
काठमाडौँ । नेपाल प्रहरीले देशभर सञ्चालन गरेका कारबाहीबाट चालु आर्थिक वर्षको मंसिर महिनामा उल्लेख्य राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न किसिमका अवैध गतिविधि नियन्त्रण तथा कानुन कार्यान्वयनका क्रममा कुल ४० करोड २५ लाख ४१ हजार ६ सय ६५ रुपैयाँ राजस्व संकलन भएको हो ।
प्रहरीका अनुसार ट्राफिक प्रहरी कारबाहीमा ट्राफिक नियम उल्लङ्घनका विरुद्ध गरिएको कारबाहीबाट ७ करोड १५ लाख ९३ हजार ४५२ रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल संकलनको १७.७८ प्रतिशत हो । त्यसैगरी अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार ५४४ रुपैयाँ (३०.७४ प्रतिशत) राजस्व संकलन गरिएको छ । अवैध मालसामान बरामदबाट १७ करोड ९५ लाख ६७ हजार २ सय ५१ रुपैयाँ (४४.६१ प्रतिशत) संकलन भएको छ ।
प्रहरी कारबाहीका क्रममा हुण्डी कारोबारबाट ६४ लाख ८४ लाख ४३ हजार ६७० रुपैयाँ (१.६० प्रतिशत) तथा अवैध सुन/चाँदी बरामदबाट ८९ लाख ४५ हजार ३९३ रुपैयाँ (२.२२ प्रतिशत) राजस्व संकलन भएको छ ।
त्यस्तै, स्रोत नखुलेको रकमतर्फ ८५ लाख ९ हजार २ सय ९८ रुपैयाँ (२.११ प्रतिशत), अवैध नदीजन्य पदार्थ उत्खननबाट २७ लाख ६४ हजार ५५७ रुपैयाँ (०.६९ प्रतिशत), अवैध पशुपन्छीबाट ७ लाख २ हजार ३ सय रुपैयाँ (०.१७ प्रतिशत) र अवैध काठ बरामदबाट २ लाख ८७ हजार ५ सय रुपैयाँ (०.०७ प्रतिशत) राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीले देशभर कानुनको प्रभावकारी कार्यान्वयन, अवैध गतिविधि नियन्त्रण तथा राजस्व संकलनलाई थप सुदृढ बनाउने कार्यलाई निरन्तरता दिइने जनाएको छ ।
नेपालगन्ज, पुस १४
नेपालगन्ज सहरको शान्ति सुरक्षा अभिवृद्धिका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रविधिमैत्री सुरक्षा व्यवस्थालाई थप सशक्त बनाउँदै सहरभर सिसी क्यामेराबाट निगरानी गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा यो तयारी तीव्ररुपमा अघि बढाइएको प्रहरीको भनाइ छ । यससँगै अब नेपालगन्ज सहर पूर्णरूपमा प्रहरीको निगरानी प्रणालीभित्र आउने अपेक्षा गरिएको छ ।
सहरका धेरै क्षेत्रमा सिसी क्यामेरा नहुँदा विगतमा अपराध नियन्त्रण तथा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको अनुभव छ । कुनै घटना घटेपछि प्रमाण जुटाउन समस्या पर्ने, अपराधी पहिचान गर्न समय लाग्ने, अपराध गरेर फरार हुनेहरूलाई नियन्त्रणमा लिन चुनौती देखिने गरेका थिए । यस्तो अवस्थाकै कारण सहर पूर्णरूपमा प्रहरीको कन्ट्रोलभित्र छैन भन्ने अभिव्यक्ति सार्वजनिक क्षेत्रमा व्यक्त भइरहँदै आएको थियो । यही पृष्ठभूमिमा प्रहरीले सुरक्षा रणनीतिलाई आधुनिक बनाउँदै सिसी क्यामेरा जडानको अभियान अघि सारेको हो ।
