२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

राप्तीसोनारी, पुस– १७  बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुई स्थित लक्ष्मी माध्यमिक विद्यालयको ६६औं वार्षिक उत्सव तथा अभिभावक भेला विहिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले ब्यानर पढेर भर्चुल मार्फत कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले लक्ष्मी मावि नमुना विद्यालयको रूपमा रहेको र विद्यालयबाट थुप्रै जनशक्ति उत्पादन भएको बताए ।

पुरानो इतिहास बोकेको विद्यालय भएकोले विद्यालयको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री प्रेमबहादुर भण्डारीले विविध आरोह अवरोह पार गर्दै विद्यालयले ६६औं वार्षिक उत्सव मनाउनु सफलता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा विद्यालयको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ को ३ करोड ५२ लाख ५ हजार ३ सय ४ रुपैयाँ ८९ पैसा बराबरको आय व्यय प्रस्तुत गरेका थिए । साथै २०८२/०८३ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी वार्षिक उत्सवमा खेलकुद प्रतियोगिता रनिङ्गशिल्डमा सहभागी विद्यार्थीहरुलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, सामुदायिक वनका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

लुम्बिनी, पुस १८  लुम्बिनी प्रदेशमा आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३३ लाख ८६ हजार ६८० मतदाता मतदान गर्ने भएका छन् । यसअघि २०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदाता थिए । यसरी यसपटक १ लाख ३७ हजार ४३ नयाँ मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशका मतदातामा पुरुष १७ लाख १५ हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र अन्य ३८ मतदाता छन् । यसले लुम्बिनी प्रदेशमा मतदाताको सहभागिता बढिरहेको संकेत दिन्छ । जिल्लागत रूपमा हेर्दा रूपन्देही प्रदेशको सबैभन्दा ठूलो निर्वाचन क्षेत्र हो । यहाँ पुरुष मतदाता ३ लाख ४६ हजार २०३, महिला ३ लाख २६ हजार ३११ गरी कुल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । दाङ दोस्रो ठूलो जिल्ला हो, जहाँ कुल ४ लाख ३१ हजार ६०६ मतदाता छन् । बाँके तेस्रो स्थानमा छ, यहाँ ३ लाख ५० हजार ३७१ मतदाता मतदान गर्ने छन् ।

बर्दिया जिल्लामा ३ लाख २३ हजार २६६, कपिलवस्तुमा ३ लाख ९६ हजार २६५, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा २ लाख ५४ हजार १५७, गुल्मीमा २ लाख २९ हजार ५४९, पाल्पामा २ लाख ७ हजार ४३६, अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२, प्युठानमा १ लाख ६५ हजार ४०६, रोल्पामा १ लाख ४९ हजार ५९७, र रूकुम पूर्वमा सबैभन्दा कम ३४ हजार ७७२ मतदाता मतदान गर्ने छन् ।
निर्वाचन व्यवस्थापनका लागि प्रदेशमा यस पटक १६७१ मतदानस्थल र ३९९८ मतदान केन्द्र तोकिएको छ । सूचना अधिकारी कुँवरका अनुसार सबैभन्दा धेरै मतदानस्थल कपिलवस्तुमा (२३५) र सबैभन्दा धेरै मतदान केन्द्र रूपन्देहीमा (७३२) रहेका छन् ।

दाङमा १५९ मतदानस्थल र ४०२ मतदान केन्द्र, प्युठानमा १०५ मतदानस्थल र २३० मतदान केन्द्र, बाँकेमा १३९ मतदानस्थल र ४०० मतदान केन्द्र, बर्दियामा १५४ मतदानस्थल र ३०७ मतदान केन्द्र, नवलपरासीमा १२२ मतदानस्थल र २९७ मतदान केन्द्र, गुल्मीमा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र, पाल्पामा १०१ मतदानस्थल र २५१ मतदान केन्द्र, अर्घाखाँचीमा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र, रोल्पामा ८६ मतदानस्थल र १८० मतदान केन्द्र, र रूकुम पूर्वमा ४४ मतदानस्थल र ५६ मतदान केन्द्र तोकिएका छन् ।
कुंवरका अनुसार, यसले निर्वाचनमा मतदाताको पहुँच सुनिश्चित गर्दै मतदान प्रक्रियालाई सहज र व्यवस्थित बनाउने विश्वास दिलाएको छ । साथै निर्वाचन टोलीले सुरक्षा, व्यवस्थापन र मतगणनाको तयारी पूरा गरिसकेको छ ।

