बारा । जीतपुर सिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका सनाया खातुन बेपत्ता भएपछि प्रहरीले खोजी थालेको छ।
सनाया बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएपछि प्रहरीले खोजी अभियान अघि बढाएको हो।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको सम्बन्धमा निवेदन प्राप्त भएको पुष्टि गरे। उनका अनुसार निवेदन प्राप्त भएलगत्तै प्रहरी टोली परिचालन गरी बालिकाको खोजी सुरु गरिएको छ।
बालिका कुन स्थानबाट, कसरी र कुन परिस्थितिमा बेपत्ता भएकी हुन् भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले सम्भावित स्थानमा खोजी गर्नुका साथै बालिकाको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ।

















