर्ष उमेर समूहमा मंगले तामाङ २६७८ औं स्थानमा परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी तामाङको उपलब्धिमा वडाध्यक्ष तरुण बज्राचार्यले खुशी व्यक्त गरेका छन् । उनले भने, ‘६८ वर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडामात्र होइन, सिंगो सहरकै गर्वको विषय हो । यसले दौड संस्कृतिको विकासमा टेवा पुर्‍याउँदै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने काम गरेको छ ।’

यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय म्याराथनमा नेपाली धावकहरूको उपस्थिति रहेपनि व्यवस्थित रूपमा विश्व वरीयतामा सूचीकृत हुने क्रम पछिल्ला वर्षमा तीव्र भएको देखिन्छ । सिकागो म्याराथनमा ३ घण्टा ३३ मिनेट ०८ सेकेन्ड समय निकाल्दै अशोककुमार चापागाईं ६०–६४ वर्ष समूहमा १७०३ औं स्थानमा परेका छन् । त्यसैगरी नेपालगन्ज म्याराथनमा ३ः४५ः१२ समय निकाल्दै रमेश शाक्य ५५–५९ वर्ष समूहमा ७३३४ औं र अबुधाबी म्याराथनमा ४ः३०ः५० समय निकाल्दै देबकुमार कुँवर १६०८३ औं स्थानमा सूचीकृत छन् ।

५०–५४ वर्ष समूहमा पनि नेपाली धावकको उल्लेख्य उपस्थिति देखिएको छ । यससमूहमा पाण्डव महतो ३ः०६ः४५ समय निकाल्दै २६९८ औं स्थानमा छन् भने उमेश मानन्धर, युवराज खनाल, भरतकुमार श्रेष्ठ, टीबहादुर हमाल र राजेश श्रेष्ठ विभिन्न प्रतिष्ठित म्याराथनमार्फत विश्व सूचीमा परेका छन् । ४५–४९ वर्ष समूहमा सुशील श्रेष्ठ, कुमार अधिकारी, श्याम चालिसे, सुर्य गुरुङ, यलम्बर श्रेष्ठ, सन्देश श्रेष्ठ, प्रेम गिरी लगायतका धावकले विभिन्न सहरका म्याराथनमा प्रतिस्पर्धा गर्दै विश्व वरीयता हासिल गरेका छन् ।

त्यस्तै ४०–४४ वर्ष उमेर समूहमा मुहाइजरबीन मोहम्मद, सन्तोष राई, बलदेव कुँवर, तपेश जोशी, प्रकाश प्रसाई, ललित शाही, माधव बुढाथोकी, विकल गुरुङ, वीरेन्द्र गुरुङ र कृष्णकुमार महर्जन शीर्ष स्थानमा रहेका नेपाली धावक हुन् । क्वालालम्पुर, भ्यालेन्सिया, सिकागो, फिलाडेल्फिया, क्यालिफोर्निया, आबुधाबी र न्युयोर्क सिटी म्याराथनमार्फत उनीहरूले उत्कृष्ट समय निकाल्दै विश्व सूचीमा स्थान सुरक्षित गरेका छन् ।

महिलातर्फ ५०–५४ वर्ष समूहमा पुनम राईले न्यूयोर्क सिटी म्याराथनमा ३ः५४ः३१ समय निकाल्दै विश्व वरीयतामा २८१७ औं स्थान हासिल गरेकी छन् भने इन्दिरा चापागाईं सिकागो म्याराथनमार्फत ८३६४ औं स्थानमा परेकी छन् । ४५–४९ वर्ष समूहमा स्वरूपा खड्काले ३ः११ः०० समय निकाल्दै ३५४ औं स्थान हासिल गरेकी छन् भने सकुन अधिकारीले ५ः२७ः५१ समय निकाल्दै विश्व सूचीमा स्थान सुरक्षित गरेकी छन् ।