मतदाता संख्या र मतदान संरचना हेर्दा लुम्बिनी प्रदेशमा आगामी निर्वाचनमा सहभागिता उच्च हुने अपेक्षा गरिएको छ । यसअघि भएको निर्वाचनको तुलनामा मतदाता वृद्धिले युवाहरू र नयाँ मतदाताको भूमिका अझ महत्वपुर्ण हुने देखाउँछ । निर्वाचन तयारीसँगै प्रदेशका नागरिकलाई मतदानमा सकृय भाग लिन आग्रह गरिएको छ ।

यस प्रकार, लुम्बिनी प्रदेश आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पूर्ण रूपमा तयारी अवस्थामा पुगेको छ, जहाँ मतदान स्थल र केन्द्र पर्याप्त रुपमा व्यवस्था गरिएको छ । निर्वाचन आयोग र सुरक्षा निकायले मतदाताको सुविधा र सुरक्षित मतदान सुनिश्चित गर्न सम्पूर्ण तयारी पूरा गरेका छन् ।

काठमाडौं, पुस १८  शीतका कारण सडक भिजेर चिप्लो बनेपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा पुनः दुईतर्फी रूपमा गाडी चल्न थालेका छन् । तीन दिनदेखि समस्या देखिएको सडकमा हिजो दिउँसोदेखि यातायात सुचारु भएको दाउन्ने प्रहरी चौकीले जनाएको छ ।

सडक चिप्लो भएपछि ठूला तथा मालबाहक गाडी उकालो चढ्न नसक्दा लामो जाम हुने अवस्था सिर्जना भएको थियो । केही स्थानमा यात्रुले ३० देखि ३२ घण्टासम्म जाममा बस्नुपरेको थियो । अहिले सडकमा गिट्टी राखिएको र जोखिम कम भएको प्रहरीले जनाएको छ । तर निर्माणाधीन भएकाले शीत बढ्दा पुनः समस्या दोहोरिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बुटवल–नारायणगढ १७० किलोमिटर सडकखण्डमध्ये दाउन्नेको करिब १४ किलोमिटर पार गर्न मात्र ५–६ घण्टा लाग्ने अवस्था यथावत छ । कल्भर्ट तथा सडक ढलानको काम भइरहेकाले केही क्षेत्रमा एकतर्फी सडक सञ्चालन भइरहेको छ ।

यसैबीच नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) ले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । ट्राफिक नियम कडाइका साथ पालना गर्न तथा लेन डिसिप्लिनमा यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

वैकल्पिक मार्गका रूपमा नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल आउजाउ गर्न, कालीगण्डकी चोक (गैँडाकोट)–रामपुर–पिपलडाँडा मार्ग तथा काठमाण्डौ–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न सवारीचालकलाई सुझाव दिइएको छ ।
आयोजनाले निर्माण कार्य तीव्र रूपमा भइरहेको र यात्रा सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइरहेको जनाएको छ ।

बाँके, पुस १८  बढैयाताल गाउँपालिका–३ कण्ठपुरस्थित विद्याज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले एक विशेष समारोहका बीच उद्घाटन गरेका छन् । स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले राष्ट्र निर्माणमा पुर्‍याउँदै आएको योगदान महŒवपूर्ण रहेको बताए ।
उनका अनुसार देशभरका सामुदायिक विद्यालयहरूलाई सबल र परिणाममुखी बनाउन सरकार लागिपरेको छ । ‘समाज परिवर्तनको आधार शिक्षा हो । शिक्षामा रूपान्तरण ल्याउन सकिएन भने विकासको गति तीव्र हुन सक्दैन,’ मन्त्री तिमिल्सिनाले भने, ‘गाउँगाउँका सामुदायिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू नै आजका प्रशासन, राजनीति, व्यापार र विभिन्न क्षेत्रका अगुवा बनेका छन् ।

त्यसैले विद्यालयलाई अझ सुदृढ बनाउन सरकारले आवश्यक सहयोग गर्दै जानेछ ।’ उनले विद्यालयको भौतिक संरचना, दक्ष शिक्षक, आधुनिक प्राविधिक शिक्षा र गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत साथ र सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व, विद्यालय परिवार, पूर्वविद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वर्ण महोत्सवले विद्यालयको गौरवमय यात्रा स्मरणसँगै आगामी दिनमा अझ सक्षम शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापकले पाँच दशकको यात्रामा विद्यालयले स्थानीय समुदायका हजारौं विद्यार्थीलाई आधारभूतदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्दै आएको जानकारी दिए । उनले विशेष गरी पछिल्ला वर्षमा शैक्षिक सुधार, परीक्षा परिणाम, भौतिक पूर्वाधार विकास र सूचना प्रविधिमैत्री सिकाइ प्रवद्र्धनमा विद्यालय अगाडि बढिरहेको बताए ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयको इतिहास, उपलब्धि प्रस्तुतिकरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमसमेत राखिएको थियो । कार्यक्रमले विद्यालयप्रति समुदायको सरोकार, गर्व र जिम्मेवारी झनै बलियो बनाउने सहभागीहरूको धारणा रहेको थियो ।

