
नेपालगन्ज, पुस १५ बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ । जेनजी प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको नौबास्ता कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए ।
कारागारबाट फरार भएकामध्ये अझै ९५ जना कारगारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट पाँच जनालाई फिर्ता ल्याइएको भुसालले जानकारी दिए । तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो । अहिले कारागार आउने क्रम रोकिएको छ । त्यसैले उनीहरू भारत गएको अनुमान भुसालको छ ।
नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ । नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भीडन्त गरेर भागेकाहरू हालसम्म ३९ जना मात्र पक्राउ परेको जानकारी दिँदै उनीहरूको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको बर्ता ।
फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर अझै ३९ जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधारगृहले जनाएको छ । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जना बालबन्दीमध्ये ५८ जना पक्राउ परेका छन् । सुधार गृहका प्रमुख किशोर शर्माले केहीलाई पक्राउ गरिएको, केही अभिभावकले ल्याएको र केहीले आफैँ आत्मसर्पपण गरेको जानकारी दिए । सो सुधारगृहमा अझै ५७ जना फरार छन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको उल्लेख गर्दै फरार भएका अधिकांश भारतमा लुकेको हुन सक्ने बताए । ‘कारागारबाट भागेकालाई पक्राउ गर्न फरार भएकाका घरघरमा पत्राचार गरिएको छ । प्रहरी परिचालन भएको छ,’ उनले भने । नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
कोहलपुर, पुस १५ जीवनको सबैभन्दा संवेदनशील र निर्णायक समय मानिने किशोर अवस्था पार गरिरहेका बालबालिकाको मन र भविष्यलाई उज्यालो बनाउने उद्देश्यका साथ कोहलपुरमा एक दिने मोटिभेसनल कार्यक्रम भावनात्मकरूपमा सम्पन्न भएको छ ।
सञ्चारिका समूह नेपाल, बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रमले किशोर–किशोरीहरूलाई आत्मविश्वास, आशा र सकारात्मक सोचको गहिरो सन्देश दिएको छ ।
कार्यक्रमका प्रमुख वक्ता तथा चर्चित उत्प्रेरक वक्ता कोष खड्काले जीवनका कठिन मोडहरूमा निराश नहुन, आफ्ना सपना चिन्न र लक्ष्यप्रति दृढ रहन सहभागीहरूलाई भावुक शैलीमा उत्प्रेरित गरेका थिए । उनका शब्दहरूले हलभरि उपस्थित किशोर–किशोरीको मन छोएको देखिन्थ्यो । धेरै सहभागी भावनात्मक बनेर मन्तव्य सुन्दै गरेका थिए । उनले भने, ‘परिस्थितिले होइन, सोचले मान्छेलाई पराजित गर्छ। आफूमा विश्वास गर्न सके जीवन आफैं बदलिन्छ ।’
खड्काले असफलतालाई डर मान्न नहुने धारणा राख्दै असफलता नै सिकाइको आधार भएको उल्लेख गरे । उनका अनुसार बारम्बार प्रयास गर्ने बानी, धैर्यता र आत्मअनुशासनले सफलताको बाटो खोल्ने गर्दछ । ‘सफल मानिस असफल हुँदैनन् भन्ने होइन, असफलताबाट हार नमान्ने मानिस नै सफल हुन्छ,’ उनले भने । त्यसैगरी लक्ष्य निर्धारण र सकारात्मक सोचको अभ्यासबारे पनि चर्चा गर्दै स्पष्ट लक्ष्यबिना गरिने मेहनत दिशाहीन हुने उल्लेख गर्दै खड्काले किशोर–किशोरीलाई आफ्ना सपना कागजमा उतार्न र त्यसलाई पूरा गर्ने योजनासहित अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा मोटिभेसनल स्पिकर तथा शिक्षक प्रमोद सुवेदीले किशोर अवस्थामा देखिने सोच, व्यवहार र निर्णय क्षमताले व्यक्तिको सम्पूर्ण जीवनमा प्रभाव पार्ने बताए । उनले शिक्षा पाठ्यपुस्तकमा सीमित नभई जीवन उपयोगी सीपसँग जोडिनुपर्नेमा जोड दिए । सुवेदीका अनुसार वर्तमान समयमा किशोर–किशोरीहरू विभिन्न मानसिक दबाब, प्रतिस्पर्धा र सामाजिक प्रभावको बीचमा हुर्किरहेका छन्, जसले उनीहरूलाई अन्योलमा पार्ने गरेको छ ।
