
खजुरा, माघ ७ नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा बाहिरी जिल्लाका उम्मेदवार उठाएको भन्दै यहाँका नेता तथा कार्यकर्ताले तीव्र विरोध जनाएका छन् । पार्टीले ‘टूरिष्ट’ उम्मेदवार थोपरेको आरोप लगाउँदै उनीहरूले नेपालगन्जस्थित नेपाली कांग्रेस बाँकेको जिल्ला पार्टी कार्यालयमा कालो ब्यानर राखेर असन्तुष्टि प्रकट गरेका हुन् ।
नेपाली कांग्रेसले यस निर्वाचन क्षेत्रमा रोल्पाका अमरसिंह पुनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेश सभापतिसमेत रहेका पुनले मंगलबार बाँके क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराइसकेका छन् । तर, स्थानीय स्तरमा लामो समयदेखि पार्टी संगठन मजबुत बनाउँदै आएका नेता तथा कार्यकर्ताले बाहिर जिल्लाबाट उम्मेदवार ल्याएर टिकट दिनु गलत भएको बताएका छन् ।
विरोधमा उत्रिएका नेता तथा कार्यकर्ताले बाँकेमा कांग्रेसभित्र सक्षम, अनुभवी र लोकप्रिय नेताहरू हुँदाहुँदै बाहिरी उम्मेदवारलाई प्राथमिकता दिनु अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले स्थानीय भावनाको कदर नगरी गरिएको निर्णयले पार्टीभित्र असन्तोष बढ्ने र चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।
‘टूरिष्ट उम्मेदवार चाहिँदैन’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका कार्यकर्ताले पार्टी नेतृत्वले स्थानीय संगठनको आवाज नसुनेको आरोप लगाएका छन् । उनीहरूका अनुसार बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसको लामो इतिहास र योगदान रहेका स्थानीय नेताहरूलाई पाखा लगाएर बाहिरका नेतामा भरोसा गर्नु पार्टीका लागि घातक हुन सक्छ ।
यस विषयमा कांग्रेस बाँकेका केही नेताहरूले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै औपचारिक रूपमा ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् । यद्यपि, पार्टीको केन्द्रीय नेतृत्व भने निर्णय सच्याउने वा नबदल्ने विषयमा हालसम्म मौन छ । स्थानीय असन्तुष्टि बढ्दै जाँदा बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा देखिन थालेको छ, जसले आगामी निर्वाचनमा पार्टीको रणनीति र एकतामाथि प्रश्न उठाएको छ ।
नेपालगन्ज, माघ ७ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपालगन्जस्थित जमुनाह नाकामा रिक्सा चालकलाई लक्षित गरी भन्सारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । नेपालगन्ज भन्सार कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा दैनिकरूपमा सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने रिक्सा चालकलाई भन्सार नियम, दायित्व र जोखिमका विषयमा जानकारी गराइएको हो ।
कार्यक्रममा यात्रु ओसारपसारका क्रममा यात्रुको सामान हराउने, रिक्सामा अवैध वा भन्सार नतिरेका सामान बोक्दा अटो/रिक्सा जफत हुन सक्ने, साथै कानुनी कारबाहीसमेत भोग्नुपर्ने जोखिमबारे चेतना दिइएको थियो । भन्सार प्रक्रिया पूरा भएका सामान मात्र बोक्नुपर्ने, शंकास्पद सामान देखिएमा तुरुन्त भन्सार वा सुरक्षाकर्मीलाई जानकारी गराउनुपर्ने विषयमा विशेष जोड दिइयो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले भन्सार सुधार तल्लो तहबाटै सुरु हुनुपर्ने अवधारणा अघि सार्दै सीमा क्षेत्रमा काम गर्ने श्रमिकहरूको भूमिका अत्यन्त महŒवपूर्ण रहेको बताए । ‘भन्सारको यसपालिका तल्लो तहबाटै परिवर्तन भन्ने हाम्रो अवधारणा हो,’ उनले भने, ‘रिक्सा चालकहरू सीमा नाकामा प्रत्यक्ष रूपमा क्रियाशील हुन्छन् । उनीहरू सचेत भए अवैध ओसारपसार नियन्त्रण गर्न ठूलो सहयोग पुग्छ ।’
पौडेलका अनुसार धेरैजसो साना अवैध ओसारपसार यात्रु र सवारी साधन प्रयोग गरेर हुने भएकाले रिक्सा चालकलाई नियमबारे स्पष्ट जानकारी हुनु आवश्यक छ । ‘भन्सार नतिरेका सामान बोक्दा तपाईंहरूको सवारी जफत हुन सक्छ, आम्दानी गुम्छ र कानुनी झमेलामा पर्न सक्नुहुन्छ,’ उनले सचेत गराए ।
कार्यक्रममा सहभागी रिक्सा चालकहरूले भन्सार नियमबारे प्रत्यक्ष जानकारी पाउँदा दैनिक काममा सजिलो हुने प्रतिक्रिया दिएका थिए । यस्ता जनचेतनामूलक कार्यक्रमले सीमा क्षेत्रमा कानुनी व्यापार प्रवद्र्धन गर्नुका साथै अवैध गतिविधि न्यूनीकरणमा टेवा पुग्ने भन्सार कार्यालयको विश्वास छ ।