यी तथ्यांकले नेपालमा म्याराथन खेलप्रति अभिरुचि तथा मेहनत बढ्दो क्रममै रहेको संकेत गर्छ । अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर पहिचान विस्तार भइरहेका यस्ता उपलब्धिले नेपाली धावकलाई थप प्रेरणा र अवसर दिलाउने अपेक्षा गरिएको छ ।

कोहलपुर,पुस ११  मेलमिलापकर्ताहरुका लागि मेलमिलापसम्बन्धी दुई दिने पुनर्तागी तालिम कोहलपुरमा सुरु भएको छ । कोहलपुर नगरपालिकाका न्यायिक समितिको आयोजनामा उक्त तालिम बिहीबारबाट सुरु भएको हो ।

आज (शुक्रबार) सम्म तालिम सञ्चालन हुनेछ । उक्त तालिमको उद्घाटन उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायधीश बासुदेव ज्ञवालीले गरेका थिए । उद्घाटनको क्रममा उनले अदालतको फैसलाले विवादको पूर्ण समाधान कहिल्यै पनि गर्न नसक्ने बताए । मिसिलका आधारमा फैसला गर्ने भएकाले एक पक्ष सधैं असन्तुष्ट रहने उनको भनाइ छ ।

‘न्यायधीशले लिखित मिसिलका आधारमा फैसला गर्ने हो,’ उनले भने, ‘फैसला एउटाले जित्ने र अर्कोले हार्ने भएकाले विवादको अन्तिम समाधान हुन सक्दैन ।’ उनले मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा त्यो दीर्घकालीन हुने बताए । ‘स्थानीयतहलाई न्यायिक निरुपणको अधिकार संविधानले दिएको छ,’ उनले भने, ‘मेलमिलापकर्ताहरुले स्थानीय स्तरमा निमिट्यान पारेका विवाद केवल दुई पक्षको समाधानमात्रै नभएर शान्ति स्थापनामा पनि टेवा पुर्‍याउँछ ।’ उनले समाजमा पूर्णरुपमा विवाद समाधान गर्ने मिलमिलाप सर्वोत्तम् विकल्प भएको पनि उल्लेख गरे ।

मेलमिलापकर्ताहरुले इमान्दारीता र निष्पक्ष भएर विवाद समाधान गर्दै गए अधिकारसमेत बढाउन सकिने आधार तय हुने उनको भनाइ छ । वरिष्ठतम् न्यायधीश ज्ञवालीले तीन वर्ष अघि कोहलपुरका मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिएको स्मरण गर्दैै प्राप्त सीपलाई सही ढंगबाट उपयोग गर्न आग्रह पनि गरे । कार्यक्रममा कोहलपुर नगरपालिकाका न्यायिक समितिका संयोजकसमेत रहेकी उपप्रमुख संगीता सुवेदीले न्याय निरुपणमा मेलमिलापकर्ताहरुले उत्कृष्ट कार्य गर्दै आएको बताइन् । कोहलपुर नगरपालिकाका १५ वटै वडामा एक/एक जना मेलमिलाप संयोजक र दुई/दुईजना मेलमिलापकर्ताहरु छन् । नगर उपप्रमुख सुवेदीले ती

मेलमिलाकर्ताहरुले वडातहमा आएका विवादहरुलाई वडामै समाधान गर्दा न्यायिक समितिमा मुद्दाको चाप नभएको पनि बताइन् ।
उनले मेलमिलापका माध्यमबाट गरिने विवाद समाधान दीर्घकालीन देखिएको पनि आफूले महसुस गरेको बताइन् । सुवेदीकै अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहको स्वागत मन्तव्य न्यायिक समितिका सदस्य सविता चौधरीले दिएकी थिइन् ।

मौसमले रोकेको उडानले बाँकेको कांग्रेसलाई एउटा गम्भीर राजनीतिक वास्तविकता देखाइदियो । बेवाास्ता गरिएको व्यक्तिको सहाराले नै अन्ततः पार्टीको प्रतिष्ठा जोगियो । यो केवल संयोग होइन, संकेत हो । भविष्यमा यस्तो अपमानजनक परिस्थिति नदोहरियोस् भने बाँके कांग्रेसले आत्ममन्थन गर्नैपर्छ । अन्यथा, ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तो मानसिकता फेरि दोहोरिरहनुपर्ला, यसको घाटा भने अन्ततः पार्टीलाई नै हुनेछ ।’