उनले भने, ‘विद्यालयमा हासिल गर्ने शैक्षिक ज्ञानसँगै जीवनमा प्रयोग गर्न सकिने सीप, नैतिक मूल्य र आत्मअनुशासन सिकाउन आवश्यक छ । यी पक्षलाई बेवास्ता गरियो भने पढाइ मात्रले व्यक्तिलाई सक्षम नागरिक बनाउन सक्दैन ।’ सुवेदीले लक्ष्य निर्धारणको महŒव उल्लेख गर्दै किशोर–किशोरीले आफ्नो क्षमता र रुचिलाई पहिचान गरेर लक्ष्य तय गर्नुपर्ने धारणा राखे । स्पष्ट लक्ष्य बिना गरिएको प्रयास दिशाहीन हुने सम्भावना बढी हुन्छ । समय व्यवस्थापन, नियमित अभ्यास र सकारात्मक सोचले किशोर अवस्थामा देखिने तनाव र असफलताको डरलाई कम गर्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष कल्पना शर्माले किशोर–किशोरीको व्यक्तित्व विकासमा यस्ता कार्यक्रम उपयोगी हुने बताइन् । उनले किशोर अवस्था भविष्य निर्माणको महत्वपूर्ण समय भएकाले यस समयमा सकारात्मक सोच र सही मार्गदर्शन आवश्यक रहेको उल्लेख गरेकी थिइन् । साथै उनले स्थानीय तहले किशोर–किशोरी लक्षित रचनात्मक तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
यस्तै उक्त अवसरमा बोल्दै सञ्चारिका समूह नेपाल, बाँकेकि अध्यक्ष पवित्रा परियारले किशोर–किशोरीको मानसिक सशक्तीकरण आजको आवश्यकता भएको जनाउँदै यस्ता कार्यक्रमले उनीहरूलाई सही दिशा रोज्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी दिइन् । कार्यक्रममा कोहलपुर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत किशोर–किशोरीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमले आफूहरूलाई सोच्ने तरिका बदल्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।
कोहलपुर, पुस १५ कोहलपुरस्थित साँझा चोक आसपास रोपिएका बिरुवाहरू मध्यरातमै भाँचिएको छ । आइतबार मध्येराति तीनजनाको समूहले जथाभावी बिरुवा भाँचेर सडक छेउमै फालेको दृश्य चोक नजिकै जडान गरिएको सीसी क्यामेरामा कैद भएको छ । हरित सहरको अवधारणा अघि सारेको नगरपालिकाले कोहलपुरलाई हराभरा बनाउन गत केही वर्षयता हजारौँ बिरुवा रोप्दै आएको छ । त्यही क्रममा सार्वजनिक सम्पत्तिको रूपमा रोपिएका बिरुवाका संरक्षण र स्याहार गरिरहेको अवस्थामा यसरी तोडफोड हुनु दुःखद् रहेको सरोकारवालाहरूको टिप्पणी छ ।
नगरपालिकाको समन्वयमा प्रहरीले घटनापछि अनुसन्धान अघि बढाएको छ । सीसीटीभी फुटेजका आधारमा सुरक्षाकर्मीले घटनामा संलग्नमध्ये एकजनालाई पक्राउ गरेको जनाइएको छ भने अन्य दुईजनाको खोजी जारी छ । प्रहरीका अनुसार पक्राउ परेकाबाट प्रारम्भिक बयान लिइँदै छ र उनीहरूले किन र के उद्देश्यले बिरुवा भाँचिएको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । प्रहरीले घटना योजनाबद्ध थियो कि नशाको असरमा गरेको हर्कत मात्र हो भन्नेबारे समेत यतिबेला विभिन्न कोणबाट तथ्य संकलन गरिरहेको छ।