अब नेपालगन्जका मुख्य सडक, चोक, बजार क्षेत्र, आवासीय इलाका, सार्वजनिक स्थल तथा संवेदनशील स्थानहरूमा सिसी क्यामेरा जडान भएपछि सहर २४ घण्टा प्रहरीको लगातार निगरानीमा रहनेछ । यसअघि अपराध घटेरपछि मात्र प्रहरी परिचालन हुने अवस्था रहँदै आएको भए पनि अब भने घटना घट्नै नदिन पहिल्यै सतर्कता अपनाउने, अपराध घट्दै गरेको संकेत देखिनासाथ तुरुन्त नियन्त्रण गर्ने तथा घटना घटेपछि तत्काल कारबाही गर्न सकिने अवस्था बन्नेछ । यसले सहरलाई सुरक्षित बनाउने मात्र होइन, अपराध गर्ने मनसायका व्यक्तिहरू पनि सचेत र भयभित हुने विश्वास लिइएको छ ।
सिसी क्यामेराबाट संकलन हुने सम्पूर्ण दृश्य तथा सूचना जिल्ला प्रहरी कार्यालय बाँकेभित्र स्थापना हुँदै गरेको कन्ट्रोल रुममार्फत नियन्त्रित गरिनेछ । त्यहाँ अत्याधुनिक उपकरण जडान गरिनेछ र विशेष तालिम प्राप्त प्रहरी टोली २४सैँ घण्टा निरन्तर निगरानीमा रहनेछ । कुन ठाउँमा के गतिविधि भइरहेको छ, कहाँ शंकास्पद अवस्था देखियो, कहाँ घटना घट्दै छ वा घटिसक्यो यी सबै कुरा कन्ट्रोल रुममै तत्काल थाहा हुनेछ । त्यसपछि त्यहीँबाट कमाण्ड पास गरेर छिटो र प्रभावकारी ढंगले प्रहरी परिचालन गरिनेछ । यसले अपराध नियन्त्रणसँगै दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण र आपतकालीन उद्धार कार्यलाई पनि सहज बनाउने अपेक्षा गरिएको छ ।
जनताको ज्यान, धन र स्वतन्त्रताको सुरक्षा गर्नु प्रहरी प्रशासनको प्रमुख दायित्व हो । नेपालको संविधानले नागरिकलाई सुरक्षित र सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । त्यसअनुसार अपराध नियन्त्रण, कानूनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण र मानव सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीलाई प्रविधिमैत्री बनाइने प्रयास भइरहेको छ । आजको समयमा केवल जनशक्तिमा मात्र निर्भर भएर अपराध नियन्त्रण सम्भव छैन । अपराधको शैली, घटनाको प्रकृति र जोखिमको स्वरूप परिवर्तन भइरहेका छन् । त्यही कारण विश्वभरका धेरै सहरमा सार्वजनिक स्थानदेखि राजमार्ग, सरकारी कार्यालय, व्यापारिक क्षेत्र, बैंक, व्यावसायिक केन्द्र तथा संवेदनशील स्थानसम्म सिसी क्यामेराको व्यापक प्रयोग हुँदै आएको छ । नेपालगन्ज पनि अब त्यही आधुनिक सुरक्षा अभ्यासतर्फ अघि बढ्दै छ ।
सिसी क्यामेरा जडानलाई केवल प्रविधि प्रयोगको पक्षबाट मात्र नभई जनविश्वास निर्माणको अभ्यासका रुपमा पनि लिइएको छ । सहर सुरक्षित भएको अनुभूति आम नागरिकले गर्नुपर्छ भन्ने धारणा प्रहरीको छ । सुरक्षा अनुभूति बढेपछि नागरिक निश्चिन्त भएर चल्न पाउने, व्यवसायीहरूले आत्मविश्वासका साथ कारोबार गर्न सक्ने, विद्यार्थी, यात्रु र श्रमिक सबैले सहज महसुस गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । सहर