नेपालगन्ज, माघ ७ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण वातावरणका बीच उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरूले राप्तीसोनारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरूले नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तथा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारहरूले खजुरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए । मनोनयन दर्ताका क्रममा उम्मेदवार तथा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । उम्मेदवारी दर्तापछि उम्मेदवारहरूले प्रतिक्रिया दिँदै लोकतन्त्रलाई सुदृढ बनाउन विवेकपूर्ण रूपमा मतदान गर्न मतदातासमक्ष अपील गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायत दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रमा राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारको उपस्थिति उल्लेख्य देखिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, आम जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमत पार्टीलगायत दलका उम्मेदवारसँगै ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रलाई प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी उल्लेख्य संख्यामा उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायत दलका उम्मेदवार मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि यहाँ उल्लेख्य रहेको छ ।
उम्मेदवारी दर्तासँगै बाँकेमा निर्वाचन गतिविधि थप तीव्र बनेको छ । निर्वाचन कार्यालयका अनुसार तोकिएको कार्यतालिकाअनुसार उम्मेदवारी जाँच, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनपछि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु हुनेछ ।
बाँके, माघ ७ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा माघ २० गतेभित्र १३२ केभी प्रसारण लाइन चार्जिङ गर्ने तयारी भएको छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेकाले तोकिएको समयभित्र प्रसारण लाइन चार्जिङ हुने कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रबी चौधरीले जानकारी दिए ।
चिसो मौसम र कुहिरोका कारण केही समय काम प्रभावित भए पनि माघ २० भित्र सुर्खेतमा १३२ केभी प्रसारण लाइन सुचारु हुने उनको दाबी छ । ‘मौसमले केही ढिलाइ गराएको हो, तर अब अन्तिम चरणमा पुगेका छौँ,’ उनले भने । आयोजनाअन्तर्गत राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक किलोमिटरभन्दा कम दूरीमा तार तान्ने काम मात्र बाँकी रहेको आयोजना प्रमुख चौधरीले बताए । अन्य सबै संरचनागत काम सम्पन्न भइसकेकाले आयोजना विद्युत चार्जिङको चरणमा पुगेको छ । हर्रे क्षेत्रमा बाक्लो कुहिरो लाग्ने भएकाले माघ १ गतेदेखि तयारी हुँदाहुँदै पनि तार तान्ने काम रोकिएको थियो ।
बिहान र बेलुकी कुहिरोका कारण काम गर्न नसकिए पनि दिउँसो काम जारी रहेकाले माघ १५ देखि २० गतेसम्म परीक्षण गरी प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । यसबारे संघीय सरकारसँग पनि निरन्तर समन्वय भइरहेको उनको भनाइ छ । कर्णाली प्रदेशमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो ।
लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले ७० करोड रुपैयाँमा ठेक्का पाएको यो आयोजना प्रारम्भिक चरणमै विवादमा अल्झिँदा कामले अपेक्षित गति लिन सकेन । त्यसै कारण आयोजनाको म्याद पटक–पटक थपिनु परेको थियो । २०८० चैतमा सकिनुपर्ने सम्झौता २०८१ पुस १६ गतेसम्म र पछिल्लो पटक २०८२ माघसम्म थपिएको थियो ।
आयोजनाले हाल शतप्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । अब एक किलोमिटर तार तान्ने र परीक्षणको काम मात्र बाँकी छ । परीक्षणमा करिब एक हप्ता लाग्ने र त्यसपछि १५ दिनभित्र विद्युत सञ्चालनमा ल्याइने तयारी गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिकाका केही वडामा स्थानीयको विरोधका कारण लाइन विस्तारमा अवरोध आएको थियो । कर्णाली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा संघीय मन्त्रीको पहलपछि विवाद समाधान भई कामले गति लिएको आयोजनाले जनाएको छ ।
१३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कर्णाली प्रदेशका १० जिल्लामा विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । हाल ३३ केभी लाइनको समस्याका कारण हुने विद्युत आउने–जाने र लो भोल्टेजको समस्या समाधान हुने विश्वास लिइएको छ ।