यसअघि पनि कोहलपुरका विभिन्न सार्वजनिक स्थलमा रोपिएका बिरुवाहरू तोडफोड भएका घटना देखिएका थिए । स्थानीय बासिन्दाहरूले यो घटना निन्दनीय रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी समुदायकै हुने भएकाले यस प्रकारका गतिविधि नियन्त्रण गर्न सबै मिलेर अघि सर्नुपर्ने धारणा राखेका छन् । कोहलपुर नगरपालिकाले हरित अभियानलाई निरन्तरता दिँदै सडकपछाडि वृक्षरोपण, पार्क क्षेत्र विस्तार र सौन्दर्यीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर पटकपटक बिरुवा तोडिने र क्षति पुर्याइने घटना दोहोरिनु अभियानकै प्रभावशीलतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भइरहेको सरोकारवालाहरूको भनाइ छ ।
प्रहरीले दोषीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । साथै यस्ता घटना दोहोरिन नदिन स्थानीय, सुरक्षाकर्मी र नगरपालिकाबीच सहकार्य अझ मजबुत बनाउनुपर्ने जोड दिइएको छ ।
कार्यविधिमा दुधालु गाई–भैंसीको लैनो अवस्थामा थप स्याहार, उचित पोषणमार्फत दुध उत्पादन कायम राख्ने उद्देश्य उल्लेख गरिएको छ । त्यस्तै नवजात बाच्छाबाच्छी/पाडा–पाडीको मृत्युदर घटाउँदै तौल र गुणस्तर कायम राख्ने तथा पशुको दुई वेतबीचको अन्तर कम गरी उत्पादन लागत घटाउने लक्ष्य पनि राखिएको छ । सुत्केरी भएपछिका पहिलो दुई महिना सबैभन्दा संवेदनशील मानिने भएकाले यस अवधिमा किसानलाई पोषणयुक्त दाना, भिटामिन र मिनरल उपलब्ध गराएर सघाउने योजना गाउँपालिकाले अघि सारेको छ ।
राप्तीसोनारी, पुस १५ राप्तीसोनारी गाउँपालिकाले पशुपालक किसानलाई गाई–भैंसीको स्याहार सुधार गर्दै दुध उत्पादन स्थिर राख्ने उद्देश्यसहित ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम लागू गरेको छ । गाउँपालिकाको पशु सेवा शाखामार्फत सञ्चालन हुने सो कार्यक्रमअन्तर्गत सुत्केरी गाई–भैंसीका मालिकलाई नगद र पोषण सामग्री गरी दुई हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराइने भएको छ । यसमा एक हजार रुपैयाँ नगद र अर्को एक हजार रुपैयाँ बराबरको भिटामिन, मिनरल र पशु आहार प्रदान गरिनेछ । गाउँपालिकाले जारी गरेको कार्यविधिअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित किसानले निवेदन दिएपछि अनुदान प्रक्रिया अघि बढाइने जनाइएको छ ।
राप्तीसोनारीलाई पशुपालनका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ । यहाँको धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाई–भैंसी पालनमा निर्भर छन् । तर सुत्केरी अवधिमा पर्याप्त पोषण र उचित स्याहार नपाउँदा पशुको स्वास्थ्य कमजोर हुने, बाच्छाबाच्छीको विकासमा असर पर्ने र दुध उत्पादन घट्ने समस्या वर्षौंदेखि देखिँदै आएको थियो । गाउँपालिकाले यही चुनौतीलाई सम्बोधन गर्न ‘पशु सुत्केरी भत्ता (गाई, भैंसी) अनुदान सञ्चालन कार्यविधि २०८१’ जारी गर्दै व्यवस्थित रूपमा कार्यक्रम अघि सारेको हो।
कार्यविधिमा दुधालु गाई–भैंसीको लैनो अवस्थामा थप स्याहार, उचित पोषणमार्फत दुध उत्पादन कायम राख्ने उद्देश्य उल्लेख गरिएको छ । त्यस्तै नवजात बाच्छाबाच्छी/पाडा–पाडीको मृत्युदर घटाउँदै तौल र गुणस्तर कायम राख्ने तथा पशुको दुई वेतबीचको अन्तर कम गरी उत्पादन लागत घटाउने लक्ष्य पनि राखिएको छ । सुत्केरी भएपछिका पहिलो दुई महिना सबैभन्दा संवेदनशील मानिने भएकाले यस अवधिमा किसानलाई पोषणयुक्त दाना, भिटामिन र मिनरल उपलब्ध गराएर सघाउने योजना गाउँपालिकाले अघि सारेको छ ।