सुरक्षित हुँदा आर्थिक क्रियाकलाप, पर्यटन र सामाजिक जीवन पनि अझ सशक्त र सन्तुलित रूपमा अघि बढ्ने प्रहरीको तर्क छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले प्रविधि प्रयोग आधुनिक सुरक्षाको आवश्यक आधार भएको बताए । उनका भनाइमा नेपालगन्ज जस्तो बढी चहलपहल भएको सहरलाई केवल परम्परागत शैलीले मात्र सुरक्षित राख्न सकिन्न । अपराधको स्वरूप बदलिँदै गएको अवस्थामा प्रहरी पनि निरन्तर अपडेट हुनुपर्ने आवश्यकता देखिएको छ । ‘नेपालगन्ज अब सिसी क्यामेरामार्फत २४सैँ घण्टा प्रहरीको प्रत्यक्ष निगरानीमा रहनेछ । कुनै पनि घटना घट्यो भने तुरुन्तै जानकारी हुन्छ, अपराधी भाग्न पाउने सम्भावना धेरै कम हुन्छ । यसले अपराध नियन्त्रणमा ठुलो टेवा पुर्याउनेछ,’ एसपी जिसीले बताए ।
उनले सिसी क्यामेरा केवल अपराध नियन्त्रणको साधन मात्र नभई नागरिकमा सुरक्षाको विश्वसनीयता कायम गर्ने साधन भएको पनि उल्लेख गरे । उनका अनुसार सहर सुरक्षित भयो भने व्यापार, सामाजिक जीवन, समृद्धि र विकासका सबै पक्षमा सकारात्मक परिणाम देखिन्छ । उनले यस कार्यमा स्थानीय तह, निजी क्षेत्र र आम नागरिकको सहकार्य अपरिहार्य रहेको जनाए । ‘प्रहरी केवल कारबाहीको संस्था होइन, जनताको सुरक्षामा समर्पित सेवा प्रदायक अंग हो । यो अभियान जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको छ, त्यसैले सबैको साथ, सहकार्य र विश्वास अत्यावश्यक छ,’ उनले भने ।
यस अभियानलाई प्रभावकारी बनाउन नेपालगन्ज उपमहानगरपालिकासँग सघन समन्वय भएको प्रहरीको भनाइ छ । निजी क्षेत्र, बैंक, व्यवसायी, उद्योगी तथा नागरिक समाजसँग पनि सहकार्य गर्दै आवश्यक ठाउँमा क्यामेरा जडान, व्यवस्थापन र संरक्षणको काम अघि बढाइनेछ । यसअघि पनि धेरै निजी संस्थाले आफ्नै तहबाट सिसी क्यामेरा जडान गरेका छन् । अब तिनलाई आवश्यक परे एकीकृत प्रणालीसँग जोडेर समन्वित सुरक्षा व्यवस्था निर्माण गर्ने प्रयास भइरहेको छ ।
प्रहरीले नागरिकलाई पनि जिम्मेवार रहन आग्रह गरेको छ । सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई नागरिकको पनि साझा दायित्व भएको स्पष्ट पार्दै सिसी क्यामेरा जडानपछि यसको संरक्षण सबै मिलेर गर्नुपर्ने बताइएको छ । यस्ता उपकरण तोडफोड वा दुरुपयोग हुनु सहरकै सुरक्षामाथिको आक्रमण हुने भएकाले सबैले यसप्रति सचेत रहनुपर्ने संदेश प्रहरीले दिएको छ ।
नेपाल–भारत सीमा नजिक रहेको, व्यापारिक आवागमन बढी हुने, विविध गतिविधिले भरिपूर्ण रहेको सहरका रूपमा नेपालगन्जको सुरक्षा चुनौती पनि स्वाभाविक रूपमा जटिल रहेको छ । यस्ता चुनौतीलाई व्यवस्थापन गर्न प्रविधि प्रयोगको यो कदम महत्त्वपूर्ण सिद्ध हुने प्रहरीको विश्वास छ । सिसी क्यामेरा जडानपछि अपराध दर्ता दर घट्ने, अनुसन्धान छिटो र प्रभावकारी हुने, अपराधी चाँडै समातिने र सहरभर सुरक्षाको अनुभूति बलियो हुने अपेक्षा लिइएको छ ।