नेपालगन्ज, पुस १८  कृषि ज्ञान केन्द्रले कृषकहरुलाई कृषि मेसिनरी, औजार तथा उपकरणको मर्मतसम्भारसम्बन्धी तालिम दिएको छ । वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत रहेको यन्त्र मर्मत तथा सम्भार कार्यशालाबाट उक्त तालिम सञ्चालन गरिएको हो । तालिममा खेती किसानीमा प्रयोग हुने ट्र्याक्टर, थ्रेसर, मिनी–टिलर, सिंचाइ पम्प, स्प्रे मेशिन लगायतका उपकरणको नियमित हेरचाह, खराबी पहिचान तथा मर्मत गर्ने तरिका बारे सैद्धान्तिक र व्यवहारिक कक्षा सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

तालिममा ३९ जना कृषकहरु सहभागी थिए । सहभागीहरुलाई कृषि कार्यलाई सहज, श्रम बचत तथा उत्पादन वृद्धि गर्न आधुनिक उपकरणको प्रभावकारी प्रयोग र समयमै मर्मतसम्भार गर्दा दीर्घकालीन रुपमा उपकरण टिकाउ हुने विषयमा प्रशिक्षकहरुले विस्तृत जानकारी प्रदान गरेका थिए । व्यवहारिक अभ्यासका क्रममा सहभागिहरुले उपकरण खोलेर हेर्ने, साना–ठूला ‘फाल्ट’ पहिचान गर्ने, आवश्यक पार्टस परिवर्तन गर्ने तथा नियमित जाँच र सरसफाइ गर्ने अभ्याससमेत गरेका थिए ।

निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा कृषक स्वयम् मेसिनरीको प्राथमिक मर्मतसम्भार गर्न सक्षम हुनु महत्वपूर्ण भएको बताए । उनले तालिमले कृषकलाई आत्मनिर्भर बनाउने र मामुली गडबडीका कारण कृषि कार्य प्रभावित हुने अवस्था घटाउने विश्वास व्यक्त गरे । सिंहका अनुसार यस्ता कार्यक्रमले कृषकको लागत घटाउने, उत्पादकत्व बढाउने र कृषिमा प्रविधिको प्रयोगलाई दिगो बनाउन सहयोग पुगेको छ ।

उनीले आगामी दिनमा पनि आवश्यकताअनुसार थप समूहलाई लक्षित गरी यस्ता तालिम निरन्तर सञ्चालन गर्ने योजनाबारे जानकारी गराए । सहभागी कृषकहरुले तालिम उपयोगी र व्यावहारिक रहेको भन्दै कृषि उपकरणको संरक्षण तथा मर्मतसम्भारमा अब सहज भएको प्रतिक्रिया दिएका छन् ।

नेपालगन्ज, पुस १८  उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएका एक थुनुवा अस्पतालकै परिसरबाट फरार भएका छन् । लागुऔषध सेवनसम्बन्धी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेकै अवस्थामा स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुर्‍याइएका ती थुनुवा उपचारकै बीचमा भागेका हुन् ।

प्रहरीका अनुसार वर्ष ३२ का अनिल कुमार यादव बिरामी भएपछि उनलाई उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज लगिएको थियो । अस्पतालमै भर्ना गरी उपचार भइरहेको बेला उनले अस्पतालको सुरक्षाबाट जुक्ति मिलाएर निस्किएर फरार भएको जानकारी भएको प्रहरीले जनाएको छ । यादव भारतको बहराइच जिल्ला घर भएका नागरिक हुन् । उनलाई २०८२ पुस ७ गते पक्राउ गरी नियन्त्रणमा लिइएको थियो । उनीमाथि लागुऔषध सेवनसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा म्याद थप गरी प्रहरीले हिरासतमा राखेको थियो । हिरासत अवधिकै दौरान स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको र अस्पतालको बेडमै भर्ना गरेर उपचार भइरहेको अवस्थामा उनी भागेको प्रारम्भिक जानकारी प्रहरीले सार्वजनिक गरेको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेले व्यापक खोजी सञ्चालन गरेको छ । प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३५ जनाको विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, सम्भावित भागे रहेका स्थान र सीमा क्षेत्रलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय जमुनाह, जयसपुर, हिरमिनिया, प्रहरी चौकी साईगाउँलगायत सम्पूर्ण सीमा नाकाका युनिटहरू उच्च सतर्कताका साथ परिचालन गरिएको प्रहरीले जनाएको छ । विशेषगरी भारततर्फ अवैध ढंगले प्रवेश गर्न नदिन नाकामा चेकजाँच कडाइ गरिएको र सडक, नदी तथा भित्री बाटोहरूमासमेत निगरानी बढाइएको बताइएको छ । सम्भावित सम्पर्क, चिनजानको दायरा, बसोबास गर्न सक्ने क्षेत्र र हिँडडुलका रुटबारे खंगलिँदै खोजतलास अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

