२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

कोहलपुर, पुस २७  बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणका कारण स्थानीय नागरिकको जीवन जोखिममा परेको विषयमा नेपाली कांग्रेस, क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले गम्भीर ध्यानाकर्षण गराएको छ । निकुञ्ज आसपासका बस्तीमा पछिल्लो समय बाघको आक्रमण बढ्दै जाँदा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति रोक्न ध्यानाकर्षण गराएको हो ।

पाँच दिनअघि राप्तीसोनारी गाउँपालिका–१, सौरीका ६३ वर्षीय मरिचमान भण्डारी बाघको आक्रमणबाट मृत्यु हुनु यसै घटनाक्रमको सबैभन्दा दुर्भाग्यपूर्ण घटना मानिएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिका सभापति पोषण केसीले भने, ‘मानिसको शिकार गर्दै हिँडिरहेको बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने आवश्यक छ । साथै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन दीर्घकालीन, वैज्ञानिक मापदण्डमा आधारित व्यवस्थापन योजना लागू गर्न जरुरी छ ।’ उनले स्व. भण्डारीको परिवारलाई कानुन बमोजिम तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायमा आवश्यक पहल गर्न पनि आग्रह गरे ।

क्षेत्रीय सचिव खुम बस्नेतले बाघ आक्रमणको घटनालाई अत्यन्तै चिन्ताजनक विषयको रुपमा व्याख्या गर्दै भने, ‘स्थानीय समुदाय निरन्तर त्रसित छन् । निकुञ्ज वरपर बसोबास गर्ने नागरिकहरू ढुक्क, सुरक्षित र निर्भीकरूपमा बाँच्न पाउनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यसका लागि प्रशासनिक निकायसँग सहकार्य गर्दै तत्काल र दीर्घकालीन उपाय अपनाउन हामी जोडदार माग गर्छौं ।’
बस्नेतले थपे, ‘सुरक्षा उपाय नअपनाउँदा ज्यान गुमाउने घटना बढ्नेछ । केवल नियन्त्रणमा लिने मात्र पर्याप्त छैन, शिक्षित जनचेतना, सुरक्षित बाटो, र निगरानी प्रणाली पनि आवश्यक छ । यो मानव सुरक्षा र राष्ट्रिय निकुञ्जको दुवै पक्षको हितमा अत्यावश्यक छ ।’ जिल्ला प्रशासन कार्यालय, बाँके राष्ट्रिय निकुञ्जले पनि यस घटनाप्रति ध्यानाकर्षण पाएको जनाएको छ । स्थानीय प्रशासन र वन विभागसँग सहकार्य गर्दै प्रभावित क्षेत्रका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने उपाय तुरुन्त लागू गर्नुपर्नेमा नेपाली कांग्रेस जोड दिइरहेको छ ।

यसै सन्दर्भमा पार्टीले बाघ र अन्य जंगली जनावरबाट हुने मानव क्षतिको रोकथामका लागि वैज्ञानिक अध्ययनमा आधारित प्रभावकारी योजना कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

घोराही, पुस २७ घोराही उपमहानगरपालिका–१४ मिलन चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ४७ ग्राम ६ सय ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ८५ हजार ८ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ खोलीगाउँ बस्ने ३४ वर्षीय सुशील गहतराज र ३२ वर्षीय अम्मर वली रहेका छन् । अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको प्रहरी टोलीले लु.८० प ६३११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बिहीबार राति मिलन चोक क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार लागूऔषध कारोबारको आशंकामा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ र नगद फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्दिया, पुस २७ जैविक विविधताको महत्वपूर्ण सूचक मानिने चराको अवस्थाबारे तथ्यांक संकलन गर्न बर्दियामा सोमबारदेखि चरा गणना सुरु हुने भएको छ । जिल्लाका प्रमुख सिमसार, वन तथा संरक्षित क्षेत्रहरूलाई केन्द्रमा राखेर दुई दिनसम्म व्यवस्थित रूपमा चरा गणना गरिनेछ ।बढैयाताल, बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्जको मध्यवर्ती क्षेत्र, सामुदायिक वन र अन्य चरा बढी देखिने स्थानहरूमा गणना हुने बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । शनिबार बिहान निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चरा गणना गर्ने निर्णय गरेको हो ।

संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार गणनाका लागि ३० जना संरक्षणकर्मी परिचालन गरिनेछ । ‘चराको संख्या, प्रजाति र बासस्थानको अवस्थाबारे अद्यावधिक जानकारी लिन गणना महत्वपूर्ण छ,’ उनले भने, ‘यसले संरक्षण रणनीति बनाउन सहयोग पुग्छ ।’गणना कार्य बर्दिया राष्ट्रिय निकुञ्जको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोष,  होटल गाइड एसोसिएसन , नेचर गाइड तथा अन्य सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालन गरिनेछ । अनुभवी प्रकृति मार्गदर्शक र संरक्षण कर्मीको सहभागिताले गणनालाई विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।नेपाल पन्छी विज्ञ संघका अध्यक्ष तथा जल पन्छी गणनाका बाँके–बर्दिया संयोजक रामबहादुर शाहीका अनुसार गत वर्ष बर्दियामा विभिन्न प्रजातिका ५ सय ३५ वटा चरा गणना भएका थिए ।

‘हरेक वर्षको गणनाले चराको संख्यामा आएको परिवर्तन, मौसम र मानवीय गतिविधिको प्रभाव बुझ्न मद्दत गर्छ,’ उनले बताए ।
विशेषगरी सिमसार क्षेत्र, नदी, ताल तथा वन क्षेत्र चराका प्रमुख बासस्थान भएकाले ती स्थानमा केन्द्रित भएर गणना गरिनेछ । चरा गणनाबाट प्राप्त तथ्यांकले दीर्घकालीन संरक्षण योजना, पर्यटन प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको केन्द्रीय विवाद बाँके जिल्लामा पनि सतहमा आएको छ । पार्टीको जिल्ला नेतृत्वकै नाममा परस्पर विरोधी विज्ञप्ति र अपील सार्वजनिक भएपछि नेपाली कांग्रेस बाँके आन्तरिक कलहमा तानिएको देखिएको छ ।नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेका सभापति नारायणप्रसाद गौडेल र केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीद्वारा जारी संयुक्त अपीलप्रति उपसभापति कृष्णबहादुर कार्की र सचिव सञ्जुकुमारी चौधरीले कडा आपत्ति जनाएका छन् । उनीहरूले उक्त अपीललाई अवैधानिक, एकल र जिल्ला कार्यसमितिको औपचारिक निर्णयबिनै जारी गरिएको भन्दै ‘काउन्टर’ विज्ञप्ति सार्वजनिक गरेका हुन् ।उपसभापति कार्की र सचिव चौधरीद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले पुस १८ गते सार्वजनिक गरेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौँमा नियमित केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भइसकेको उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा जिल्ला कार्यसमितिको बैठक वा पदाधिकारीसँग छलफल नगरी सभापतिले एकलरूपमा विशेष महाधिवेशनको पक्षमा अपील जारी गर्नु पार्टी विधान र प्रक्रियाविपरीत भएको दाबी गरिएको छ ।विज्ञप्तिमा विशेष महाधिवेशनका नाममा आयोजना हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थालाई आग्रह गरिएको छ । साथै, केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार हुने नियमित महाधिवेशन सफल पार्न सक्रिय हुन र फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई विजयी गराउन पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।यसअघि जिल्ला सभापति गौडेल र केन्द्रीय सदस्य बाल्मिकीद्वारा संयुक्तरूपमा जारी अपीलमा भने पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा बाँकेबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको थियो । अपीलमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख गर्दै प्रतिनिधिहरूको सहभागिता आवश्यक रहेको दाबी गरिएको छ ।

उक्त अपीलमा पार्टीको इतिहासमा यो समय अत्यन्तै महत्वपूर्ण मोड भएको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशका समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरिएको छ । नेपाली कांग्रेस केवल राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएकाले महाधिवेशन प्रतिनिधिहरूको भूमिका औपचारिक उपस्थितिमा सीमित नभई पार्टी र राष्ट्रको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारी भएको उल्लेख गरिएको छ ।

एकै जिल्लाबाट सार्वजनिक भएका यी दुई परस्पर विरोधी धारणा र विज्ञप्तिले नेपाली कांग्रेस बाँकेभित्रको आन्तरिक मतभेदलाई खुलारूपमा उजागर गरेको छ । केन्द्रीय तहमा चर्किँदै गएको विशेष महाधिवेशनसम्बन्धी विवादको असर जिल्लास्तरमा समेत देखिन थालेको भन्दै पार्टी कार्यकर्तामाझ अन्योल सिर्जना भएको छ ।पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू भने केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन र आन्तरिक संवादको अभावले संगठन कमजोर हुने चिन्ता व्यक्त गर्न थालेका छन् । आगामी महाधिवेशन र निर्वाचनको संघारमा देखिएको यो विवादले नेपाली कांग्रेस बाँकेको संगठनात्मक एकतामा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ ।