यसरी प्रविधि, जनसहयोग र प्रहरी प्रशासनको प्रतिबद्धतासँगै नेपालगन्जलाई थप शान्त, सुरक्षित र अपराधमुक्त सहर बनाउन सुरु गरिएको सिसी क्यामेरा निगरानी अभियानलाई ऐतिहासिक सुरक्षात्मक कदमका रूपमा हेरिएको छ । अब सहर केवल मानिसको आँखाले मात्र होइन, प्रविधिको आँखाले पनि निरन्तर निगरानीमा रहनेछ । यससँगै अपराध गतिविधि लुक्ने ठाउँ घट्दै जाने, नागरिक निश्चिन्त हुने र प्रहरी अझ जिम्मेवार तथा सक्षम देखिने विश्वास बाँधिएको छ ।
नेपालगन्ज : अझ सुरक्षित सहरको अपेक्षा
सिसी क्यामेरा जडानपछि अपराध दर्ता हुने दरमा कमी आउने, अनुसन्धानमा लाग्ने समय घट्ने, अपराधी सजिलै पक्राउ पर्ने र सर्वसाधारणमा सुरक्षा अनुभूति बढ्ने अपेक्षा गरिएको छ । नेपालगन्ज व्यापारिक, सांस्कृतिक र आवागमनको केन्द्र हो । भारत–नेपाल सीमानजिकै रहेको कारण यहाँ मानिसको चलहचल बढी हुन्छ । यही विशेषताका कारण सुरक्षा चुनौती पनि धेरै छन् । यसलाई व्यवस्थित र सुरक्षित राख्न सिसी क्यामेरा परियोजना निर्णायक ठहरिने प्रहरीको विश्वास छ ।
सहरका नागरिकले पनि यस कार्यक्रमलाई सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ । एक सुरक्षित सहर मात्र सुन्दर हुँदैन, समृद्ध पनि हुन्छ । बिहान–सायंक बजारिभ्रमण गर्ने नागरिकदेखि राति ड्युटी गर्ने श्रमिक, विद्यार्थी, व्यवसायी, पर्यटक सबैका लागि सुरक्षित वातावरण अत्यावश्यक छ ।
‘अपराधीभन्दा एक कदम अगाडि प्रहरी’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले नेपालगन्जको सुरक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन सिसी क्यामेरा परियोजना महŒवपूर्ण भएको बताए । उनका शब्दमा, ‘नेपालगन्ज जस्तो महŒवपूर्ण व्यापारिक सहरको सुरक्षालाई परम्परागत शैलीले मात्र सम्भव हुँदैन । अपराधको स्वरूप बदलिँदो छ, त्यसैले प्रहरी पनि प्रविधिमा अपडेट हुनुपर्छ । अब सिसी क्यामेरामार्फत सहर २४सैँ घण्टा प्रहरीको प्रत्यक्ष निगरानीमा रहनेछ । कुनै पनि घटना घट्यो भने तत्काल थाहा हुने छ, अपराधी भाग्न पाउने सम्भावना न्यून हुन्छ,’ एसपी जिसीले भने ।
उनका अनुसार सिसी क्यामेरा केवल अपराध नियन्त्रणका लागि मात्र नभई जनतामा सुरक्षित अनुभूति जगाउने माध्यम पनि हो । ‘नागरिकले आफैँ सुरक्षित भएको अनुभव गर्नुपर्छ । सहर सुरक्षित भयो भने व्यापार, पर्यटन, आर्थिक क्रियाकलाप, सामाजिक वातावरण सबै सकारात्मक बन्छ । यसमा जनताको साथ, स्थानीय तहको समन्वय र प्रहरीको प्रतिबद्धता मिलेर सकारात्मक परिवर्तन ल्याइनेछ,’ उनले बताए ।