 

नेपालगन्ज, पुस ११

‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ भन्ने नेपाली समाजको उखान केवल घरायसी व्यवहारमा सीमित रहेन, नेपाली राजनीतिमा पनि ज्यूँका त्यूँ लागू भएको देखिन्छ । बाँकेको नेपाली कांग्रेसले आयोजना गरेको ‘सुशील कोइराला स्मृति भवन’ उद्घाटन कार्यक्रम यसै उखानको ज्वलन्त उदाहरण बन्यो । पार्टीभित्रको गुटबन्दी, प्राथमिकताको हिसाब, व्यक्तिप्रतिको सम्मान र बेवास्ताको शैलीले कसरी आफैँलाई संकटमा पार्छ भन्ने सन्देश पनि यही घटनाले दिएको छ । र, अन्ततः परिस्थिति त्यहीँ मोडियो, जहाँ पूर्वाग्रहले पाखा लगाइएका नेताकै सहारा लिनुपर्ने बाध्यता सिर्जना भयो ।

जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुगेका सहमहामन्त्री किशोरसिंह राठौरलाई बेवास्ता गर्दै उद्घाटन कार्यक्रमको सम्पूर्ण जिम्मेवारी कार्यबहाक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापामार्फत गर्ने तयारी गरिएको थियो । सहमहामन्त्री राठौरलाई सामान्य अतिथिका रुपमा मात्र बोलावट थियो । जसले राठौरको भूमिका शून्यजस्तै बनाइयो, मानौँ उनी बाँकेका होइनन्, मानौँ उनी पार्टी संगठनका स्वाभाविक प्रतिनिधि होइनन् । राजनीतिक सभ्यताभित्र यस्ता असमान व्यवहारले केवल व्यक्तिलाई मात्र होइन, संस्थालाई नै कमजोर बनाउँछ भन्ने यथार्थ यहाँ बेवास्ता गरियो ।

तर, प्रकृतिले पनि यो बेवास्तालाई चित्त बुझाएन जस्तो भयो । शीतलहर, बाक्लो कुहिरो र मौसमको प्रतिकूलताका कारण नेपालगन्जको आकाश खुल्न सकेन । विमानस्थलमा उडान हुन नसक्दा कार्यक्रमका मुख्य पाहुनाका रूपमा तय गरिएका खड्का र थापा नेपालगन्ज आउनै सकेनन् । यही बाध्यताले कांग्रेस बाँकेको नेतृत्व फेरि त्यही ठाउँमा आइपुग्यो, जहाँ सुरुमा नै उभिनुपर्ने थियो, ‘आफ्नै क्षेत्रबाट निर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरको ढोकामा ।’ जसलाई कार्यक्रमको केन्द्रबाट टाढा राखिएको थियो, अन्ततः उनी नै केन्द्रीय पात्र बन्न पुगे । यही हो नेपाली राजनीतिमा देखिने विडम्बना, ‘जसलाई बेवास्ता गरिन्छ, अन्ततः उहीँले लाज ढाक्नुपर्ने परिस्थिति आइपर्छ ।’

राठौरलाई कार्यक्रमको मूल भूमिकाबाट टाढा राख्नु राजनीतिक असमानताको मात्र प्रश्न होइन, संस्थागत संस्कारको पनि मुद्दा हो । पार्टीभित्र सम्मानको आधार पद मात्र होइन, योगदान, जिम्मेवारी र प्रतिनिधित्व पनि हो । बाँके कांग्रेसलाई थाहा हुनुपर्थ्यो, ‘कांग्रेस केन्द्रीय सहमहामन्त्री केवल काठमाडौंका नेता होइनन्, उनी बाँकेकै राजनीतिक पहिचान पनि हुन् ।’ तर, यो बोध नहुँदा उनी बेवास्तामा परे, अनि परिस्थिति प्रतिकूल बन्दै जाँदा अन्ततः उनीमाथिनै भर पर्नुपर्‍यो । यसबाट एउटा स्पष्ट सन्देश निस्कन्छ, ‘राजनीतिमा व्यक्तिप्रतिको विभेद र आन्तरिक हेयभाव दीर्घकालीनरूपमा कहिल्यै राम्रो फल दिन्न ।’