थुनुवा फरार भएपछि प्रहरी प्रशासनमा मात्रै होइन, अस्पताल सुरक्षाप्रति पनि प्रश्न उठ्न थालेका छन् । अस्पताल जस्तो भीडभाडपूर्ण स्थानमा प्रहरी निगरानी रहे पनि थुनुवा भाग्न सफल हुनु सुरक्षामा लापरबाहीको संकेत भएको स्थानीयहरूले टिप्पणी गरेका छन् । यद्यपि यसबारे औपचारिक रूपमा केही नबोले पनि प्रहरीले आन्तरिक समीक्षा भइरहेको जनाएको छ । अस्पताल प्रशासनले पनि घटनाबारे आवश्यक समन्वय गरी सहयोग गरिरहेको बताइएको छ । फरार थुनुवालाई चाँडै नियन्त्रणमा लिने विश्वास व्यक्त गर्दै प्रहरीले सर्वसाधारणलाई समेत सहयोगका लागि अनुरोध गरेको छ । कुनै जानकारी भए नजिकको प्रहरी एकाइलाई खबर गरिदिन आग्रह गरिएको छ । अहिले घटना सम्बन्धी थप अनुसन्धानका साथै फरार थुनुवाको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।

नेपालगन्ज, पुस १८  लागुऔषध नियन्त्रणको अभियानअन्तर्गत बाँके प्रहरीले हवाई फायर गरी एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश, बहराइच जिल्लाको रुपैडिया थानामा बसोबास गर्दै आएका ३५ वर्षीय इलिहास अहमदलाई प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर नजिकबाट नियन्त्रणमा लिएको हो ।

लागुऔषध ब्राउनसुगर खरिदबिक्रीको गतिविधि चलाइरहेको भन्ने शंकास्पद सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ब्युरोका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले गणेशपुर क्षेत्रमा उनलाई फेला पारेर कानुन बमोजिम चेकजाँच गर्न खोज्दा अहमदले भाग्ने प्रयास गरेका थिए । भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन कठिनाइ भएपछि प्रहरीले टाइप–५४ प्रकारको चापेबाट तीन राउन्ड हवाई फायर गरी परिस्थितिलाई नियन्त्रणमा ल्याएको जनाएको छ । त्यसपछि उनलाई पक्राउ गरी तलासी लिँदा उनले लगाएको कालो ज्याकेटको अगाडिको दाहिने खल्तीमा लुकाइराखिएको अवस्थामा करिब ३०० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । प्लास्टिकमा प्याक गरिएको अवस्थामा भेटिएको उक्त लागुऔषधसँगै उनको साथबाट एउटा मोबाइल फोन पनि बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेका अहमदलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको जनाएको छ । अहिले बरामद गरिएको लागुऔषधको प्रकृति, सञ्जाल र सीमापार कारोबारसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बाँके नेपाल–भारत सीमा नजिकको संवेदनशील क्षेत्र मानिँदै आएको छ । पछिल्ला वर्षहरूमा यस क्षेत्रमा लागुऔषध ओसारपसार र कारोबारका गतिविधि बढ्दै गएको प्रहरीले जनाएको छ । यस्तै गतिविधि नियन्त्रणका लागि नियमित सूचनाका आधारमा निगरानी, विशेष अनुसन्धान र संयुक्त अपरेसन हुँदै आएको बताइन्छ । प्रहरीका अनुसार सीमावर्ती नाकाका रूपमा रहँदै आएको नेपालगञ्ज क्षेत्र हुँदै ठूलो परिमाणमा लागुऔषध भित्रिने प्रयत्न भइरहँदा त्यसलाई निस्तेज पार्न थप कडाइ गरिएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई पनि लागुऔषध कारोबारबारे सचेत रहन र शंकास्पद गतिविधि देखिएमा सूचना दिन आग्रह गरेको छ । यसअघि पनि विभिन्न समयमा नेपालगञ्ज र आसपासका क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध बरामद हुँदै आएका छन् । यस घटनालाई प्रहरीले महत्वपूर्ण सफलता मानेको छ । पक्राउ परेका अहमदमाथि लागुऔषधसम्बन्धी कानुनको दफाबमोजिम मुद्दा दर्ता गरी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्ज र कोहलपुरका व्यवसायीले खेतमै आएर किनेर लैजाने गरेका छन् । स्थानीय सखरखण्डको माग बढ्दै गएकोले खेती पनि बिस्तार गर्दै जाने किसानहरु बताउँछन् ।