सहरको मुख्य बजार क्षेत्र समृद्ध देखिए पनि भित्री बस्ती, सुकुम्बासी क्षेत्र, सीमावर्ती इलाका र मजदुर बस्तीमा बसोबास गर्ने नागरिकको जीवनस्तर निकै कमजोर रहेको छ । दैनिक ज्याला मजदुरी, रिक्सा चलाउने, ठेलागाडा व्यवसाय र अनौपचारिक श्रममा निर्भर जनसंख्या ठूलो भएकाले आम्दानी अस्थिर र न्यून रहेको स्थानीयवासी बताउँछन् । बढ्दो महँगी, घरभाडा र स्वास्थ्य तथा शिक्षाको खर्चले उनीहरूको जीवन थप कठिन बन्दै गएको छ ।

 

बाँके, पुस २७  पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित नेपालगन्ज उपमहानगरपालिका देशकै सबैभन्दा धेरै गरिब जनसंख्या भएको स्थानीय तहहरूको सूचीमा परेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले व्यापार, आवागमन र बजारको चहलपहलले भरिएको सहरमै गरिबीको गहिरो समस्या रहेको तथ्य उजागर गरेको हो ।प्रतिवेदनअनुसार ७७ जिल्लामध्ये १० स्थानीय तहको गरिब जनसंख्या धेरै भएको सूचीमा दोस्रो स्थानमा नेपालगन्ज परेको छ । नेपालगन्जको कुल जनसंख्या एक लाख ६४ हजार ४ सय ४२ रहेको छ । तीमध्ये गरिबीको दर २९ दशमलब ८५ प्रतिशत पुगेको छ, जसअनुसार ४९ हजार ८७ जना नागरिक गरिबीको रेखामुनि जीवनयापन गरिरहेका छन् । व्यापारिक सहरका रूपमा पहिचान बनाएको नेपालगन्जमा ठूला बजार, उद्योग, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी देखिए पनि त्यसको प्रत्यक्ष लाभ सबै वर्गसम्म पुग्न नसकेको प्रतिवेदनले देखाएको छ ।

सहरको मुख्य बजार क्षेत्र समृद्ध देखिए पनि भित्री बस्ती, सुकुम्बासी क्षेत्र, सीमावर्ती इलाका र मजदुर बस्तीमा बसोबास गर्ने नागरिकको जीवनस्तर निकै कमजोर रहेको छ । दैनिक ज्याला मजदुरी, रिक्सा चलाउने, ठेलागाडा व्यवसाय र अनौपचारिक श्रममा निर्भर जनसंख्या ठूलो भएकाले आम्दानी अस्थिर र न्यून रहेको स्थानीयवासी बताउँछन् । बढ्दो महँगी, घरभाडा र स्वास्थ्य तथा शिक्षाको खर्चले उनीहरूको जीवन थप कठिन बन्दै गएको छ ।कोरोना महामारीपछि नेपालगन्जमा साना तथा मध्यम व्यवसाय धराशायी हुनु, रोजगारीका अवसर घट्नु र सीमावर्ती व्यापार प्रभावित हुनु गरिबी बढ्नुका प्रमुख कारणका रूपमा देखिएका छन् । महामारीअघि दैनिक काम गरेर गुजारा चलाइरहेका धेरै परिवार अहिले बेरोजगारी र ऋणको चपेटामा परेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले बहुआयामिक गरिबी मापनका आधारमा तयार पारेको यस प्रतिवेदनमा आय मात्र नभई शिक्षा, स्वास्थ्य, आवास, सरसफाइ, खानेपानी र जीवनस्तरका सूचकलाई समेत समावेश गरिएको छ । ती सूचकका आधारमा नेपालगन्जको अवस्था अन्य सहरको तुलनामा कमजोर देखिएको हो ।

त्यस्तै प्रतिवेदनले बाँके जिल्लाको समग्र गरिबी अवस्थालाई पनि उजागर गरेको छ । बाँकेको गरिबी दर २६ दशमलब ९२ प्रतिशत पुगेको छ । जिल्लाको कुल जनसंख्या पाँच लाख ९७ हजार २ सय ८३ रहेको छ । एक लाख २९ हजार २ सय २९ घरधुरी रहेको बाँकेमा गरिब जनसंख्या एक लाख ६० हजार ८ सय १७ रहेको तथ्यांकले देखाएको छ ।
जिल्लाका ग्रामीण क्षेत्र, सीमावर्ती बस्ती तथा थारू, दलित, मुस्लिम र सुकुम्बासी समुदायमा गरिबीको समस्या अझै गम्भीर रहेको सरोकारवालाहरूको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सीमित पहुँचका कारण यी समुदाय गरिबीको चक्रबाट बाहिर निस्कन सकेका छैनन् ।

