
जानकी, पुस १७ जानकी गाउँपालिका, बाँकेमा आयोजित राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पालिकास्तरीय अन्तरविद्यालय आठौं अध्यक्षकप खेलकुद प्रतियोगिता–२०८२ बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले गरेका छन् । उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षता, विद्यालयका प्राचार्य, खेलकुद प्रेमी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा मन्त्री तिमिल्सिनाले खेलकुदले युवामा अनुशासन, सहकार्य र सहिष्णुता जस्ता मूल्यको विकासमा ठूलो योगदान पुर्याउने बताए । उनले भने, ‘खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, व्यक्तित्व निर्माणको साधन हो । बालबालिकामा नेतृत्व क्षमताको विकास, शारीरिक स्वास्थ्य र सामाजिक सम्बन्ध सुधार्न खेलकुद महŒवपूर्ण भूमिका खेल्दछ ।’ उनले आगामी दिनमा खेलकुदका कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउन प्रदेश सरकार सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा विभिन्न खेलकुद गतिविधिहरू आयोजना गरिने बताइएको छ । फुटबल, भलिबल, कबड्डी र दौड प्रतियोगिताहरू यस प्रतियोगिताको मुख्य आकर्षण रहेका छन् । सहभागी विद्यालयका विद्यार्थीहरू उत्साहका साथ तयारीमा जुटेका छन् र प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन् । प्रतियोगिताको माध्यमबाट प्रतिभाशाली विद्यार्थीहरूलाई थप प्रोत्साहन र अवसर प्रदान हुने बताइएको छ ।
खेलकुद प्रतियोगिताले स्थानीय समुदायमा पनि उत्साह र आकर्षण सिर्जना गरेको छ । दर्शकहरूले विद्यार्थीहरूको खेल कौशललाई नजिकबाट अवलोकन गर्दै युवा प्रतिभालाई समर्थन गर्दै आएका छन् । गाउँपालिकाले प्रतियोगिताको सफलतामा खेलकुद सामग्री, प्राविधिक सहयोग र सुरक्षामा विशेष ध्यान दिएको छ ।
उक्त प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने र विजेतालाई राष्ट्रपति रनिङ शिल्डमा स्थान दिलाइनेछ । गाउँपालिका अध्यक्षले प्रतियोगिताले छात्रछात्रा मात्र होइन, समग्र समाजमा खेलकुदको महत्व बढाउने अपेक्षा व्यक्त गरेका छन् । यो प्रतियोगिता बालबालिकामा खेलकुदप्रतिको रुचि बढाउने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने हेतुले आयोजना गरिएको छ ।
कोहलपुर, मुस १७ बाँकेका एकसहित पाँचजना युवा डेढ वर्षदेखि बेपत्ता भएका छन् । लिबियाको राजधानी त्रिपोलीबाट समुद्रमार्ग भएर ग्रीस हुँदै अमेरिका लैजाने भन्दै मानव तस्करको जालोमा परेका उनीहरू २०८१ असार १२ गते (२४ जुन २०२४) मा ह्वाट्स एपमार्फत आफन्तलाई ‘हावाले भरिएको बलुन (बोट) मार्फत ग्रीस जाँदैछौं’ भन्दै गरेको अन्तिम सम्पर्कपछि सम्पर्कविहीन हुन् ।
त्यसयता उनीहरू कहाँ पुगे, ग्रीस पुगे कि त्रिपोली फर्किए, वा कुनै दुर्घटनामा परे परिवार बेखबर छन् । ती युवामध्ये चारजना पश्चिम रुकुमका र एकजना बाँकेका छन् । उनीहरूको उमेर २० देखि २७ वर्षबीचको रहेको प्रहरीले जनाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागदेखि मानव बेचबिखन अनुसन्धान ब्यूरोसम्म धाउन थालेको उनीहरूका आफन्तको भनाइमा डेढ वर्षभित्र राज्य संस्थाबाट समेत कुनै ठोस जानकारी पाउन सकिएन । ‘हामी अझै प्रतीक्षामा छौँ, कहिले त खबर आउँछ कि भनेर दिनरात छटपटिरहेका छौँ,’ पीडित परिवारले दुखेसो पोख्छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार २४ जुन २०२४ मा परिवारसँग भएको अन्तिम सम्पर्कपछि उनीहरू पूर्णरूपमा सम्पर्कविहीन बनेका हुन् । आफन्तले दिएको सूचनाअनुसार त्यतिबेला पाँच नेपालीसहित ३० जना एकै समूहमा डुंगामा राखेर ग्रीसतर्फ लैजाने भनिएको थियो । ब्यूरोले इन्टरपोलमार्फत लिबियाली प्रहरीसँग समेत समन्वय गरेको थियो । तर त्यहाँबाट पनि ‘ती समयको आसपास कुनै डुंगा दुर्घटनाको अभिलेख नभएको’ जवाफ आएको उनले जनाए । डुंगामार्गबाट जान लागेको सूचना आए पनि त्यही समयाभन्दा बेपत्ता हुनु, तर दुर्घटनाको कुनै पुष्टि नहुनु, यस घटनालाई झनै शंकास्पद बनाएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