 

नेपालगन्ज, पुस १८  केही वर्ष पहिलेसम्म सुख्खा र बाँझो रहँदै आएको बाँके डुडुवा गाउँपालिकास्थित सिधनियाघाटको राप्ती नदीले कटान गरेको नदी छेउको बगर क्षेत्र अहिले हरियालीमा परिणत भएको छ । नदीको बगरमा स्थानीय बासिन्दाले सखरखण्ड, तरबुजा, करेला र अन्य तरकारी फलाउन थालेपछि सो क्षेत्र हरियालीमा परिणत भएको हो ।

राप्ती नदीको बगरमा यति बेला बालुवामा फलाइएको सखरखण्ड (गन्जी) खन्न र बिक्री गर्न किसानलाई भ्याइनभ्याइ छ । लगानी कम र आम्दानी धेरै हुन थालेपछि हाल आएर नदीको बगरमा सखरखण्डको खेती गर्नेहरु बढेका छन् । सोही क्रममा राप्ती सोनारी गाउँपालिका ६ डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले करिब २५ कठ्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्डको खेती गरेका छन् ।

उनले सुरुमा केही समस्या भए पनि अहिले सो खेतीबाट निकै राम्रो आम्दानी भइरहेको जनाउँदै यस वर्ष हालसम्म ६५ कुइन्टल सखरखण्ड झिकेर बिक्री गरिसकेको बताए । राप्तीको बगरमा उत्पादन भएको सखरखण्डको स्वाद भारतबाट आउने भन्दा राम्रो भएकोले माग अत्यधिक रहेको जनाउँदै उनले अझै झिक्ने कार्य जारी रहेको जनाए ।

४५ हजारको लगानीमा लगाएको सो सखरखण्डमध्ये हालसम्म फत्तेसिंहले तीन लाख रुपैयाँभन्दा बढीको उत्पादन गरेका छन् । अझै उनको खेतमा करिब २० क्विन्टल सखरखण्ड रहेको अनुमान छ । हाल सखरखण्ड प्रतिकिलो ६० रुपैयाँका दरले किसानबाट खरिद भइरहेको छ भने बजारमा ८० देखि १०० रुपियाँ किलोसम्ममा बिक्री भइरहेको छ ।

बगरमा सखरखण्डको खेती गर्नेहरुमा राप्ती सोनारी ६ डाँडाटपरीका अर्का स्थानीय नन्कु मल्लाह पनि हुन । उनले १५ कठ्ठा जग्गा भाडामा लिएर सखरखण्डको खेती गरेर करिब ४० क्विन्टल उत्पादन भएको बताए । सोही प्रकारले डुडुवा गाउँपालिका ५ सिधनियाका दशरथ गोडियाले पनि करिब १५ कठ्ठामा सखरखण्डको खेती गरेर ३५ क्विन्टल उत्पादन गरेको जनाउँदै अर्को वर्ष ३० कठका खेती गर्ने योजना बनाएको सुनाए । उनीहरुले उत्पादान गरेको सखरखण्ड विक्रीमा कुनै पनि समस्या छैन । नेपालगन्ज र कोहलपुरका व्यवसायीले खेतमै आएर किनेर लैजाने गरेका छन् । स्थानीय सखरखण्डको माग बढ्दै गएकोले खेती पनि बिस्तार गर्दै जाने किसानहरु बताउँछन् ।

सिधनियाघाटस्थित राप्ती नदीको बगरमा उत्पादन भएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायतका ठाउँमा समेत बिक्रीका लागि लैजाने गरिएको व्यवसायीले बताएका छन् । राप्ती नदीको बगरमा अहिले सिजन अनुसार सखरखण्ड, तरबुजा, करेला र काँक्रो उत्पादन गर्ने गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।