राप्तीसोनारी, मंसिर ६ ‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने मूल नाराका साथ बाँकेको शम्शेरगञ्जमा विश्व मत्स्य दिवस भव्यताका साथ मनाइएको छ । मत्स्य विकास केन्द्र, शम्शेरगञ्जको आयोजनामा उक्त दिवस सम्पन्न भएको हो ।
केन्द्रको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दोस्रो त्रैमासिक अवधिमा सम्पन्न गर्नुपर्ने तालिकाबमोजिम दिवस मनाइएको आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा राप्ती नदीमा १० हजार थान माछाका भुरा (फिंगरलिङ/इयरलिङ साइजका) प्राकृतिक जलाशयमा छाडिएको छ । जलीय जैविक विविधताको संरक्षण गर्ने र नदीमा आश्रित स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले भुरा छाडिएको हो ।
मत्स्य विकास केन्द्रका मत्स्य विकास अधिकृत प्रेमकुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष शालिकराम डाँगीको पनि विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष पौडेलले जलवायु परिवर्तनका कारण प्राकृतिक जलाशय र मत्स्य सम्पदामा प्रत्यक्ष असर परिरहेको बताए । उनले स्थानीय तहले माछापालन व्यवसायको प्रवद्र्धन र नदीनालाको संरक्षणका लागि आवश्यक नीति तथा बजेट विनियोजन गर्न सधैँ तत्पर रहेको जनाए । उनले परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्ने जलारी समुदायको पेसा सुरक्षित गर्दै व्यावसायिक मत्स्यपालनतर्फ कृषकलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, कार्यक्रमका सभापति एवम् मत्स्य विकास अधिकृत चौधरीले प्राकृतिक जलाशयमा माछाको संख्या घट्दै गएकाले हरेक वर्ष नदीमा भुरा छाड्ने कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले जलवायु अनुकूलित मत्स्यपालन प्रविधि अपनाउन कृषकहरूलाई आग्रह गर्दै केन्द्रले प्राविधिक सहयोग र गुणस्तरीय भुरा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने जनाए ।
कार्यक्रममा बाँके र बर्दिया जिल्लाका व्यावसायिक माछापालक कृषक, प्राकृतिक जलाशयमा माछा मार्ने जलारी समुदाय, बाँके राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी कृषकहरूले मत्स्यपालनका क्रममा भोग्नुपरेका बजार व्यवस्थापन, दानाको मूल्यवृद्धि र प्राविधिक समस्याका विषयमा आ–आफ्नो जिज्ञासा राखेका थिए ।
दिवसका अवसरमा आयोजित अन्तर्क्रिया तथा भुरा छाड्ने कार्यक्रमले मत्स्य सम्पदाको दिगो संरक्षणमा तीनै तहका सरकार, निकुञ्ज र स्थानीय समुदायबीच सहकार्यको वातावरण अझ मजबुत बनाएको विश्वास लिइएको छ ।
