लिबियाबाट भूमध्यसागर हुँदै ग्रीस प्रवेश गरी त्यहाँबाट अमेरिका पुर्याइदिने प्रलोभनमा परेका नेपाली युवाहरू पछिल्ला वर्षहरूमा मानव तस्करको जालोमा पर्ने क्रम बढ्दो छ । यस्तै जोखिमपूर्ण यात्राकै क्रममा २०७८ मा क्यारेबियन सागर हुँदै अमेरिका जाँदै गर्दा सात नेपाली बेपत्ता भएको घटना अझै ताजा छ । अहिलेको घटना त्यही दुःखद् घटना जस्तै भयावह र अनिश्चित बनेको छ ।
परराष्ट्र मन्त्रालयमा २३ पुस २०८१ मा औपचारिक उजुरी दिइए पनि तथ्य पत्ता नलागेपछि अहिले पीडित परिवारहरू मानव बेचबिखन अनुसन्धान ब्युरो धाइरहेका छन् । अनुसन्धानमा पाँच युवामध्ये केहीले अजरबैजान, युएई, ओमान हुँदै लिबिया पुगेको तथ्य भेटिएको छ भने एकको विवरण अझै अस्पष्ट देखिएको छ । अमेरिका लैजाने भन्दै उनीहरूसँग लाखौँ रुपैयाँ असुलिएको खुलेको छ । एक पीडित परिवारले मात्र औपचारिक जाहेरी दिएको छ भने बाँकी चार परिवार अझै उजुरी दिन अगाडि नआएको प्रहरीले जनाएको छ । यसलाई उजुरी दिन नहिच्किनुको कारण आफन्तमार्फत नै विदेश जान गएको विश्वास, तथा दलालले ढाँट्याएर झुट्टा आश्वासन दिइरहनु नै हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
एसएसपी पंगेनीका अनुसार पाँचै युवालाई फरक–फरक एजेन्टले त्रिपोलीसम्म पुर्याए पनि अन्तिम चरणमा उनीहरू सबै एकै समयमा सम्पर्कविहीन भएका छन्, जसले घटनालाई जटिल बनाएको छ । राज्य संयन्त्र सक्रिय भए पनि अझै उनीहरूको अत्तोपत्तो नलाग्दा परिवार निरन्तर मानसिक पीडामा छन् । डेढ वर्षदेखि प्रतीक्षामा बसिरहेका ती परिवारको अहिले एउटै चाहना छ, ‘हाम्रो छोराको अवस्था जोसुकै अवस्थामा भए पनि थाहा मात्र पाइयोस् ।’
बाँके, पुस १७ बर्दियाको राजापुरस्थित कालीका माध्यमिक विद्यालय चनौरामा दुई कोठे नयाँ भवन निर्माणको कार्य औपचारिकरूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गर्दै भवन निर्माणले विद्यालयको शैक्षिक वातावरण सुधार्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार शिक्षालाई सबैभन्दा आधारभूत अधिकारका रूपमा लिने र ग्रामीण क्षेत्रका विद्यालयमा पूर्वाधार सबल बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गरे । उनले शिक्षाको पहुँच विस्तार, गुणस्तरीय शिक्षाको सुनिश्चितता र आधुनिक शैक्षिक पूर्वाधार विकासमार्फत गाउँघरका बालबालिकालाई पनि प्रतिस्पर्धी बनाउने नीति लुम्बिनी प्रदेश सरकारले अपनाएको बताए । ‘अब ग्रामीण क्षेत्रका विद्यार्थी सहरमा गएर मात्रै राम्रो पढ्नुपर्छ भन्ने बाध्यता हटाउँदै हामी स्थानीय स्तरमै सुविधा सम्पन्न शैक्षिक वातावरण बनाइरहेका छौँ,’ मन्त्री तिमिल्सिनाले भने, ‘यो भवन केवल पर्खाल र छानामात्र होइन, यसले यहाँका बालबालिकाको भविष्य निर्माणमा महŒवपूर्ण योगदान पुर्याउनेछ ।’
दुई कोठे भवन निर्माण भएपछि विद्यालयमा कक्षा सञ्चालन सहज हुने, विद्यार्थीलाई पठन–पाठनमा थप सुविधा पुग्ने र सिकाइ वातावरण सुधारिने विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले बताए । विद्यालयका शिक्षकहरूले लामो समयदेखि कक्षाकोठाको अभाव झेल्दै आएको र नयाँ भवन निर्माणपछि विद्यार्थीको चाप व्यवस्थापन हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीको उत्साहजनक सहभागिता थियो ।
शिलान्यास कार्यक्रममा वक्ताहरूले सरकारको ध्यान ग्रामीण क्षेत्रतर्फ पुगेकोमा खुशी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गरी भवन उपयोगमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरे । मन्त्री तिमिल्सिनाले योजना पारदर्शी तथा परिणाममुखी ढंगले कार्यान्वयन गर्न आग्रह गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याइरहेको जानकारी पनि दिनुभयो । भवन निर्माण निर्धारित समयभित्र सम्पन्न गरिने र गुणस्तरीय निर्माणमा विशेष ध्यान दिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।
यससँगै कालीका माध्यमिक विद्यालय चनौरामा शैक्षिक पूर्वाधार सुदृढीकरणको नयाँ प्रारम्भ भएको विद्यालय समुदायले जनाएको छ ।