राप्तीसोनारी गाउँपालिका–३ का पशुपालक किसान घनश्याम थारु भन्छन्, “पहिले सुत्केरी भएपछि गाई–भैंसीलाई राम्रो खानपान दिन नसकिँदा दुध कम हुने, कहिलेकाहीँ बाच्छाबाच्छी नै बच्न कठिन हुने अवस्था हुन्थ्यो । अहिले गाउँपालिकाले सहयोग गर्न लागेपछि हाम्रा लागि ठूलो राहतजस्तो भएको छ । कम्तीमा औषधि र पोषण सामग्री किन्ने व्यवस्था हुन्छ भन्ने विश्वास पलाएको छ ।” उनका अनुसार बजारमा पशु आहार र भिटामिन महँगो हुँदा धेरै किसानले नियमित प्रयोग गर्न सकिरहेका थिएनन् । “अब सरकारी सहयोग आएपछि पशुको स्याहारमा सकारात्मक सुधार हुनेछ,” उनले थपे ।
यस्तै गाउँपालिका–२ का किसान शान्ता बुढा पनि कार्यक्रमप्रति आशावादी छन् । “हामीजस्ता साना किसानका लागि दुई हजार रुपैयाँ ठूलो रकम नलाग्ला तर यसको प्रभाव भने ठूलो हुन्छ,” उनी भन्छिन्, “सुत्केरी अवधिमा चाहिने औषधि, भिटामिन र विशेष दाना किन्न सहज हुन्छ । गाउँपालिकाले कृषकलाई सम्झेर यस्तो काम गरेकोमा धन्यवाद दिनैपर्छ ।”
गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख जयबहादुर कार्कीका अनुसार कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन विशेष मापदण्ड तय गरिएको छ । “यस कार्यक्रमको मूल उद्देश्य किसानलाई राहत मात्रै दिनु होइन, दुध उत्पादनलाई स्थिर राख्दै पशु स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्नु हो,” उनले भने, “सुत्केरी अवधिमा उचित पोषण नपाउँदा पशुको दुध क्षमता घट्ने मात्र होइन, भविष्यमा पनि स्वास्थ्यमा असर पर्छ । त्यसैले यो अनुदानलाई सिठो, सचेतना र प्रविधिमैत्री पशुपालनतर्फको लगानीका रूपमा लिनुपर्छ ।”
उनका अनुसार किसानले गाउँपालिकाले मागेका कागजातसहित आवेदन दिएपछि पशु स्वास्थ्य प्राविधिकले अनुगमन गर्नेछन् । “सुत्केरी भएको प्रमाण, पशुको अवस्था र स्याहारका पक्षहरू हेरेर अनुदान वितरण गरिन्छ । यसले कार्यक्रम दुरुपयोग हुन नदिनेछ,” कार्कीले बताए । उनका भनाइमा, “राप्तीसोनारीमा धेरै परिवारको आम्दानीको आधार पशुपालन हो । यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउने हाम्रो योजना हो । पशु स्वस्थ भए मात्रै किसानको आय स्थिर हुन्छ, दूध उत्पादन बढ्छ र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।”
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था र गाउँ कार्यपालिकाले स्वीकृत गरेको वार्षिक कार्यक्रमअनुसार यो योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले किसानलाई सुत्केरी अवधिमा जागरूक रहन, नियमित खोप, पोषणयुक्त आहार र स्वच्छ वातावरणमा पशु राख्न पनि आग्रह गरेको छ ।
स्थानीयस्तरमा यस्तो कार्यक्रम लागू हुनु सकारात्मक कदमका रूपमा हेरिएको छ । यसले केवल आर्थिक सहयोग मात्र होइन, पशुपालन क्षेत्रमा चेतनाको विकास पनि गर्ने अपेक्षा गरिएको छ । किसान, प्राविधिक र स्थानीय सरकारबीचको सहकार्यले पशुपालनलाई अझ सुदृढ बनाउने विश्वास समेत व्यक्त गरिँदैछ । यति मात्र होइन, कार्यक्रम प्रभावकारी रूपमा सफल भए आगामी वर्ष थप बजेट र विस्तृत कार्यक्रम ल्याउने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ ।
पशुपालक किसानहरूका अनुसार यदि निरन्तरता, अनुगमन र सहजीकरण ठीकसँग भयो भने यसले गाउँपालिकामा दुध उत्पादन वृद्धि, पशु स्वास्थ्य सुधार र किसानको आय वृद्धि गर्न मद्दत पुर्याउने छ । अहिले नै धेरै किसान आवेदन दिन तयारीमा रहेको जनाइएको छ । सुत्केरी अवधिमा प्रोत्साहन र सहयोगले पशुपालनलाई सुरक्षित र दिगो व्यवसाय बनाउने गाउँपालिकाको लक्ष्य पूरा होस् भन्ने अपेक्षा स्थानीयले गरेका छन् ।