एसपी जिसीले प्रहरी केवल कारबाहीको शक्ति मात्र नभई सेवा प्रदायक संस्थाका रूपमा जनतासँग जोडिएको निकाय भएको उल्लेख गरे । ‘हामी सर्वसाधारणका सुरक्षाका लागि छौँ । यो परियोजना जनताको सुरक्षासँग जोडिएको छ, त्यसैले जनताको साथ, सहयोग र विश्वास नै यसको सबैभन्दा ठूलो शक्ति हुनेछ,’ उनले जोड दिए ।
२४ घण्टा चल्ने कन्ट्रोल रुम
नेपालगन्ज सहरभर जडान गरिने सिसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय बाँकेभित्र निर्माण गरिँदैछ । त्यहाँ उच्च गुणस्तरका मोनिटर, अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्था हुनेछ । प्रहरीका खटिएर बसेका सुरक्षाकर्मीहरूले २४सैँ घण्टा सहरको गतिविधि अवलोकन गर्नेछन् ।
जहाँ–जहाँ केही शंकास्पद गतिविधि देखिन्छ, त्यहीँबाट तत्काल प्रहरी टोली परिचालन हुने बताइन्छ । यसले अपराध रोकथामलाई मात्र होइन, दुर्घटना न्यूनीकरण, भीड नियन्त्रण, ट्राफिक व्यवस्थापन र आपतकालीन उद्धार कार्यलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ ।
प्रहरीका अनुसार कुन स्थानमा समस्या देखियो, कहाँ घटना घट्दै छ वा घटिसक्यो—यसको तत्काल सूचना कन्ट्रोल रुममै उपलब्ध हुने भएकाले विगतको तुलनामा धेरै छिटो, प्रभावकारी र प्रमाणसहितको कार्यवाही गर्ने अवस्था बन्नेछ ।
कोहलपुर, पुस १४ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले यहाँका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ बाट ७/७ जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट ९ जना गरी २३ जनाको नाम सिफारिस भएको छ ।
२३ जनामध्येबाट पूर्व पूर्व नेकपा माओवादीबाट १२, एकीकृत समाजवादीका पाँचजना र बामदेव निकट एकजनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट महेश्वर जंग गहतराज, अब्दुल हुसेन खाँ, नरेन्द्र पाण्डे, तुलाराम विष्ट, नारायणप्रसाद लम्साल, पुजन विश्वकर्मा र अवराज खड्काको नाम सिफारिस भएको छ । यहाँ अब्दुल हुसेन खाँ पूर्व एकीकृत समाजवादीका हुन भने अरु सबै पूर्व नेकपा माओवादी केन्द्रका नेताहरु हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा अकलबहादुर बम, दिपेन्द्र विष्ट, पदम अर्याल, तेजप्रसाद रेग्मी, टंक धामी, सकिल अहमद जसगढ र मोहम्मद रियाज राईको नाम सिफारिस भएको छ । पदम र सकिल पूर्व एकीकृत समाजवादीका नेता हुने भने अरु पूर्व नेकपा माओवादी केन्द्रका नेता हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा बामदेव गौतमनिकट मोहम्मद शेर बागवानको नाम सिफारिस भएको छ । उनीसँगै पूर्व माओवादी केन्द्रबाट ईन्द्रप्रसाद खरेल, मोहम्मद समिन ईद्रीसी, कुवेर रिजाल, मिरा कार्की, उत्तरकुमार गुप्ता र परमानन्द बर्माको नाम सिफारिस हुँदा पूर्व एकीकृत समाजवादीबाट दिपककुमार गौरी मगर र टेकेन्द्र मल्लको नाम सिफारिस भएको छ ।



