दाङ। अवैध लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दाङबाट तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोराहीका ३३ वर्षीय सुनिल थापा, २४ वर्षीय प्रजल श्रेष्ठ र बबईका २५ वर्षीय विनोद सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलका अनुसार उनीहरूको साथबाट ३१ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र ५२ हजार २५० रुपैयाँ नगद बरामद भएको छ।
प्रहरीले सुनिलको साथबाट १९ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र ४८ हजार रुपैयाँ, प्रजलको साथबाट दुई ग्राम २६० मिलिग्राम ब्राउन सुगर र तीन हजार २५० रुपैयाँ तथा विनोदको साथबाट नौ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको पौडेलले जानकारी दिए।

तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