यसअघि पनि बाँके कांग्रेसले आफ्नै जिल्लाबाट केन्द्रीय राजनीति गरेका नेतासँग सौहार्दपूर्ण र सम्मानजनक व्यवहार गर्न नसकेको इतिहास छ । सुशील कोइरालाजस्तो व्यक्तित्वलाई समेत पार्टीका आन्तरिक हिसाब–किताब र भावनात्मक उदासीनताले दुखाइरह्यो भन्ने स्मृतिहरू आज पनि बाँकेको राजनीतिक वृत्तमा ताजा छन् । सुशील कोइरालाकै नाममा बनेको तीनतले स्मृति भवन उद्घाटन कार्यक्रममै सम्मानको संस्कार व्यवहारमै लागू हुन नसक्नु विडम्बनापूर्ण मात्र होइन, नैतिकरूपमा पनि प्रश्न उठाउने विषय हो ।

यो घटना केवल एउटा कार्यक्रम अवरुद्ध हुनु र अर्को व्यक्तिले उद्घाटन गर्नुको सामान्य प्रसंग मात्र होइन । यो कांग्रेस बाँकेभित्रको मनोवृत्ति, संस्कार, आन्तरिक सम्बन्धको स्वरूप र नेतृत्वले अपनाउने व्यवहारिक शैलीको दर्पण हो । जब पार्टीभित्रै आ–आफ्ना सर्कल, अफिनिटी र पक्षधरता प्रभावशाली बन्छन्, संस्थागत अनुशासन र सहकार्य कमजोर पर्छ । मानिसको सम्मानभन्दा आफूले रोजेको शक्ति र समीकरणलाई प्राथमिकता दिइन्छ । यही प्रवृत्तिले अन्ततः पार्टीगत स्वास्थ्य कमजोर पार्छ, जनतामाझ सन्देश नकरात्मकरूपमै पुग्छ ।

यस घटनाले अर्को महŒवपूर्ण पाठ पनि दियो, ‘राजनीतिमा ‘जरूरत परेको बेलामात्र’ व्यक्तिलाई सम्झिने प्रवृत्ति अनुचित मात्र होइन, अस्थायी पनि हुन्छ ।’ पार्टीभित्र रहेका जिम्मेवार व्यक्तिहरूलाई निरन्तर सम्मान र भूमिकासहित अघि बढाउने संस्कार विकास गर्न सकियो भने यस्तो असहज परिस्थिति नै आउँदैन । बाँके कांग्रेसले यस घटनाबाट सिक्न जरुरी छ, ‘पद र गुटभन्दा माथि उठेर संस्थागत गौरव, आपसी सम्मान र नेतृत्वको नैतिक जिम्मेवारी कायम गर्ने संस्कार आवश्यक छ ।’

अन्ततः मौसमले रोकेको उडानले बाँकेको कांग्रेसलाई एउटा गम्भीर राजनीतिक वास्तविकता देखाइदियो । बेवाास्ता गरिएको व्यक्तिको सहाराले नै अन्ततः पार्टीको प्रतिष्ठा जोगियो । यो केवल संयोग होइन, संकेत हो । भविष्यमा यस्तो अपमानजनक परिस्थिति नदोहरियोस् भने बाँके कांग्रेसले आत्ममन्थन गर्नैपर्छ । अन्यथा, ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तो मानसिकता फेरि दोहोरिरहनुपर्ला, यसको घाटा भने अन्ततः पार्टीलाई नै हुनेछ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।