विकासका दृष्टिले नेपालगन्जमा सडक, अस्पताल, निजी विद्यालय, होटल तथा व्यापारिक संरचना विस्तार भइरहेका छन् । तर विकास र गरिबीबीचको विरोधाभास स्पष्ट देखिएको छ । विज्ञहरूका अनुसार पूर्वाधार विकाससँगै उत्पादनमूलक उद्योग, सीपमूलक तालिम र स्थायी रोजगारी सिर्जना नहुँदा गरिबी न्यूनीकरण हुन नसकेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारीहरू भने गरिबी न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको दाबी गर्छन् । सीप विकास तालिम, महिला तथा विपन्न लक्षित उद्यम कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र शिक्षा सहयोगमार्फत गरिबी घटाउने प्रयास भइरहेको नगरपालिकाको भनाइ छ । तर प्रतिवेदन सार्वजनिक भएपछि ती कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले नेपालगन्ज र बाँके जिल्लामा गरिबीको समस्या अझै गहिरो रहेको स्पष्ट पारेको छ । व्यापारिक सहरको छवि बोकेको नेपालगन्जमै ठूलो संख्यामा नागरिक गरिबीको रेखामुनि रहनु संघ, प्रदेश र स्थानीय सरकारका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ । तथ्यांकमा आधारित योजना, समावेशी विकास र रोजगारी सिर्जनामा ध्यान नदिइए गरिबी न्यूनीकरण अझै कठिन हुने विज्ञहरूको निष्कर्ष छ ।

बाँकेमा गरिबी दर २६.९२ प्रतिशत
प्रतिवेदनले बाँके जिल्लाको समग्र गरिबी अवस्था पनि चिन्ताजनक रहेको देखाएको छ । बाँकेको गरिबी दर २६ दशमलब ९२ प्रतिशत रहेको छ । जिल्लाको कुल जनसंख्या पाँच लाख ९७ हजार २ सय ८३ रहेको तथ्यांक छ ।
यस जिल्लामा घरधुरी संख्या एक लाख २९ हजार २ सय २९ रहेको छ । तीमध्ये गरिब घरधुरीमा बसोबास गर्ने जनसंख्या एक लाख ६० हजार ८ सय १७ रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालगन्ज उपमहानगरपालिकासँगै जिल्लाका ग्रामीण क्षेत्र, सीमावर्ती बस्ती, थारू, दलित, मुस्लिम तथा सुकुम्बासी समुदायमा गरिबीको दर अझ बढी रहेको तथ्यांकले देखाउँछ ।

 

लुम्बिनीमा २४.२४ प्रतिशत
लुम्बिनी प्रदेशमा गरिबीको दर २४ दशमलव ३४ प्रतिशत रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०२३’ प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा रहेको छ । सुदूरपश्चिममा ३४ दशमलव १६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ भने सबैभन्दा कम गरिबीको दर गण्डकी प्रदेशमा ११ दशमलव ८८ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार कोशी प्रदेशमा १७ दशमलव १९ प्रतिशत, मधेश प्रदेशमा २२ दशमलव ५३ प्रतिशत, बागमती प्रदेशमा १२ दशमलव ५९ प्रतिशत र कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेका छन् । यस आधारमा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरिबीको समस्या अझै गम्भीर रहेको स्पष्ट देखिन्छ ।

समग्र नेपालमा भने करिब २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेको तथ्याङ्कले देखाएको छ । सहरी र ग्रामीण क्षेत्रबीच गरिबीको अवस्था अझै असन्तुलित रहेको प्रतिवेदनले औंल्याएको छ । सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ भने ग्रामीण क्षेत्रमा यो दर २४ दशमलव ६६ प्रतिशत पुगेको छ । यसले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर अझै चुनौतीपूर्ण रहेको संकेत गर्दछ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा गरिबी मापनका लागि विसं २०५२ देखि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै ‘नेपाल जीवनस्तर सर्वेक्षण’ सञ्चालन हुँदै आएको छ । आधारभूत लागत विधिको प्रयोग गरी मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ ।यस पटक गरिबी मापनका लागि नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ । प्रतिव्यक्ति वार्षिक खर्च रु ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको वर्गमा राखिएको छ । यसअघि विसं २०६६/६७ मा गरिबीको रेखा प्रतिव्यक्ति वार्षिक रु १९ हजार २६१ निर्धारण गरिएको थियो । समयक्रमसँगै जीवनयापन लागत बढेकाले गरिबीको रेखा पनि उल्लेख्य रूपमा वृद्धि गरिएको कार्यालयको भनाइ छ ।प्रतिवेदनले प्रदेशगत तथा क्षेत्रगत असमानता अझै कायम रहेको देखाउँदै गरिबी न्यूनीकरणका कार्यक्रमहरू प्रदेश र स्थानीय तहको आवश्यकताअनुसार लक्षित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।